भेनेजुएला भर्सेज सुन्दरी प्रतियोगिता- कोसेली - कान्तिपुर समाचार

भेनेजुएला भर्सेज सुन्दरी प्रतियोगिता

टिप्पणी
सौन्दर्य प्रशाधन कम्पनीहरूले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् ।
अरुणा उप्रेती

काठमाडौँ — मिस भेनेजुएला विमे नाभा, ३२ ले आफ्नो जिब्रामा सानासाना प्लास्टिकका टुक्रा शल्यक्रिया गरेर घोचेकी थिइन् । ठोस पदार्थ केही खान नसकियोस् भनेर । तरल पदार्थ मात्र खाएपछि शरीर मोटो हुँदैन भनेर। मिस भेनेजुएला बन्न त्यहाँका महिलाले आफ्नो तलबको आधा पैसा सौन्दर्य प्रशाधनमा खर्च गर्थे । 

सावित्री गौतमको ‘शृङ्खला भर्सेज निर्मला’ पढेर पक्कै केही वामपन्थीले सावित्रीलाई ‘गाली’ गरे होलान् । केहीले समर्थन पनि गर्लान् तर चुपचाप । सायद हाकाहाकी सावित्रीको विचारको समर्थन गरे अन्तर्राष्ट्रिय तत्त्व भइन्छ भन्ने डर होला । ‘सुन्दरी’ शृङ्खलाले सुन्दर नेपालको ‘नाक’ राख्न अहिलेसम्म जति मिहिनेत गरिहेकी छन्, त्यसका लागि उनलाई साधुवाद दिनैपर्छ । त्यतिका धेरै पैसा, समय, शक्ति खर्च गरेर भए पनि ‘विश्व सुन्दरी’ को माझमा उभिने योग्यता हुनु चानचुने होइन ।


तर, शृङ्खलाले ‘मैले महिलाको शरीरलाई वस्तु बनाएको छैन’ नभनिदिए नै वेश हुन्थ्यो । ‘मलाई मेरो सौन्दर्य देखाउने अधिकार छ । मेरो यो मानव अधिकार हो, महिला अधिकार हो’ भनेर स्पष्ट रूपमा उभिए नै वेश हुनेथियो ।


कतिले भनेको सुनियो, ‘कम्युनिस्ट पार्टीले उनलाई जिताउन ‘भोट हाल्नू’ भनेर ‘सर्कुलर’ पनि गरेको छ, अरे । तर, मलाई थाहा छ— यो झूटो हो । समाजमा नयाँ बिहानीको थालनी गर्ने आदर्श बोकेको पार्टीले सौन्दर्य प्रतियोगितामा कसैलाई जिताउन ‘सर्कुलर’ जारी गर्‍यो होला र ? पार्टीले त गाउँघरमा गएर समाजमा जनचेतना जागृत गराऊ, जनतालाई शिक्षा, स्वास्थ्यको अधिकारको बारेमा बताऊ, अन्यायसँग लड्न सिक र सिकाऊ भन्ने सर्कुलर जारी गर्न सक्छ । किनभने कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई पनि थाहा छ कि सौन्दर्य प्रतियोगिताहरू महिलालाई चीज/वस्तु बनाएर बेच्ने अवधारणाबाटै ल्याइएको हो । ठूलाठूला सौन्दर्य प्रशाधन बनाउने कम्पनीहरूले आफ्ना प्रशाधन ‘कहाँ बेच्ने’ भनेर ठाउँ खोजिरहेको हुन्छ । अनेकथरीका हीराका गहना बनाउने कम्पनीले कसरी ‘हीरा है सदा के लिए’ भन्दै विज्ञापन गरेर बढी महिलालाई हीरा किन्न लगाउन सकिन्छ भनेर यो प्रतियोगितामा पैसा हालेका हुन्छन् । सहभागीहरूले जितेपछि हीराका सेट उपहार पाउँछन् । त्यही सेट लगाएर फोटो खिचाएपछि संसारभरिका महिलाको मन तानिन्छ, हीराको बिक्री बढ्छ ।


