भ्रष्टाचारको भाष्य र इमानजमानको खोजी

२०३९ सालमै विदेशी दातालाई खारेज गरेर स्वावलम्बी आर्थिक आन्दोलन थाल्नुपर्ने विद्रोही तर्क राखेका डा. पाण्डे विद्रोही विचारक पनि हुन् । मुलुकको प्रगतिमा बाधा हाल्ने भ्रष्टाचारको सन्दर्भमा उनको यो पुस्तकले पनि एक विद्रोह गरेको छ ।
युग पाठक

काठमाडौँ — भ्रष्टाचार नेपालजस्ता गरिब मुलुकहरूको मात्र दु:ख हो ? भ्रष्टाचारको भाष्यलाई कसले परिभाषित गरिरहेको छ ? भ्रष्टाचारमुक्त दुनियाँ सम्भव छ ? कस्ता ऐतिहासिक, सामाजिक, आर्थिक र राजनीतिक वा नैतिक कारणले भ्रष्टाचार उमार्छन् र हुर्काउँछन् ? मानवीय मूल्य र इमानजमान भन्ने जिनिस के हो ? भ्रष्टाचारको उपचार के हुन सक्छ ?

चिन्तक, विचारक र अभियन्ताको संगम जीवन बाँचिरहेका डा. देवेन्द्रराज पाण्डेको भर्खरै प्रकाशित पुस्तक ‘द आइडिया अफ इन्टेग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन’ ले सोलोडोलोमा यिनै प्रश्नहरूको सामना गरेको छ ।

त्यसो त शासनपद्धति, भ्रष्टाचार, भ्रष्टाचार निवारणकै विषयलाई लिएर लेखिएको उनको अर्को पुस्तक ‘करप्सन, गभर्नेन्स एन्ड इन्टरनेसनल कोअपरेसन’ सन् २००१ मै प्रकाशित भएको थियो । त्यो पुस्तकलाई भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विषय उठान मान्ने हो भने यो पुस्तकचाहिँ त्यसैको बृहत्तर अध्ययन हो । संक्षेपमा भन्दा यो पुस्तक दार्शनिक तहबाट भ्रष्टाचारको ‘डायग्नोसिस’ र उपचार खोज्ने प्रयत्न हो । त्यसैले पुस्तकको मुटुमा छ— द आइडिया अफ इन्टेग्रिटी अर्थात् इमानजमानको विचार ।


भ्रष्टाचार एक सदावहार विषय हो । भर्खरै सार्वजनिक सुनकाण्डले यो तथ्यलाई पुष्टि गर्छ । सुडानकाण्ड पनि विस्मृतिमा गैसकेको छैन । भ्रष्टाचारले नै विकास हुन नदिएको हो भन्ने तर्क पनि छ देशमा । हुन त अख्तियारलाई ‘स्टिङ अपरेसन’ र भ्रष्टाचारका फाइल बनाउन भ्याइनभ्याइ छ । तैपनि सानाठूला भ्रष्टाचारका मुद्दाले विशेष अदालत परिसरमा ल्याउने रौनकमा कमी आएको छैन । प्राविधिक र कानुनी उपचारले मात्र भ्रष्टाचारको निदान सम्भव भैरहेको देखिँदैन । त्यसैले डा. पाण्डे भ्रष्टाचारको सैद्धान्तिक अध्ययनमा प्रवेश गर्छन् र इमानजमानको दार्शनिक निरुपणको खोजी गर्नतिर लाग्छन् ।

भूमण्डलीकृत भ्रष्टाचार
भ्रष्टाचार गरिब र कथित अविकसित/विकासशील मुलुकहरूको मात्र दु:ख हो ? कथित् विकासित देशहरू भ्रष्टाचारबाट मुक्त छन् ? अरू विषयमा झैं भ्रष्टाचारको अध्ययनमा पनि पूर्व/पश्चिम भेद व्यप्त छ । पश्चिमी साम्राज्यहरूको अन्त्यपछि भ्रष्टाचार पनि प्राज्ञिक अध्ययनको विषय बन्यो । त्यसैले सुरुआती भ्रष्टाचार अध्ययनमा पूर्वउपनिवेश र अन्य गरिब मुलुकहरूको राजनीतिक अस्थिरता, खराब शासन पद्धति, गृहयुद्ध, आन्तरिक द्वन्द्व आदि कारणहरू केलाइएको पाइन्छ । उपनिवेशबाट स्वतन्त्र भएका मुलुकका स्वदेशी शासकले लोकतन्त्र संस्थागत गर्न नसकेको हुनाले भ्रष्टाचार संस्थागत हुन पुगेको उनीहरूको निष्कर्ष थियो ।


