२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'फेरि नआउनु है फोटो खिच्न'

रवि मानन्धर

काठमाडौ — फोटोपत्रकार रवि मानन्धरले २०६८ कात्तिक २४ गते हुतराम वैद्यलाई अनौठो तरिकाले भेटेका थिए । गत साता निधन भएका नेपालका पहिलो कृषि वैज्ञानिक एवं वागमती संरक्षण अभियन्ता वैद्यको सम्झनामा रविले आपmनो डायरीको पानाबाट यो स्मृति दिएका हुन् ।

'फेरि नआउनु है फोटो खिच्न'
दुई दिनसम्म लगातार एउटै नम्बरमा फोन गरेर लगभग म थाकिसकेको थिएँ । दुई दिनमा दुईचोटि फोन नउठेको त होइन, तर मेरो आफ्नो परिचय र फोन गर्नुको उदेश्य भन्न नपाउँदै उताबाट 'हलो' सँगै 'खोई राम्रोसँग सुनिएन एकैछिनपछि गर्नु है' भन्दै एउटा बूढ्यौली आवाज सँगै फोन काटिन्थ्यो । तेस्रो दिन अन्तिम एकपटक प्रयास गर्ने उद्देश्यले पुनः नम्बर डायल गरेँ । यसपटक भने जवान पुरुष आवाज सुनियो । मैले आफ्नो परिचयसहित फोन गर्नुको कारण बताएँ । उताबाट तुरुन्तै जवाफ पाएँ । उहाँ घरबाट निस्कन सक्नुहुन्न, बिरामी हुनुहुन्छ । जुन बेला आए पनि हुन्छ ।
बाटो जाम थिएन म तोकिएको समयभन्दा दस मिनेटअघि नै त्रिपुरेस्वरस्थित घरको मूल ढोकामा थिएँ । भित्र पसेँ, एक युवकले स्वागत गरे । माथिल्लो कोठामा लगे र खाटमा सुतिरहेका वृद्धलाई तपाईंको फोटो खिच्न आएको छ, उठ्नु भन्दै उठाए । ती वृद्धले मेरो परिचय र फोटो खिच्न आउनुको उद्देश्य सोधे । मैले 'रमण घिमिरेले तपाइर्ंसँग कुरा गर्नुभएको रहेछ । यसपालि 'नेपाल' साप्ताहिकमा तपाइर्ंका बारे छापिँदै छ, त्यसैले फोटो खिच्न आएको' भनेँ । 'को दमन ?' उनले फेरि प्रश्न गरे । दमन होइन रमण घिमिरे भन्न नपाउँदै उनी 'खै थाहा छैन' भन्दै फोटो खिचाउन तयार भए । सँगै रहेका युवाले हातमा लट्ठी थमाएर डोर्‍याएपछि बाहिर कौसीमा मैले उनको फटाफट फोटा खिचेँ । फोटो खिच्दै गर्दा उनले वागमती नदी र त्यसको बचाउको बारेमा थुप्रै कुरा गरे । वागमतीको महिमा सुनाउँदै पत्रकारहरूले वागमती बचाउन कुनै प्रयास नगरेकामा गुनासो पनि गरे । फोटोभन्दा थुप्रै कुराकानी भए तर जे जति कुराकानी भए सबै वागमती नदीमै केन्दि्रत थिए ।
उनले अब भित्र जान संकेत गरे । उनलाई बाहिर ल्याउने युवा कता गए कुन्नि । मैले नै उनलाई पुनः खाटसम्म डोर्‍याएँ । उनी खाटमा पुगेपछि पनि वागमतीकै बारेमा कुरा गर्दै थिए । कुरा गर्दै गर्दा उनलाई खोकी लाग्यो । उनले सँगै रहेको कपडाले नाक पुछे र कोठाको भित्तातिर फर्किएर पल्टिए । एकै छिनमा नै उनी घुर्न थाले । मलाई अब के गर्नु के गर्नु भयो । दुवैतिर ढोका रहेको त्यो कोठाको दुवै ढोका खुल्ाा थिए । दुवै ढोकाबाट बाहिर गएर तल-माथि सबैतिर हेरँे, कोही थिएन । त्यसै छाडेर हिँड्न पनि मिलेन । त्यसै हिँड्दा कुनै सामान हरायो भने चोरीको दोेष पनि लाग्न सक्थ्यो । त्यसैले कुरिरहें । करिब १५ मिनेटपछि उनी उठे र मलाई कहाँबाट आएको किन आएको भन्दै पुनः परिचय माग्न थाले । म अचम्ममाथि अचम्ममा परेँ । मैले पुनः स-विस्तार आफू आउनुको कारण बताएँ । उनी पुनः फोटो खिचाउन तयार भएर खाटमा बसे । मैले अघि नै उनको बाहिर फोटो खिचिसकिएको बताएँ । अनि उनले सँगै रहेको उनैद्वारा लिखित 'वागमती बाँचिरहोस्' पुस्तक निकाले र मेरो नाम सोधे । मैले मेरो नाम उनको कान नजिकै गएर बताएँ । उनले बाक्लो सिसाको चस्मा लगाउँदै किताबको भित्री पानामा रातो मसीले मेरो नाम सँगै उपहार अनि तल हुतराम वैद्य भनी हस्ताक्षर गरे । अनि मलाई दिँदै 'अब फेरि नआउनू है' भन्दै पुनः भित्तातिर
कोल्टे फेरे । म किताब हातमा नै च्यापेर निस्किएँ । कोठाबाहिर जुत्ता लगाउँदै गर्दा उनी घुर्न
थालिसकेका थिए ।

प्रकाशित : पुस १३, २०७० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?