हराएका हिरोहरू- कोसेली - कान्तिपुर समाचार

 हराएका हिरोहरू

फिल्म
कुनै समय नेपाली फिल्म जगत्मा नाम कमाएका थुप्रै अभिनेता पलायन भइसकेका छन् । उनीहरूले किन यो क्षेत्र छाडेका होलान् ? र, अहिले कहाँ के गर्दै होलान् ?
सजना बराल

काठमाडौँ — दुई वर्षअघिको ‘गाजलु’ फिल्म अनमोल केसी र सृष्टि श्रेष्ठहरूका कारण चर्चामा थियो । त्यसमा गौरी मल्ल र कृष्ण मल्लजस्ता पुराना हिरो–हिरोइन पनि आबद्ध थिए । एक दशकदेखि फिल्म क्षेत्रबाट हराएका कृष्ण सोही फिल्म मार्फत फर्किंदै थिए । तर, उनीबारे कुनै चर्चा भएन । केमियो अर्थात् अतिथि भूमिकामा रहेका उनी कुनै बेलाका चल्तीकै हिरो थिए । उनले खेलेका चिनो, वासुदेव, गोठालोजस्ता फिल्म राम्रै चलेका थिए ।

कृष्ण चाँडै ‘द प्रिन्स’ फिल्ममा पनि देखिँदै छन् । संयोग कस्तो भने यसमा उनी फिल्म निर्देशकको भूमिकामा छन्, जसले नयाँ कलाकारलाई चान्स दिएको हुन्छ । ‘मेरो जीवनमा मेल खाने खालको चरित्र छ,’ अभिनेता कृष्ण भन्छन्, ‘रियलमा नयाँ भाइहरूले मलाई चान्स दिइरहेका बेला रिलमा मैले अरूलाई चान्स दिएको छु ।’


कृष्ण यसरी फिल्ममा फर्किए पनि उनका समकालीन थुप्रै अभिनेता पलायन भइसकेका छन् । कुनै बेला राम्रो स्टारडम कमाएका ती हिरोहरू अहिले कहाँ के गर्दै होलान् ?
सिन्दूर (२०३६) फिल्मका विश्व बस्नेतदेखि जीवनरेखा (२०३९) का अर्जुनजंग शाही र शिव श्रेष्ठ, साइनो (२०४४) का डेनी डेन्जोङ्पा, मायाप्रीति (२०४७) का रवीन्द्र खड्का, बेहुली (२०४६) का प्रकाश अधिकारी, जुनी (२०४२) का भुवन केसी, माया (२०४७) का पुरन जोशी, लाहुरे (२०४५) का श्रवण घिमिरे, विजय पराजय (२०४७) का सरोज खनाल, सम्पत्ति (२०४८) का अर्जुन श्रेष्ठ, युगदेखि युगसम्म (२०४८) का राजेश हमाल आफ्नो जमानाका सफल हिरो हुन् । वर्षमा एकाध फिल्म बन्ने त्यो बेला उनीहरूको आफ्नै चार्म थियो ।
विसं २०५१ को ‘मोहनी’ फिल्मबाट गणेश उप्रेती, हत्या (२०५३) बाट सुधांशु जोशी, आगो (२०५७) बाट सुशील क्षत्री, कर्जा (२०५१) फिल्मबाट धीरेन शाक्य, दर्पणछाया (२०५७) बाट उत्तम प्रधान र दिलीप रायमाझी, पराईघरबाट रमेश उप्रेती उदाए । दिनेश शर्मा, लोकेन्द्र कार्की, सीमान्त उदास त्यो बेला आशालाग्दा हिरो मानिन्थे । टुहुरोबाट आएका दिनेशले ‘सन्तानको माया’, ‘आँधी तुफान’, ‘सन्तान थरीथरीका’, ‘भाग्य’, ‘संग्राम’, ‘कृष्ण–अर्जुन’ लगायत दर्जनौं फिल्म खेलेका छन् ।


