१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

वर्ष २०१३ मा खेलकुद

राजु घिसिङ

काठमाडौ — यो वर्ष न ओलम्पिक न त फुटबलको वल्र्डकप नै भए । क्रिकेटको वल्र्डकपले छोएको वर्ष पनि होइन । तैपनि मैदान र बाहिरका जित-हारको नतिजा र सनसनीपूर्ण खबरले २०१३ लाई शान्त रहन दिएन ।



फुटबल
ठूलो लगानी, प्रविधि, मिडिया प्रचारसँगै युरोपेली क्लबहरूको प्रतियोगिताले विश्व फुटबलको ध्यान खिच्दै आएको छ । 'बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' भन्ने नेपाली उखानजस्तै लगातार चर्चा युरोपेली फुटबलकै हुन्छ । प्रतिस्पर्धा भइरहेको बेला च्याम्पियन्स लिग, इङ्लिस पि्रमियर लिग, स्पेनी ला लिगा, जर्मन बुन्डेस लिग र इटालीको सिरी 'ए'मा फुटबलप्रेमी झुम्मिने गर्छन् । पीएसजी र मोनाकोको लगानीसँगै २०१३ देखि त्यसमा थपिएको छ, प|mान्सको लिग वान ।
दुई वर्षयता २० करोड युरोभन्दा धेरै मूल्य लगाएर भित्र्याएका स्टारहरूले पीएसजीलाई अब्बल टिम बनाएसँगै लिग वानको चर्चा चुलिन थाल्यो । उसले यसैपालि उरुग्वेका फरवार्ड एडिल्सन कभानी पनि आफ्नो बनायो । जाल्टन इब्राहिमोभिच त पुरानै स्टार हुन् । उसलाई टक्कर दिने टिम मोनाकोको उदय २०१३ मै भयो । छुट्टै देश -मोनाको) मा भएर पनि मोनोकोले प|mान्सकै घरेलु प्रतियोगिता लिग वान खेलिरहेको छ । मोनाकोमा व्यावसाय र बसोबास गर्नेले प|mान्समा आयकर तिर्नु पर्दैन । त्यसैले फाइदा उठाउँदै मोनाकोले कोलम्बियन गोल मेसिन राडामेल फाल्काओसहित थुप्रै स्टार समर ट्रान्सफरमा अनुबन्ध गर्‍यो ।
दोस्रो डिभिजनबाट भर्खरै लिग वानमा बढुवा भएको सामन्य क्लब मोनाकोप्रति खेलाडीको आकर्षण, वेल्सका स्टार गारेथ बेललाई रियल म्याडि्रडले तिरेको १० करोड युरोको कीर्तिमान मूल्य र ब्राजिलका सनसनीपूर्ण प्रतिभा नेयमरको बार्सिलोना रोजाइ ट्रान्सफर मार्केटकै सबैभन्दा ठूला खबर बने । टोटेनहम छाड्दै स्पेनी राजधानी म्याडि्रड पुगेका बेलले आफ्नो मूल्यप्रति न्याय गर्लान् ? यही प्रश्न अहिलेसम्म चलिरहेको छ । रियल दोब्बर मूल्य तिर्न तयार हँुदाहँुदै नेयमरले बार्सिलोना जाने निर्णय गर्नुको रहस्य अहिलेसम्म खोलेका छैनन् । लियोनल मेसीको घाइते भएको बेला ६ दिनभित्र ७ गोल गर्दै नेयमरले बिस्तारै सुपरस्टार बन्ने संकेत भने दिइरहेका छन् ।
अहिले मेसी चोटका कारण मैदानबाहिरै छन् । तैपनि मेसी भर्सेस क्रिस्टियानो रोनाल्डो मैदानी दुश्मनीको यात्रा कायमै छ । मेसी २०१२ मै लगातार चौथोपल्ट फिफा बेलुन डे'ओर -वर्षको सर्वोत्कृष्ट खेलाडी) चुनिएको घोषणा २०१३ को जनवरीमै भयो । २०१३ को बेलुन डे'ओरमा मेसीका प्रतिद्वन्द्वी उनै रोनाल्डो र प|mान्सेली विंगर प|mयांक रिबेरी देखिएका छन्, जसमा विजेताको घोषणा अर्को साता हुनेछ ।
२०१३ को सर्वाधिक नम्बर १ अर्थात् सर्वोत्कृष्ट टिम हो, वायर्न म्युनिक । यी जर्मन क्लबले एकपछि अर्को गर्दै यो वर्ष ५ उपाधि जित्यो । अर्थात् २०१३ मा जुन-जुन प्रतियोगिता खेलेको हो ती सबैमा उसले उच्चतम उपलब्धि हासिल गर्‍यो । बोरुसिया डर्टमुन्डको सुखद यात्रालाई दुई वर्षमा पूर्णविराम लगाउँदै उसले बुन्डेस लिग र जर्मन कप जित्यो । उही डर्टमुन्डलाई फाइनलमा पन्छाउँदै च्याम्पियन्स लिग, युईएफए सुपरलिग हँुदै भर्खरै फिफा क्लब वल्र्डकपकै ट्रफी कब्जा गर्‍यो । फुटबलमा यस्तो सफलता विरलै हुने गर्छ । म्युनिक र डर्टमुन्डको सफलतासँगै युरोपेली फुटबलमा जर्मन युगको थालनी भएको अनुमान गरिएको छ ।

