कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैले पनि नजन्माएको छोरो

म यौवनले नकुत्कुतिएकी केटीमान्छे ! विवाह गर्न रहर नगरेकी स्त्री ! ‘लोग्ने’ शब्दै मन नपराउने छोरीमान्छे ! यस्तो मनलाई मातृत्वको कुन शक्तिले खल्बल्यायो ?
ज्योति जङ्गल

कालजयी रचनामा आधारित भएर पुनर्सिर्जन गर्ने परम्परा संसारैभरि छ । प्राचीन धार्मिक साहित्य वा महान् स्रष्टाका कृतिका पात्रको पुनर्व्याख्या, पुनर्कथन वा नवकथनका लागि यस्तो शैली आगालिएको पाइन्छ । यस्तै प्रसिद्ध कथाहरूको सन्दर्भ, पात्र वा घटनामा आधारित भएर लेखिएका नयाा कथा ‘कोसेली’ ले ‘उत्तरकथा’ स्तम्भमा प्रस्तुत गरेको छ । यस अंकको उत्तरकथाको स्रोतकथा हो– पारिजातको ‘मैले नजन्माएको छोरो’ ।

मैले पनि नजन्माएको छोरो

अब म झ्यालबाट हेर्दिनँ, सडकलाई पढ्दिनँ,’ यस्तो सोचेर झ्याल परित्याग गरेको एक हप्ता के बितेको थियो मैले यो सोच कायम राख्न सकिनँ । कहिले भन्थेँ– उज्यालो दिनु र केही झोंका चिसो हावा कोठाभित्र हुलिदिनु । यो स्वच्छताको कर्मसिवाय झ्यालले अरू के नै पो गरेको छ र ? तर, प्रकृतिको हरियाली म यसै झ्यालबाट निहार्ने गर्थेँ । झ्यालबाट हेर्नु र केही अप्रिय घट्नु त मेरै दोष हो । झ्यालको के दोष ? फागुनको अन्तिम चार दिनदेखि चैतको पहिला चार दिन मात्रै म झ्यालसँग या मेरो मनसँग कठोर हुन सकेँ ।

झ्यालबाट सडकतिर नहेर्दा त भइहाल्छ । तब त्यहाँ हिँड्ने मानिस र तिनका पेसासँग पनि के सरोकार ? यस्तै सोच्छु र माथितिर सीधा मात्रै हेर्ने मन बनाउँछु । परपर घरका चेपहरूमा लहराइरहेका छन् पीपल र शमीका बोटहरू । पुराना पातहरू झरिसकेका छन् । नयाँ हरिया कलकलाउँदा पात हावाको तालमा सरसरराउन थालिसकेका छन् । म यी दृश्यलाई कदापि नजरअन्दाज गर्न सक्दिनँ । वर्षभरिमा सबैभन्दा धेरै मैले यिनै पालुवा पर्खिएकी हुन्छु । नवपालुवाको झंकारले मेरो मनमा अनौठो खुसी सञ्चार गरिदिन्छ । यिनै दृश्य हेर्न आँखाले घरीघरी झ्यालतिर चियाउन थालेकाले म पराजित भएँ । वा मेरो त्यो निर्णय नै पराजयसिक्त थियो । सङ्कुचित थियो । त्यसलाई अटेर गरेर म फेरि झ्यालमा बस्न थाल्छु । यसबेला म आफूलाई नशाले जितेको पियक्कडझैं सम्झन्छु । पिउन छोड्ने कामना गरेर हप्तादिनपछि नै पिउन सुरु गर्ने त्यस्तो पात्र म स्वयं भएको भान गर्छु । आफ्नै खिस्सीमा मुसुक्क हाँस्छु ।