उल्लेख भएकामध्ये अधिकांश अभिनेता फिल्म लाइनमा सक्रिय छैनन् । कोही गुमनाम भइसके कोही कमब्याक गर्दैछन् । राजेश भने हराउनेको सूचीमा पर्दैनन् । भुवनले पछिल्लो पटक ‘ड्रिम्स’ निर्देशन गरेका थिए । त्यसयता उनी फिल्म निर्माणमा छन्, छोरा अनमोलको सपोर्टमा बस्छन् । तर, फिल्मचाहिँ खेलेका छैनन् । तीन वर्षअघि ‘बागमती’ फिल्ममा देखा परेका शिव श्रेष्ठले पनि अब आफू होइन छोरालाई अघि बढाउने सोच बनाएका छन् ।


सरोज खनाल एक दशकभन्दा बढी अमेरिका बसेर नेपाल फर्किसकेका छन् । हाल उनी पहिलेकै जस्तो हिरोको रूपमा देखिँदैनन् । तर, फिल्मचाहिँ खेल्छन् । पछिल्लो पटक ‘कृ’ फिल्ममा उनले नायिका अदीति बुढाथोकीको बुवाको भूमिका निर्वाह गरेका थिए ।


धीरेन शाक्य अचेल फिल्मका उपकरणहरूको व्यवसाय गर्छन् । क्यामेरादेखि लाइटसम्मका सामान उनी अरूको फिल्ममा भाडामा लगाउँछन् । बचेखुचेको समय म्युजिक भिडियोमा मोडलिङ गर्छन् । तर, फिल्ममा देखिन छोडेको वर्षौं भइसक्यो ।


विसं २०६० को दशकमा हिट भएका विराज भट्ट, रमित ढुंगाना, राजवल्लभ कोइराला, सुमन सिंह, जीवन लुइँटेल, नीरज बराल, विमलेश अधिकारीलगायत अभिनेता अहिले गुमनाम छन् । यही कालका निखिल उप्रेती र आर्यन सिग्देल भने पुन: जुर्मुराएका छन् ।


तर, निखिलका पछिल्ला फिल्म भैरव, निर्भय, किङ, राधे, संरक्षणलगायतले उत्साहजनक व्यापार गर्न सकेनन् । विराज भोजपुरी फिल्मतिर छन् भन्ने सुनिन्छ । राजवल्लभ, जीवन र सुमन अमेरिका भासिएका छन् । अमेरिका नै पलायन हुनेमा सुधांशु जोशी र सुशील क्षत्री पनि पर्छन् ।


सलमान खानका नेपाली संस्करण मानिएका दिनेश शर्मा र अभिनयका पारंगत गणेश उप्रेती पनि ग्रिन कार्ड लिएर अमेरिका पुगेका छन् । उनीहरूले लगभग फिल्म लाइन छाडेका छन् । अमेरिका जानुअघि गणेश सिरियल र फिल्महरूमा फाट्टफुट्ट अभिनय गर्थे भने दिनेशचाहिँ सस्तो बजेटका फिल्ममा अभिनय, लगानी र निर्देशन गर्ने गर्थे ।


त्यस्तै ‘साँघुरो’ फिल्मबाट फराकिलो सम्भावना बोकेर आएका अभिनेता सुशांक मैनालीले ‘जंगे’, ‘को आफ्नो’ जस्ता केही फिल्म खेले । तर, उनी पनि अहिले फिल्मबाट टाढिएर अमेरिका पुगेका छन् ।


‘जीवनरेखा’, ‘चेलीबेटी’, ‘सन्तान’, ‘दैव संजोग’ लगायत दुई दर्जनजति फिल्मका मुख्य अभिनेता अर्जुनजंग शाहीबीचमा नेपाल प्रहरी सेवामा आबद्ध भए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदबाट हालै सेवानिवृत्त उनी अब भने फुर्सदिला बनेको बताउँछन् ।