सौन्दर्य प्रशाधनको कुरै नगरौं, यस्ता कम्पनीले कुन देशमा महिलालाई आफ्नो ‘कम्पनी’ को मालसामान किन्न लगाउँदा फाइदा हुन्छ भनेर हेरिरहेका हुन्छन् । व्यापारीको धर्मै त्यही हो । अनैतिक हुने भएन । तर, मैले समस्याचाहिँ तब देख्छु जब यस्ता सौन्दर्य प्रशाधन कम्पनीले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् । अनि बुद्धिजीवी भन्ने मजस्ता पनि त्यसको फन्दामा पर्छौं । सौन्दर्य प्रतियोगिता हुँदा कुनै देशका गाउँघरका, काम गरेर पसिना निकाल्ने, युवती, हातमा ठेला परेका युवती, भारी बोकेर उकाली ओराली गर्ने युवती मञ्चमा उभिँदैनन् । उनीहरूसँग न पैसा हुन्छ न ‘अनुहार’ र ‘शरीर’ देखाउने ‘सौन्दर्य ।


पहिले पहिले पढिन्थ्यो, ‘संसारमा सबभन्दा बढी सुन्दरी उत्पादन गर्ने देश हो भेनेजुएला ।’ संसारमा सबभन्दा बढी तेल भण्डारण भएको भेनेजुएलामा युवतीहरूलाई सानैदेखि सुन्दरी हुन प्रेरित गरिन्थ्यो । पर्याप्त मात्रामा पैसा भएकाले सायद त्यहाँको समाज र परिवारले आफ्ना छोरीहरूलाई सौन्दर्य प्रशाधन दिन समस्या भोग्नुपर्दैनथ्यो । र, युवतीहरूको सपना नै सुन्दर बनेर ‘विश्व सुन्दरी’ को ताज पहिरने हुन्थ्यो ।


तर, यसका लागि त्यहाँका युवतीहरूले कस्तो बलिदान गर्नुपथ्र्यो भन्ने विचार ‘सौन्दर्य’ हेर्ने मानिसले थाहा पाउन सक्दैन । त्यहाँ १२ वर्षे बालिकाको नाक, पुठ्ठाको शल्यक्रिया गरेर सौन्दर्य बढाउन मातापिता सहजै स्विकार्थे । १६ वर्षमा वक्षस्थलको शल्यक्रिया गरेर ठूलो देखाइने चलन पनि रहेछ । दाँतलाई मिलाउने त सहज कामै हो । तर, मातापिताले ९ वर्षीया बालिकालाई ‘हर्मोन’ सुई दिएर ठूलो बनाउने काम गरिन्थ्यो भन्ने पढेपछि चाहिँ लाग्यो— सौन्दर्यका लागि अलि बढी नै ‘बलिदान’ दिनुपर्ने रहेछ । ९ वर्षमा त्यस्तो हर्मोन दिएपछि ती बालिकाको शरीरमा कस्तो प्रभाव पर्ला भनेर त्यहाँको समाजले किन नसोचेको ? ‘सुन्दरता’ भएपछि ‘स्वास्थ्य’ बारे के वास्ता भनिएको होला सायद ।


मिस भेनेजुएला विमे नाभा, ३२ ले आफ्नो जिब्रामा सानासाना प्लास्टिकका टुक्रा शल्यक्रिया गरेर घोचेकी थिइन् । ठोस पदार्थ केही खान नसकियोस् भनेर । तरल पदार्थ मात्र खाएपछि शरीर मोटो हुँदैन भनेर (न्युयोर्क पोस्ट, जनवरी २५,२०१५) । मिस भेनेजुएला बन्न त्यहाँका महिलाले आफ्नो तलबको आधा पैसा सौन्दर्य प्रशाधनमा खर्च गर्थे । सुन्दर देखिन १५ वर्षीया चोरजेलो मेरोले हजुरआमासँग पैसा मागिन्, त्यसले उनले नाकको शल्यक्रिया गरिन् । हजुरआमा– आफू झोपडीमा बसे पनि नातिनी सुन्दर हुँदा खुसी भइन् । लिएको ऋण कसरी तिर्ने भन्ने हजुरआमाको पिर नाक राम्रो बनाएकी १५ वर्षीया मोरोले के बुझून् ।


भेनेजुएलामा महिलाको शरीरको शल्यक्रिया गरेर प्लास्टिक सर्जनले पर्याप्त पैसा कमाउँछन् । प्रत्येक कुनाकुनामा सौन्दर्य प्रतियोगिता हुने त्यहाँको हालत अहिले गाह्रो भएको छ । कतिपय गर्भवती महिलाले गर्भावस्थामा पेटभरि खान पाउँदैनन् । एक अनुसन्धानअनुसार २०१७ मा त्यहाँ झन्डै १७ प्रतिशत शिशु कम तौलका जन्मेका थिए । खानेकुराको अति कमी भएर बासिन्दाहरू सिमाना जोडिएको देश पनामा र ब्राजिलतर्फ शरण लिन गइरहेका छन् । लामो समयसम्मको राजनीतिक खराब व्यवस्थापनको परिणाम ।