भर्खर विद्यालयको वार्षिक परीक्षा सकिएको छ । बितेका केही दिन मैले घरमै दराजका पत्रिकाहरू र पुराना डायरीहरू पढिबसेँ । तिनले मेरा इतिहास र बिर्सेको समयलाई ल्याएर आँखा अगाडि बिस्कुन हालिदिए । म तिनै समयको फेरो समाएर विगततिर भासिएँ र झन् सिकिस्त भएँ । धेरै अगाडि हराएको बुवाको फोटो डायरीको चेपबाट खुत्रुक्क भुइँमा खस्यो । एकबेला कति खोजेको थिएँ यो फोटो, बुवालाई श्रद्धाञ्जली दिने ठाउँमा राख्न । उसबेला फेला पर्दै परेन । फोटोबाट बुवाको अनुहार जस्ताको तस्तै ब्युँझिएर आयो । बुवाका आँखाले मलाई एकटक टुलुटुलु हेरिरहे । मानौं यी आँखाहरू भर्खरै मेरो हृदयले बेहोरको वात्सल्यको हार सबै जान्दछन् । यसबेला मैले अनुभव गरेँ बुवाको छातीमा कसरी वात्सल्य पग्लिदोँ रहेछ । अन्तिम बेला पनि बुवा भन्नुहुन्थ्यो, ‘तँ एक्लै छस् छोरी ! तँ अपूर्ण छस् ।’ मलाई ती शब्द सुन्दैमा मनभरि घृणा पलाएर आउँथ्यो । म सनन्न हुन्थेँ आवेशले भित्रभित्रै तैपनि बिरामी बाबुका अघि मुख उघार्दिन थिएँ । अहिले म मैले नजन्माएकै छोरोको कारण वात्सल्य पग्लिएर हुरुक्क भएकी छु । बुवाकी म त खुद छोरी थिएँ ! आह ! अहिले मैले बुवाको वात्सल्य बुझेँ । मलाई बुवाको खूब माया लागेर आयो । ‘आधा हुन्छ तेरो जीवन’ बुवाले बारबार भन्ने छोटो वाक्य त्यही थियो । ‘म आफैं पूर्ण छु’ मेरो उत्तर यही हुन्थ्यो । यसपटक मेरो अपूर्णताको आभास र मैले बुवालाई दिएको अज्ञात वात्सल्य–पीडाको बोध भयो । झ्यालमा नबसेर पनि त मेरो फिक्कापन र पीडा बढ्यो ।

‘अपूर्ण !’ बुवाको यही शब्दले फेरि मेरो दिमाग टन्किएर आयो । म यौवनले नकुत्कुतिएकी केटीमान्छे । विवाह गर्न रहर नगरेकी स्त्री । ‘लोग्ने’ शब्द नै मन नपराउने छोरीमान्छे । यस्तो मनलाई मातृत्वको कुन शक्तिले खल्बल्यायो ? मलाई त्यो अन्जान बालककले कसरी मातृवात्सल्यपूर्ण बनाइदियो ? यसै रमिता हेरिबसेका बेला पनि मेरा मनमा यी प्रश्न हरपल उठिरहेका छन् ।

अहो ! त्यस ठिटोकी म आमा बनिसकेकी थिएँ । मनमा माया, प्रेम, स्नेह या करुणा यस्तै कुनै आभासले मूल फुटाएको थियो र त्यो पोख्न नपाएर म छटपट छटपट भएकी थिएँ । प्रकृतिको यो अमोल कला, आमा नहुँदा पनि आमा हुन सक्नेगरी प्रकृतिले मानुषी निर्माण गरेको हुँदो रहेछ । के यो फगत मनोविद्हरूले भनेजस्तो यौनकुण्ठा मात्र थियो त ? होइन यो त जीवनशक्ति थियो । फागुन महिनामा घटेको अनुभूतिको सानो छिर्कोले मलाई ज्ञान भएको प्राकृत शक्ति । यसले अपूर्णताको पूर्ण पाठ पढाएर छोडेको थियो । र, यो पनि सिकाइदियो आमा नहुँदा पनि त स्त्री मातृत्वले पूर्ण हुँदिरहिछ । हो स्त्री जन्मले मातृत्वको उपहार लिएर जन्मिन्छे । उसलाई आमा बनिरहनु पर्दैन । कत्रो आविष्कार ! आविष्कार भएको छ मभित्र । म पूर्ण नै रहेछु ।