यो निष्कर्षलाई पाण्डेले अस्वीकार गरेका छन् । गरिबी र अभावले भ्रष्टाचारी मनोविज्ञान उत्पादन गरेको अर्थशास्त्रीय तर्कलाई पनि उनी मान्यता दिँदैनन् (पृष्ठ ४५) । युरोप, अमेरिका, चीनलगायत देशका उदाहरण प्रस्तुत गर्दै उनले पुस्तकका विभिन्न भागमा विभिन्न सन्दर्भमा निकालेको निष्कर्ष छ— भ्रष्टाचारले गरिब र धनी देश वा अविकसित वा विकसित अर्थतन्त्र भनेर विभेद गरेको देखिन्न (पृष्ठ १३३) । अर्थात् भ्रष्टाचार विभिन्न रूप र आयातनमा संसारका सबै देशमा व्यप्त छ ।


तान्गेन्तोपोली (घुसको सहर) भनेर चिनिने इटालीको बहुचर्चित भ्रष्टाचारकाण्डको चर्चा पाण्डेले पुस्तकमा पटकपटक गरेका छन् । तान्गेन्तोपोली काण्डले माफिया र राजनीतिक नेतृत्वको मिलेमतोमा हुने भ्रष्टाचारको पर्दाफास गरेको थियो । तर, शक्तिको दुरुपयोग गर्दै राज्यको तहमा हुने भ्रष्टाचार मात्र भ्रष्टाचार होइन । सार्वजनिक र निजी क्षेत्रको मिलेमतोमा हुने भ्रष्टाचारको अर्को खतरनाक स्वरूप छ । अफगानिस्तानमा अमेरिकी सैन्य आक्रमणको सिलसिलामा कसरी कैयौं सैनिक काम निजी क्षेत्रलाई ठेक्कामा दिएर भ्रष्टाचारको नयाँ नमुना प्रस्तुत गरिएको थियो भन्ने रोचक विश्लेषण पनि पुस्तकमा पढ्न पाइन्छ (पृष्ठ १३६–३७) । राष्ट्रपति निर्वाचनमै कसरी अमेरिकी उम्मेदवारले विभिन्न कर्पोरेट मालिकहरूसँग पैसा लिन्छन् र अप्रत्यक्ष हिसाबले चुनाव जितेपछि उनीहरूको स्वार्थमा काम गर्छन्, त्यसप्रकारको राजनीतिक भ्रष्टाचारको झन् अर्कै आयाम छ ।


त्यसैले भ्रष्टाचार अविकसित/विकासोन्मुख ब्रान्डमा चिनाइएका गरिब मुलुकहरूको मात्र रोग होइन । अधिकांश भ्रष्टाचार विमर्शमा भनिएभन्दा विपरीत धनी र विकसित भनिएका मुलुकको भ्रष्टाचारकथा झन् उदेकलाग्दो छ । अझ महत्त्वपूर्ण कुरा के भने तिनै शक्तिशाली मुलुकहरू तेस्रो विश्वका गरिब वा विकासशील देशमा भ्रष्ट तानाशाहहरू जन्माउन, हुर्काउन र टिकाउन मद्दत गर्छन् ।


आफ्नो सामरिक स्वार्थ पूरा गर्न र कैयौं देशका अमूल्य प्राकृतिक सम्पदामा एकछत्र अधिकार जमाउन जुनसुकै प्रकारको हतियार प्रयोग गर्न उनीहरू चुक्दैनन् । भ्रष्टाचार निर्यात गर्ने र भ्रष्टाचारको नियत टिकाइराख्ने उद्योगमा पश्चिमा शक्तिराष्ट्रहरूको ठूलो भूमिका देखिएको छ ।