‘सुन्दरी प्रतियोगिता’ मा बुद्धिको प्रतिस्पर्धा हुँदैन । शल्यक्रिया, क्रिम, मेकअप, लुगा आदिले निर्णय गरिन्छ । सौन्दर्य प्रशाधन कम्पनीलाई कुन देशमा आफ्नो व्यापार फैलाउनु छ, त्यहाँका महिलालाई ‘सौन्दर्यप्रति जागरुक गराएर त्यहींका महिलालाई ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ बनाइन्छ । भारत, चीन, थाइल्यान्डमा पनि कम्पनीहरूले ‘विश्व सुन्दरी’ र ‘ब्रह्माण्ड सुन्दरी’ बनाइदिए । अब ती ठाउँका महिलाले धेरै प्रशाधन प्रयोग गर्छन् ।


चीन, भारत आदि देशमा सुन्दरताको भाषा बदलिएर ‘मानसिक अवस्था’ मै फरक आएको छ । गोरो भएन भने जीवनमा सफलता पाइँदैन, प्रेम पाइँदैन भन्ने भावनाले विचरी बालिका/किशोरी/युवती सधैं ग्रसित । हरतरिकाले गोरो बन्न चाहन्छन् । चाहे त्यसले स्वास्थ्यमा जतिसुकै हानि गरोस् ।


भारतमा पहिलेपहिले मिस इन्डियालाई ‘तपाईं के गर्न चाहनुहुन्छ’ भनेर प्रश्न गर्दा ‘समाज सेवा’ भन्थे । ‘मदर टेरेसा’ मन पर्छ भन्थे । तर, पछि कुनै पनि भारतीय ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ ले ‘समाज सेवा’ गर्छु भनेको वाचा सम्झेनन् ।


यदि मिस खतिवडा एक कम्युनिस्ट पार्टीकी सदस्यकी छोरी नभएकी भए सायद नेपाली समाजमा यति धेरै छलफल हुँदैन थियो वा कम्युनिस्टहरू ‘सत्तामा’ नभएको भए पनि यति उनको बारेमा धेरै विमर्ष हुँदैनथियो । उनका बाबुले ‘मेरी छोरी भए पनि उसलाई आफ्नो जीवनमा के गर्ने भन्ने अधिकार छ’ भने पनि हुन्थ्यो ।


मिस खतिवडाले सुन्दरी प्रतियोगितामा भाग लिंदा र त्यति उचाइसम्म पुगेर नेपालको नाम र नाक राख्न लागेकी छन् भने उनलाई बधाइ दिनैपर्छ । उनी एक प्रकारले ‘सेलिब्रिटी’ भइसकिन् । अब उनले म ‘समाज सेवा’ मा लाग्छु भन्लिन् । लागे राम्रो ।

यदि मिस खतिवडाले निर्मलाका लागि बोलिदिइन् भने उनलाई भोट दिनेहरूले राम्रो नै मान्नुपर्छ ।


उताबाट नेपालमा फर्केपछि आफ्नो ‘सेलिब्रिटी’ अवस्था प्रयोग गरेर उनले तराईका दलितका लागि, सुदूरपश्चिमको छाउपडीविरुद्धमा बोलिन्, लेखिन् भने त्यसलाई पनि राम्रो नै मान्नुपर्ला । तर, २२ वर्षीया युवतीबाट हामीले उनले यसो गरुन् भनेर बढी आशा गर्नु पनि त भएन नि ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

‘पिताजीको अनैतिक चरित्र’

संस्मरण
माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज ।’ त्यो केटीले मानिन । माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो । त्यो केटी उठेर आफ्नी आमाछेउ गई ।
मदनमणि दीक्षित

काठमाडौँ — ती युवतीसितको अवैध सहवासले गर्दा पिताजीबाट हामी छोराछोरी र माताजीले ठूलै दु:खकष्ट भोग्नुपर्‍यो । त्यो सम्बन्धबाट पिताजीलाई बाहिर निकाल्न हामीले प्रयास गर्दा सन् १९५५ मा उहाँले हामीसित रिसाएर बनारसको हाम्रो घर आफ्ना माहिला दाजुको जेठा छोरालाई बकसपत्र लेखेर छोडिदिनुभयो । त्यतिबेलै त्यो घरको मोल करोड थियो ।