‘समय उस्तै रहँदैन’, अर्जुन भन्छन्, ‘अब हामी अभिभावकको रूपमा छौं । विदेशमा जस्तो चरित्र प्रधान फिल्म बन्दैनन् हाम्रोमा । फिल्म क्षेत्र भर्खर बामे सर्दै छ । छोटो भूमिका गरे पनि त्यसमा मेरो उपस्थिति बलियो हुनुपर्छ भन्ने मान्यता राख्छु ।’


उनी सेयर व्यवसायतिर संलग्न छन् । कास्कीको पुख्र्यौली जायजेथा पनि सम्हाल्दै आएको बताए । ‘धान रोप्न जाने बेला भइसक्यो’, उनले भने, ‘पारिवारिक काम, खेतीपाती, यस्तै छ रिटायर्ड लाइफ ।’ अर्जुनलाई नयाँ पुस्तासँग काम गर्न मन पर्छ, तिनको पर्फर्मेन्स राम्रो लाग्ने बताए । प्राविधिक रूपमा फिल्म क्षेत्रले ठूलो फड्को मारेको अनुभव गरेका छन् । अब गुणस्तर वृद्धिमा ध्यान दिन उनले सुझाव दिए । ‘हलिउड, बलिउडका उदाहरण हेरेर हामीले क्वालिटी बढाउनुपर्छ,’ उनले भने ।


विसं २०४७ को ‘मायाप्रीति’ फिल्मबाट हिरोका रूपमा परिचय स्थापित गरेका रवीन्द्र खड्का सधैं फिल्म लाइनमा रहे, अझै छन् । फिल्ममा उनको भूमिका फेरिँदै गयो, पर्दामा देखिने अवधि छोटियो । यसमा उनलाई कहिल्यै सानो मन गर्न मन लागेन । निरन्तरता दिन सकेकोमै खुसी मान्छन् । तर, लिड रोल र क्यारेक्टर रोलका कलाकारलाई गरिने फरक व्यवहार देख्दा मन चसक्क हुन्छ । ‘मैले फिल्मको हिरो र निर्देशक दुवैको अनुभव बटुलेको छु’, उनी भन्छन्, ‘हाम्रो पालामा कलाकारहरू सीमित हुन्थे, कसैलाई हतार हुँदैन थियो । अहिले मुख्य रोलमा हुनेहरू बेफुर्सदिला छन् । त्यसैले बढी महत्त्व पाएका होलान् ।’


चार दशकदेखि फिल्म क्षेत्रमा रहिआएका रवीन्द्रले अन्य पेसाबारे कहिल्यै नसोचेको बताए । समकालीन साथीभाइ व्यापार–व्यवसायमा लागे पनि आफूले त्यसो गर्न नसकेको उनको भनाइ छ । ‘उहाँहरूले भविष्यबारे सोच्नुभयो,’ रवीन्द्र बोल्छन्, ‘मलाईचाहिँ कलाकारिताको लतले छोडेन । अहिले पैतृक सम्पत्ति र कलाकारिताबाट प्राप्त थोरबहुत आम्दानीले गुजारा चलाइरहेको छु ।’ चलचित्र कलाकार संघका संस्थापक अध्यक्षसमेत रहेका उनी हिजोआज ‘रियाल रिंगिट’ फिल्मको काममा व्यस्त छन् । उनले ‘भाग्य रेखा’, ‘पहिलो प्रेम’ जस्ता फिल्ममा हिरो भएर खेलेका थिए ।


अर्जुन श्रेष्ठ फिल्म वितरण र निर्माणतिर लागेको लामै भइसक्यो । उनी अभिनय पनि गर्छन् । पछिल्लो पटक उनी ऐश्वर्य फिल्ममा देखिएका थिए । यही फिल्मबाट रमेश उप्रेतीले भव्य कमब्याक गरे, निर्माता र अभिनेताका रूपमा । दिलीप रियालिटी सोतिर लागेको सर्वविदितै छ । उनका समकालीन उत्तम प्रधान भने सिक्किम फर्केको वर्षौं भयो ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली आधुनिकताको खोजी