यसरी भ्रष्टाचार केवल एउटा नैतिक प्रश्न मात्र हुन सक्दैन भन्ने पुष्टि हुन्छ । अझ भनौं भ्रष्टाचार एउटा यस्तो अर्थराजनीतिक र राजनीतिक औजार भइसक्यो जो भूमण्डलीकृत छ । वित्तीय पुँजी, कर्पोरेट शक्ति, अत्याधुनिक प्राविधिले निर्माण गरेको मायावी संस्कृति मात्र भूमण्डलीकृत छैन, भ्रष्टाचार र भ्रष्टाचार विमर्श पनि भूमण्डलीकृत छ । भ्रष्टाचार नियन्त्रणका नाममा हुने बौद्धिक र राजनीतिक अभियानकै तालाचाबी पनि शक्तिराष्ट्रहरूको हातमा छ । हुँदाहुँदा विकासजस्तै भ्रष्टाचार नियन्त्रण पनि वैदेशिक सहायता खन्याउने एक परियोजना भइसकेको छ (पृष्ठ १०९–१०) । भ्रष्टाचारको भाष्य जसरी उत्पादन गरिएको छ, जे जस्ता शब्दावली वा पदावलीको आविष्कार गरिएको छ र जसरी यसको सैद्धान्तिक व्याख्या गरिएको छ, त्यो शक्तिराष्ट्रका निम्ति थप एक परियोजनाको डिजाइन बन्न पुगेको छ । भ्रष्टाचारको भाष्यलाई पश्चिमा वैचारिक परियोजनाबाट झिकेर नयाँ व्याख्या पस्कने पुस्तकको प्रयास यो क्षेत्रमा गहकिलो योगदान हुन सक्ने देखिन्छ ।

भ्रष्टाचारको नेपाली रूप
फोब्र्स पत्रिकाको अर्बपति सूचीमा परेका धनाढ्य विनोद चौधरीको एउटा रोचक भनाइ छ, ‘नेपालमा ठूलो मान्छे बन्न ठूलो विचार चाहिँदैन । ठाउँमा बसेका मान्छेसँग हिमचिम बढाए पुग्छ ।’ (पृष्ठ ३७१ फुटनोट ३ मा उद्धृत) । विद्रूप यथार्थको यो एक साकार अभिव्यक्ति हो । राजनीतिक भ्रष्टाचारको नेपाली चरित्रलाई यो अभिव्यक्तिले स्पष्ट उजागर गरेको छ । व्यक्ति, समूह वा पार्टीको हैसियतमा शक्ति हासिल गर्ने र निहित स्वार्थका लागि सार्वजनिक शक्ति दुरुपयोग गर्ने यो चरित्रलाई पाण्डेले ‘इमान अभावको गडबडी’ (इन्टेग्रिटी डेफिसिट डिस्अर्डर) भनेका छन् (पृष्ठ ३७०) । यस्तो चरित्रले आमजनतालाई आफूबाट छुट्याएर ‘अन्य’ बनाउँछ ।


डोरबहादुर विष्टले ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट’ पुस्तकमा महत्त्वका साथ व्याख्या गरेको नेपाली समाजको चरित्र थियो— चाकरी । पदमा भएका शक्तिशालीको कृपा हासिल गर्नुलाई नै सफलताको सूत्र मान्ने आधुनिक चरित्र पनि चाकरीकै नयाँ संस्करण हो । ठूलो वा सफल मान्छे बन्न कुनै आविष्कार गर्नुपर्दैन, मिहिनेतले कुनै चीज वा विचारको रचना पनि गर्नुपर्दैन, भनेपछि गर्नुचाहिँ के पर्छ ? सत्तामा बस्नेको चाकरी गर्नुपर्छ र आफ्नो निहित स्वार्थ पूरा गर्नुपर्छ । बस्, ठूलो मान्छे भइयो । आजसम्म नयाँ नयाँ संस्करणमा जीवित यो चरित्रलाई पाण्डेले नवसामन्ती (निओफ्युडल) र नववंशवादी (निओपेट्रिमोनियल) भनेका छन् (पृष्ठ ३७१) ।


विष्टले पनि चर्चा गरेको र दैनिक जीवनमा व्यापक प्रयोग हुने त्यस्तै शब्दावली हुन्— नातावाद, कृपावाद । खानदान, वंशवाद हेर्ने र सार्वजनिक पदलाई पनि आफ्नो जागिरभन्दा बढी नठान्ने यो चरित्र भ्रष्टाचारको मनोविज्ञान जन्माउन हुर्काउन र समाजमा त्यसलाई स्वाभाविक रूपमा स्थापित गर्न आजसम्म सफल भइरहेको छ । सैद्धान्तिक स्तरमा पाण्डेले प्रयोग गरेको नवसामन्ती र नववंशवादी चरित्रको भण्डाफोर नगरी भ्रष्टाचार नियन्त्रणको कुरामा कुनै पाइन लाग्नेवाला छैन । पुस्तकमा पाण्डेले नेपालको यो चरित्रको गम्भीर खोज गरेका छन् । राजनीति, अर्थतन्त्र र सार्वजनिक जीवनको दैनिक व्यवहारको इतिहासदेखिको जरा खोतल्ने काम पुस्तकमा गरिएको छ ।

