२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

बन्द खाम तिमीलाई पुरस्कार

यो पत्र तिम्रो निम्ति तिम्रै नाउँ लेखिएको एउटा बन्द खाम हो । यो सत्य घटनाको सुरुवात हो । तिमी हुर्किंदै जाऊ, बढ्दै जाऊ, सचेत हुँदै जाऊ ।
सुकन्या वाइबा

नखोलिएरै राखिएको बन्द एउटा खाम थियो
भित्र के–के थियो कुन्नि, बाहिर मेरै नाम थियो

बन्द खाम तिमीलाई पुरस्कार

अपराजिता,

तिम्रो कुनै एक सृजनाको अन्त्यतिर समावेश हरफ हुन् यी । लेखक ललिजन रावलको गजलको टुक्राले तिम्रो रचना सजाएको थियो ।

गजलको यही टुक्रा उद्घृत गर्दै कसैलाई सम्बोधन गर्दै तिमीले आफ्नो सृजना यसरी बिट मारेकी छ्यौ—

‘यो पत्र तिम्रो निम्ति तिम्रै नाउँ लेखिएको एउटा बन्द खाम नै हो । यो सत्य घटनाको सुरुआत हो । तिमी हुर्किंदै जाऊ, बढ्दै जाऊ, सचेत हुँदै जाऊ, यो पत्र तिमीलाई नै पुरस्कार ।’

तिमीले ‘तिमी’ भनेर सम्बोधन गरेको त्यो पात्र को थियो ? को हो त्यो व्यक्ति ? उसले आफूलाई सम्बोधन गरेर लेखिएको तिम्रो बन्द खाम खोली कि खोलिन ?

यस पत्रको मध्यतिर अति भावुक थियो तिम्रो उद्गार । चट्टानबाट खसेको पानीको भेलजस्तै यसरी पोखिन्छ —

‘यो एउटा सत्यकथा हो, पछि तिमी यसमा आफ्नो अनुहार देख्छौ र देख्छौ त्यस टल्पलाउँदो अनुहारमा आफ्नो विगत । भन्न सक्तिनँ, यो भाषा र अभिव्यक्ति बुझ्ने तिम्रो उमेर हुँदा म यस संसारमा हुन्छु कि हुन्नँ । तर, मलाई विश्वास छ, म तिम्रो स्मृतिमा भने निश्चित रुपमा ज्युँदो रहेकी हुनेछु । आज त तिमीले मेरो मानसिक परिचय पाइसकेकी छैनौ, तिमी यति जान्दछौ कि म यस घरको एक प्रमुख व्यक्ति हुँ, जसले तिमीलाई मायाको अँगालोमा नबाँधेरै माया गरेकी छ र जसले तिमीलाई एक झापट नहिर्काएरै सजाय दिएकी छु । यी कस्ती स्वास्नीमान्छे हुन् भन्ने बालसुलभ जिज्ञासा तिमीमा होला, तर तिमी व्यक्त गर्न सक्तिनौ । जुन दिन यो जिज्ञासाको तिमीमा तिर्खा मेटिन्छ, त्यो क्षण तिमीलाई उपहार । ल आजै यस पत्रमा म कागज गरिदिन्छु... !’

‘ओखर फोरेर तिमीलाई खुवाउन नसक्नु र ओखर फोरेर आफैं खान नसक्नु हामी दुवै जनाको साझा र अव्यक्त व्यथा, त्यस दिन तिमी पारदर्शी पर्दामा हेर्नेछौ । त्यही विन्दुमा तिमीले मलाई आफैंमा अनुभूत गर्नेछौ, विश्वास छ तिमी मलाई माया गर्नेर्छौ । यो पत्र तिम्रो निम्ति हाडे ओखर अथवा एउटा बन्द खाम ।’

