कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भक्तराज घराना

गायकहरू भक्तराजको स्वर नक्कल गर्न सक्लान्, तर भक्तराज नै बन्न सक्दैनन् । भक्तराज त एक थिए ।
दीप श्रेष्ठ

संगीतमा निकै मिहेनत गर्नुभयो– भक्तराज आचार्यले । देशव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भइसकेपछि गायनमा निरन्तरता दिनुभयो ।

भक्तराज घराना

उहाँको स्वभाव एकलकाँटे थियो, बडो निर्धक्कको मान्छे हुनुहुन्थ्यो ! सधैं एक्लै रमाउन खोज्ने स्वभावको ! त्यसैले उहाँका साथीहरू पनि कम थिएजस्तो लाग्छ । संगीतप्रति ठूलो लगाव थियो, त्यसप्रतिको माया, आस्था र आराधना पनि ठूलै ! उहाँले संगीतलाई जिन्दगी नै बनाउनुभयो ।

‘पर्फेक्ट’ सुर लगाएर गाउने क्षमता थियो उहाँमा । आफ्नोबाहेक अन्यको कम्पोजिसनमा कमै गाउनुभयो । जति गीत गाउनुभयो, आफ्नै संगीत र स्वरमा अरूलाई मन्त्रमुग्ध पार्ने गरी नै गाउनुभयो । त्यसैले पनि ती गीत अजर–अमर छन्/अमर रहनेछन् ।

२०४६ सालतिर उहाँसँगै म पनि पुगेको थिएँ, सीमातिर गाउन । त्यतिबेला मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री थिए । प्रधानमन्त्रीले हामीलाई हरेक सिमानामा नेपाली गीत गाउन पठाउनुभएको थियो । नाकाबन्दीका बेला नेपाल–भारतको सिमानामा हामीलाई गीत गाउन खटाइएको थियो । म जुन गाडीमा थिएँ, भक्तराज पनि त्यही गाडीमा हुनुहुन्थ्यो– अम्बर गुरुङ, प्रकाश गुरुङ, ओमविक्रम विष्ट, सुक्मित गुरुङहरू पनि थिए । उहाँसँगको त्यो टुर म खुब सम्झिन्छु । नेपालको हरेक सिमानामा हामीले नेपाली गीत गाउँदै हिँडेका ती दिन सम्झिन्छु ।

सांगीतिक विधाका लागि उहाँ एक नक्षत्र नै हुनुहुन्छ । कसले, कसरी उहाँलाई ‘भजन शिरोमणि’ उपाधि दियो, थाहा छैन । तर, त्यो उपाधि उहाँका लागि ‘पर्फेक्ट’ छ । वास्तवमा उहाँ भजनको शिरोमणि नै हुनुहुन्छ– ‘पर्फेक्ट’ सुरसहित गाउने गायक हुनुहुन्छ । साह्रै मीठो छ उहाँको स्वर ।

भक्तराजसँग लामै समय काम गर्न पाइनँ मैले । उहाँ रेडियो नेपालमा काम गर्नुहुन्थ्यो । त्यता पुग्दा भेट भइरहन्थ्यो । निकै कम बोल्नुहुन्थ्यो । बेलाबेला भन्नुहुन्थ्यो, ‘नारायण गोपाल, दीप श्रेष्ठ र म त हुँ हार्मोनियम बजाएर गाउने, अरू कसले गाउँछ ?’ हामी स्टेजमा हार्मोनियम बजाएरै गाउँथ्यौं । उहाँ रेडियो नेपालमा छँदा हामी साथी भइसकेका थियौं । म त्यसबेला नेपाल एकेडेमीमा काम गर्थें । भक्तराजको सबैभन्दा ठूलो क्षमता त्यही हो कि उहाँ सुरलाई ध्यान दिएर गाउनुहुन्थ्यो । मैले सबैभन्दा बढी सम्झने उहाँको पक्ष यही हो ।

उहाँले थुप्रै भजन गाउनुभयो । ती भजन अझै कर्णप्रिय छन् । रेडियोमा धेरैखाले भजन बज्छन्, तर उहाँका भजन सुन्दा आनन्द अनुभूति हुन्छ । त्यसैले उहाँलाई दिइएको ‘भजन शिरोमणि’ उपाधि मलाई उचित लाग्छ ।