बहस
अहिले त वस्तुपरक ज्ञान नै पनि बहुरूपी हुने देखियो । त्यसैले सायद अब हामी पनि अलि समाजशास्त्रीय पारामा साहित्यमा हरूको प्रयोग गर्नेछौं ।
रत्नमणि नेपाल

काठमाडौँ — गत फागुन ४ र ५ गते प्रदेश नं १ को राजधानी विराटनगरमा एक महत्त्वपूर्ण विराट लेखक सम्मेलन आयोजना गरियो । कुनै पनि सम्मेलन नाममा विराट वा बृहत् राख्दैमा महत्त्वपूर्ण हुने होइन । तर, उक्त साहित्यिक सम्मेलन भने कतिपय अन्य अर्थमा ऐतिहासिक हुन गएको देखिन्छ ।

संघीय गणतन्त्र नेपाल घोषणापश्चात् कदाचित त्यही नै पहिलो त्यस्तो आयोजना थियो जसमा देशका सातै प्रदेशका लेखक साहित्यकारहरूको सहभागिता थियो । आयोजक संस्था मोरड नेपाली लेखक संघले निम्ता गर्दा नै प्रादेशिक सहभागिताको मनसाय राखेको जो थियो । त्यसको प्रतिविम्बन सम्मेलनमा किटानी भएको थियो । यद्यपि सहभागी र सहभागिताको कोणलाई गौण मान्दै यो छोटो लेखमा त्यसका अन्य गुणात्मक या वैचारिक पक्षलाई केलाउने प्रयत्न गरिएको छ ।


सम्मेलन आयोजक आफैंले प्रदेशको संख्यात्मक सहभागितालाई गौण ठानेको थियो । यसैअनुरूप उसले ती प्रदेशको साहित्यिक रूपरेखा प्रस्तुत होस् भन्ने उद्देश्य राखेको थियो । यसका लागि हरेक प्रदेशबाट एक जनालाई लिखित कार्यपत्रको जिम्मेवारीसहित उपस्थित हुन भनिएको थियो । कार्यक्रममा सोचेअनुरूप रोचक प्रस्तुतिहरू पनि भए । आयोजकको यो अवधारणाभित्र जे अन्तर्य होस् तर, एउटा जबरजस्त सैद्धान्तिक प्रश्न के उठ्छ भने आखिर साहित्यको प्रादेशिक संरचना हुन्छ त ? हुन्छ भने त्यो केमा आधारित हुन्छ ? साहित्यको भएजस्तै राजनीति, समाजशास्त्र, संस्कृति आदिको पनि हुने हो कि ? यी प्रश्नहरूको सम्बन्ध प्रदेशको राजनीतिक भौगोलिक संरचना कसरी केका आधारमा तय भयो भन्ने कुराहरूसँग ज्यादा छ । तर, नाबालक नै भए पनि हाम्रा प्रदेशहरू राज्यका न्यूनतम अवयवमै अडेका होलान् । नभए त ती कसरी विकसित राज्य बन्ने दिशातिर भोलि उन्मुख होलान् र ?