यही तिम्रो सृजना हो । अर्थात् ‘पारिजातको पत्र गुञ्जनको नाउँमा’ रहेको रचना हो । दुःखको कुरा, कसरी हो तिम्रो संकलित रचनामा समावेश भएन रहेछ, छुटेछ । यो पत्र ‘गोधूलि’ नामक चौमासिक साहित्य संकलनमा २०४९ सालमा प्रकाशित भएको रहेछ । तिम्रो संकलित रचना पुनः प्रकाशित भएको खण्डमा यो रचना अवश्य प्रकाशित हुनेछ ।

गुञ्जन हो उसको नाउँ । तिमीले नै न्वारन गरिदिएकी । उसलाई घर ल्याउने उत्कट रहर पनि तिम्रै हो । र, हालिदिएकी हौ मेरो काखमा र लामाजीको दरो संरक्षणमा ।

सबैकी प्यारी उसले सानै छँदा तिम्रो सम्झनामा आफ्नो उद्गार पोखेर लेखेकी छे । उसलाई बुबाले अति माया गरेका पनि थिए । तर, अत्यधिक मदिरा सेवन गर्ने बुबाको आदतसँग दिक्क भएर एकपटक भाँडाबाट सारा मदिरा नै घोप्ट्याइदिएकी पनि थिई उसले ।

बुबाले टोलभरिका केटाकेटीहरू समेटेर घर ल्याएर माया पोख्दा उसलाई ईर्ष्या हुन्थ्यो । तिहारमा रोटेपिङ हालिदिँदा उसका आँखामा खुसीको लहर झल्किन्थ्यो ।

ऊ तिमीलाई ‘पु’ भनेर सम्बोधन गर्थी । उसका दाइ, दाइका साथी र उसले मात्र तिमीलाई पु भनेर सम्बोधन गर्थे । अद्यापि यही नाउँ आजसम्म उनीहरूका मुखारविन्दबाट उच्चारण हुन्छ ।

‘पु’ नाउँको पनि एउटा रोचक कथा छ ।

अँ, उसलाई जुम्रा पर्दा बुबाको करले दिनहुँ नै सातादिनसम्म नुहाउँदा ऊ ज्वरोले ग्रस्त भएकी थिई । कान्ति अस्पताल दौडाउने आमाको अभिभारा बढेको थियो । उसलाई शिशु छँदा दिइनुपर्ने सुईहरू दिइएको रहेनछ । सायद त्यसैको असर हुनुपर्छ, उसमा ज्वरो आउनु । पछि गएर यी विधिहरू पूरा गरियो र उपचार पनि गरियो ।

ऊ कक्षा कोठामा पढिरहेकी बखत पनि बुबालाई केही कुराको हतारो हुन्थ्यो । म्याडमको अनुमति लिएर कक्षाबाट बाहिर बोलाई होटलबाट ल्याएको मम हतार–हतार खुवाउनु उसको बुबाको मायाको परिचय थियो । सायद बिर्सेकी छैन उसले ।

बानी बसाउन बिहानपख ट्वाइलेटको प्यानमा बसाउँदा ऊ एक पटक लडेर प्यानभित्रै पसी र आत्तिएर रोई । रोएकी क्रन्दन सुनेर ‘पु’ कराएकी थिइन्, ‘गुन्जेलाई प्यानबाट निकालिदेओ न, त्यहाँ कोही छ भने !’

यो हिँड्न नसक्ने ‘पु’ को लगातारको पुकार हो ।

हो, प्यानबाट बाहिर निकाल्न केही समय लागेको निश्चय हो । कारण पल्लो घर गएकी आमा अलि अबेर गरेर फर्केकी थिइन् ।

यस्तै थिए सम्झनाका तरङ्गहरू ।

गुन्जे अब त ठूली भइसकी होली, कहाँ होली, थाहा छैन । आत्मविश्वासकी धनी र निडर स्वभावकी गुन्जेले दुःख पाउने छैन, यो निश्चय छ ।

तथापि एउटा जिज्ञासा— पुकी ‘गुन्जे’ ले आफ्नो नाउँको बन्द खाम खोली कि खोलिन् ?

प्रकाशित : फाल्गुन ६, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?