कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नव–चिन्तनका अभियन्ता

सम्झना
रत्नमणि नेपाल

काठमाडौँ — जब म इन्द्रबहादुर राईको सानिध्यता पाउँथे केही न केही नयाँ कुरा सिक्ने या सुन्ने मौका मिल्थ्यो । यस्तो लाग्थ्यो उनीको मस्तिष्क नै चिन्तन र विचार निमार्णका लागि बनेको हो । त्यसो त उनले वासी विचारहरूसँगै विद्रोह गरेर नेपाली साहित्यमा तेस्रो आयामको वैचारिक मार्ग प्रक्षेपण गरे ।

नव–चिन्तनका अभियन्ता

मैले इन्द्रबहादुर राईलाई अविभावक मानेको हुँ । करिब बीस वर्ष राई मेरो साहित्यिक व्यक्तित्वका अभिभावक भए । त्यस्तो अभिभावक जसको स्नेह छोटो समयमा अलिक बढ्ता नै पाएँ मैले । कदाचित म त्यो न्यानो प्रेमबाट पुलकित पनि भएँ । या, त्यस्तो भएँ जस्तो कि एक जिज्ञासु आफ्नो मानसिक कौतूहलको सम्भाव्य निदान पाएपछि हुन्छ । अनि त्यो सूत्रलाई साधन बनाएर ऊ आत्मविश्वासी क्षितिजको गन्तव्य तय गर्ने महत्त्वाकांक्षा राख्छ ।


र, ती मेरा दार्शनिक अभिभावकको भर्खरै मृत्यु भएको छ । यस घडी म शोकाकुल हुनु कुनै असामान्य कुरा होइन । सन्तुलनमा रहनुपर्ने मन र मनस दुवै विचलित छन् । यस्तो अवस्थामा सायद मानिस भावुक हुन्छन् । कदाचित भावुक मानिस कमजोर पनि हुन्छ । अनि उसले बुद्धिका भन्दा मनका कुरा बढी गर्न थाल्छ । तर कसैलाई यस्तो लाग्छ कि बुद्धिको कुरा नगरी इन्द्रबहादुर राईको कुरा हुन सक्छ ? मेरो विचारमा सक्दैन । इन्द्रबहादुर राईलाई मनको आँखाले हेर्दा देखिने त शरीर र सम्बन्ध मात्र हुन् । के कुनै चौतारीको विशालकाय वरलाई रूख भनिदिएर पुग्छ ? के नेपालको हिमाल हिउँको डस्ना मात्र हो ? सायद डाँफेलाई चरा मात्र भनेर पुग्ंदैन । जो नेपाली साहित्यमा लेखक हुन् तर लेखक मात्र होइनन् । चिन्तक हुन् तर चिन्तक मात्र होइनन् । व्यक्ति हुन् तर व्यक्ति मात्र होइनन् । ती हुन् इन्द्रबहादुर राई । न उनी ईश्वरको कृपाले सकुशल एउटा सिंगो व्यक्ति बाँचे । न परम्परा र समाजको मल्हमपट्टि उनका घाउहरूका लागि काम लागे । ती मेरा अभिभावक जति बाँचे त्यो एउटा व्यक्ति नभएर युग हो । त्यो समयलाई एउटा सुस्पष्ट परम्परा पनि भन्न सकिएला जो यदाकदा कुनै विद्रोहीको निरन्तर क्रमभंगताको परिणामस्वरूप स्थापित हुन्छ । इन्द्रबहादुर राई एक बौद्धिक विद्रोही थिए । उनको यात्रामा कुनै इतिहास पर्खिरहेको थिएन । उनी स्वयम् इतिहास निर्माता थिए । उनीसँग त युग निर्माणको बन्दोबस्ती थियो । उनी त्यो दिशा पनि तय गरिरहेका थिएनन् जसको गन्तव्य थियो । उनी स्वयम् नै गन्तव्य थिए ।


