२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिर्सिएका नेता

निीतिका ढुंगाना

काठमाडौ — भीमबहादुर तामाङ हाम्रो यति नजिक हुनुहुन्थ्यो कि उहाँको परिवार भनेकै हामी हौं जस्तो लाग्थ्यो ।

पोहोर मंसिरमा नेपाली कांग्रेसका निष्ठावान नेता भीमबहादुर तामाङको सम्झनामा विचार, श्रद्धाञ्जलि, पूर्वअन्तर्वार्ता पुनः छापिए । दिवंगत भएको वर्ष दिनमा गृहजिल्ला दोलखामा एक स्मृति सभा आयोजनाबाहेक केन्द्रीय स्तरका कुनै नेता कतै सरिक भएको छापामा आएन ।
नेपाली राजनीतिमा यति सरल, साधारण र समर्पित नेता पनि थिए भन्ने उदाहरण हुनुहुन्थ्यो भीमबहादुर दाइ । तर संविधानसभाको निर्वाचनमा पार्टी विजयको उन्मादमा रमाउँदा सबैले उहाँलाई बिर्सेछन् । उहाँलाई नेपाली कांग्रेसको इतिहासबाट अलग गरियो वा बिर्सियो भने यो पार्टी कस्तो रहला ? यसका लागि उहाँका बारेमा म जस्ती एक साधारण नागरिकको अनुभवले पनि केही छनक दिन्छ ।
िि

िसादा कालो कोट, पाइन्ट र भादगाउँले टोपी लगाएर एउटा अंकल हाम्रो घर प्रायः आउनुहुन्थ्यो । घर परिवारमा सबैले भीमबहादुर दाइ भन्थे । अभिभावकहरूले मलाई अंकल भन्न सिकाएनन् । मृत्युपर्यन्त पनि उहाँ भीमबहादुर दाइ नै कहलिनुभयो ।
उहाँको पहिलो सम्झना म जम्मा आठ वर्षकी हुँदाको आउँछ । उहाँकै काखमा बसेर काठमाडौंबाट चरिकोट गएकी थिएँ । पार्टीको एउटा सम्मेलनका क्रममा उहाँले घुमाउन मलाई लैजानुभएको थियो ।
ठूला मानिससित भन्दा साना केटाकेटीसित बसेर खेल्न, कुराकानी गर्न उहाँलाई मन पथ्र्यो । जाडोको लामो छुट्टी हुँदा हामी उहाँसित गुच्चा र डन्डिबियो खेल्थ्यौं । हामीसित क्यारेमबोर्ड र चेस खेल्नुहुन्थ्यो । चेस खेल्न पोख्त उहाँ सधैं जित्नुहुन्थ्यो । हामीलाई यसरी खेल भनी सिकाउनुहुन्थ्यो, चेसमा घोडालाई बचाएर राख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, घोडाले खेलको अन्तिममा राजालाई घेर्न मद्दत गर्छ, घोडा चाँडो मार्नु हुँदैन ।
त्यसैले उहाँ खेलमा पहिला प्यादाहरू चलाउँदै अर्कोलाई मार्दै अगाडि बढ्नुहुन्थ्यो । पछि घरमा टेबलटेनिसको बोर्ड बनेपछि कतै जाँदा बाटो पर्‍यो कि हामीसित खेल्न पसिहाल्नुहुन्थ्यो । झुक्याएर बल फाल्न पोख्त उहाँ टेबल टेनिसमा पनि सबैलाई जितिहाल्नुहुन्थ्यो । पञ्चायती निरंकुशताको विरुद्धमा घरमा कुराकानी, बैठक, जमघट हुँदा पनि नेताजस्तो मान्छे बेलाबेलामा उठेर हामी केटाकेटीसित गफ गर्न रुचाउनुहुन्थ्यो । गफ गरेर, जिस्केर बसिरहनुहुन्थ्यो र कहिले के कहिले के कुरा सुनाइरहनुहुन्थ्यो । हामी गुलेली खेल्थ्यौं । यसरी हान्नुपर्छ भन्नुहुन्थ्यो । आफूले एक दिन बाघ मारेको घटना सुनाउनुहुन्थ्यो ।