ब्राजिलमै केन्दि्रत
वल्र्डकपको २० औं संस्करण अर्को वर्ष -जेठ-असार) ब्राजिलमा हुँदै छ । प्रत्येक चार वर्षमा आयोजना गरिने वल्र्डकपको तामझाम अघिल्लो वर्षदेखि नै सुरु हुने गर्छ । यो प्रचलनबाट पृथक् छैन, २०१४ को वल्र्डकप ।
वल्र्डकपको ठीक एक वर्षअघि आयोजना हुँदै आएको फिफा कन्फेडेरेसन्सन कपमा नेयमरको स्किलफुल खेलसँगै स्पेनलाई सहजै पन्छाउँदै ब्राजिलले घरेलु भूमिमा ट्रफी चुम्यो । र, योसँगै उसले वल्र्डकपमा बलियै दाबेदारी पस्कने छाँट देखायो । तर, उसले अन्तिम १६ मै वल्र्ड च्याम्पियन स्पेन अथवा उपविजेता नेदरल्यान्ड्सको सामना गर्नुपर्ने वल्र्डकप 'ड्र' ले प्रस्ट पारिसकेको छ । आयोजनामा अबौर्ं डलरको लगानीको विरोधका चर्का स्वरले पनि वल्र्डकपको माहोल निकै अगाडि तातिएको हो । किनभने १९९४ मा ब्राजिललाई च्याम्पियन बनाएका रोमारियोसहित लाखौं ब्राजिलियन वल्र्डकप आयोजना गर्ने लगानी शिक्षा र स्वास्थ्यमा गर्नुपर्ने दबाब दिएर सडकमै ओर्लिएका छन् ।
विश्व फुटबलका प्रभावशाली मुलुकहरूले संकट टारेर पनि वल्र्डकपमा स्थान बनाइछाडे । वल्र्डकप २०१४ को छनोट पार गर्ने जापान पहिलो र उरुग्वे ३२ औं टिम भएको पनि २०१३ मै हो । तत्कालका निम्ति नेपालको वल्र्डकप खेल्ने सम्भावना सपना नै हो । तर, ६ दशमलव १७५ किलोग्राम सुनको ट्रफीको दशरथ रंगशाला आगमनले नै भए पनि वल्र्डकपले नेपाललाई पहिलोपल्ट प्रत्यक्ष नाता जोड्यो ।
दशरथ रंगशालामा आठौं साफ च्याम्पियन अफगानिस्तानले दक्षिण एसियाली फुटबलमा उदयको झन्डा फहरायो । त्यसको खुसियाली अफगान भूमिमा एके ४७ समेत पड्काइएको थियो । उसले सेमिफाइनलमा नेपाललाई सिकार बनायो । एएफसी यू-१६ च्याम्पियनसिप २०१४ को छनोट पार गर्नु २०१३ मा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । रोहित चन्दले डेनमार्क र यू-१६ का फरवार्ड विमल घर्तीमगरले नेदरल्यान्ड्सको ए डिभिजन क्लबमा दिएको ट्रायल पनि सुखदै मान्नुपर्छ ।