आज बनेका भए पनि हाम्रा प्रदेशहरू लामो परम्परा बोकेका समाजकै अलिक बृहत् रूप नै हुन् । तिनको इतिहास, समाज संंस्कृति हुन्छ नै । यसैको आधारमा साहित्य निर्माण हुने हो । सायद आयोजकले यसैको निरुपण पो खोजेका थिए कि ? सम्मेलनको विषयवस्तुमाथि प्राज्ञ दधिराज सुवेदीले प्रकाश पारिसकेपछि मैले यसबारे मेरा आफ्नै जिज्ञासाहरू प्रस्तुत गरें । के सात प्रदेशका सात साहित्यिक रूपरेखा हुन सक्छन् भने सात आधुनिकता हुन सक्छन् कि सक्दैनन् ? यी प्रदेशमा बस्ने मानिसका चेतना यहाँका छुट्टै पर्यावरण, शिक्षा, अर्थव्यव्यस्था, प्रविधि र भूगोलले निर्माण भएको छ कि छैन ? कि समग्र नेपालको आधुनिकता जे हो यी प्रदेशको पनि त्यही हो ? के नेपाली आधुनिकताको जो अवधाराणात्मक रूपरेखा छ त्यसैले यी प्रदेशका आधुनिकताको प्रतिनिधित्व गर्न सक्छ ? मैले आफ्ना विचार राख्दैन नेपाली भाषा साहित्यको समग्रताले प्रादेशिक साहित्यको निरुपण हुन सक्ने सम्भावनाबारे संशय व्यक्त गरें । मेरो विचार नेपाली आधुनिकताकै पुनर्लेखन हुनुपर्छ कि भन्ने थियो । समाज विकासको विविधताको कोणबाट हेर्दा आधुनिकताको प्रान्तीय केन्द्र र स्वरूप फरक हुन सक्छ भन्ने मेरो अवधारणा थियो । पूर्व कसरी पश्चिमभन्दा अलिक बढ्ता आधुनिकजस्ता, विकसितजस्तो भएको ? मध्यपश्चिम, हालको ६ नं प्रदेश, किन सुदूरपश्चिमभन्दा कम आधुनिक या विकसितजस्तो देखिएको हो ? कि यी हाम्रा देखाइहरू मात्र हुन् ? साहित्य कलाको उत्पादन प्रकाशनलाई आधार मान्दा पनि प्रदेशैपिच्छे फरक परिचय देखा पर्दछन् । किन ? कदाचित मलाई आज पनि लागिरहेछ प्रादेशिक रूपरेखाले सबैभन्दा पहिला त प्रदेशको आधुनिकीकरणमाथि विहंगम दृष्टिगोचर गर्नुपर्छ ।


बडो संयोगको कुरा हो । गत साता क्यालिफोर्निया विश्वविद्यालयको वैश्विक तथा अन्तर्राष्ट्रिय अध्ययन विभागले आफ्नो बुधबारे साप्ताहिक नियमित गोष्ठीको क्रममा यस्तै विषयमाथि छलफल गर्‍यो । उक्त शृङ्खलामा प्राध्यापक यान निदरभिन पिटर्सले आधुनिकता र पुँजीवादको विकासक्रममाथि आफ्नो विचार राखे । उक्त विभागले विद्यार्थीहरू या प्राध्यापकहरूबीचमा बोलचालको क्रममा या अनुसन्धानमूलक लेख लेख्दा या किताब लेख्दा प्रयोग गर्ने भाषिक शब्दावली कस्तो हुनुपर्छ र किन भन्ने सन्दर्भमा दिएको व्याख्यान सायद विराट लेखक सम्मेलनका आयोजकको उद्देश्य र त्यहाँ प्रस्तुत आधुनिकताबारेको विचार मिल्दाजुल्दा छन् ।