पञ्चायतकालमा उहाँ प्रायः बेलुका घरमा बस्ने गरी आउनुहुन्थ्यो । खानपिन, गफगाफ गरी सुत्ने बेला एक बोतल पानी माग्नुहुन्थ्यो । अहिलेको जस्तो प्लास्टिकका जग, सिसाका बोतल हुन्थेन । हुन्थ्यो त केबल काँसको करुवा, तामाको जग र केही खाली ब्ल्याक वा रेड लेबलका सिसीहरू । त्यही एक लिटर रेड लेबलको खाली बोतलमा पानी दिइन्थ्यो । बिहान केटाकोटी नउठी चिया पनि नमगाई गइसक्नुहुन्थ्यो । म उठ्दा खालि रित्तो सीसीमात्र हुन्थ्यो उहाँ सुत्ने ठाउँमा । राति पानी माग्ने र बिहान रित्तो सिसी देखिने मलाई सानो छँदासम्म अचम्म लाग्थ्यो ।
बत्तीसपुतलीस्थित हाम्रो टोलमा वल्लो घर पल्लो घर गरी हामी दस, बाह्रजना थियौं । आउँदा जहिल्यै खल्तीबाट झिकेर चकलेट बाँड्नुहुन्थ्यो । अरू पाहुना आउँदा नमस्ते मात्रै गर्ने, कोठाबाट बाहिरै ननिस्कने वा ढोकाबाट को आयो चियाउने हामी उहाँसित झुम्मिन्थ्यौं ।
०४० सालताका 'राजधानी' साप्ताहिकको काम हाम्रो घरबाट पनि हुने गथ्र्यो । उहाँका समकालीन साथीहरू मिलेर लेखन, सम्पादन गर्नुहुन्थ्यो । पत्रिका प्रेसमा पुर्‍याउनुअघि रातभरि काम गर्ने चलन थियो । मह जोडीको 'रसरंग' कार्यक्रम नेपाल टेलिभिजनमा लोकपि्रय थियो । हाम्रो घरमा रेडियो सुन्न भीड लाग्थ्यो । उहाँ पनि पत्रिकाको काम छाडेर जुरुक्क कार्यक्रम सुन्न भीडमा मिसिनुहुन्थ्यो ।
हामी उहाँको गफ रोमाञ्चित भएर सुन्थ्यौं । एकपटक घरमा मुसा लुकेको थियो । दिउँसोभरि मुसा कतै देखिंदैनथ्यो, राति एताबाट उता, उताबाट एता दगुरिरहन्थ्यो । उहाँ बस्न आएको एक रात म मुसा मार्छु भन्नुभयो र एउटा लामो लठ्ठी माग्नुभयो । हामी सबै केटाकेटी बडो उत्सुकतापुर्वक एउटा कुनामा उभिएर हेर्न लाग्यौं । उहाँ मुसालाई ड्याम्म हान्नुहुन्थ्यो मुसा अर्को कुनामा पुग्थ्यो । उहाँ दौडिँदै त्यही कुनातिर पुग्नुहुन्थ्यो । मुसो फेरि अर्को कोठामा पस्थ्यो । उहाँ पनि पछिपछि दौडिनुहुन्थ्यो । हामी सबै ताली बजाएर हाँस्दै हल्ला गथ्र्यौं । हामी रमाएको सुनेर घरका अरू सदस्य हेर्न आउँथे । दस, पन्ध्र मिनेटको प्रयासपछि आखिरमा उहाँले लाठी ठ्याक्क हानेर मुसा मार्नुहुन्थ्यो । अहिले पनि कतै मुसा निस्कियो भने उहाँकै सम्झना आउँछ ।
उहाँ चतुर हुनुहुन्थ्यो । पञ्चायतकालमा प्रहरीलाई कसरी छलेर हिंड्नुपर्छ उहाँ सुनाउनुहुन्थ्यो । पार्टीका सबै साथीलाई पक्रे आन्दोलन अलपत्र पर्छ, त्यसैले आफू बचेर हिंड्नुपर्छ भन्नेमा उहाँ सजग हुनुहुन्थ्यो । प्रहरी, गुप्तचरबाट बचेर हिंड्नुहुन्थ्यो । २०४६ सालमा उहाँ आन्दोलनको उत्कर्षताका मात्र पक्राउ पर्नुभयो ।