उत्कृष्ट कमब्याक
२०१३ मा छाएका एकमात्र महिला खेलाडीको नाम लिनुपर्दाका सबैभन्दा योग्य नाम हो, सेरेना विलियम्स । उनले यो वर्ष दुई ग्रान्डस्लामसहित ११ सिंगल्स उपाधि कब्जा गरिन् । प|mेन्च ओपन र यूएस ओपनको सफलतासँगै उनको ग्रान्डस्लाम उपाधि संख्या १७ पुगेको छ । अब उनीभन्दा अगाडि मार्टिना नाभ्रतिलोभा र क्रिस एभर्ट मात्र छन् । त्यसैले उनीसामु टेनिस इतिहासकै सर्वाधिक सफल महिला खेलाडी बन्ने अवसर छ ।
उनी यही वर्ष शीर्ष वरीयतामा फेरि उक्लिएकी हुन् । त्यो सफलता ३२ वर्षको उमेरमा हासिल भएको हो । जुन यसअघि भएको थिएन । उनी टेनिसका नम्बर १ महिला खेलाडी बनेको छैटौं अवसर हो । उमेरले परिपक्व हुँदै जाँदा उनमा देखिएको जोस र उनले हात पारेको सफलता वास्तवमै गजबको छ । त्यसैले त उनले २०१३ मा विश्वकै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड पनि हात पारिसकेकी छन् ।
फोब्र्सका अनुसार उनी २०१३ मा सर्वाधिक कमाउने महिला खेलाडी पनि हुन् । उनले खेलबाटै एक करोड २४ लाख डलर कमाइन् । उनी उही खेलाडी हुन्, जसको करिअर २०१० को सानो दुर्घटनामै सकिएको अनुमान गरिएको थियो । सिसाले खुट्टामा लागेको चोटका कारण एक वर्ष कोर्टबाहिरै रहेकी उनी पुनरागमन जनाउँदै फेरि नम्बर १ स्थानमा पुगेकी हुन् ।
पावरफुल सट प्रहार गर्न माहिर राफेल नाडालको करिअर उत्कृष्ट प्रदर्शन र चोट सिक्काका दुई पाटाजस्तै छन् । किनभने उनी कोर्टमा रहँदा उत्कृष्ट प्रदर्शन गर्छन् र जब कोर्टमा हुँदैन, त्यसबेला चोटले सताइएको स्थितिमा हुन्छन् । कहिले घुँडा र कहिले पेटको समस्याले सताइदा उनको करिअर सकिएको धेरैले अनुमान गरे, कोर्टमा फर्के पनि अब पुरानै लयमा र्फकन नसक्ने अड्कल गरियो ।
तर, ठीक उल्टो उनी २०१३ को प|mेन्च ओपन च्याम्पियन भए । उनको त्यो सफलता रोल्यान्ड ग्यारोसमा आठौं उपाधि थियो । त्योसँगै उनी एकै ग्रान्डस्लाम सर्वाधिक जित्ने खेलाडी बने । उनले यूएस ओपन पनि जित्दै ग्रान्डस्लामको उपाधि संख्या १३ बनाए । उनले यो वर्ष १० उपाधि कब्जा मात्र गरेनन्, नोभाक जोकोभिचलाई नम्बर १ स्थानमा विस्थापित पनि गरे । उनको सफलताले ७६ वर्षपछि बिम्बल्डन ओपन जित्ने बेलायती खेलाडी बनेका एन्डी मरेको उपलब्धि ओझेलमा पर्‍यो ।
स्टार गल्फर टाइगर उड्सले युवतीहरूको सम्बन्धका सिरिज २०१० मा सार्वजनिक भएपछि राम्रो लय गुमाएका थिए । त्यसपछि कट बनाउन पनि संघर्षरत उनले २०१३ भने उत्कृष्ट खेल्दै पीजीए टुरका ५ उपाधि जिते । यस्तोमा उनले ८५ लाख ५३ हजार ४ सय ४९ डलर कमाए । जुन रकम सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्षस्थानमा पुर्‍याउन पर्याप्त रह्यो । र, उनी फेरि विश्व वरीयतामा नम्बरम १ बनेका छन् । यसलाई उनको युवतीसँगको सम्बन्धपछि गल्फमा राम्रो कमब्याक मानिएको छ ।