म जब उनको सान्निध्यता पाउँथे केही न केही नयाँ कुरा सिक्ने या सुन्ने मौका मिल्थ्यो । यस्तो लाग्थ्यो उनको मस्तिष्क नै चिन्तन र विचार निर्माणका लागि बनेको हो । त्यसो त उनले बासी विचारहरूसँगै विद्रोह गरेर नेपाली साहित्यमा तेस्रो आयामको वैचारिक मार्ग प्रक्षेपण गरे । जब आफैं उभिएको धर्ती मक्काउन लागेको देखे नयाँ धर्तीको सम्भावनाबारे उनी भावुकतावश अलमलमा परेनन् । निसङ्कोच लीलालेखन प्रस्ताव गरे । आफैंले प्रस्ताव गरेको आयामेली लेखनमाथि आलोचनात्मक मत राख्तै लीलावादको नवइतिहास कोर्न सुरु गरे । म यसलाई कुनै महान मान्छेले मात्र गर्ने सक्ने विद्रोह ठान्छु ।

पछिल्ला भेटहरू अलिक पातलै भए । केही दार्जिलिङमा कही काठमाडौंमा । थोरै चिठीपत्र मार्फत अनि अलिकति फोनमा । एक पटक इमेलबाट पनि कुराहरू आदानप्रदान भएका थिए । हरेक भेटघाटमा कि त नयाँ विचारको कुरा हुन्थ्यो । कि आफैंले भनेका पुराना कुरामाथि निरन्तर पुन:विचार गर्दै गरेको म पाउँथें । नयाँ कुरा भन्नुपरे अलिक छेउ आएर भन्दथे । पुन: विचार गर्दा भने ‘त्यस्तो विचार गरियो तर अहिले हेर्दा त होइन कि यस्तो पो हो कि जस्तो लाग्दै छ’ भन्ने स्वभाव थियो उनको ।

ती इतिहास पुरुष लेखक अब रहेनन् । ती दार्शनिकको भौतिक रूप अब हामीमाझ छैन । तर म आज उनलाई सम्झिँदा पछिल्लो समयमा भएका केही संवादहरूबाट संझिने चेष्टा गर्छु । कदाचित यी सम्झनाहरूमा उनको चिन्तन परम्पराका डोबहरू पाइएलान् ।


नव तेस्रो आयाम

नेपाली केन्द्रीय विभागले इन्द्रबहादुर राईको प्रवचन राख्ने प्रस्ताव गर्‍यो । विभागीय प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीले राई काठमाडौं आएको मौका छोपी कार्यक्रम गरे । नेपाली अंग्रेजी विषयका प्राध्यापक तथा विद्यार्थीहरू टनाटन भरिएको हलमा कुनै ऋषिले जस्तो बोलिरहेका थिए इन्द्रबहादुर राई । त्यहाँ उनले विचारहरूमाथि निरन्तर पुनरावलोकन गरिरहनुपर्ने विचार राखे । महत्त्वपूर्ण कुरा त उनले तेस्रो आयामलाई पनि अब नव तेस्रो आयामको नयाँ चिन्तन परम्परामा अगाडि बढाउँदा राम्रो हुने विचार व्यक्त गरे । पछि सुकेधारास्थित आयामेली कवि बैरागी काइँलाको घर फर्किंदै गर्दा मैले सोधें ‘सर लीलालेखन नै नव तेस्रो आमाय होइन र ? जब आयामको केन्द्रमा वस्तुता छ र लीलालेखन पनि वस्तुतामै उभिएको छ भने किन लीलालेखन तेस्रो आयामकै नवरूप होइन’ भन्ने मेरो जिज्ञासा थियो । उनी स्वयम् नै दुवै चिन्तनका प्रस्तावक थिए । एक छिन मौन रहे उनी । अनि भने ‘तार्किकता, ज्ञान आज नयाँ किसिमले प्रकट भइरहेको छ । हिजो समग्रतामा तर्कलाई, ज्ञानलाई हेरिन्थ्यो । आज खण्डखण्डमा, समूहसमूहमा, व्यक्तिव्यक्तिमा छ यो । यसैलाई पक्डियो भने नव या यस्तै भनेर तेस्रो आयामलाई अघि बढाउन सकिन्छ ।’