डायरीमा उसबेला कसैले लेखेको प्रेमपत्र भेटेकी थिएँ । त्यसको सन्दर्भमा के के लेखेकी रहेछु । त्यहाँको आफ्नै अभिव्यक्तिले अझै अत्यास थपिदिएको छ । त्यो प्रेमलाई त बुबाले पनि स्वीकार गर्नुभएको थियो । यसो भनौं अनुरोध नै गर्नुभएको थियो विवाहका लागि । हरे पितृवात्सल्य ! मैले कहाँ बुझेँ ? मैले त ‘म छोरी भएर तपाईंलाई बोझ भएको छु’ भनेर ठाडो उत्तर दिएँ । बुबाको मन कसरी काटिएको रहेछ अहिले मात्र चाल पाइरहेछु । तर, म विवश थिएँ । मैले नै त्यसलाई तिरस्कार गरेकी थिएँ । स्वीकार गर्नै सकिनँ । मैले प्रेमलाई तिरस्कार गरेकी थिइनँ, तर प्रेमको बाटो हिँडेको मान्छेको लोग्ने अवतार मलाई ग्राह्य थिएन । लोग्ने भन्यो कि मलाई आइमाइको आँसुको सम्झना भइहाल्छ । बिनाहिक्का परेली थरथराएर निःशब्द खस्ने आँसुको धारा । कामेका ओठ र फरफर गर्ने चिउडो । रोइरहेका र बाहिर निस्कन आँटेका राताराता आँखाका गेडीको याद र संवेदना व्यक्त गर्न नसकेको अनुहारको छवि भूतजस्तो तर्साउन थाल्छन् मलाई । कहाँबाट यस्ता तस्बिरले भरिएको छ मेरो स्मृति । दिक्क लागेर आउँछ । स्वास्नीमान्छेलाई लेखिएको अनुशासनभित्र बन्दी भएका ओठका मुस्कानको माया लागेर आउँछ । तिनले खुसी भएको अभिनय गरेको कृत्रिमताको आभास हुन थाल्छ । म अभिनय गर्न पटक्कै सक्दिनँ । म भित्रभित्रै हार्छु, तर कसैलाई यो भय बुझाउन पनि त सक्दिनँ रहेछु । या मेरो अभिमानै सही ।

अचेल म बिहान सखारैदेखि झ्यालमा बस्न थालेकी छु । बिहानको कलिलो घाम हेर्छु । चराको चिरबिर अलि टड्कारो सुनिन्छ । चैतको तेस्रो हप्तादेखि स्कुल खुल्छ । अब केही दिन मात्र म बिहानैदेखि झ्यालमा बस्न सक्छु । आज पनि झ्यालमा बसेकी छु । मलाई आभास हुन थालेको मेरो मातृत्वको कुनै दायित्व छ कि छैन ? मलाई हिजैदेखि यो प्रश्नले सताइरहेछ । मैले सोचेजस्तै मातृत्वले यदि म पूर्ण छु भने किन त्यो ठिटोले गलत सोचिरहेको कुराबाट भागेर हिँडिदिएँ ? मेरा बुबाले जस्तो केही सम्झाउनपट्टि किन लागिनँ ? के कारण थियो र उसले त्यति सानै उमेरमा चुरोट खाने सिको गर्‍यो ? किन पढाइपट्टि ऊ लागेन र कक्षा छोडेर सिनेमा हेर्न थाल्यो ? ऊ किन किताब बेचिरहेछ ? ऊ किन अश्लीलजस्तो व्यवहार गरिरहेछ भट्टी पसलकी साहुनीसँग ? म उसकी आमावयकी मान्छेलाई उसले कसरी त्यस्ता तल्लो दर्जाका शब्दहरू प्रयोग गर्न सक्यो ? ती शब्दहरू कहाँबाट सिक्यो ? किन आफ्नै उमेरकी केटीलाई जसरी उसले मसँग लोला हानेर छिल्लिने व्यवहार गर्‍यो ? मैले उसलाई सम्झाउनुपर्ने थियो कि थिएन ? मैले उसलाई जान्नुपर्ने हो कि होइन ? के त्यो मातृस्नेह मेरो कुण्ठा मात्र थियो ? के प्रकृतिले मलाई जिस्क्याएको हो ? के म असफल आमा हुँ ? अहिले बारबार यस्ता सोचाइको मात्रा बढिरहेको छ ।

