१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

अनेक यथार्थको एउटा चित्र

काठमाडौ — एउटा लोकतान्त्रिक गणतन्त्रवादी नागरिक रोग लागेपछि उपचारका लागि विराटनगरबाट काठमाडौं आउँछ ।

तर आफ्नो उपचारको कुरा उसको प्राथमिकतामा पर्दैन । उपचारको नाममा उसको पहिलो प्राथमिकता त काठमाडौंको गणतान्त्रिक घाममा उभिएर नुहाउनु थियो । राजाका अगाडि होइन, राष्ट्रपतिका अगाडि हृदयदेखि शिर निहुराउन पाउने कुराको गौरव प्राप्त गर्नु थियो । उसले राष्ट्रपतिलाई भेट्यो र खुसी पनि भयो । तर लोकतान्त्रिक गणतन्त्रमा व्याप्त व्यवहार उसलाई पटक्कै मन परेन । राजाको शासनमा डराउने र लोकतन्त्रको प्रधानमन्त्रीलाई हेप्ने डन्ठे प्रहरीदेखि उसलाई रिस उठ्यो । हिजोका राजाकै जस्तो सडक जाम गरेर राष्ट्रपति र प्रधानमन्त्रीको सवारी चलाउने प्रवृत्तिलाई उसले लोकतान्त्रिक गणतन्त्रको अर्थमा बुझ्न सकेन । नागरिकका नाममा नागरिकलाई नै सास्ती दिने कुराहरू किन भइरहेछन् यो लोकतान्त्रिक गणतन्त्रमा ? किन काठमाडौंको घामले कताकता चसक्क पोल्ने गर्छ मान्छेलाई ? भेदभाव र दुव्र्यवहारको पीडा सहन किन अझै पनि बाध्य छन् नागरिकहरू ? यस्तै यस्तै अनेकन सामाजिक एवं राजनीतिक प्रश्नका उत्तरहरूको खोजी गर्दै उपस्थित भएका छन् कथाकार नारायण तिवारी आफ्नो नयाँ कथा कृति 'काठमाडौंमा सूर्यस्नान' बोकेर ।
गणतन्त्र आइसकेपछि पनि त्यसलाई सजिलै विश्वास गर्न नसक्ने व्यक्तिको मनोदशालाई राम्रोसँग नियालेका कथाकार तिवारीले उधारो खान पल्केका ठूलाबडाहरूलाई चोर नठानेर इमानदारीपूर्वक काम गर्ने गरिबलाई चाहिँ चोर देख्ने मनोवृत्तिलाई पनि राम्रैसँग उजागर गरेका छन् । मधेस आन्दोलनका क्रममा पहाडे र मधेसीको नाममा भेद्भावपूर्ण व्यवहार गर्ने, विस्थापित गराउने र एउटा नेपालीले अर्को नेपालीलाई लखेट्दै शिरबाट टोपी फालिदिनेजस्ता मर्मस्पर्शी घटनालाई कथाकारले आफ्ना कथामा उतारेका छन् ।  
हुनेले मन्दिर धाउँछन्, नहुनेले त काम गरेर खान पर्‍यो फुर्सद नै हुँदैन कसरी मन्दिर धाउने ? गल्ती गरेर भगवान् मान्नुभन्दा गल्ती पनि नगर्ने अनि भगवान् पनि नमान्ने गर्दा हुन्न ? कथाकारले राम्रो प्रश्न उठाएका छन् । भ्रष्ट र अनैतिक कर्म गरेर आस्तिक बन्नुभन्दा स्वच्छ कर्म गरेर नास्तिक रहनुमै कथाकारले गर्व मानेका छन् । इमानदार कर्मचारीलाई हेप्ने र भ्रष्ट कर्मचारीले मान-सम्मान पाउने प्रवृत्तिलाई कथाकारले उदाङ्गो बनाइदिएका छन् । कथामा सार्वजनिक यातायातभित्रका पाकेटमारको चर्चा छ, तरुनीसँग ढेपिएर बस्ने खराब नियतका चरित्रहरूको कुरा छ, महिला र असहायलाई सिट नछाडी गम्किएर बस्ने भलाद्मीहरूको प्रसङ्ग पनि छ ।  पार्टीमा पहुँच भएको अवसरवादी, ढोंगी र भ्रष्ट साहित्यकार/नेताका चरित्रहरू पनि नारायण तिवारीका कथा बनेका छन् ।
साहित्यले समाजलाई प्रभावित गर्ने कि समाजबाट साहित्य प्रभावित हुने ? यो कुरा विषयको गतिशीलतासँग जोडिएको छ । समाज गतिशील छ । साहित्य पनि गतिशील छ । गतिशीलता भनेको परिवर्तन हो । परिवर्तनले समाजको रूप बदल्छ । परिवर्तनले साहित्यको सिर्जनात्मक प्रक्रियासँगै त्यसको सौन्दर्यबोधमा पनि फेरबदल ल्याउँछ । त्यही गतिशीलताको त्यही परिवर्तनमा शक्ति हुन्छ । त्यही शक्तिले एक अर्कालाई प्रभावित गर्ने गर्छन् । आख्यान लेखनबाट राज्यलाई काननु नै बनाउन बाध्य पार्ने चाल्र्स डिकेन्सजस्ता सबै नहोलान् तर धेरथोर समाजलाई प्रभावित गर्न नसक्ने