उहाँ आफ्नो पारिवारिक जीवनबारे केही बताउनुहुन्थेन । हामी पनि सोध्थेनौं । उहाँको घर दोलखा जिल्ला थाहा थियो तर परिवारमा को को सदस्य छन् थाहा थिएन । हल्ला सुनेका थियौं उहाँकी श्रीमती उहाँ जेल पर्दा छाडेर हिँडिन् र अरूसितै बिहे गरिन् । एक छोरा र एक छोरी थिए । छोरालाई म सानो छँदा देखेकी हुँ । छोरीलाई भने देख्न पनि पाइएन । उहाँ हाम्रो यति नजिक हुनुहुन्थ्यो कि उहाँको परिवार भनेकै हामी हौं जस्तो लाग्थ्यो ।
जिरी र चरिकोटको चर्चा भइरहन्थ्यो । उहाँ महिनामा एक दुईचोटि गृहजिल्ला गइरहनुहुन्थ्यो । जिल्लामा स्विस सरकारले गरेको विकासको कदर गर्नुहुन्थ्यो । जलविद्युत्, सडक, शिक्षाजस्ता विकासका काममा सबै मिल्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले उहाँ विरोधी पार्टीको पनि प्रेरणादायी नेता हुनुहुन्थ्यो । २०४८ सालमा जिल्लाबाट चुनाव हार्दा पनि जिल्लाबासीको निर्णय भनी खुसी नै हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो, 'चुनाव जितेको भए अनेक झन्झटमा बाँधिन्थें, हारेर स्वतन्त्र महसुस गरेको छु ।' वास्तवमा उहाँ पारिवारिक मायामोह, राजनीतिक घुसपैठ, लोभलालच र भ्रष्टाचारबाट स्वतन्त्र हुनुहुन्थ्यो ।
केही वर्षयता दोलखामा फिल्मसिटी निर्माण गर्न लागिएकोप्रति उहाँ उत्साहित हुनुहुन्थ्यो । उहाँलाई फिल्म हेर्न मन पथ्र्यो । विद्यार्थी छँदा दार्जिलिङमा हेरेका फिल्मबारे पछिसम्म पनि बताउनुहुन्थ्यो । काठमाडौंमा ४० को दशकमा घरमा टेलिभिजन हुनेहरूले डेक भाडामा लिएर रात रातभरि फिल्म हेर्ने गर्थे । परिवारमा पैसा उठाएर १२ घन्टाका लागि डेक भाडामा ल्याइन्थ्यो । भाडाको समय सकिनासाथ डेकवाला डेक लिन आइहाल्थ्यो । पैसा तिरेर पनि केही बेर थप राख्न पाइन्नथ्यो । किनकि पसलमा त्यो डेक अर्कैले बुक गरिसकेको हुन्थ्यो । त्यसकारण धेरै फिल्म हेर्ने चाहनाले हामी एउटै फिल्म फरवार्ड गरेर हेथ्र्यौं ।
भीमबहादुर दाइ डेक ल्याएपछि बच्चाहरूलाई फिल्म देखाउन हतार गर्नुहुन्थ्यो । अंग्रेजी फिल्मको क्यासेट जहाँ पायो त्यहीं पाइन्नथ्यो । उहाँ न्युरोड गएर बच्चाहरूले हेर्ने फिल्म ल्याउनुहुन्थ्यो । 'क्याट्स आई' नामको एउटा बाल फिल्म अहिले पनि सम्भिmन्छु, उहाँले हामीसँगै बसेर हेर्नुभयो ।