मानिस चिन्तन

लीलालेखनको एक मान्यता छ ‘मानिस निफर लुलो छ’ भन्ने । इन्द्रबहादुर राईले लीलालेखनको बीससूत्रीय घोषणामा यो बुँदा विशेष महत्त्वका साथ राखेका छन् । त्यो निफर लुलो मान्छे उनको ‘कठपुतलीको मन’ कथामा चामे भएर रिसमा कसैलाई हान्नुपरे यसो खुट्टा मात्र उठाउँछ । ‘विश्व तिम्रा चरणमा’ शीर्षकको कथामा एउटा आधुनिक भव्य डिपार्टमेन्टल स्टोरबाट जुत्ताको तुना मात्र किनेर फर्कन्छ । मेरै ‘सँगसँगै’ कथामा त्यो निफर लुलो मान्छे घट्टेकुलोमा हप्तौंदेखि बिरालो मरेर गन्हाइरहँदा पनि उठाएर फाल्दैन । ‘नदेख्नु’ कथाको कृष्ण आफूलाई मनैदेखि माया गर्ने प्रेमिकालाई भगाएर लाँदैन । यो कुरालाई विद्वान समालोचकहरूले निराशावादी सोच भनेर व्याख्या गरेका छन् । अनि मैले गत साल आँखाको उपचार गर्न काठमाडौं आउँदा उनलाई सोधें । समालोचकहरूले निराशावादी चरित्र भनेका छन् । उनले यस सन्दर्भमा प्रतिक्रिया जनाउन कुनै समय खेर फालेनन् । मलाई यस्तो लाग्यो उनी यसबारे केही सोचिरहेका थिए । उनको विचार थियो, ‘यो कुरा सही हो । मान्छेले यत्रो तरक्की गरेको छ । यत्रो सभ्यता निर्माण गरेको छ । अनि उसलाई कसरी कमजोर भन्न सकिन्छ र ? यत्रायत्रा प्रथम र द्वितीय विश्व युद्ध लडेको मान्छे । हाम्रो मानिस चिन्तन अलि पुरानो भयो । मानिस निफर लुलो छ होइन मानिस निडर र गतिशील छ यस्तै केही भन्नुपर्ला । त्यसैगरी चरित्र पनि निर्माण गर्नुपर्ला ।’


प्रजातान्त्रिक लेखन

पछिल्लो समय उनी प्रजातान्त्रिक लेखनको कुरा उठाउँदै थिए । केही अन्तर्वार्तामा यसबारे उनले बोले पनि । केही युवा लेखकले राई यो बेला प्रजातान्त्रिक लेखनको कुरा गर्छन् भनेर निफन्ने प्रयत्न पनि गरे । तर उनको विचार नेपालको राजनीतिक परिवर्तनसापेक्ष विचार थियो । गत सालको भेटमा मैले यो कुरा उठाएँ । उनको भनाइ थियो, ‘नेपालमा यत्रो परिवर्तन भयो । सदियौंदेखि मानिआएका राजा हटे । धर्म हटयो । भनेपछि जम्मै जनताकरण भयो । भनेको प्रजातन्त्रकरण भयो । अब हामी साहित्यिकहरूले यहीँनेरबाट सोच्नुपर्छ लेखन कस्तो हुने भनेर । यो चानचुने परिवर्तन होइन । बेलायत युरोपको जस्तो परिवर्तन भयो यहाँ । यहीँबाट सोच्नुपर्‍यो हामी साहित्यिकहरूले ।’