बोल्ट र भेटेलको जादू
दुई किसिमको ट्रयाकका स्टार युसेन बोल्ट र सेवास्टिन भेटेलको जादूयी सफलता २०१३ मा पनि रोकिएन । बोल्ट रंगशालाका ट्रयाकमा दौडने स्पि्रन्टर हुन् भने भेटेल रेसिङ ट्रयाकका कार हुइकाउने ड्राइभर ।
जमैकन स्पि्रन्टर बोल्टले मस्कोमा भएको वल्र्ड च्याम्पियनसिपमा तीन स्वर्ण जिते । १ सय, २ सय मिटर व्यक्तिगत स्पर्धासँगै १ गुणा ४ सय मिटरमा स्वर्ण चुम्दै उनले आफूलाई एथलेटिक्स इतिहासकै महान् खेलाडीको रूपमा उभ्याए । मस्कोको सफलतासँगै उनले वल्र्ड च्याम्पियनसिपमा कुल पदक संख्या ८ स्वर्ण र २ रजत बनाए । उनले ओलम्पिकमा पनि ६ स्वर्णको कीर्तिमान कोरिसकेका छन् ।
र, उनकै नाममा छ, १ सय मिटरमा ९.५८ सेकेन्डको कीर्तिमान । अर्थात् उनी सबैभन्दा तेज मानव हुन् ।
जर्मन ड्राइभर भेटेललाई रेसिङ ट्रयाकका बोल्ट नै मान्नुपर्छ । उनले २०१३ को फर्मुला वानका १९ रेसमध्ये १३ उपाधि कब्जा गरे । त्यसैले त लगातार चौथोपल्ट वल्र्ड च्याम्पियन बने । फर्मुला वानको ६४ वर्षको इतिहासमा यस्तो सफलता हात पार्ने उनी तेस्रो ड्राइभर हुन् । रेडबुलका यी ड्राइभरले फर्मुला वानमा कान्छो उमेरमा हात पारेका सबै कीर्तिमान आफ्नो नाममा बनाइसकेका छन् । उनी भर्खर २६ वर्षका छन् । यो वर्षको पछिल्ला नौ रेसको ट्रफी उनले अरूलाई बाँड्न दिएनन् । उनले ७ वर्षे करिअरमै ३९ रेस जितेका छन् ।

ँभगवान्’लाई बिदाइ
भारतमा सचिन तेन्दुलकरलाई भगवान्सरह नै मान्ने गरिन्छ । उनको आलोचना सहन सक्ने खुबी थोरैमा मात्र पाइन्छ । उनीप्रति भारतमा जस्तो सम्मान छ, उस्तै नजिक छ फुटबल प्रशिक्षक एलेक्स फर्गुसनको प्रतिष्ठा । क्रिकेटका पर्यायजस्तै भइसकेका छन्, सचिनको नाम । क्लब फुटबलमा म्यानचेस्टर युनाइटेडसँगै जोडिन्छ एलेक्स फर्गुसन ।
लामो अवधिदेखि यी दुईको वर्चस्वको यात्रामा २०१३ मा पूर्णविराम लागेको छ । अर्थात् सचिनले खेलाडी जीवन र फर्गुसनले प्रशिक्ष्ाकको जिम्मेवारीबाट संन्यास घोषणा गरे । सचिनले २४ वर्षे अन्तर्राष्ट्रिय करिअरमा ब्याटिङका धेरै र मुख्य कीर्तिमानहरू सचिनले आफ्नो नाम लेखाइसकेका छन् । वान डे र टेस्टको ब्याटिङमा उनको जादू नै चल्ने गरेको थियो । उनले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृङ्खलासँगै सबै खेल जीवनबाट संन्यास लिएका हुन् । त्यो उनको दुई सयौं टेस्ट थियो । सन् १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला राखेका उनी टेस्ट र वान डेमा ३० हजारभन्दा धेरै रन बनाउने एक्लो क्रिकेटर हुन् । उनले शतकको संख्या पनि १ सय पुर्‍याए ।
फर्गुसनले ओल्ड ट्राफोर्डमा २७ वर्ष बिताउने क्रममा क्लब फुटबलमा सम्भव सबै किसिमको सफलताको स्वाद चाखे । इङलिस पि्रमियर लिगकै कीर्तिमा २० औं पल्ट च्याम्पियन भएपछि उनले प्रशिक्ष्ाकबाट संन्यास लिएका हुन् । म्यानचेस्टर युनाइटेडलाई विश्वकै लोकपि्रय क्लब र बलियो ब्रान्ड बनाउन उनकै मस्तिष्कद्वारा निर्देशित मैदानको खेलको भूमिका महत्त्वपूर्ण थियो । सन् १९८६ देखि २०१३ सम्म प्रशिक्ष्ाक छँदा म्यानचेस्टरले ३८ उपाधि जित्यो । यस्तोमा पि्रमियर लिग १३ र युरोपेली च्याम्पियन्स लिगका २ उपाधि मुख्य हुन् ।

