३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सौराहा सफारी

आरके अदीप्त गिरी

काठमाडौँ — सन्ध्याकालीन क्षितिजबाट रविले छोडेका अन्तिम किरण बटुलेर राप्ती नदी आफूलाई रंगीन बनाउन अभ्यस्त देखिन्छ । मानौं उसले सूर्यको लाली सुटुक्क चोरेर आफूमा एक बैँसालु उन्माद भर्न जानेको छ । त्यहीँ सूर्यास्तको रङले पोतिएको रातो कोलाजमास्तिरबाट उड्दै जान्छ— लामो आँट भरेका चराहरूको क्याराभान ।

सौराहा सफारी

जंगलको फराकिलो छातीमा रमाइरहेका गैँडा, हात्ती, मृग, चित्तल, मयूर र अन्य दुर्लभ वन्यजन्तुहरूको पदचापले सौराहा आफँैमा कलात्मक देखिन्छ । दिनभरिजसो जंगल सफारी गरेर ठीक त्यही कोलाजमय सन्ध्याकालमा ‘बास’ बस्न फर्किरहेका आगन्तुकहरूको लर्कन उस्तै विचित्रको लाग्छ ।


यी यावत् दृश्यानुभूतिले तपाईंको मनमा गजबको आनन्द सञ्चार कहीँ हुन्छ भने त्यो सौराहा नै हो । हो, चितवनस्थित सौराहामा सन्ध्याकालीन अनुभूति सँगाल्न तपाईं पुग्नुभो भने जिल्ल पर्नुहुनेछ । मेरो मन पनि यस्तै आनन्दले अभिभूत भएको थियो, पहिलो पटक सौराहा पुग्दा ।


घुमफिर र मनोरञ्जन गर्न चाहने पर्यटकका लागि सौराहा छुटाउनै नहुने गन्तव्य हो । उनीहरूको ‘ट्राभल मेनु’ को अग्रपंक्तिमै पर्छ सौराहा । आजभन्दा ४५ वर्षअघि यहाँ पर्यटनको बीउ रोपिएको थियो । अहिले देश–विदेशमा यसले ठूलो ख्याति कमाइसकेको छ । सम्भावनाका अनेक विम्ब र आयाममा फैलिएको छ— यहाँको भूगोल ।


बसोबासका दृष्टिले चितवन जिल्ला उपयुक्त त छ नै, वन्यजन्तु, थारू संस्कृति र जैविक एवं प्राकृतिक विविधताका दृष्टिले पनि धनी छ । समय र मौसमसँगै परिवर्तन हुने सौराहाको वातावरण मनोरम छ । हरित वनस्पति, चराचुरुङ्गी र जनावरहरूको उपस्थितिले यहाँ पुग्ने जोकोहीलाई विशिष्ट अनुभूति प्रदान गर्दछ ।


पर्यटकले हात्ती तथा जिप सफारी गर्दै जङ्गलका दुर्लभ एकसिंगे गैँडा, मृग, बँदेल, बाघ, गोही, जरायोदेखि विभिन्न प्रजातिका दुर्लभ चराहरूको अवलोकन गरेर आनन्द बटुल्न सक्छन् । दुर्लभ वन्यजन्तु सजिलैसँग अवलोकन गर्न सकिनु यस निकुञ्जको अर्को विशेषता हो ।
...


घाँटीमा झुन्डिएको क्यामेरा, बाइनकुलर र पिठ्युँमा सानो झोला बोकेका पथप्रदर्शकहरू । यहाँ आउने पर्यटकलाई जंगल सफारी गराउनमा निकै व्यस्त देखिन्छन् । उनीहरूको उत्साह, आँट र साहसले पर्यटकको मनमा बेग्लै ऊर्जा सञ्चार हुन्छ । सजिलैसँग जंगली जनावरको अवलोकन गर्दै प्रकृतिको काखमा हराउन पाउँदा कुन पर्यटकको मन आह्लादित नहोला र ? हेरेर मख्ख पर्छन् र हृदयमा अमिट छाप बोकी ती फर्किन्छन् ।