प्राध्यापक पिटर्सका अनुसार लेखाइमा या बोलाइमा आधुनिकता मात्र भन्नु अब गलत हुन्छ । त्यसो भन्नु युरोप केन्द्रित आधुनिकताको पक्षपोषण गरेको ठहर्छ । त्यति मात्र नभएर यसले आधुनिकताका अन्य इतिहास, केन्द्र तथा भविष्यका सम्भावनालाई समेत समस्यामा पार्छ । उनको विचारमा चाहे आधुनिकता भनौं या पुँजीवाद या विश्वव्यापीकरण यी सबै धेरै पहिले पूर्वमा केन्द्र भएका थिए । ती पश्चिमसम्म फैलिए । तर, समयक्रममा पश्चिमले आफ्नै पाराले यी प्रक्रियालाई अवधारणामा बदल्यो । पूर्व केन्द्र भएका प्रक्रिया भने केही समय प्रतिरक्षात्मक बने । तर, कालान्तरमा ती खुम्चिए । पश्चिमी खासगरी युरोपेली आधुनिकताले छोप्यो । उनी भन्छन् पूर्वका या उत्तर दक्षिणतर्फका ती प्रक्रिया नष्टै भइसकेका भने थिएनन् । ती अझै छन् नासिएका छैनन् । केवल खुम्चिएर बसेका थिए । अब ती जाग्दै छन् । कति ठाउँमा जागिसके । उनले चीन र भारतीय सभ्यताको उदाहरण प्रस्तुत गर्दै कति ठाउँमा त जागिसकेको बताए । यो देख्नलाई त्यहाँको शिक्षा, साहित्य, अर्थतन्त्र, आर्किटेक्चर, प्रविधि र खासगरी मानवीय चेतना र व्यवहार आदि हेर्नुपर्ने उनको विचार थियो । उनलाई चीनको सांघाई प्रान्तका एक नेताले भनेका रहेछन्, ‘हामी केही शताब्दी वर्ष गुमनाम भएका थियौं अब पुन: फर्केका छौं ।’ केही सय वर्षको अवधिलाई विश्राम गरेको जसरी सहज रूपमा ती नेताले लिएको कुरालाई उनले ‘बडो उत्तेजक अनि भविष्यमुखी’ संकल्प भएको उनको भनाइ थियो ।


यहाँ स्मरणीय कुरा के छ भने प्राध्यापक पिटर्सले समाजलाई अधिकतम उपरीय संरचनाहरूको आधार भनेका छन् । तर, हिजोको मात्र होइन आजको समाजमा पनि ती कुराहरू हेर्नुपर्छ । उनले गैरमाक्र्सवादी भाषा प्रयोग गरी भन्न के खोजे भने वर्तमान बनाउने ठेक्का इतिहासको मात्र होइन । स्वयम् वर्तमानकै पनि हो । हरेक देश, महादेश, या विश्व नै पनि बृहत् समाजहरू नै हुन् । यिनै समाजमा गडेका हुन्छन् साहित्य, भाषा, प्रविधि, र अर्थव्यवस्था । साहित्य पढ्नु भनेको समाज पढ्नु हो । प्रविधि जान्नु भनेको समाज जान्नु हो । धेरै अघि कार्ल पोलयानी नाम गरेका विद्वान्ले भनेकै थिए बजार समाजमा गडेको हुन्छ । यसको अर्थ हो साहित्यिक रूपरेखाको खोजी हामीले हाम्रा प्रादेशिक समाजको अध्ययनबाट गर्नुपर्ने हुन्छ । यसको सोझो अर्थ हो त्यहाँको सभ्यताको खोजी गर्नु ।


विराट लेखक सम्मेलनको ऐतिहासिकता सायद यसै विषयसँग जोडिएको छ । त्यहाँ हामीले भन्यौं प्रादेशिक साहित्य अध्ययनको अवधाराणात्मक रूपरेखा र समग्र नेपाली साहित्य हेर्ने रूपरेखा एउटै हुन्छ र ? हुँदैन भने प्रदेशको आधुनिकीकरणको प्रक्रियाबीचबाट साहित्यिक धारा निर्माण भएको हामीले हेर्नुपर्ने हुन्छ । सायद त्यहाँको शिक्षा र शैक्षिक संस्थाको विकास प्रक्रियाबाट त्यहाँको आधुनिकता हेर्न सकिन्छ कि ? प्रदेशका कुनै नेतृत्वदायी जातिको सामाजिक व्यवहारबाट त्यहाँको सभ्यता निर्मित छ कि ? अथवा कतिपय सन्दर्भमा केन्द्रीय राज्य पद्धतिले बलपूर्वक त्यसको निर्माण गरेको कुरालाई समेत नजरअन्दाज गर्न सकिंदैन । सभ्यता निमार्ण व्यापक बहुआयामिक प्रक्रिया भए तापनि प्राय: कुनै एक तत्त्वको भूमिका नेतृत्वदायी हुने गरेको छ ।