आख्यानको आयु लामो हुँदैन । प्रभावहीन लेखनको आयु जन्मनेबित्तिकै मर्नुजस्तै हुनेछ । कथाकार नारायण तिवारी समाजको गतिशीलतासँग जोडिएका छन् । उनी सामाजिक-राजनीतिक घटना र परिवर्तनहरूबाट प्रभावित छन् । सामाजिक परिवर्तनबाट प्रभावित बन्ने क्रममा उनी त्यस परिवर्तनका सकारात्मक पक्षहरूसँग गाँसिन पुगेका छन् । सामाजिक परिवर्तनसँग गाँसिएर जीवनलाई छुने काम उनले गरेका छन् । परिवर्तनबाट प्रभावित हुने र समाजलाई प्रभावित गर्ने ध्येय उनका कथाहरूमा पाइन्छ ।
कथाकार तिवारी यथार्थवादी कथा लेखनमा जीवनको गहिराइलाई पनि स्पर्श गर्ने कथाकार हुन् । सामाजिक-राजनीतिक विषयमा कथात्मक बान्कीको निर्माण गर्नु र मौलिक चेष्टाका साथ सिर्जनामा अग्रसर रहनु उनको उद्देश्य हो । त्यस क्रममा उनले विषयगत विविधतालाई महत्त्व दिएका छन् । उडन्ते कल्पना र अतिरञ्जनापूर्ण प्रस्तुतिलाई उनले रुचाएका छैनन् । कोरा भावुकतामा मानवइतर चरित्रको प्रयोगलाई उनले निषेध नै गरेका छन् । आफू उभिएको धरातलबाट बाहिर रहेर कथा लेख्ने काम उनले गरेका छैनन् ।
यथार्थवादी लेखनको प्रभाव स्वाभाविक मात्र हुँदैन, गहिरो पनि हुन्छ । त्यसैले पनि कथाकारहरू आफ्ना विषयमा यथार्थलाई बढी रुचाउँछन् । नारायण तिवारी पनि समाजका ज्वलन्त समस्या र सरोकारका विषयलाई समेट्ने कुरामा यथार्थ चित्रणमै रुचि राख्छन् । विषयलाई कथात्मक अभिव्यक्ति दिने कुरामा उनको कल्पनाशीलता यथार्थप्रति निकै कठोर बनेर देखापरेको छ । उनको यो कृति पनि यथार्थवादी कथाहरूको सङ्ग्रह हो । यथार्थलाई टिप्ने कुरामा पनि उनी गतिहीन यथार्थ होइन गतिशील यथार्थलाई महत्त्व दिन्छन् । उनी प्रभावशाली कथ्यको खोजी गर्छन् । उनले लेखनको विषयका रूपमा ग्रहण गर्ने घटना प्रतिनिधिमूलक छन् । ती घटनाका चरित्रहरू पनि प्रतिनिधिमूलक छन् । उनका कथाका घटना र चरित्र गतिशील यथार्थका रूपमा प्रकट भएका छन् ।
कथाकार दुःखीहरूप्रति सहानुभूतिशील छन् । ठग र बेइमानहरूप्रति क्रूर छन् । राजनीतिक विकृतिको विरोध गरेका छन् । सामाजिक विसङ्गतिप्रति विरोध जनाएका छन् । प्रशासनिक विकृतिहरूलाई नङ्ग्याएका छन् । भ्रष्ट आचारण र भ्रष्ट मनोवृत्तिप्रति कठोर प्रहार गरेका छन् । समाजका इमानदार र बेइमानहरूको चरित्रलाई कथाकारले दुई विपरीत यथार्थका रूपमा प्रस्तुत गरेका छन् ।
कथाकार नारायण तिवारी परिवर्तनप्रति मोह राख्छन् । परिवर्तनप्रति उनको आशा र खुसी निकै प्रगाढ छ । समाज र संस्कारको परिवर्तनमा असल नियतले गरेको काम पनि असल नै हुने र त्यसबाट सन्तुष्टि पनि प्राप्त हुने विचार उनमा पाइन्छ । यस कृतिमा कथाकारले असल समाजको निर्माण गर्ने आदर्श सोचले अभिप्रेरित कथाहरूलाई सङ्गृहीत गरेका छन् ।  
वस्तु राम्रो छ भने प्रस्तुति पनि राम्रो हुन्छ भन्ने मान्यता पनि पाइन्छ । तर यो मान्यता सबैतिर लागू हुन सक्दैन । जसमा कलात्मक क्षमता छैन, त्यो प्रस्तुति राम्रो हुन सक्दैन । राम्रो वस्तुलाई राम्रै रूपमा प्रस्तुत गर्न प्रस्तोतामा कलात्मक क्षमता पनि जरुरी हुन्छ । कथाकार नारायण तिवारीले यस कृतिमा आफ्नो त्यस क्षमतालाई पनि प्रस्तुत गरेका छन् । कथाकार कतै पनि जटिल लाग्दैनन् । उनको भाषा र प्रस्तुतिमा कुनै आडम्बर छैन । सरल ढङ्गले नेपाली समाजको समकालीन यथार्थलाई प्रस्तुत गर्नु यस कृतिको उद्देश्य देखिन्छ ।           
 

प्रकाशित : पुस १३, २०७० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?