ओहो ! त्यत्तिका दिन म मनमै मैले नजन्माएको छोरो खेलाएर बसेँ । उसले लोला हानेकै दिन मैले बुझ्नुपर्थ्यो उसको सङ्केत कि मैले छोरो मानेजस्तै ऊ मलाई आमा मानिरहेको छैन । त्यसै दिन त थाहा पाएकी थिएँ उसले किताब बेचेको कुरा, सिनेमा चुरोट आदिका कुरा । तर, म त्यसै त्यसै मख्ख परेर के के सोचेर फर्किएँ । मैले नजन्माएको छोरो पाएर म फुरुंग त भएँ, तर उसको स्वभावको विश्लेषण गर्न सकिनँ । स्कुल पढाइरहेकी शिक्षक भएर पनि मैले उसको मनोविज्ञान पढ्न सकिनँ । हत्तेरिका । अपराधबोधजस्तो भइरहेछ मलाई अहिले । यो विचित्र मन फेरि निचोरिन थालेको छ । मैले कुन आदर्शले उसलाई धारे हात लगाएर आएँ ? मैले त आमाले जस्तो उसलाई च्याप्प समातेर गालामा पड्काउन सक्नुपर्थ्यो । उसलाई रुवाएर होस् या फकाएर होस् सम्झाउन सक्नुपर्थ्यो कि सभ्यता भनेको के हो ? असल मानिस कसरी बन्नुपर्छ । सोध्नुपर्थ्यो ऊ किन यसो गरिरहेछ ? उफ् मैले त्यस्तो केही गरिनँ । किन गरिनँ ? किन म कायर भएँ ? म चेतनाले चल्ने यन्त्र थिएँ कि आदर्शको खोल ओढेकी रोबोट थिएँ ? के म साँच्चै अपूर्ण थिएँ ? आज एकतमास भइरहेछ मन । जलन, घृणा र मेरो हीनतादेखि म कायल भइरहेकी छु । छिः आफैदेखि अत्यास लागिरहेको छ । मैले आफैंलाई गाली मात्र गर्न सकेँ । प्लास्टिकको गोलीलाई ओथार्न बसेकी निर्लज्ज कुखुराकी माऊ भनेर । तर, मेरो चेतनले उसलाई माया गर्न सिकेकै रहेनछ । मैले मानसिक विकार भने या यौन विकार सम्झिएँ । धत् मैले सत्यता कहाँ बुझेँ ?

सडक नहेर्ने भनेर झ्यालमा बसेकी म । आज अनायास मेरा आँखा सडकमा पुगेछन् । त्यही ठिटोजस्तै आकृति उभिएको छ सडकमा । म नहेर्न खोजेर पनि हेर्छु । साँच्चै उही हुन्छ । ऊ उभिएको मुद्रा फरक छ आज । हात जोडिरहेको देखिन्छ । म कसैलाई नमस्कार गरेको सम्झन्छु । तर, ऊ मलाई नै नमस्कार गरेर याचना गरिरहेको जस्तो देखिन्छ । अचानक छाती चस्किन्छ । छातीमा जमेको तरल पदार्थ फेरि बेतोडले सल्बलाउँछ । मानौं सुनामी उठेको छ छातीभित्र । मेरो चेतन मन हराउँछ । अनायासै मेरा हातहरू उठ्छन् र उसलाई गेटतिर आउने सङ्केत गर्छन् । मैले सोच्नुभन्दा अघि नै मेरा खुट्टाहरू गतिशील भइसकेका हुन्छन् । शरीर फूलजस्तो भएछ । कतिखेर मैले जम्मै सिँढी पार गरिसक्छु त्यो हेक्का नै रहँदैन । म उसलाई स्वागत गर्न ढोकासम्म पुग्छु ।