इमानजमान कहाँ ?
इन्टेग्रिटीलाई नेपालीमा सदाचार पनि भनिएको छ । तर यो शब्दले इन्टेग्रिटीको दार्शनिक अर्थ बोक्न नसक्ने लेखककै ठहर छ । त्यसैले यहाँ एउटा ठेट शब्द प्रयोग गरिएको छ— इमानजमान । इमानजमान भनेको नैतिक शिक्षा मात्र होइन, सादा अर्थको इमानदारी मात्र पनि होइन, यो त सार्वजनिक भूमिका रोज्ने हरेक व्यक्तिले आफ्नो भूमिकाको स्वत्व आफ्नो व्यक्तित्वमा खोज्ने कुरा हो । अर्को शब्दमा आफूले प्रत्यक्ष/परोक्ष शपथ लिएको भूमिकामा समर्पित हुने वा धितधरान कायम राख्ने संघर्षको कुरा हो ।


त्यसो भए इमानजमान कहाँ पाइएला ? लेखकले आध्यात्मिकतालाई इमानजमान जमाउने एउटा वैचारिक औजार हुन सक्नेमा निकै जोड दिएका छन् । धर्म र आध्यात्मिकतामा किताबको महत्त्वपूर्ण खण्ड समर्पित छ । जुन धर्मलाई पादरी, इमाम र पण्डितहरूले मात्र होइन धूर्त राजनीतिकर्मीहरूले शक्ति र सम्पत्ति जोड्ने औजार बनाए, त्यही धर्मलाई मानवीय आदर्शका लागि प्रयोग गर्न किन नसक्ने (पृष्ठ १४४) ? विभिन्न सुधारवादी धार्मिक आन्दोलनको चर्चा गर्दै लेखकले यो सम्भावनातिर इंगित गरेका छन् ।


मान्छेको आत्मिक पक्ष (सब्जेक्टिभिटी) को मर्मतसम्भारमा आध्यात्मिक चिन्तनको भूमिकालाई विभिन्न अर्थ र सन्दर्भमा सकरात्मक पनि मानिएको छ । तर, जसरी इतिहासमा मानव समाजका अरू यथार्थहरू परिवर्तित हुँदै आए धर्म वा अध्यात्मको भूमिका र संस्थागत शक्तिले पनि परिवर्तनका नयाँनयाँ चरणहरू पार गर्दै आजको रूपमा आएको हो । त्यसैले धर्म वा अध्यात्मलाई मान्छेको आत्मिक मर्मतसम्भारको वैचारिक औजार मान्न सकिने अवस्था आज देखिन्न । धर्म र अध्यात्म नै पूजा र स्वार्थको धरहरा बनाउने आधुनिक कर्पोरेट भैसकेको छ । त्यसैले लेखकको यो अपेक्षा पूरा हुने सम्भावना देखिन्न ।


इमानजमान र मानवीय मूल्यको खोजमा साहित्यकार, कालाकारको भूमिकालाई पनि लेखकले महत्त्व दिएका छन् । अंग्रेजी साहित्यकार वर्डस्वर्थ र अरू रोमान्टिक कविदेखि नेपालकै देवकोटासम्मको चर्चा गर्छन् उनी । त्यसैगरी विभिन्न समुदाय र भाषाबाट आएका आजका युवा कवि–लेखकहरूले परम्परागत जातीय र लैंगिक विभेदलगायतका अन्यायविरुद्ध खडा भएर इमानजमानको मूल्य स्थापित गरिरहेको तथ्य उप्काउँछन् (पृष्ठ ८७) । भ्रष्टाचारकै विषयलाई लिएर लेखिएको भारतीय साहित्यकार प्रेमचन्दको कथा ‘नमकका दरोगा’ को प्रसंग पनि झिक्छन् (पृष्ठ ८८) । अर्थशास्त्री अमत्र्य सेनको सामाजिक उत्तरदायित्वसहितको चेतनाको कुरामा पनि लेखकको ध्यान जान्छ (पृष्ठ ८९) । समग्रमा इमानजमानको स्थापनाका लागि साहित्य, कला, दर्शन, अध्यात्मलगायत सबै चिन्तन परम्पराको संयुक्त हस्तक्षेप चाहिने उनको निष्कर्ष छ ।