उहाँका गीत म पनि गुनगुनाउँछु– ‘जहाँ छन् बुद्धका आँखा’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘हजार सपनाहरूको माया लागेर आउँछ ।’ उहाँका गीतको विशेषता के भने तिनमा सधैं सुनुँसुनुँ लाग्ने कम्पोजिसन हुन्छ । संगीतमा सरलता र मार्धुयता नै उहाँको खास विशेषता हो । हामी सबैका गीत सुन्दैनौं, जसको सुनँॅुसुनुँ लाग्छ त्यही सुन्ने हो । त्यस अर्थमा मलाई मनपर्ने गायक/संगीतकार हुनुहुन्छ– भक्तराज । कहिलेकाहीं साथीहरूको माहोलमा हुँदा मैले उहाँका गीतहरू गाउने गरेको छु । भक्तराजको गायन–शैली एकदमै फरक हो– आफ्नै पाराको गायकी । उहाँको गायकीको पनि एउटा घराना सुरु भइसकेको छ । घराना भन्ने सबैको हुँदैन, मौलिक स्वर र कम्पोजिसन प्रस्तुत गर्नेहरूकै घराना सुरु हुन्छ । सुरुमा त्यो घरानाले गाउँछ, अनि त्यही शैली पछ्याउनेहरू हुन्छन् । भक्तराजले आफ्नो स्वर र संगीतको घराना स्थापित गरिसक्नुभएको छ ।

उहाँको शब्द उच्चारण सधैं प्रस्ट हुन्थ्यो । गायकी–खुबी विशिष्ट थियो, जुन धेरै गायक/गायिका र कम्पोजरले उहाँबाट सिक्न जरुरी छ । ‍बेग्लै स्वरको धनी हुनुहुन्थ्यो उहाँ । त्यही बेग्लै स्वरलाई निरन्तरता दिएसँगै उहाँको घराना निर्माण भएको हो । गायकहरूले उहाँको स्वर नक्कल गर्न सक्लान्, तर भक्तराज नै बन्न सक्दैनन् । भक्तराज त एक हुनुहुन्थ्यो । उहाँको गायकीको एउटा यस्तो छाप छ कि, हरेकलाई ‘उहाँले झैं गाउँ’ भन्ने लाग्छ ।

जुन बेलादेखि उहाँले गाउन सक्नुभएन, त्यो बेलादेखि नै हामीले उहाँका मीठा कम्पोजिसन र स्वरबद्ध गीत सुन्न पाएनौं । त्यतिबेलादेखि नै उहाँको संगीत र स्वर खट्केकै हो । राष्ट्रले त्यतिबेलादेखि नै नेपाली गीत/संगीतलाई अर्काइभिङ गरिदिएको भए कत्ति संगीत अझै रहन्थ्यो सायद । उहाँ नै नरहनुभएपछि सिंगो भक्तराज त खट्कने नै भयो । अब त्यो अभाव पूर्ति कसैले गर्न सक्दैन ।

संगीतमा उहाँले दिनुभएको योगदान जोसुकैले दिन सक्दैन । रात–बिहान नभनी उहाँले संगीत–साधना गर्नुभयो ।

आज पनि बिहानदेखि बेलुकीसम्मै उहाँकै भजन बज्छ– सुनुँसुनुँ लाग्ने भजन, प्रस्ट शब्दसहित ।

मीठो नोट छान्दै, त्यसमा आफ्ना भावना र खोज मिसाउँदै रचना गर्नु उहाँको खास–खुबी हो । उहाँको जीवनको सबैभन्दा ठूलो खोज नै त्यही हो । रेडियो नेपालमा छँदा स्टुडियो खाली देख्नेबित्तिकै भित्र पस्नुहुन्थ्यो, गाउनकै लागि ।

संगीतमा एकाग्र उहाँ ! उहाँ संगीतमै तल्लीन !

प्रकाशित : फाल्गुन १९, २०८० १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×