कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिताजीको तस्बिर

स्मृति

काठमाडौँ — श्राद्ध गर्दैगर्दा एउटा प्रसंग आउँछ, त्यसबेला पुरेतले पिताजीलाई सम्झन आदेश दिन्छन् । ‘ल आँखा चिम्लेर पिताजीको अनुहार सम्झेर उठ्,’ पुरेत भन्छन् । त्यसबखत म आफूलाई थाम्न सक्दिनँ । मभित्र एउटा अनुत्तरित प्रश्न उत्पन्न हुन थाल्छ, देख्नै नपाएको पिताजीलाई मैले कसरी सम्झनु ?

पिताजीको तस्बिर

नसम्झिनुपर्ने हो या विस्मृतिको गर्तमा मिल्काइदिनुपर्ने हो, मनको अदृश्य तहमा घोच्ने सम्झनाहरूलाई । तर, म सम्झिरहेछु, थाहा हुँदाहुँदै पनि यो सम्झनाले नराम्ररी मलाई घोच्छ भनेर । यस पटकको यो माघे (सप्तमी तिथि) हिउँदे चिसोमा आधा शताब्दी पूरा गरेको छ पिताजी तिम्रो सम्झनाले । कत्ति लामो आयु हो यो सम्झनाको पनि ! थाहा छैन, अझै कति स्मृति दिवसका दिन पुरेत घरमा आउने हुन् र तिम्रा नाममा पिण्ड बटार्न लगाउने हुन् !

केही दशकअघिसम्म पिताजीका नाममा समर्पण गर्दै बटारिएका पिण्ड वाग्मती नदीमा लगेर सेलाउने गरिन्थ्यो, अहिले खाल्टो खनेर पुर्न आदेश दिन्छन् पुरेतबाजे । कुनै समय गाईलाई ख्वाउने चलन पनि थियो । अचेल घर छेउछाउ कोही गाई पाल्दैनन् र छेवैको वाग्मती पानी होइन मानव मलमूत्र बोकेर ठसठस कन्दै बहिरहेको छ । किनकि, कुनै समयको चर्चित काँठ कोटेश्वर अब महानगर बनिसकेको छ । वाग्मतीको त्यो फोहोरमा कसरी पितृका नाममा बटारिएका पिण्ड सेलाउनु ! त्यसैले पिण्ड जमिनमुनि गाड्न थालेको पनि दशक नाघिसक्यो । धन्न, मेरो बासस्थानछेउ पिण्ड गाड्ने जमिन हालसम्म उपलब्ध छ । निश्चित छ, अबका केही वर्षपछि पिण्ड गाड्न जमिन उपलब्ध हुने छैन । साँच्चै त्यसबखत पिताजीका नाममा तयार पारिएको पिण्डलाई के गर्ने आदेश देलान् पुरेतले !

केही दशकअघि श्राद्धको दिन सदाझैँ पुरेतले मलाई पिताजीको अनुहार सम्झन आदेश दिएका थिए । ‘पिताजीको निधन हुँँदा म केवल ३ वर्षको थिएँ, मलाई उनको अनुहारको कुनै सम्झना नै छैन गुरुबा,’ मैले भनेको थिएँ । उनले मलाई पुन: आदेश दिएका थिए, ‘तस्बिर त होला नि घरमा तेरो बाउको ? हो त्यही यहाँ अगाडि लेरा अनि सम्झी ।’

‘तस्बिर पनि छैन बाजे, एउटा थियो त्यो पनि झोर (बुढानीलकण्ठ) की फुपू आमैले लगिन् । अब यसले कसरी सम्झोस् आफ्नो बाउलाई,’ आमाले जवाफ दिएकी थिइन्, ‘फुपूको घरमा गएर तस्बिर मागेको पनि हो, उनले पनि कतै हराइसकिछन् ।’ अब त आमा बितेको पनि दुई दशक नाघिसकेको छ भने बूढा पुरेत जसले मेरा पिताजीलाई देखेका थिए, तिनी पनि यो धरतीबाट बिदा भइसकेका छन् । अब उनको स्थान उनका पुत्रले लिएका छन् ।

‘तेरा बाउ अग्ला थिए, लामालामा जुँगा पाल्थे । दुब्ला थिए, ती मोटाएको मैले कहिल्यै देखिनँ,’ पुरेतले भनेका थिए, ‘हरेक दिन दूध बेच्न नयाँसडक जान्थे, बिहानै चार बजेतिर । बडो इमानदार र मिहिनेती थिए तेरा बाबु ।’