निर्लज्ज आम्सट्रङ
साइक्लिङ इतिहासकै महान् खेलाडी लान्स अम्र्सट्राङले अन्ततः शक्तिबर्धक औषधि सेवन गरेको २०१३ मै स्वीकारेका छन् । 'टुर डे प|mान्स'को उपाधि सातपल्ट जितेका उनको डोपिङ गरेको स्वीकारोक्तिसँगै साइङक्लिङको लोकपि्रयता ह्वात्तै घटेको छ ।
क्यान्सरको पीडालाई उछिन्दै उनले हात पारेको अविश्वसनीय सफलताको पछाडि शक्तिबर्धक औषधीको भूमिका मुख्य भएको रहस्य खुलेपछि आम्सट्रङ नायकबाट खलनायकमा रुपान्तर भएका छन् । विश्व खेलकुदमै सबैभन्दा ठूलो खलनायकको रुपमा उनको चर्चा भइरहेको छ । दक्षिण अमेरिकका कृत्रिम खुट्टाधारी धावक ओस्कर पिस्टोयिसले गर्लप|mेन्डको हत्या गरेको बर्ष पनि यही हो ।

फिक्सिङको छायामा क्रिकेट
फिक्सिङ विवादले क्रिकेटलाई खराब चर्चा दिलायो २०१३ मा । इन्डियन पि्रमियर लिगमा राजस्थान रोयल्सका तीन खेलाडी श्रीसन्थ, अंकित चवन र अजित चन्डिला स्पट फिक्सिङको आरोपमा होटलबाटै समातिए । अनुसन्धानपछि उनीहरूले फिक्सिङ गरेको प्रमाणित पनि भयो । त्यसपछि उनीहरू लामो समयको कारबाही बेहोरे । यही खबरले विश्व क्रिकेटमै तहल्का मच्चायो र आईपीएलको ब्रान्ड मूल्य पनि गिरायो । आईसीसीले न्युजिल्यान्डका लिजेन्ड क्रिस केयन्र्सलाई पनि फिक्सिङ गरेको आरोप लगायो ।
इङल्यान्डमा भएको च्याम्पियन्स ट्रफी महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जित्यो । त्यो नै क्रिकेटमा वर्षको मुख्य प्रतियोगिता हो । इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको एसेज सिरिजले पनि खुबै चर्चा बटुल्यो । घरेलु मैदानमा इङल्यान्डले ५ मध्येका सुरुका ३ टेस्ट नै जित्यो । अस्टे्रेलियाले उस्तै सर्मनाक हार खेप्यो । अहिले अस्टे्रेलिया क्लिन स्विप गर्ने दाउमा अगाडि बढिरहेको छ ।
सन् २०१३ नेपाली क्रिकेटको निम्ति पनि एतिहासिक सफलताको वर्ष बन्यो । बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा अविश्वसनीय खेल पस्कँदै नेपाल डिभिजन टुमा उक्लियो । योसँगै पाएको अवसरअनुसार अहिले नेपाली टिम २०१५ को वान डे वल्र्डकप छनोट खेल्ने तयारीमा कोलम्बोमा अभ्यास गरिरहेको छ । एसीसी ट्वान्टी ट्वान्टीको उपविजेता हँुदै नेपालले वल्र्ड ट्वान्टी ट्वान्टी अर्थात् वल्र्डकपको बाटो तय गरेको समय सीमा पनि २०१३ नै हो । युनाइटेड अरब इमिरेट्समा भएको वल्र्डकप छनोटमा नेपाल शीर्ष तीनमा रह्यो र पहिलोपल्ट वल्र्डकप यात्रा तय गर्‍यो । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूला सफलता यही हो ।

प्रकाशित : पुस १३, २०७० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?