कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सपनाको देशको परिभ्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — यात्रा गर्नेकै हृदयबाट नियात्रा जन्मन्छ । नियात्रा सिर्जना हुन यात्री अत्यावश्यक छ । मानवका विविध गुणमध्ये घुम्नु उसको जन्मजात विशेषता हो । घुमन्ते साहित्यकारको निजी विचार निबन्धात्मक बन्दै जब यात्राका स्मरणसँग संयोजित हुन्छ तब नियात्राको जन्म हुन्छ । यस विधाको विकास यसरी नै भएको बुझिन्छ ।  

सपनाको देशको परिभ्रमण

साहित्यकार चन्द्रकान्त आचार्यको ‘सपनाको देशमा’ (२०७३) शीर्षकको नियात्रा रत्नपुस्तक भण्डारबाट प्रकाशित भएको छ । यसमा ३१ वटा नियात्रा विन्यस्त छन् । उनले पाँच उपखण्डमा विभाजन गरेका यस नियात्राको भावभूमि संयुक्त राज्य अमेरिकाको भ्रमण हो । नियात्राकारले विभिन्न समयमा अमेरिका भ्रमण गरेको अनुभूति र त्यहाँका प्रवासी नेपालीसँगको अन्तक्र्रियाबाट यो संग्रह बनेको नियात्राकार स्वयं स्विकार्छन् । यसर्थ यो चलनचल्तीअनुसारको सामान्य नियात्रा मात्र होइन बरु तथ्य, अनुभव र अवलोकनका आधारमा लेखिएको यात्रासंस्मरण हो ।


नियात्रामा स्थान र घटनाको बारेमा त चर्चा भैहाल्छ त्यसमा पनि नियात्राकारको अनुभवलाई विचारले सिञ्चन गरेर प्रस्तुत गरिन्छ त्यो मामिलामा आचार्यका नियात्रा जीवन्त मात्रै बनेका छैनन् अनुकरणीय पनि छन् । नियात्राकारको यात्राका क्रममा केवल व्यक्ति बनेर घुमेका छैनन् । उनको दिमागमा देश छ, आफ्नो संस्कार छ र आफ्नो जातीय पहिचानको धङ्‌धङी छ त्यसैले नियात्राकारले जानेरनजानेर बेलाबेला अमेरिकालाई नेपालसँग तुलना गर्न भ्याइहाल्छन् र कतिपय सन्दर्भमा खिन्नताबोध पनि गर्छन् । उनका ‘नेपाल कहाँ छ ?’, म देशलाई के दिन सक्छु ? नेपाल बिर्साउने सहर सेन्डियागो, अमेरिकी समाजमा कसरी घुलमिल हुने ? जस्ता शीर्षकका नियात्रामा यस प्रकृतिको भावना अभिव्यक्तिएको छ ।

यस सन्दर्भमा एउटा भूगोलको संस्कार अर्कोमा पुग्दा के कसरी अन्तर्घुलनमा पुग्छ र गन्तव्य देशका संस्कारमा स्रोत देशका नागरिक के कसरी समाहित हुन्छन् त्यसको पनि नियात्राकारले लेखाजोखा गरेका छन् । अरूको संस्कार अनुसरण गर्नुपर्ने र आफ्नो चटक्क छोड्न पनि नसक्ने मनोदशामा डायस्पोरिक चेतनामा नेपालीहरू कसरी बाँचेका छन् भन्ने कुरा पनि यी नियात्राहरूमा आएका छन् ।


घटनाको विवरणले मात्र सच्चा नियात्रा बन्न सक्दैन त्यसमा रोमाञ्चकता, साहित्यिक आस्वादनको भरपूर जरुरत पर्छ । नियात्राकार आचार्यले आफ्नो नियात्रालाई सजीव र पठनीय बनाउन कतै ऐतिहासिक तथ्यको सहारा लिएका छन् त कतै आफ्नो विद्यार्थी जीवनका अनुभूतिलाई सारथि बनाएका छन् ।

यसमा नियात्राकारको निजी विचार मात्र छैन, त्यस भूगोलको विस्तुस्थिति विम्बात्मक रूपमा प्रस्तुत हुनाका साथै कलात्मक रूपमा आफ्नो विचारलाई पनि सम्प्रेषण गरिएको छ । यात्राका क्रममा घुमेका ठाउँ, भेटेका मान्छे, भएका घटनालाई यथार्थ दृश्यमा प्रस्तुत गर्न सक्नु नियात्राकार आचार्यको सबल पक्ष हो । नियात्राको अर्को सबल पक्ष यात्रा गरिएका स्थानको विवरण र त्यसको फोटोकपिक चित्रण हो ।

लेखकले प्रवासमा रहेका लाखौँ नेपालीको वास्तविकतालाई नियात्रामा उजागर गरिदिएका छन् । ‘पहिला अमेरिका आउने रहर, आएपछि व्यवस्थित हुने तरखर, व्यवस्थित भएपछि छोराछोरीको लालनपालन र बिहेवारी सकेर नेपाल फर्कने भनेर सोच्दासोच्दै जीवन बित्न लागेका गुनासा’ अमेरिकी समाजमा कसरी घुलमिल हुने शीर्षकको संस्मरणमा उल्लेख छ ।


आचार्यको नियात्राको लोभलाग्दो पक्ष भनेको उनको मानसपाटलमा रहेको विम्ब र त्यससँग आफूले प्रत्यक्ष देखेका दृश्यको प्रकटीकरण हो, साक्षात्कार हो । यात्रामा नरमाउने व्यक्तिले नियात्रा लेख्न सक्दैन नियात्राकार यात्रामा रमाएका छन् र आफ्ना नियात्रामा आफू स्वयं पुलकित भएका छन् र पाठकलाई पनि यसै दिशातिर प्रेरित गरेका छन् ।


राजनीतिक विषयलाई पनि आचार्यले लेखनको विषय बनाएका छन् । अमेरिकाको पार्लियामेन्ट, तल्लो सदन, माथिल्लो सदन आदि विषयमा पनि ‘समसामयिक घटनाहरूको सेरोफेरो’ भन्ने शीर्षकमा चर्चा गरिएको छ । यात्राकै क्रममा नियात्राकारमा तुलनात्मक भाव पनि देखिन्छ, उनले नेपालको समस्यालाई विविध आयामलाई तुलना गरेका छन् । नेपाल कहाँ छ ? शीर्षकको संस्मरणमा उनले नेपाल र अमेरिकाजस्तो विकसित देशको तुलना गर्दै हामी सुन्दर भएर पनि हिजोदेखि आजसम्म हाम्रो पहिचान निम्छरो देखिएको गुनासो गरेका छन् ।

डा. अशोक थापा

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?