माताजीको अवसानभन्दा निकै वर्षपहिले नेपालमा भीमशमशेरको प्रधानमन्त्रीत्वको समयको कुरा हो । मेरा पिताजीलाई उनले गम्भीर यातनाहरू दिइरहेका थिए । त्यस्तैमध्ये एउटा थियो— घर र डिल्लीबजार खोरमा आधाआधा समय बस्नु । पिताजीले बिहान आठ बजेदेखि भोलिपल्ट बिहान आठ बजेसम्म चाहिँ डिल्लीबजारको खोरमा थुनिनुपथ्र्यो । तिनताका दुई जना लट्ठीधारी प्रहरी उहाँका साथै रहन्थे ।

संवत् १९८७ सालको घटना हो यो । एक दिन पिताजी हाँडीगाउँको आफ्नो घरमा आउनुभयो । रातको साढे सात बजेको थियो ।
दुई जना प्रहरी तल दलानमा थिए । म आठ वर्षको केटो थिएँ । मेरा दुई दिदी दस र तेह्र वर्षका थिए । हामीलाई कोठाबाहिर राखेर पिताजीले ढोका बन्द गर्नुभयो । माताजीसँग उहाँको कुन कुरामा विवाद बढ्यो, जथाभावी पिट्न थाल्नुभयो । कोठामा रहेका जुत्ता र खराउले नपुगेपछि लट्ठीले पिटेको पिट्यै गर्नुभयो । हामी तीन जना केटाकेटी रुँदै बाहिरबाट ‘ढोका खोल्नु, ढोका खोल्नु’ भन्दै कराइरह्यौँ । आधा घण्टापछि पिताजी ढोका खोलेर सोझै तल जानुभयो र दलानमा पर्खिरहेका प्रहरीसँगै डिल्लीबजार खोरतिर जानुभयो । जाँदाजाँदै उहाँले मलाई भन्नुभयो, ‘असनको त्यो वैद्य पसलमा यस्तो नीलडाम घाउमा लगाउनुपर्ने लेप पाइन्छ । सो किनेर ल्याएर भोलि माताजीका घाउहरूमा लगाइदिनू ।’ गएर माताजीका पिठ्युँ, आङ, पाखुरा, खुट्टामा जताततै नीलडाम थिए, छाला चर्किएर रगत बगिरहेको थियो ।

भीमशमशेरकै समयमा हाम्रो घरसँगैको अर्को घरको एउटा कोठामा पूर्व एक नम्बरका एक जनसेनाका तल्लो तहका अधिकारी डेरा गरी बस्थे । तिनलाई हामी ‘हवल्दार’ भन्ने गथ्र्यौं । एक दिन तिनले आफ्नो घरबाट किशोर उमेरकी आफ्नी छोरी लक्ष्मालाई डेरामा ल्याए र भीमशमशेरको टङ्गाल दरबारमा सुसारे सेविकाका रूपमा भर्ना गरिदिए ।

जहानियाँ शासनको त्यो कालो युगमा ‘रोलवाला सत्र भाइ राणाजी’ को बिगबिगी थियो । ती प्रत्येकका घरमा पाँच जनादेखि पच्चीस जनासम्म चौध वर्षदेखि अठार वर्षसम्मका किशोरीहरू सुसारेका रूपमा राख्ने चलन थियो । तिनलाई राणाजीहरू भोग गर्थे ।
निकै गोरी, छरितो जिउकी लक्ष्मा भीमशमशेरका छोरा पद्मशमशेर र अन्य राणाजीहरूकी उपभोग्य थिई । टङ्गाल दरबारमा भर्ना भएको चार महिनापछि माघमा त्यो केटी हाम्रो घरमा आफ्ना बाबुआमालाई भेट्न आई । तीन दिनको घर बिदामा आएकी त्यो केटी र मेरी माताजीबीच एक दिन दिउँसो दुई बजे दलानअगाडिको पेटीमा बसेर कुराकानी चलिरहेको थियो । म त्यसको ठीक माथिपट्टि झ्यालमा बसेर दुवै जनाको गफ सुनिरहेको थिएँ । त्यस बेला माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज ।’ त्यो केटीले मानिन । माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो । त्यो केटी उठेर आफ्नी आमाछेउ गई ।