रेडियोमा बीबीसी सुन्नुहुन्थ्यो । २०४२ सालताका भारतीय टेलिभिजन च्यानल दूरदर्शनमात्र आउँथ्यो । आइतबार राति राजनीतिक विश्लेषणात्मक कार्यक्रम फोकस उहाँ नछुटाई हेर्नुहुन्थ्यो । २०४८ सालताका घरघरमा डिस च्यानल जडान गरेपछि उहाँ नेसनल जोग्राफी र डिस्कभरी च्यानल हेर्न मन पराउनुहुन्थ्यो । उहाँको अर्को सोख फोटोग्राफी थियो । घरमा निकोनको स्टिल क्यामेरा किनेपछि उहाँले हामीलाई फोटो खिच्न सिकाउनुभयो । फोटो धुलाएर ल्याएपछि आफूले खिचेको फोटो हेर्न उहाँलाई हतार हुन्थ्यो । अरूले खिचेको फोटोमा भने यता मिलेन, यसरी खिच्नुपथ्र्यो भनेर सम्झाउनुहुन्थ्यो ।
कसैसँग एकैपटक भेटघाटमा पनि उसको चालचलन, आचरण, बानीबेहोरा चाल पाइहाल्नुहुन्थ्यो । चाकरी, चाप्लुसी, लस्याङलुसुङ मन पराउनुहुन्थेन । एकपल्ट भेट्दैखेरि कसैको भित्री गुण, मनसाय, चरित्र थाहा पाउनुहुन्थ्यो । सबैलाई माया र स्नेह गर्ने भए पनि बिहानै कोही पनि आफ्नो कोठामा भेट्न आएको उहाँलाई मन पर्थेन । रिस उठेपछि, आफूलाई मन नपरेपछि यो ठीक भएन भनिहाल्नुहुन्थ्यो । कसैलाई गाली गर्दा उहाँ लठ्ठक र गबुलठोक भन्नुहुन्थ्यो । अंग्रेजी भाषामा समेत दख्खल भएकाले उहाँ कहिलेकाहीं अनौठा शब्द प्रयोग गर्नुहुन्थ्यो । उहाँका शब्दहरू हामी पनि टिप्थ्यौं ।
गान्धी दर्शनबाट प्रभावित भीमबहादुर दाइ बीपी कोइरालालाई आफ्नो जिन्दगीको प्राण भन्न रुचाउनुहुन्थ्यो । बीपीका अनुयायी भएर बीपीकै सिद्धान्त, विचार, नीतिलाई आजन्म अनुसरण गर्नुभयो । बौद्धिक, नैतिकवान, इमानदार व्यक्तिहरूलाई मात्र मन पराउनुहुन्थ्यो । तडकभडक गर्ने, रवाफ देखाउने, भड्किलो लुगा लगाउने र धेरै सौन्दर्य प्रशाधन प्रयोग गर्ने महिलालाई उहाँ मन पराउनुहुन्थेन । पारिवारिक र व्यक्तिगत प्रश्न सोध्नेलाई छोटो जवाफ दिएर पन्छिन खोज्नुहुन्थ्यो । आफू भने साना ठूला जसलाई भेटे पनि हत्तपत्त बोलिहाल्नुहुन्थ्यो । घरमा काम गर्ने सहयोगीहरूप्रति स्नेह राख्नुहुन्थ्यो । घर कहाँ भनी सोधीखोजी गर्ने र त्यस ठाउँको वर्णन गर्ने उहाँको स्वभाव थियो । दूध हालेको चिया, कफीको सट्टा फिका चिया वा गि्रन टी उहाँका पि्रय थियो । हाम्रो घरमा जस्मिन टी उहाँकै लागि भनेर किनिन्थ्यो । तरकारीमा भन्टा र फलफूलमा मेवा उहाँका पि्रय थिए ।
समकालीन साथीहरूसँगका भेटघाटमा कम बोल्नुहुन्थ्यो । अलिअलि पिउनुहुन्थ्यो र पापड कर्‍यामकुरुम चपाउँदै गम्भीरतासाथ अरूलाई सुन्नुहुन्थ्यो । गालामा हात राखेर घोरिनुहुन्थ्यो । एकैछिनमा उंग्न थालिहाल्नुहुन्थ्यो । कसरी घर फर्किनुहोला र भन्ने शंका गर्दा उहाँ त ठमठम हिंड्न थालिहाल्नुहुन्थ्यो । धेरै नबोल्ने, अरूलाई सुन्ने, रक्सी लागिहालेको देखिने तर जुरुक्क उठेर हिंड्न तम्तयार भइहाल्ने उहाँको स्वभाव अचम्मको लाग्थ्यो ।