पिताजीको हुलिया र सामान्य आदत पुरेतले बताएपछि म कल्पना गर्न थालेँ, कस्ता थिए होलान् मेरा पिताजी भनेर । तर, कहिल्यै उनको अनुहारको विम्ब, रेखाचित्र वा इमेज मैले स्मरण गर्न सकिनँ । केवल उनको इमानदारी र मिहिनेत मात्रै कल्पनामा आए । म हालसम्म पनि त्यसैमा गर्वानुभूति गरिरहेको छु ।

चार दशकआसपासको कुनै एक दिन आमाले मलाई नयाँसडक लगेर आफ्ना पतिले हरेक दिन दूध दिने घर देखाएकी थिइन् । ‘दूध खाने’ त्यो घर नयाँसडकस्थित रञ्जना सिनेमाहलको अघिल्तिर थियो । त्यस परिवारमा दुई जना बूढाबूढी मात्र थिए । ती जीवनका उत्तराद्र्धको यात्रामा थिए । तिनका सन्तान थिएनन् । सोही बखत आमाले एउटा अनौठो प्रसंग सुनाएकी थिइन् । ‘बाँचुन्जेल ती साहुलाई दूध खुवाए त्यो घर तेरो बाबुलाई लेखेर दिने भनेका थिए । तर, सोझा तेरा बाबुले मानेनन् र दूधको पैसा समयमा दिए पुग्छ भने,’ आमाले भनिन्, ‘अहिले त ती बूढाबूढी पनि मरिसके होलान् ।’

बाबुले गरेको दु:ख सम्झँदा आमा सधैँ सुस्केरा हाल्थिन् । ‘धेरै परिश्रम र समयमा खानपान नमिलेका कारण तेरा बाबु ४० वर्षकै उमेरमा बिते’ भन्थिन् उनी । ‘बिहान तीन बजे उठ्थे, दूध दोएर चार बजे त घरबाट निस्किसक्थे । अनि घर फर्कंदा दिउँसो दुई–तीन बजिसक्थ्यो,’ उनी भन्ने गर्थिन्, ‘पछि त त्यो दूध किन्ने साहुले पाँच–सात महिनाको पैसा नै दिएन । पापी रहेछ त्यो साहु !’ बाबुको देहान्तपछि आमा केही पटक पैसा उठाउन नयाँसडक पुगिछन् । तर, उनले कहिल्ये पैसा असुल्न नसकेको गुनासो गरिरहन्थिन् ।

राजधानी काठमाडौँका स्थायी बासिन्दा मेरा बाबु । कामका सिलसिलामा पाँच किलोमिटर दूरीमा रहेको नयाँसडक हरेक दिन पुग्थे । तर, उनले आफ्नो तस्बिर खिचाउने फुर्सद कहिल्यै पाएनछन् !

जबजब पिताजी मेरो सम्झनामा तीव्र गतिमा आइपुग्छन् म उनको निधनको दिनको धूमिल सम्झना गर्न थाल्छु । माघको कठ्यांग्रिँदो जाडोको याम । हुस्सुले ढाकेको वस्ती । आँगनमा सेतो कपडाले छोपेर राखिएको मृत शरीर । तेली इँटा छापिएको मेरो घरको आँगन निकै ठूलो थियो । मृत शरीर वरिपरि केही मान्छे उभिएका थिए । केही बेरपछि मृत शरीर बोकेर मान्छेहरू आँगनबाट बाहिरिएका थिए । त्यसपछि निस्किएको आमाको रुवाइको धमिलो सम्झना आउँछ मलाई । सोही बखत बिहाको बाजा बजाउँदै एक हूल जन्ती मेरै घरको बाटोमा आइपुगेका थिए । आमाको रुवाइलाई बाजाको आवाजले दबाइदिएको थियो ।

त्रिभुवन विमानस्थलको दक्षिणी कुनो त्यसबखत काठमाडाँै जिल्ला, कोटेश्वर सुन्चोटार भनी चिनिन्थ्यो । पछि नगरपालिका भएपछि सुन्चोटार हट्यो र काठमाडौँ नगरपञ्चायत वडा नम्बर १० हुँदै अहिले काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ हुन पुगेको छ । केही समय महानगरको वडा नम्बर ३५ पनि भयो कोटेश्वर ।

त्यसबखत पिताजीले आफ्नै पौरखबाट १५–१७ रोपनी जग्गा जोडिदिएका रहेछन् हाम्रा निम्ति, कोटेश्वर सुन्चोटारको त्यो हाइटमा । उक्त हाइटबाट वाग्मतीको हराभरा फाँट जति स्पष्ट देखिन्थ्यो उति नै नयाँ बानेश्वर, पशुपति क्षेत्र र कञ्चन वाग्मती तथा मनोहरा नदी आँखैअघिल्तिरबाट बहन्थे । ती विस्तारित फाँट, फाट्टफुट्ट मात्रै चल्ने सवारी, निर्मल पानी बोकेर बहने वाग्मतीका दृश्य मेरा मानसपटलमा अहिले पनि ओहोरदोहोर गरिरहन्छन् ।