यो घटना अर्कोपटक पनि भयो । भीमशमशेर मरिसकेका थिए । लक्ष्मा रुद्रशमशेरको दरबारमा सरुवा भएर आइसकेकी थिई । जुद्धशमशेर श्री ३ भएका थिए । एक दिन त्यो केटी आफ्नो बाबुलाई भेट्न हाम्रो घर आएकी थिई । हामी आँगनमा खेल्दै थियौँ । त्यो केटीले औँलाले मतिर देखाउँदै भनी, ‘ऊ मेरो पोइ !’ म बाह्र वर्षजतिको थिएँ होला । त्यो केटीले भनेको मैले बुझिनँ । ‘पोइ’ भन्ने शब्दको अर्थ नै मलाई थाहा थिएन । अंशबन्डामा हाम्रो भागमा पर्नुभएका र रोजै बिहान आएर हाम्रो घरका देवता शालिग्रामको पूजा गरिदिनुहुने, मभन्दा सात वर्ष जेठा धरणीधर भट्टराईलाई मैले भोलिपल्ट सोधेँ, ‘लक्ष्माले मलाई देखाएर ऊ मेरा पोइ भनी । यो भनेको के हो ?’ उहाँले मलाई बताउनुभयो, ‘विवाह गरेको एक जनालाई पति भनिन्छ । त्यसपछि अर्कोसित टाँस्सियो भने फुँडी र तेस्रो मानिससित सुत्यो भने त्यसलाई रन्डी भनिन्छ । रन्डीले स्वर्ग जान पाउँदैनन् । त्यही पनि ऊ मेरो पोइ भनी मान्छेलाई देखाउँदै एक हजार सङ्ख्या पुर्‍यायो भने त्यो केटी स्वर्ग गएर इन्द्रकी पत्नी भएर रानी हुन पाउँछे ।’

माताजी मूच्र्छा पर्ने क्रम चलिरह्यो । स्थानीय वैद्यले भनेबमोजिम हाम्रो खेतको कान्लामा रहेको बोझोजस्तो जडीबुटी खुवाउने काम चलिरह्यो । तर, कुनैले पनि काम गरेन ।

सन् १९४५ मा वीरगन्जको हरिनारायण नामक मारवाडीको बगैँचामा भाइ महेशको विवाह भएको थियो । त्यस विवाहका क्रममा एक साँझ एउटी युवतीले मलाई फकाउने प्रचण्ड कोसिस गरेकी थिइन् । त्यस बेला म एमए पहिलो वर्षमा पढ्दै थिएँ र संन्यासी हुनेबारे कोसिस गर्दै थिएँ । मैले नमानेपछि ती युवती मेरा पिताजीतिर ढल्किछन् । सन् १९४६ को अन्तिमतिर म बलरामपुरमा काहिँला पितृव्यका छोराको व्रतबन्धको निम्तो मान्न मेरा सानाकान्छा पितृव्य हरमणि दीक्षित पनि काठमाडौँबाट आउनुभएको थियो । एक दिन उहाँले मलाई भन्नुभयो, ‘मदनबाबु, यता आउँदा म वीरगन्जमा तिम्रा पिताजीको डेरामा दुई दिन बसेको थिएँ । त्यस बेला तिम्रा पिताको चालचलन र चरित्रबारे मैले आफूले देखेका कुरा तिमीलाई भन्दै छु । मलाई त्यो चित्त बुझेन ।’

पछि गएर यस विषयले दारुण रूप लियो ।

त्यसै बेलाको कुरा हो । माताजी पिताजीलाई सम्झाउन वीरगन्जबाट बनारस जानुभएको थियो र आफ्नी विधवा दिदीको डेरामा बस्नुभएको थियो । भाइ महेशमणिले उहाँलाई त्यहाँ पुर्‍याएका थिए । पिताजीलाई रामकटोरामा भेटेर सम्झाउन दिउँसो तीन बजेतिर उहाँ त्यतै जानुभएछ । तर, घरको ढोका बन्द रहेछ । जमिनबाट तीनवटा ढुङ्गे खुड्किला चढेपछि ढोकामा पुगिन्थ्यो । उहाँले ढोकामा पुगेर ढकढक गर्नुभएछ । पिताजीले ढोका खोल्नुभएछ । ढोका खुलेपछि माताजीले निहुरिएर खुट्टामा ढोग्न खोज्दा पिताजीले दाहिने खुुट्टाले माताजीको शिरमा हानेर तीन खुड्किला तल लडाइदिनुभएछ । उहाँहरूबीच कुनै कुराकानी हुन पाएन । शरीरमा घाउचोट बोकेर माताजी आफ्ना दाजुको घर फर्किनुभयो । डाक्टर बोलाइयो र आवश्यक मह्लमपट्टी गरियो । स्वस्थ भएपछि उहाँ आफ्ना काहिँला देवर यज्ञमणिलाई भेट्न बलरामपुर जानुभयो, पिताजीलाई सम्झाउन–बुझाइदिन भन्नलाई ।