इन्द्रबहादुर राईको चिन्तन राजनीतिक, सामाजिक र आर्थिक सन्दर्भ प्रभावित पनि त हो । प्रजातान्त्रिक लेखनको प्रसंगमा उनले भनेका थप कुरा म सम्झन्छु, ‘अब त हाम्रो कथाको चरित्र नै फरक हुने भो । कसोकसो अब कथामा चरित्र नखोजेर चरित्रमा कथा खोज्नुपर्ला । समालोचकले पनि ।’


‘समालोचना नलेख्नू’

एउटा चिठीमा समालोचनाबारे लेखेका थिए । उनको हस्ताक्षर बडो सुन्दर हुन्थ्यो । छापेकाजस्ता अक्षरमा उनले लेखेका छन्, ‘समालोचनातिर भरसक हात नहाल्नू । अरूलाई फुक्र्याउनुपर्ने, उचाल्दिनुपर्ने, त्यसो नगरे गाली खाइने यस्तो काम किन गर्ने ?’ पछि भेटमा उनले भने, ‘अनेक कुरा पढेर अरुको किताबबारे लेख्यो तर लेखकले कहिल्यै राम्रोसँग धन्यवाद पनि भन्दैन । ऊ खुसी पनि हुँदैन । आफ्नो पनि लेखन हुँदैन । भने समालोचना गतिलो काम होइन ।’

दार्जिलिडमा भेट हुँदा उनी त्यहाँका आयोजकहरूबाट किताब विमोचनमा आउने निम्ताको बारेमा यस्ता कुरा गर्थे । ‘विमोचनमा गयो, प्रमुख अतिथि भन्छन् बोल्नु पनि पर्‍यो । तर केही न केहीको किताबलाई सर्काएर के के न हो भन्दिनुपर्छ । नभए रिसाइहाल्छन्् । समालोचना अरूलाई बनाउने मात्र हो ।’


नाटक लेखौं

पछिल्लो समय नाटक लेखनमा उनीको रुचि बढेको थियो । नाटक लेखन मार्फत लीलालेखन गर्नुपर्छ भन्ने विचार व्यक्त गर्थे उनी । किन ? मेरो जिज्ञासामा उनको भनाइ थियो नाटक बहुविधात्मक हुन्छ । कथा, निबन्ध, कविता, गीत सबै नाटकमा दिन सकिन्छ । लेखक र पात्रले सोझै, सँगसँगै कुरा गर्न सक्छन् । लागेको कुरा भन्न सक्छन् । त्यहाँ समय र सन्दर्भ एकैचोटि चरित्रमा आरोपित गर्न सकिन्छ । आवाज दिएर, जंगलै देखाएर, खोला बगेको देखाएर कथा भन्न सकिन्छ भन्ने उनको विचार थियो ।

‘कठपुतलीको मन’ शीर्षकको रचनालाई उनले कृति भनेका छन् । कठपुतलीको मनमा कथा, कविता, निबन्ध, नाटक, गीतजस्ता विधाहरू मिसिएका छन् । उनलाई के अप्ठ्यारो लागेको थियो भने कृति भनेर त्यस्ता रचनालाई भनिरहँदा फेरि विधाहरू नै नासिने भए । यसको उपाय हुन्थ्यो नाटक । नाटक स्वयम् विधा पनि भो र उनले कृतिमा अटाउन चाहेका सबै विधाहरू यसमा सजिलैसँग अट्ने पनि भए ।


विज्ञानको प्रयोग

साहित्यमा विज्ञानको प्रयोगका सन्दर्भमा इन्द्रबहादुर राईको मत फेरि पनि विचार निर्माणसँगै सम्बन्धित थियो । उनी भन्थे विज्ञान साहित्य भनेर प्रविधिपरस्त चरित्रको कहानी लेख्नेभन्दा विज्ञानलाई तार्किकता र बौद्धिकताको हिसाबले लिइनुपर्छ । विज्ञानबाट के लिने ? उनको मत थियो विज्ञानकै प्रभाव समाजका अन्य विषयहरू अर्थशास्त्र, समाजशास्त्र, साहित्यशास्त्र इत्यादिमा पर्ने हो । सभ्यताका चरण विज्ञानकै नयाँ आविष्कारका प्रतिफल हुन् । राईको विचारमा नित्सेले ईश्वर मृत्युको कुरा गर्नु भनेको ईश्वरको काम अब विज्ञानले गर्छ भनेको हो । त्यसरी दार्शनिक चिन्तनका लागि विज्ञान जहिलै उपयोगी हुने विचार उनको थियो ।