नुनदेखि सुनसम्म पाइने असन इन्द्रचोक पुग्नेबेला चोक चोक, गल्लीगल्लीमा खुलेका हलुवाई पसलतिर हाम्रा आँखा परिहाल्थे । चाइनिज, इन्डियन र कन्टिनेन्टल खान मन लागे पुतलीसडकमा नकेचिता वा दरबारमार्गमा नांग्लो उहाँका पि्रय रेस्टुरेन्ट थिए । हामीलाई मःमः खुवाउनुहुन्थ्यो । ती रेस्टुरेन्ट विदेशी पर्यटकका लागि हुन् भन्ने भान थियो । ठमेल वरपर धेरैचोटि ओहोरदोहोर गरे पनि भित्र भने पस्दैनथ्यौं । तर उहाँ प्रायः त्यसरी खाना खान निस्केको बेला ठमेल घुमाउन लैजानुहुन्थ्यो । एक दिन ठमेलको उत्सेमा तिबेतियन मःमः खुवाउनुभयो । शान्त, सफा नेपाली संस्कृतिले धानेको ठमेल रमाइलो देखिन्थ्यो । तर ०६० सालताका नर्थफिल्ड क्याफेमा बसेर खाँदा उहाँले भन्नुभयो, सस्ता दोहोरी साँझ र फोहोर वातावरणका कारण ठमेलले मौलिकता गुमायो ।
बहुदल आएपछि गृहजिल्ला घुमाउँछु भन्नुभयो । हामी दोलखा जाने भयौं । ०४८ सालमा त्यसरी जिरी पुग्यौं । कुनै ठाउँ घुमाउन र मान्छे भेटाउन बिर्सनुभएन । विद्यालय, गुम्बा, चीज कारखाना, स्विस गाई गोठको सविस्तार वर्णन गर्नुभयो । उहाँकै करले कोदारी राजमार्गको तातोपानीमा नुहायौं र मितेरी पुलसम्म पुग्यौं । सानोमा दार्जिलिङमा पढे पनि जिरी मात्र होइन जिल्ला नै उहाँका लागि निकै पि्रय थियो । उहाँले हामीलाई दार्जिलिङ पनि घुमाउनुभयो ।
कालो टोपी, कोट, पाइन्ट र कालो जुत्ता उहाँको वास्तविक पहिचान थियो । इष्टमित्र, चिने-जानेकाले दिएको कपडा मन परे जतनले लगाउनुहुन्थ्यो, मन नपरे बाँडिदिनुहुन्थ्यो । आफ्नो कुनै निश्चित कमाइ नहुँदा पनि अरूलाई उपहार, सामान किनेरै दिनुहुन्थ्यो । मैले एसएलसी पास गरेको खुसियालीमा उहाँले मलाई कुर्ता-सुरुवाल हाल्ने कपडा किनिदिनुभयो । अरूलाई दुःख वा झन्झट लाग्न सक्ने कुरामा भने उहाँ सचेत हुनुहुन्थ्यो । अरूको मनोविज्ञान बुझ्न खोज्नुहुन्थ्यो ।
कसैले उहाँको मुखेन्जी गुणगान गाउनु हुन्थेन । हामी २०४८ मा सिक्किम घुम्न गएका थियौं । तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीसित भेट्ने कार्यक्रममा आफ्नो परिचय दिंदा भन्नुभयो, म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हुँ । अरूले उहााको परिचय थपिदिनुपरेको थियो ।
२०१४ सालमा पार्टीका तत्कालीन सहमहामन्त्री पद्मशंकर अधिकारीबाट सदस्यता लिएपछि सुरु भएको उहाँको पार्टी जीवन सुवर्णशम्शेरको नेतृत्वमा सशस्त्र संघर्षका बेला सरोज कोइरालासँग निकट हुन पुग्यो । सीमावर्ती भारतीय सहर जयनगरस्थित क्याम्पमा हुनुहुन्थ्यो ।