माताजी बलरामपुरमा पन्ध्र दिन बस्नुभयो । उहाँको एपिलेप्सी झन् बल्झेछ । लखनउबाट डाक्टर बोलाइयो । त्यो डाक्टरले केही गर्न सकेन र भनेछ, ‘अब उहाँको जीवन लामो छैन ।’ त्यस बेला भाइ महेश वीरगन्ज फर्किसकेका थिए । संवत् २०१३ साल सुरुको कुरा हो यो । म काठमाडौँमा थिएँ । बलरामपुरबाट मेरा नाउँमा टेलिग्राम आयो, तुरुन्तै आउनू भनेर । चार दिनपछि म बलरामपुर पुगेँ । माताजीको स्वास्थ्य राम्रो हुँदै रहेछ । दुई दिनपछि बलरामपुरबाट पितृव्यको मोटरगाडीमा गोन्डासम्म र त्यहाँबाट रक्सौलसम्म ट्ेरनमा मैले माताजीलाई ल्याएँ । छपरादेखि बेतियासम्मको ट्ेरन यात्रामा माताजी फेरि दुई पटक मूच्र्छा पर्नुभयो, अवसानप्राप्त हुनुहोलाजस्तो स्थितिमा पुग्नुभयो । त्यस बेला म ट्ेरनको तेस्रो दर्जामा थिएँ भने सुविधा होस् भनेर माताजीलाई दोस्रो दर्जामा राखेको थिएँ । दोस्रो दर्जामा छपरादेखि काठमाडौँकै मणि परिवारका नातेदार कोपुण्डोलका हर्षनाथ थिए र उनैले हेरविचार गरिदिए । मैले आफूसित रहेको होमियोप्याथिक औषधि माताजीलाई खुवाउने गर्दै आएको थिएँ ।

बलरामपुरबाट फर्केपछि हामीले रुपैयाँ पैसाको अभावले गर्दा अति दु:ख भोग्नुपर्‍यो । वीरगन्जमा छउन्जेल मेरी देवीजीले माइतीघरबाट सहयोग ल्याएर चामल, दाल, तरकारी, मसला आदिको सम्पूर्ण खर्च चलाउने गरेकी थिइन् । त्यहाँबाट सुरुमा म एक्लै काठमाडौँ आएको थिएँ, कुनै काम पाइन्छ कि भनेर ।

यथार्थ भन्ने हो भने त्यस बेला मेरा कान्छा भाइ महेन्द्रमणि तथा माहिला भाइ महेशमणि गम्भीर बिरामी हुँदा पनि देवीजीमार्फत मेरो ससुरालीले सम्पूर्ण खर्च बेहोरिदिएको थियो ।

माताजीबारे यी कुरा नलेख्ने र पिताजीले वीरगन्जकी ती युवती अर्थात् आफ्ना मामाकी नातिनीकी छोरीसित सहवास बढाएका बारेमा कुनै चर्चा नगर्न मेरी देवीजीले मसित बराबर आग्रह गर्ने गर्थिन् । उनी भन्थिन्, ‘अन्य केटीसितको व्यवहारमा पिताजीले गल्ती गर्नुभएकै हो ।... सबैमाथि आक्रमण गर्नु पनि नराम्रो हो । तथापि जे हुनु थियो, त्यो सब भयो । अब आएर पिताजीमाथि मात्र किन दोष थोपर्ने ? हजुर आफूले पनि सहनुपथ्र्यो तर कहिल्यै सहने कोसिस गर्नुभएन ।’