घर छोडेर हिँडेको धेरैपछि घर फर्किएको बालख छोरो जसरी ढोका अगि उभिन्छ ऊ । जोडिएका हातहरू जोडिएकै छन् । अनुहारमा पश्चात्ताप र ग्लानि भरिएको छ । क्षमाभावले ऊ विभोर भएको देखिन्छ । म उसलाई सिँढी चढ्ने सङ्केत गर्छु र ढोका लाउँछु । म अगाडि लागेपछि ऊ मेरो पछिपछि आउँछ र आँसुले भरिएको आँखा चिम्लिँदै मलाई माफ गरिदिनू भन्छ । म पग्लिएर हुरुक्कै भइसकेकी हुन्छु । उसलाई छेउमा बसाउँछु, सुमसुम्याउँछु र वर्षौंदेखि विछोडिएको छोरो भेटिएसरि छातीमा समेट्छु ।

धेरैबेर सन्नाटा छाउँछ । ऊ बिस्तारै बोल्न थाल्छ । मेरी आमा हुनुहुन्न । मैले आमाको माया पाइनँ । मलाई आमासँग कसरी बोल्नुपर्छ भन्ने नै थाहा छैन । बुबा र म मात्र एउटा कोठामा बस्छौं । बुबा घर नआउनुभएको आज सात दिन भइसक्यो । मलाई तपाईं आमाजस्तो त लाग्थ्यो । तर, बेलुकाबेलुका सधैं रक्सी खाएर मेरो बुवाले आमालाई गाली गर्नुहुन्थ्यो । अनि मैले आमाजस्ता सबैलाई गाली गर्नुपर्छ भन्ने सिकेँ । मलाई आमाहरू सबै खराब हुन्छन्जस्तो लाग्न थालेको थियो त्यसैले म आमाजातिलाई घृणा गर्न थालेँ । त्यो साहुनीलाई पनि चिमोटेर म सधैं दुखाइदिन्थेँ । उसको छाती चिमोटेर मलाई दूध नखुवाएकी मेरी आमाको बदला लिन चाहन्थेँ । बुबाले मलाई कहिल्यै पढ् भन्नुभएन । न मेरो स्कुलबारे नै केही सोध्नुहुन्थ्यो । त्यसैले म गलत गर्न थालेको थिएँ । पुस्तक बेचेर सिनेमा हेर्ने र चुरोट सर्काउने भएको थिएँ । मैले त्यस दिन तपाईंलाई केके भनेँ । म धेरै खराब छु । तर, मैले पनि तपाईंका आँखा मेरा निम्ति मायाले भरिएका देखेको थिएँ । ती आँखाहरू मेरा साथीका आमाले उनीहरूलाई हेरेर हाँसेका आँखाजस्तै लाग्थे । तर, तपाईंलाई सम्मान गर्न सक्दिनथिएँ । आज तपाईंको माया र मैले तपाईंलाई गरेको अपमान सम्झिएँ । धेरै पछुतो लागेको छ र माफ माग्न आएको छु । मलाई माफ गरिदिनू ।

त्यसउपरान्त म उसका कुराहरू सुन्न सक्दिनँ । उसलाई चुप लाग्न भन्छु । स्नेहले तातिएर झनझनाइरहेका मेरा हातहरू उसको शिरमा घुमिरहन्छन् र संसारका आमाहरूले आफ्ना छोराको बदमासी लुकाएर ‘मेरो बाबा ! तिमी खराब छैनौ, असाध्यै राम्रो छौ’ भनेझैं म यही वाक्य मात्र भन्न पुग्छु । छाती हल्का भएको महसुस हुन्छ । सारा प्रश्नहरूको उत्तर पाएझैं मसँग बाँकी कुनै प्रश्न रहँदैनन् । न चेतनको साँघुरो पर्खाल बाँकी रहन्छ । आज बुबाले भनेजस्तो म अपूर्ण भएको झैं लाग्दैन । म धेरै माथि उठ्छु र मातृवात्सल्यको बाँकी कर्तव्यको कल्पनामा डुब्न थाल्छु । मलाई चिच्याएर बोल्न मन लाग्छ, ‘मेरो छोरा ! तिमीलाई पाएर म पूर्ण भएकी छु । म मेरो छाती खन्याएर तिमीलाई सारा माया दिन्छु, र मान्छे बनाउँछु ।’

प्रकाशित : जेष्ठ १३, २०८० १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?