केही वर्षदेखि मधुमेह भएबाहेक उहाँलाई अरू रोग-बिराम लागेको थाहा भएन । त्यसमा पनि पथपरहेज धेरै गर्नुहुन्थ्यो । सधैं छरितो, फुर्तिलो देख्दा उहाँको उमेर र कार्यशैलीबीच मेल खान्थेन ।
२०४६ सालमा बहुदल पुनस्र्थापनापछि पहिलो विदेश भ्रमणमा जापान जानुभयो । कार्यक्रममा टाई लगाउनै पर्ने रहेछ । कहिले कार्यक्रम सकिएला र फुकालेर खल्तीमा राखौंला भन्ने सकस हुन्थ्यो रे । २०५१ मा अमेरिका जानुभएको थियो । हलिउड घुमेको निकै सुनाउनुहुन्थ्यो । कलाकारसित उभिएर फोटोसमेत खिचेको बताउनुभयो । होनोलुलु सहरबाट मलाई एउटा फूलबुट्टे कपडा ल्याइदिनुभयो ।
मोबाइल फोन केही अघिमात्र लिन थाल्नुभएको थियो । इमेल, इन्टरनेटप्रति उहाँको चाख उम्रेको देखिएन । ट्याम्पोमै यात्रा गर्नुहुन्थ्यो । जे पायो त्यसैमा । प्रायः हिंड्नुहुन्थ्यो । मन्त्री भएको बेला झन्डावाला गाडीमा चढ्न उहाँलाई निकै अप्ठ्यारो लाग्ने बताउनुहुन्थ्यो । त्यस्तो बेला झ्यालबाहिर चिनेकाहरूले देख्दा के सोच्दा हुन् भन्ने चिन्ता लाग्थ्यो रे । न त लिफ्ट दिनु, न भरिएको गाडीमा सँगै बसेर जाउँ भन्नु ! मन्त्रीक्वार्टरमा उहाँको निवास सबभन्दा कम चहलपहल हुनेमा पथ्र्यो । एक दुईजना सहायक र गार्डबाहेक सुनसान हुन्थ्यो । भेट्न आउनेलाई जे पाकेको छ त्यही खुवाएर पठाउनुहुन्थ्यो । नजिकका साथीभाइ जाँदा पापड, भुजिया, उसिनेको सिमी तयार पार्न लगाउनुहुन्थ्यो ।
परिवार, धनसम्पत्ति केही नभएर पनि सन्तोष नहराएको उहाँको अनुहारले कहिल्यै निराश पार्थेन । पार्टी सभापतिमा उम्मेदवारी दिएर हार्दा निराश हुने सीमित मानिसलाई पनि उहाँले भन्नुभयो, म जित्छु भनेर उठेको होइन, नैतिकवान साथीहरूका लागि मात्र उठिदिएको हुँ ।
पाँच दिनपछि अस्टे्रलिया जान लाग्नुभएको रहेछ । एकाएक अचेत भएर नर्भिक अस्पताल पुर्‍याइनुभएको खबर फैलियो । मेरा बुवाका अनन्य मित्रलाई अस्पतालको स्ट्रेचरमा देख्नुपर्दा स्वाभाविक रूपमा म पनि विह्वल थिएँ । कहिल्यै घमण्ड नगर्ने र आफूभन्दा कम उमेरका सँग पनि झ्याम्मिने उहाँ हामीसँग घमण्ड गरेरै चुपचाप बिदा हुनुभयो ।
सुटुक्क मर्न पाइयोस्, अरूलाई दुःख दिनु नपरोस् भनेर केही समयअघि मात्र भन्नुभएको रहेछ । त्यही दिन मर्निङ वाकमा जानुभएको थियो, फर्केपछि शान्त तवरले कसैलाई नसोधी लामो यात्रामा जानुभयो ।
पार्टीले उहाँलाई सम्भिmएन । उहाँलाई चिन्नेहरूले भने कहिल्यै बिर्सन सक्ने छैनन् ।

प्रकाशित : पुस १३, २०७० १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?