नवसामन्ती परम्परामै उनिएका राजनीतिक दल, वंशवादमै जेलिएका सामाजिक राजनीतिक तथा आर्थिक सम्बन्ध आदि केलाइसकेपछि लेखक ठोकेर भन्छन्— भ्रष्टाचारविरोधी अभियान केवल एउटा उद्योग वा प्राविधिक कर्म हुन सक्दैन, यो स्वयम्मा एक आन्दोलन हुनजान्छ (पृष्ठ १०१) । प्रत्यक्ष उपनिवेश नभए पनि परोक्ष रूपमा अंग्रेजी साम्राज्यको अर्धउपनिवेशका रूपमा हुर्किएको नेपालमा पछिल्लो समय वैदेशिक सहायताको सत्ताले जबर्जस्त प्रभाव जमाएको छ । यो तथ्यले नेपालको इमानजमान स्थापना गर्ने र आमजनतामा भ्रष्टाचारी सत्ताद्वारा थोपरिएको भार हटाएर स्वस्थ, रचनात्मक र समृद्धि हाँक्ने जनतालाई स्वतन्त्रता दिने कुरामा स्वत: ध्यानाकर्षित गर्छ ।


आधा शताब्दीदेखि विकास र लोकतन्त्रका विविध पाटामाथि चिन्तनमा मात्र होइन, परिवर्तनकारी आन्दोलनमा समेत सक्रिय उपस्थिति छ डा. देवेन्द्रराज पाण्डेको । चिन्तनसँगै चिन्ता छ मुलुकको, त्यसैले उनी निरन्तर प्रतिपक्ष भैरहे । त्यसैले उनी अविच्छिन्न आन्दोलनमा छन् । २०६२/६३ को जनआन्दोलनमा उनले नागरिक आन्दोलनका अगुवाका रूपमा ख्याति कमाए तर २०४६ को आन्दोलनमा पनि उनको भूमिका कम बेजोड थिएन ।


२०३९ सालमै विदेशी दातालाई खारेज गरेर स्वावलम्बी आर्थिक आन्दोलन थाल्नुपर्ने विद्रोही तर्क राखेका डा. पाण्डे विद्रोही विचारक पनि हुन् । मुलुकको प्रगतिमा बाधा हाल्ने भ्रष्टाचारको सन्दर्भमा उनको यो पुस्तकले पनि एक विद्रोह गरेको छ । त्यसो त इमानजमानको खोजी आफैंमा एक निरन्तर खोजी हो, तैपनि आजको सन्दर्भमा यो खोजी आफैंमा अर्थपूर्ण छ । नेपालका लागि पनि र विश्वका लागि पनि लेखकको यो खोजी मननीय छ । अंग्रेजी भाषामा लेखिएको र प्राज्ञिक ढाँचामा भएको हुनाले यसका पाठक सीमित हुन सक्छन् । तर, पाठक सीमित हुनुले विचार सीमित घेरामा अडिने होइन । इमानजमानको बहस जारी रहनुपर्छ ।
yugnew@gmail.com

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

रेल रहर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको जयनगरदेखि नेपालको कुर्थासम्म निर्माणाधीन अवस्थामा रहेको ब्रोडगेज रेल्वे ट्रयाकसँगै धनुषाको खौजरी स्टेसनमा देवी देवताको नामबाट नामकरण गरिएको सीता, राम, गुह्येश्वरी, चन्द्र, सूर्य, महावीर, गोरखनाथ रेल्वेका पुराना इन्जिन अलपत्र छ ।

ब्रिटिस सरकारले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरी भारत लैजाने उद्देश्यले विक्रम संवत् १९९२ मा जनकपुर–जयनगर रेल्वेका लागि बैदेही र खजुरीमा कारखाना स्थापना गरिएको कारखानामा रेल्वे इन्जन थन्किएको छ । जंगल सखाप भएपछि रेल्वेलाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेवामा परिणत गरेका थिए ।