आफ्नी पत्नीका गुनासाहरूलाई म नाजायज भन्दिनँ, तथापि मेरो स्वाभिमानले पिताजीको अनैतिक चरित्रका सामुन्ने निहुरिने अनुमति मलाई दिएन । पिताजीले कतिसम्म निकृष्ट व्यवहार गर्नुहुन्थ्यो भने एकचोटि मलाई ती युवतीका अगाडि भन्नुभएको थियो, ‘मेरा मामाकी नातिनीकी छोरी हो । तसर्थ तेरी दिदी पनि हो । ल, यो दिदीको खुट्टामा ढोग् ।’ आफूले अवैध सहवास गरिरहेकी केटीको खुट्टामा ढोग्न पिताजीले मलाई अह्राउनुलाई मैले त्यस बेला आफ्नो स्वाभिमानका निम्ति अत्यन्त ठूलो आघात ठानेको थिएँ । मेरो स्वाभिमानको आधार पनि थियो । मेरा पितामह काशीनाथ आचार्य दीक्षितका भारतका धेरै ठूला विद्वान् डा. सर्वपल्ली राधाकृष्णनले मेरो स्वाभिमानलाई पुष्टि गरेका थिए । त्यसैले मेरानिम्ति पिताजीको त्यो आचरणगत भ्रष्टता असह्य हुने गरेको थियो । आफ्नो त्यो असहिष्णुताले गर्दा एक पटक मैले घरपरिवार सबै छाडेर सदाका लागि बिदेसिने निर्णय पनि गरेको थिएँ । तर, माताजी र परिवारप्रतिको कर्तव्यले मलाई रोकेको थियो ।

माताजीको मानसम्मानबारे सम्झिने प्रयास गर्दा म त्यस बेलाका वरिष्ठ र प्रबुद्ध काशीनाथ आचार्य दीक्षितको समय र समाजको अवस्था तथा सामाजिक सम्बन्धबारे ध्यान दिन्छु—

त्यो परिवारमा सवारी साधानका रूपमा नौवटा तिब्बती घोडा थिए । तिनको भोजन र स्याहारसुसारका लागि एघार जना सइस र कामदारहरू थिए । ती सबै त्यस बेलाको ऐन–कानुनअनुसार ‘कमारा’ थिए । ती कमाराहरूका कमारी पत्नी पनि त्यही घरमा काम गर्दै वर्षका दुई जोर (रामनवमी र बडादसैँमा) सबैभन्दा सस्तो कपडाको धोती–चोलो पाउने गर्थे ।

तबेलाको काम गर्नेबाहेक परिवारका सदस्यहरूको दैनिकको सेवा कार्यका निम्ति एक–एक जना कमारी रहने गरेका थिए । ती कमारीका लोग्नेहरू पनि रहने गर्थे । एउटी कमारीले मेरी माहिली दिदीको विवाहको अन्त्यमा लोकन्ती भएर जानुपर्दा भाने भन्ने उसको लोग्नेले नयाँ सुती साडीको माग गरेको थियो । त्यसबाट रिसाएर उसलाई मेरा एक पितृव्यले हात समातेर फनफनी घुमाएका थिए र त्यसको दाहिने पाखुरा भाँचिएको थियो । यो संवत् १९७७ सालको घटना हो ।

त्यही भाने कमारोले एक दिन मेरा एक पितृव्यको दराजमा रहेको बट्टा चुरोट झिकेर सल्कायो । त्यो अपराधबापत उसका दुवै हातमा कटक बिजुली बाँधेर चक्का घुमाई एक घण्टासम्म बिजुली लगाइयो । बिजुली लागेको समयमा भाने एक डल्लो भएर भुइँमा लडिरह्यो । चार घण्टापछि त्यो केटोको होस खुल्यो र उठेर काम गर्न थाल्यो । यो घटनाको साक्षी थिएँ म ।

हाम्रो घरमा काम गर्ने कमाराकमारी र भोजन पकाउने बाहुन बाजे र बाहुनी बज्यैहरूले बिहान–बेलुका मकैको पीठोको ढिँडोसँगै रायोको साग खानुपथ्र्यो ।

कमारीहरू हाम्रो घरमा बस्दा अज्ञात व्यक्तिबाट सन्तान जन्माउँथे र त्यस्ता सन्तानलाई हाम्रो त्यो विशाल घरको चारैतिरको पर्खालको फेदमा लुकाएर गाडिदिने गर्थे ।

मेरा पितामह चढ्ने घोडा पुड्को, निक्खर कालो र निकै फुर्तिलो थियो । पितामहले पहिरिने कोटमा घोडाको कालो रौँ एउटा मात्र पर्‍यो भने पनि उहाँ गैरिधारादेखि टुँडिखेलको खरीको बोटसम्म जाँदा सयसले घोडाले जति नै उहाँको लट्ठीको पिटाइ सहनुपथ्र्यो ।