मेरो घर काठमाडौँबाट भक्तपुर–ठिमी–लोकन्थली जाने पैदल यात्रुको मूलमार्गमा पथ्र्यो । सार्वजनिक यातायातको सर्वथा अभाव रहेको त्यस बखत मेरो घरअघिल्तिर मान्छेको ओहोरदोहोर दिनहुँ बाक्लो हुन्थ्यो । गाडी गुड्ने सडकबाट भक्तपुर जान घुमाउरो पथ्र्यो । त्यसैले मेरो घरको सीधा बाटो रोज्थे पैदलयात्रु । सोही बाटो घोडा चढेर हिँड्नेले पनि प्रयोग गर्थे । तर, कहिले विमानस्थल विस्तार त कहिले सडक निर्माणका नाममा हाम्रो परिवार राज्यपीडित बन्दै आयो । र, अहिले केही आनामा खुम्चिन बाध्य भएको छ । न त पिताजीले जोडिदिएको जमिन जोगाउन सकियो न त नयाँ केही जोड्न नै ! जब पिताजीले २०२४ सालमा यो धर्ती छाडेर गए तबदेखि नै उनले जोडेको जमिनमा सरकारको आँखा लाग्न थाल्यो ।

पिताजीको सम्झना आउँदा सधैँ एउटा कुराले भने मलाई पोल्छ, बाल्यकालमा उनको न्यानो अँगालो पाएको भए र त्यसलाई अहिले स्मरण गर्न पाएको भए ! म कति भाग्यमानी हुन्थेँ होला, मेरो जीवनको गति कति तीव्र हुन्थ्यो होला ! अहिलेजस्तो जिन्दगीको गाडी रोकिँदै, फेरि चल्दै, टालटुल गर्दै धीमा गतिमा सायद गुड्दैनथ्यो ।

जिन्दगीको उद्देश्य तयार गर्न र त्यो बाटोमा हिँड्न प्रेरणा दिने काम प्राय: बाबुले गर्ने गरेको देख्छु । पिताजीको अभावमा आफू उद्देश्यहीन, शक्तिहीन, कमजोर मन र शुभेच्छुकको अभावमा समय व्यतीत गरिरहेको महसुस हुन्छ । अब त आफैं पिता भएको पनि तीन दशक पुग्न लागिसकेको छ । र, आफ्नो उमेर साढे पाँच दशकनजिक छ । जब मेरा छोरा र छोरी मेरो नजिक आइपुग्छन् म उनीहरूलाई सुम्सुम्याउँछु र पिता हुनुको कर्तव्य निर्वाहमा चुक्नु नपरोस् भन्दै सचेत हुन पुग्छु । तिनका माग पूरा गर्न नसक्दा अति पीडित हुन्छु । आफ्ना सानासाना खुसीलाई त्याग्दै तिनका ठूला आवश्यकता पूरा गर्न दिनरात खट्छु । तिनलाई बलियो पाखुरीले अँगालो मार्छु, जीवनमा इमानदार तथा असल हुन र मिहिनेत गर्न छाड्न हुन्न भनेर सम्झाउँछु ।

उमेरको यो लामो नदी पार गरुन्जेल थुप्रै पितासमान मानिस, अभिभावक, मित्र वा प्रेमिकाका रूपमा मेरो समीप आइपुगेका छन् । ती हरेकलाई म पिताजीको काल्पनिक (कहिल्यै नपाएको) स्नेहसँग तुलना गर्न थाल्छु । त्यसबखत ती सबै फिक्काफिक्का लाग्छन् । तीमध्ये अधिकांशमा स्वार्थलेपित र क्षणिक सम्बन्धको गन्ध पाउँछु । तिनले आफूलाई भर्‍याङ बनाएको पनि बुझ्छु । तिनका अँगालोमा जब म बाँधिन्छु, तिनले कमै न्यानो दिएका छन् । तिनको न्यानोले मेरो मनको भित्री तहमा स्पर्श गर्नै सक्दैन । यतिखेर यदि मैले तिमीलाई आफ्नो अँगालोमा बाँध्न पाएको भए पिताजी, म तिमीलाई कहिल्यै फुत्केर मबाट टाढा जान दिने थिइनँ !