रेल्वे इन्जिन मर्मतका लागि स्थापना गरिएको कारखानामा देवीदेवताको नामबाट नामकरण गरिएको रेल्वे इन्जिन कबारमा परिणत भएको छ । डिजल र स्टिम इन्जिनहरू संरक्षणको अभावमा घामपानीले नासिँदैछ । वाष्पयुक्त इन्जिनहरूमा उल्लेख गरिएबमोजिम बेयेर, पिकक एन्ड कम्पनीले वर्ष १९४७ मा म्यान्चेस्टरमा निर्माण गरेको, जर्मनीको बर्लिनमा ओरैनस्टैन एन्ड कोर्पेलमा निर्मित सीतासहितका प्राचीन तथा दुर्लभ इन्जिनहरू संरक्षणको पर्खाइमा छ ।


विक्रम संवत् २०५१ सालमा उपलब्ध गराइएको जेडीएम ५, ५२४, ५३५ र ५३६ नम्बरको इन्जिनसमेत कबारमा परिणत भएको छ । भारत सरकारको सहयोगमा जनकपुर जयनगर रेल्वेलाई ब्रोडगेजमा विस्तार गर्ने कार्य अगाडि बढाए पनि पुराण रेल्वेलाई म्युजियममा राखेर पर्यटक तान्न सक्ने अवाज उठेपछि संरक्षण हुन सकेको छैन ।


नेपालमा निर्माणाधीन रहेको मेची–महाकाली विद्युतीय रेलमार्ग भारतको सीमावर्ती पाँचवटा ठूलो रेल्वे जक्सनसँग जोडिनेछ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा जाँदा उनका समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच नेपालका पाँचवटा रुटमा दक्षिण–उत्तर रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार भारत सरकारकै लगानीमा जयनगर–जनकपुर–बर्दिबास ६९ किलोमिटर दक्षिण–उत्तर रेलमार्गको निर्माण जारी छ । पूर्वमा बथनाहा–कटहरी रेलमार्गका लागि ट्रयाक, प्लेटफर्म र हल्ट निर्माण भइसकेको छ । न्युजलपाइगुडी–काकडभिट्टा, वीरगन्ज–पथलैया र सुनौली–बुटवल दक्षिण–उत्तर रेलमार्ग निर्माणका भारत पक्षले ढिलाइ गरेको छ ।


भारतको ५ वटा रेल्वेमार्गसँग जोडिने नेपालको मेची–महाकाली रेल्वे सञ्जालका लागि जयनगर–जनकपुर खण्डमा स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ । निर्माणाधीन उत्तर–दक्षिण रेल्वे मार्गको ट्रयाक बर्दिबाससम्म ओछ्याएपछि पूर्व–पश्चिम राजमार्ग भारतीय रेल्वे सञ्जालसँग जोडिनेछ ।


भारत सरकारले नै निर्माण गरिरहेको जयनगर–जनकपुर–बर्दिबास ६९ किलोमिटर रेल्वे मार्गको दुई खण्डको काम ८० प्रतिशत सकिएको छ । भारतीय रेल्वेको ठूलो जक्सन जयनगरसँग जोड्न नेपालमा निर्माण भइरहेको ६९ किलोमिटर रेल्वे मार्गअन्तर्गत ५२ किलोमिटरमा स्लिपर र ट्रयाक ओछ्याइँदै छ ।


३४ किलोमिटरको पहिलो खण्ड जयनगरदेखि कुर्थासम्मको रेलमार्गको सिभिल कन्स्ट्रक्सनको काम अक्टुबर (कात्तिक) सम्ममा सक्ने भारतीय निर्माण कम्पनीले जनाएको छ । रेल्वे विभागका इन्जिनियर विनोदकुमार ओझाका अनुसार १८ किलोमिटरको दोस्रो खण्ड कुर्थादेखि भंगहासम्म रेल्वे मार्गको सबै निर्माण सकिए पनि स्लिपर र ट्रयाक ओछ्याउन बाँकी छ ।
करिब ५२ किलोमिटर रेल्वेमार्गमा पुल, कल्भर्ट, स्टेसन भवन, प्लेटफर्म, स्टाफ क्वाटरको निर्माण भइसकेको छ । ६९ किलोमिटरको रेल्वे मार्गमा १ सय १२ वटा पुल र कल्भर्ट निर्माण गर्नुपर्छ । रेल्वे विभागले भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्गका लागि जग्गा अधिग्रहण गरेर भारतीय पक्षलाई हस्तान्तरण गर्न बाँकी छ । सन् २०१० मा भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँमा जयनगर–बर्दिबास रेल्वेमार्ग निर्माणका लागि इरकान इन्टरनेसनललाई ठेक्का दिएको छ ।


शब्द : सन्तोष सिंह
तस्बिर : किरण पाण्डे

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्