पितामहको शान्ति निकेतन नामक त्यस घरमा चर्पी घरभित्रै थियो । तर, केही फरक सातवटा चर्पी कोठा बनाइएका हुन्थे । पितामह भने आफ्नै कोठामा कोपरामा आफूलाई हलुका तुल्याउनुहुन्थ्यो । चार वर्षदेखि एघार वर्षसम्मका केटाकेटीहरू चर्पीघरतिर जाने ढुङ्गे ओसारोको छेउको नालीमा दिसा गर्ने गर्थे । चर्पीकोठासम्म जान चाहनेहरूले ती फोहोरमैलामा कुल्चिँदै जानुपथ्र्यो । चर्पीकोठाको कनेस्टर भरिएको सात दिनपछि त्यसलाई खेतमा लगी घोप्ट्याइन्थ्यो ।

मेरा एक पितृव्यले घरको तेस्रो तलामा आफ्नो कोठाबाहिर सिमेन्टको सानो चर्पी बनाउनुभएको थियो र उहाँ आफूलाई हलुका पार्न त्यहाँ नाङ्गै बस्ने गर्नुहुन्थ्यो । त्यस बेला घरका पाँच–सात जना केटाकेटीले उहाँको सामुन्ने बसेर दिसा निस्केको तथा पिसाब बगेको हेरिहरहनुपथ्र्यो ।

त्यो विशाल घरमा भान्साघर दुईवटा जस्तै थिए । एउटा कोठामा मेरा पितामहका निम्ति प्राय: मेरी पितामही उच्चस्तरीय चामल, साग, तरकारी, आलुको अचार, बाक्लो पारेको दूध तयार पार्नुहुन्थ्यो । भोजन तयार भएपछि एउटी कमारीले गएर पितामहका सामु ‘तल बज्यैले भन्नुभयो, भोजन तयार भयो’ भन्नुपथ्र्यो । पितामहले भोजन गरिसकेपछि पितामहीले त्यही ठाउँमा बसेर तिनै थाल र कचौरामा पतिले बाँकी छाडेका ‘पुरा’ खानुपर्ने चलन थियो । पितामहबाहेक अरूका लागि छुट्टै भोजन पाक्ने गथ्र्यो ।
पितामह र पितामहीको भोजन सिद्धिएपछि भान्साको ढोकाबाहिर झुन्डिएको धातुको एउटा घन्टामा काठको हथौडीले ठूलो आवाज आउने गरी दुई पटक हानिन्थ्यो । त्यसपछि घरका छोराहरू भोजन गर्न आउने गर्थे ।

छोराहरूले भोजन गरिसकेपछि भान्से बाहुन बाजेले उही घन्टामा तीन पटक हान्थे । यसपछि घरका बुहारीहरू भान्साघरमा आउँथे र पतिदेवले छाडेका पुराको थालमा खाने गर्थे । तिनले खाँदाखाँदै बाहुन बाजेले थप भोजन पनि पस्कने गर्थे ।
एवंरीतले पितामाताले खाइसकेपछि छोरा र छोरीहरूको भोजन गर्ने समय आउँथ्यो । केटाकेटीलाई भान्साकोठाको बाहिर रहेको पेटीमा नत्र आफ्नो कोठाबाहिरको मटानमा कमारी वा तिनका माताहरूले लगेर खुवाउने गर्थे ।

माथि उल्लेख गरिएका विवरणहरू हामी बम्बईमा अढाई वर्ष बसेर म चार वर्षको भएपछि काठमाडौँको घरमा आएपछि मेरा बाल्यकालका सम्झना मात्र हुन् । त्यस बेला घरका केटाकेटीलाई कठोर यातनामा राख्ने गरिन्थ्यो । ताजा हरियो पोल्ने सिस्नुलाई पानीमा भिजाएर केटाकेटीका नाङ्गो हात र आङमा छापिदिने चलन व्यापक थियो । त्यति मात्र होइन, अति सामान्य गल्ती गर्दा पनि केटाकेटीलाई धोतीले हातखुट्टा बाँधेर दलिनमा आधा घण्टासम्म झुन्ड्याइदिने व्यवहार सामान्य थियो ।
(दीक्षितको प्रकाशोन्मुख संस्मरण सङ्ग्रह ‘मेरी माता’ बाट)

प्रकाशित : मंसिर २२, २०७५ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×