कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उवा अर्थशास्त्र

पोषण
डा. अरुणा उप्रेती

काठमाडौँ — नेपालको मुस्ताङ, मनाङ, कर्णाली भेगतिर उवा पर्याप्त पाइन्छ । नजिकको तीर्थ हेला भनेझैं उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्‍यो भने कतिले त उवा र खुवा छुट्ट्याउन पनि सकिरहेका हुदैनन् । वास्तवमा उवा भनेको जौ नै हो । उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्त्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।

उवा अर्थशास्त्र

केही महिनाअघि मेरी एक पत्रकार शर्मा थरकी साथी फिनल्यान्ड गएकी थिइन् । दस दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधें, ‘मलाई के ल्याइदिऊँ त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु,’ उनको भनाइले मनै अमिलो भयो । ‘त्यति टाढाबाट जाबो पाउरोटी । त्यो त म यहीं पाउँथें नि,’ मनमनै सोचें । उनले पाउरोटी दिएपछि पो आनन्द लाग्यो । यो त काठमाडौंमा पाउने मैदाले भनेको सेतो पत्रु पाउरोटी होइन, उवाले बनेको अति स्वास्थ्यकर पाउरोटी पो रहेछ ।


‘फिनल्यान्डमा त सेतो पाउरोटी खाँदैनन् । सरकारले त्यहाँका जनताको स्वास्थ्य राम्रो होस् भनेर पत्रु खानामा बढी कर लगाएको छ । र, स्वास्थ्यकर खाना खान प्रेरित गर्छ,’ म आफैं ८ वर्षअघि फिनल्यान्ड जाँदा एक नर्सले भनेको कुरा याद आयो । अनि पो मेरी साथीले ल्याइदिएको उपहार खुसी भएर लिएँ, त्यो उपहार पाएपछि मलाई मनमा झल्यास्य भयो, यस्तो राम्रो र पौष्टिक उवा त नेपालको मुस्ताङ, मनाङ, कर्णालीमा त पर्याप्त पाइन्छ तर ‘नजिकको तीर्थ हेला’ भनेझैं, त्यो उवाको महत्त्व नजानेरै होला, उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्‍यो भने कतिले त ‘खुवा’ भनेर सुन्दा रहेछन् । कतिले चाहिँ ‘यस्तो आधुनिक जमानामा पनि के यस्तो पुरानो जमानाको मान्छेजस्तै कुरा गरेर, कर्णालीको उवाको कुरा गरेर हिँडेको । अहिले त कर्णालीमा उवा होइन सेतो भातको चलन छ । तिमी काठमाडौंमा बसे त लपक्क मीठो सेतो भात खाने । अनि उवाको कुरा गर्ने ।’ भनेर मलाई हपार्ने पनि गरेका छन् ।


कतिलाई चाहिँ उवा भनेको अचम्मैको अन्न हो भन्ने लाग्दो रहेछ । तर, वास्तवमा उवा भनेको जौ नै हो । स्थानीय भाषामा उवा भनेपछि बुझिन्छ । हावापानी ठाउँअनुसार उवाको पौष्टिक तत्त्व केही फरक होलान् तर उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्त्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।


पहिलेपहिले मुस्ताङतिरको यात्रा गर्दा भरियाले उवाले बनेको चम्पा (जौ भुटेको पीठो) आफूसँग लैजान्थे । भोक लागे त्यही पानीमा घोलेर खान्थे । ६–७ घण्टा हिँड्न ऊर्जा सँगाल्थे । अहिले बाटो गएपछि त चाउचाउ र चिसो खान्छन् । अनि पैसा दिएर मुटुको रोग किन्छन् । उवा, किनुवा, चिनो आदि जस्तो अन्नलाई बिर्सेर चामलको स्वाद खोज्नेहरूलाई थाहा छैन कि यसो गरिरहँदा उनीहरूले कस्तूरी मृगझंै नाभिमा भएको सुगन्ध थाहा नपाएर, सुगन्ध खोज्न कताकता हिँडिरहेछन् । सायद फिनल्यान्डका पढे–लेखेका डाक्टर, सरकारी कर्मचारी, बालबालिकाले उवाबाट बनेको पाउरोटी खान्छन् भन्ने बुझे भने कर्णालीका बासिन्दाले उवालाई सम्मान गर्न सिकेर फेरि फलाउने प्रयत्न गर्थे कि ? अहिले त उवाको पिठो त्यहाँ दुर्लभ भएको छ ।


गत वर्ष जुम्लामा गएर उवाको पिठोबाट बनेको रोटी ख्वाउनुस् न भनेर भन्दा त्यहाँ हाँसाको फोहोरा चलेको थियो । ‘कहाँ यहाँ उवा पाउनु । कले खेतमा लगाउने ? कले खाने ? उवा किन्ने मान्छे छैनन् ? उवा खान्छु भनेर आएको तपाईं पहिलो मान्छे हो,’ उनीहरूको हाँसाले भरिपूर्ण यी वचन सुनेर मलाई दु:ख लागेको थियो । उवाको रोटी खान पाए त कस्तो पौष्टिकताले भरिपूर्ण खाना खाइन्थ्यो भन्ने लागेको थियो । तर, के गर्ने सरकारले स्थानीय अन्नलाई बेवास्ता गर्ने र बाहिरबाट ल्याएको कुहिएको चामल खान जनतालाई विवश गराएको अवस्थामा जनता पनि के गरून् त ?