यहाँ पुग्ने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज आफैंमा एउटा अर्को संसार हो । जहाँ विविधतामय प्रकृति उनीहरूलाई स्वागत गरिरहेको हुन्छ । विशेषगरी यहाँ जंगल सफारीमा जान रुचाउने पर्यटक समुद्रपारिबाट आएका ‘पारखी’ हुन्छन् । उनीहरू दिनभर जंगल सफारीका साथै ‘वाक’ गर्छन् । जब साँझ छिप्पिँदै आउँछ, उनीहरूलाई ‘गुँड’ को चटारोले छोप्छ । यसबेला उनीहरूका सामु दुई विकल्प हुन्छन्— पायक पर्ने सुरक्षित स्थानमा टेन्ट–क्याम्प हाल्ने या नजिकको आवास क्षेत्रमा पुग्ने ।


यस्ता जंगल–पारखीहरूको यात्रा एकै दिनमा कहाँ सकिन्छ र ? अर्को दिनको सुरुआतसँगै पुन: सुरु हुन्छ सफारी । यसरी लामो समय दिएर जंगलमा घुमफिर गर्न सोखिन पर्यटकहरूको सोख केवल ‘सफारी’ को आनन्द लिनु मात्र होइन, निकुञ्ज क्षेत्रको प्राकृतिक दृश्यपानका साथै यहाँ पाइने विविध वन्यजन्तुको सूक्ष्म अवलोकन पनि उनीहरूको रुचि हो । जंगल क्षेत्रमा रहेको सिमसार र त्यस क्षेत्रमा बस्ने जलचरहरू— घडियाल गोही, कछुवाजस्ता प्राणीको पनि अवलोकन गर्न ती छुटाउँदैनन् ।


उनीहरूको अवलोकन जंगलमा मात्रै सीमित हुँदैन । कतिपय पर्यटकको रोजाइमा जंगल आसपासका बस्तीहरू पनि पर्छन् । आसपासका आदिवासी बस्तीको रहनसहन, परम्परा, संस्कृति र लवाइखवाइ या भनौं समग्र जीवनशैलीप्रति उनीहरू बडो चाख दिएका हुन्छन् ।


हाल निकुञ्ज आसपासका कसरा, वनकट्टा, मेघौली, घडगाई, अमलटारी, कुजौली, पटिहानी आदि क्षेत्रहरूमा पर्यटकको उल्लेखनीय उपस्थिति रहने गरेको छ । निकुञ्ज प्रवेश गर्ने झन्डै ७५ प्रतिशत पर्यटकको गन्तव्य भने सौराहा नै हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरू बताउँछन् ।
...


सौराहा घुम्न आउने अधिकांश पर्यटकको रोजाइ जंगल सफारी नै हुने गर्छ । सफारीका लागि बिहान र अपराह्नको समय उत्तम मानिन्छ । हात्ती र जिप दुवैले जंगलको भित्री क्षेत्रमा पर्यटकहरूलाई भ्रमण गराउँछन् । साथै डुंगा मार्फत राप्ती नदीमा जलयात्राको आनन्द लिन पनि सकिन्छ । स्वदेशी पर्यटक हात्ती सफारी गर्न बढी रुचाउँछन् । विदेशी पर्यटकचाहिँ ‘जंगल वाक’, ‘बर्ड वाचिङ’, ‘डुंगा सयर’ गर्ने चाहना राख्ने गरेको सौराहाका पर्यटन व्यवसायीहरू बताउँछन् । एकै क्षेत्रमा अनेक किसिमले मनोरञ्जन तथा अवलोकनको सुविधा प्राप्त हुने भएर पनि पर्यटकहरू सौराहातिर ओइरिरहन्छन् ।


एक दशक अघिसम्म यहाँ खरले छाएका स–साना ‘छाप्रा–होटल’ हरू थिए । पछिल्लो समय चेतना र प्रविधिको विकाससँगै यहाँ हाल टिपिकल नेपाली ‘होमस्टे’ देखि सुविधासम्पन्न आधुनिक होटल तथा रिसोर्टहरू खुलेका छन् र यो क्रमले तीव्रता पाएको छ । व्यवसायीहरू पर्यटकलाई सेवा र मनोरञ्जन दिन प्रतिस्पर्धात्मक रूपमै लागिपरेका छन् ।
सौराहामा वर्षैभरि घुम्न सकिन्छ । यद्यपि असोजदेखि पुस र फागुनदेखि असारसम्मको सिजन यहाँ घुम्नका लागि रमणीय मानिन्छ ।


[email protected]/fb.com

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?