मलाई लाग्छ तेस्रो आयाम विज्ञान अनुकूलित आधुनिकताको नेपालीय प्रभावको उपज थियो । लीलालेखनप्रति— वैज्ञानिक चिन्तनमा आधारित ।


दुई पछुतो

सायद इन्द्रबहादुर राईको जीवनमा कुनै पछुतो नहुनुपर्ने हो । ‘समयाङ्कन दैनिकीय’ शीर्षकको पुस्तकका भूमिकासहित सुरुवाती पानाहरू पढ्दा यो थाहा हुन्छ कि राईको जीवन कति समृद्ध थियो । तर मसँगको कुराकानीमा उनी जीवनका दुई निर्णयका बारेमा पश्चात्ताप व्यक्त गर्थे ।

कुनै समय उनी दार्जिलिङ नगरपालिकको उपमेयर भएका थिए । त्यस समयका अनेकन गतिविधिमध्ये नेपाली भाषालाई भारतीय संविधानको अनुसूचमा राख्न चालिएको आन्दोलन एक हो । तथापि राजनीतिमा लागेर समय बर्बाद गरेकोमा उनलाई पछुतो थियो । भन्थे, ‘किन त्यता लागिएछ ? त्यति समयमा त एक डोकाजति किताब पढ्नभ्याइन्थ्यो होला ।’ त्यो समयमा भाषण जुलुस गर्नु, मिटिङ भ्याउनु, विवाद गर्नुजस्ता कामले खासगरी अध्ययन चिन्तन गर्न नपाएको गुनासो उनमा थियो ।

उनको एक चर्चित किताब ‘माक्र्सवादिक प्रतिबद्धता’ नेपाली साहित्यका पाठकबीच लोकप्रिय पनि छ, आलोच्य पनि । साहित्यमा प्रतिबद्धता कति लाभदायक कति हानिकारक भन्ने विषयमा उच्च विद्वता र तार्किकता पोखिएको उक्त पुस्तकको उपशीर्षक छ ‘साहित्यको अपहरण’ । पुस्तकको खोलमा माक्र्स एंगेल्सलिखित कम्युनिस्ट घोषणापत्रको लिपि राता अक्षरमा दिइएका छन् । पुस्तकको निचोड छ माक्र्सवादी प्रतिबद्धतामा लेख्ने लेखकहरू अधिक से अधिक साहित्यकार भए भने कमरेड हुन्छन् । त्यो बेलाका दार्जिलिङे माक्र्सवादी लेखकहरूलाई सम्बोधनमा लेखिएको उक्त किताब यता नेपालमा पनि ढिलोचाँडो आइपुग्यो । त्यसपछि माक्र्सवादी लेखक चिन्तकहरूको नजरमा उनी प्रतिक्रियावादी कित्तामा परे । जीवनपर्यन्तजस्तै उनलाई त्यो फाँटका अधिकांश लेखकहरूले शत्रुको नजरले हेरे । सायद यसै कारणले हो या उनले त्यो बेलाको आफ्नो मतको पुनर्विचार गरेका हुन् । पछिल्लो समय उनलाई त्यो पुस्तकमा व्यक्त विचारवारे पछुतो लागेको थियो । उनी भन्थे, ‘लेखिहालियो । अब मेट्न पनि नमिल्ने । लेख्दा धेरै सोचेर मात्र लेख्नुपर्ने रहेछ ।’

अलविदा मेरा गुरु ! अल विदा नवचिन्तनका अभियन्ता !!

प्रकाशित : फाल्गुन २६, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?