त्यही जुम्ला गएको बेला काठमाडौंबाट कोदो र फापरको २० वटा जति रोटी बनाएर लगेको थिएँ । ७ दिनसम्मको यात्रामा मेरो खाजा त्यही रह्यो । जुम्लाको होटलमा कोदोको रोटी बन्दैन रहेछन्, मैले चिया मगाएर झोलाबाट रोटी निकालेर चियासँगै चोप्दै खाँदा कति जनाले मलाई अचम्मको नजरले हेरेका थिए । चियामा बिस्कुट नचोपेर, कोदोको कालो रोटी चोपेको देखेर होला ।


यात्रामा सँगै हिँडेका एक जनाले त भनी पनि हाले ‘काठमाडौंबाट ल्याएको यो रोटी बासी भएन र ? बासी नखानू भन्ने अरूलाई, अनि आफूचाहिँ बासी खाने ? ‘तपाईंले पसलमा किन्ने बिस्कुट, चाउचाउ, कुरमुरेचाहिँ बासी हुँदैनन् । मैले घरमा बनाएर ल्याएको कसरी बासीे,’ मैले भनें ? उनीहरूलाई मैले जुम्लाको एक पसलमा किनेको रु. ५ जाने दालमोठको पोको देखाएँ, बदाममा ढुसी लागेको थियो मैले भनें, ‘यहाँका बच्चाहरूले यस्तै ढुसी लागेको बदाम खान्छन् । अनि कलेजोको रोगी बन्छन् । यस्तो दालमोठ त कुहिएको फालेको दालमोठ जम्मा गरेर बनाइन्छ । त्यस्तो कुरा थाहा छ कि छैन । यहाँका जनतालाई ?’ ‘त्यसो भए सरकारले किन प्रतिबन्ध लगाउँदैन त यस्तो कुरालाई,’ धेरैले बारम्बार भने । ‘सरकारले त चुरोट र रक्सीमा पनि प्रतिबन्ध लगाएको छैन । के बालबालिकालाई त्यो किनेर खान दिने त ?’ मेरो प्रश्नले प्राय: सबैको मुखमा बुजो त लाग्छ तर प्राय: सबै जना फेरि बजारको दालमोठ, चाउचाउ, बिस्कुट किनेर भक्कुमार खान्छन्, कर्णालीमा बच्चालाई दिन्छन् । पैसा तिरेर रोग किन्छन् । यिनीहरूलाई हेर्दा लाग्छ आफ्नो घरमा फल्ने उवा, कोदो, फापर च्युरालाई अपहेलना गरेर यिनले नजिकको तीर्थ हेला गरेका छन् । सायद फिनल्यान्डका मानिसहरू आएर कर्णाली, मुस्ताङ र मनाङको जौ अर्थात् उवा किन्न थाले भने अनि यहाँका सांसदहरू जुर्मुराउनेछन् । ‘ओहो! उवा भनेको त बडो स्वस्थ वस्तु रहेछ, यसले त स्वास्थ्य र आर्थिक स्थिति दुवै राम्रो हुँदो रहेछ । लौ भन उवा फलाऔं ।’ अनि काठमाडौंका मन्त्रीहरू पनि एक दिन मुस्ताङको खेतमा गएर उवाको बारेमा लामो भाषण गरेर उवा दिवस मनाइदिनेछन् । बल्ल अनि नेपालीहरूले उवा खाने बानी गर्लान् कि ? तर, मलाई कहिलेकाहीं हाम्रा धानका थुप्रै बीउहरू लुप्त भएझंै उवा नै लुप्त हुने त होइन भन्ने लागिरहन्छ ।


उवाको बीउ र परिकारको बारेमा हामी नेपालीले अंग्रेजी वा फ्रेन्च भाषामा लेखिएको किताबमा पढ्नुपर्ने भयो भने त वित्यास पर्ने हो कि ?


जसरी ‘योग’ नेपालबाट बाहिर गएर ‘योगा’ भएर नेपाल भित्रिएको छ । अहिले नेपाली पैसा तिरेर ‘योगा’ गर्छन्, योग बिसर््िाएका छन् । पछि उवाको बारेमा पढेर स्वास्थ्यविज्ञले लेखेका किताब पढेर स्वास्थ्य मन्त्रालयले एउटा उर्दी निकाल्न बेर लगाउने छैन, ‘अबदेखि सबै बालबालिकाको खानामा एकएक चम्चा उवा छरिदिऊ । यसले बालबालिकालाई कुपोषणबाट बचाएर स्वस्थ बनाउनेछ । ‘अनि उवा बाहिरबाट ल्याएर बाँडिनेछ धेरै महँगोमा नेपालभरि । जब उवा जौ महँगो हुनेछ, प्याकेटमा राखिनेछ, अनि एक किलोको रु. ८ सय तिरेर किनिनेछ । व्यापारीहरू खोजीखोजी उवाको पोको बनाएर पसलमा राख्नेछन् । अनि नेपालीहरू दंग भएर महँगो उवा किन्नेछन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?