यी सबैभन्दा भिन्न सभ्यताको मिश्रित या हाइब्रिड रूपको चर्चा यहाँको कार्यशालामा भयो । यो भनेको कसैको प्रभुत्वमा नपरेको समन्वयात्मक आधुनिकता हो (कोअर्डिनेटेड मोडनिटी) । यस्तो विरलै हुने गर्छ तर सम्भावनालाई नकार्न सकिंदैन । उदाहरणको रूपमा आज बन्दै गरेको युरोपेली सभ्यता र धेरै अघिको दक्षिण पूर्वी एसियाको सभ्यताको चर्चा सहभागीहरूले गरे । उनीहरूको विचारमा आधुनिकताको निर्माण केवल प्रभुत्व र प्रतिप्रभुत्वको द्वन्द्वबाट मात्र हुने होइन । अथवा सभ्यता प्रभुत्वको स्थापना मात्र हो भन्न सकिंदैन । कुनै समाजमा यो सन्तुलित पनि हुन सक्छ । विशेषगरी लामो समय वर्गीय एकरूपता कायम भएका समाजमा ।


विश्वमा कला, प्रविधि, राजनीतिलगायतका क्षेत्रमा नयाँनयाँ केन्द्रहरूको उत्खनन भइरहेको छ । साथै नवनिर्माण पनि । यो अवस्थामा प्राध्यापक पिटर्स आधुनिकता नभनेर आधुनिकताहरू, प्रजातन्त्र नभनेर प्रजातन्त्रहरू, राज्य नभनेर राज्यहरू, पुँजीवाद नभनेर पुँजीवादहरू भन्नुपर्ने बताउँछन् । यतिबेला इन्द्रबहादुर राईले कठपुतलीको मन कथामा ‘हरू’ को ज्यादै प्रयोग गर्नुभएको सन्दर्भ यहाँ सम्झना आउँछ । उहाँले त हरियोहरू, उज्यालोहरू, घामका बिटाहरू, छहरू, छैनहरूको प्रयोग गर्नुभएको छ । कुनै पनि वस्तु त्यसलाई हेर्ने हरेक व्यक्तिअनुसार फरकफरक देखिने भएपछि वस्तु नभएर वस्तुहरू हुने तर्क थियो उहाँको । सत्य आत्मपरक हुने हुँदा त्यो सत्य नभएर सत्यहरू हुने भयो ।


इन्द्रबहादुर राईले आत्मपरकताबाट अवधारणा वा ज्ञान बन्ने हुँदा त्यो बहुरूपी ज्ञान वा लीला हुने बताएका थिए । तर, अहिले त वस्तुपरक ज्ञान नै पनि बहुरूपी हुने देखियो । त्यसैले सायद अब हामी पनि अलि समाजशास्त्रीय पारामा साहित्यमा हरूको प्रयोग गर्नेछौं । साहित्यमा मात्र नभएर ज्ञानका अन्य क्षेत्रमा पनि यसको प्रयोग हुने सक्ने देखिन्छ । तर, यसका लागि अध्ययन सामग्री उपलब्ध हुनु जरुरी छ । यस हिसाबले अब हाम्रा साहित्य, कला, अर्थशास्त्र, समाजशास्त्र, संस्कृति, राजनीतिशास्त्रका पण्डितहरूलाई नयाँ जागिर खुला भएको छ । सायद उनीहरूले अब छिट्टै नेपाली आधुनिकताहरू, प्रजातन्त्रहरू, राज्यहरू, पुँजीवादहरू, समाजशास्त्रहरू, अर्थशास्त्रहरूको खोजी गर्नेछन् । त्यसो भयो भने सायद सबभन्दा बढी खुसी त विराट लेखक सम्मेलनका आयोजकहरू हुने होलान् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×