पात्रोमा हरेक साल ‘बाबुको मुख हेर्ने दिन’ आउँछ । त्यस दिन मानिसहरू बजारमा आफ्ना प्रिय र आदरणीय पिताका निम्ति सुन्दर उपहार छानिरहेका हुन्छन् । उक्त दिन म विशेषगरी एकान्तमा हुन मन पराउँछु र पिताजीको नदेखेको अनुहार सम्झने कोसिस गरिरहेको हुन्छु । र, मलाई अविरल तातो आँसुले साथ दिइरहेको हुन्छ । म दुनियाँका तमाम क्रूरता र विडम्बनाहरूसँग लडिरहेको हुन्छु, तर आफ्नै मनसँग हार्न पुग्छु ।

तीन वर्षको अबोध बालक छँदै गुमेका पिताजीको अभावका कारण नै जिन्दगीले एउटा निश्चित उद्देश्य लिनै नसकेको ठहर मैले धेरैअघि नै गरेको हुँ । जे जति काम वा पेसा अपनाएँ, सफलता–असफलता हात परे, ती सबै आइलागेका जिम्मेवारी र प्राप्ति हुन् । सफलता नामका जे जति प्राप्ति गर्न सकेको छु, ती सबै तिम्रै देन हुन् ।

सानो छँदा मलाई जो देख्यो उही बन्न मन लाग्थ्यो । घरनजिक विमानस्थल भएका कारण बाटोतिर पाइलटहरू खुबै देखिन्थे । तिनलाई देख्दा पाइलटै बन्न मन लाग्थ्यो । तिनले लगाएका कपडा र सुग्घरीपनाले आकर्षित गथ्र्यो । कुनै दिन म पनि त्यसरी नै राम्रा कपडा र टिलिक्क टल्कने जुत्ता लगाएर हिँड्ने छु भन्ने सोच्थेँ । बिरामी भएर अस्पताल जाँदा जब डाक्टर देख्थेँ, मलाई डाक्टरै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि माध्यमिक तहमा पढ्दै गर्दा केही साथीका कविता रेडियो नेपालमा बजेको र गोरखापत्रमा छापिएको देखेपछि कवि पो हुनुपर्ने रहेछ भन्ने लाग्न थाल्यो । रेडियोमा गीत सुन्दा गायक बन्न मन लाग्थ्यो । आफूलाई पढाउने शिक्षकको फुर्तीफार्ती देख्दा लामो समयसम्म सोचेँ, म पनि एक दिन शिक्षक बन्छु र यसैगरी फुर्तीफार्ती देखाउँछु भन्ने लाग्यो । तर, यी सबथोकमध्ये एउटा मात्र थोकमा अब्बल बन्न पनि मलाई तिम्रो दह्रो हात र साथको आवश्यकता थियो पिताजी । तिमी भएको भए छोटै समयमा म सफलता हात पार्न सक्थेँ । तिम्रो अभावमा म क्रमश: निरीह हुँदै गएँ । प्राथमिक तहमा अब्बल रहेको मेरो पढाइ निम्नमाध्यमिकतिर पुगेपछि औसत हुन थाल्यो । म सधैँ तिम्रो अभावमा तड्पिन थालेँ, तिम्रो सम्झनाले मलाई सधैँ विह्वल बनाइरह्यो, मैले टेकेको जमिन धर्मराइरह्यो । म कवि–साहित्यकार त बनेँ, तर राम्रो लेख्न अझै बाँकी नै छ । तिमी हुँदा हौ त म सफल कवि, अति सफल पत्रकार भइसक्थेँ । पाइलट, डाक्टर बन्ने धोको तिम्रो अभावमा कसरी पूर्ति हुन सक्थ्यो र पिताजी ! चरम आर्थिक अभावले केही समय आमाले ज्यालामजदुरीसमेत गर्दै हिँड्नुपरेको तथ्यले अझै पनि मलाई घोच्न छाडेको छैन । मभित्र आत्मविश्वास त छ, तर तिम्रो अभावमा त्यो कमजोर हुन पुगेको छ पिताजी ।

थाहा छैन, अब तिमीसँग मेरो भेट हुन्छ कि हुँदैन (मलाई विश्वास पटक्कै छैन, अब भेट हुन्छ भन्ने कुरामा) । म प्राय: हरेक दिन तिम्रो धूमिल तस्बिरको कल्पना गर्छु र घरबाट सीधा पूर्वपट्टि (करिव पाँच सय मिटर पर) रहेको तिम्रो जन्म र अन्त्य भएको स्थान (त्रिभुवन विमानस्थलको दक्षिणी कुनो) तिर आँखा लगाउँछु । कवि हुनुको नाताले तिम्रा नाममा कविता त लेखेको छु, तर तिम्रो जीवन संघर्षको गाथा लेख्न अझै सकेको छैन । कविता त एक दिन विस्मृतिको गर्तमा विलीन हुनेछ नै, सबैले त्यसलाई बिर्सने नै छन्, तर पिताजी मेरा आँसुले तिम्रो सम्झना सधैँ–सधैँ गरिरहनेछन् ।

प्रकाशित : माघ ६, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?