कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चम्किँदै राधिका

सेन्सरका कारण ठूलो पर्दामा भन्न नसकिएका कथाहरु अहिले सर्ट फिल्म र नेटफ्लिक्सका माध्यमबाट दर्शकसम्म पुगिरहेका छन् ।

काठमाडौँ — बलिउड अभिनेत्री राधिका आप्टेले अभिनय गरेका बदलापुर, पार्चड, फोबिया र माझी : द माउन्टेन म्यान निकै रोचक छन् । 
सुन्दरी र बोल्ड भईकन पनि हिरोइनलाई ‘शो पिस’ बनाउने खालका फिल्म नखेल्नु उनको विशेषता नै हो । उनी वेब सिरिज र सर्ट फिल्ममा पनि छाइरहेकी छन् ।

चम्किँदै राधिका

युवतीहरूलाई गोरी बनाउने क्रिमले विज्ञापन बजार छपक्कै छोपेका बेला पनि बलिउडमा केही ‘काली सुन्दरी’ हरू चम्किइरहेका छन् । असीको दशकमा स्मिता पाटिलले आफ्नो दमदार अभिनयका कारण कलात्मक फिल्ममा छाप छोडेकी थिइन् । अहिले पनि स्वारा भास्कर, भूमि पेडनेकर र राधिका आप्टेजस्ता अभिनेत्रीहरू यो पथमा छन् । पछिल्लो समयमा राधिका आप्टेको ‘राइज’ अरू सबैको भन्दा विशेष छ ।


राधिका ठूलो पर्दाको फिल्ममा मात्र छैनन्, मुख्यत: युट्युबमा हेरिने छोटा फिल्म र वेब सिरिज नेटफ्लिक्समा उनको उपस्थिति दमदार छ । नेटफ्लिक्स इन्डियाका त प्राय: सबैजसो फिल्ममा राधिका छन् । अनुराग कश्यपको लस्ट स्टोरिज, अनुराग र विक्रमादित्य मोटवानीको स्याक्रिड गेम्स, रवीन्द्र टैगोरका कथामाथि अनुराग बसुले बनाएको सिरिज र हरर घुल सबैमा राधिका छन् । सबैमा राधिका भएकाले आलोचकहरूले नेटफ्लिक्स इन्डियालाई ‘र्‍याडफ्ल्कि्स’ समेत भन्ने गरेका छन् ।


सेन्सरका कारण ठूलो पर्दामा भन्न नसकिएका कथाहरू अहिले सर्ट फिल्म र नेटफ्लिक्सका माध्यमबाट दर्शकसम्म पुगिरहेका छन् । ठूलो पर्दाको फिल्ममा सेक्स र राजनीति जोडिएका विषय तथा पात्रका भाषाको शुद्धतामा बढी ध्यान दिइन्छ । यस्ता विवादास्पद विषयमाथि बनेका फिल्मलाई सेन्सरले रोक्ने, काट्ने गर्न थालेपछि अहिले वेब सिरिज र सर्ट फिल्ममार्फत फिल्ममेकरहरू ती कथा भन्न थालिरहेका छन् । र, यस्ता बोल्ड कथालाई प्रस्तुत गर्न अघि सरेकी छन्, राधिका आप्टे ।


नेटफ्लिक्सको ‘लस्ट स्टोरिज’ यसको सुरुवात थियो । अनुराग कश्यप, करण जौहर, जोया अख्तर र दिवाकर बनर्जी चार निर्देशकले कामवासनासँग जोडिएका विषयमा बनाएका चार छोटा फिल्मको संकलन हो– लस्ट स्टोरिज । यसमा अनुराग कश्यपले बनाएको कथामा छिन् राधिका । यो फिल्मको लेखन पनि अनुराग र राधिकाले संयुक्त रूपमा गरेका हुन् । यसमा उनी एक प्राध्यापकको भूमिकामा छन्, जो आफ्नै विद्यार्थीसँग सम्बन्धमा हुन्छिन् । ठूलो पर्दामै पनि ‘सेक्स एडिक्ट’ का बारे बनेको ‘हन्टर’ मा राधिका थिइन् ।


कश्यपले नै बनाएको नेटफ्लिक्सको चर्चित सेरिज स्याक्रिड गेममा राधिकाले एक अनुसन्धान अधिकारीको भूमिका गरेकी छन् भने हरर फिल्म ‘घुल’ मा उनको मुख्य भूमिका छ । अनुराग बसुले बनाएको रवीन्द्रनाथ टैगोरका कथामाथिको सिरिजमध्ये उनले ‘चोखेर बाली’ मा युवा विधवाको भूमिकामा अभिनय गरिन्, जुन भूमिकामा ऋतुपर्णो घोषको फिल्ममा ऐश्वर्या रायले अभिनय गरेकी थिइन् । अर्का निर्देशक विक्रमादित्य मोटवानीले नेटफ्लिक्सकै लागि एउटा फिल्मको घोषणा गरेका छन् । यो फिल्मको खास विशेषता के छ भने यसका सबै मुख्य पात्रमा राधिकाले नै अभिनय गर्नेछिन् ।


यसो भन्दैमा राधिका वेब सिरिजका स–साना फिल्ममा मात्रै देखिने अभिनेत्री होइनन् । उनले रजनीकान्तजस्ता सुपरस्टारको फिल्म ‘काबाली’ मा पनि मुख्य भूमिकामा अभिनय गरेकी छन् भने अक्षय कुमारको ‘प्याडम्यान’ मा पनि । सैफअलि खानसँग उनले अभिनय गरेको ‘बजार’ अघिल्लो सातामात्रै रिलिज भएको छ । केही साता अघि आएको उनको फिल्म ‘अन्धाधुन’ बक्स असिफमा सुपरहिट भएको छ । आयुष्मान खुराना र तब्बुसँग यसमा उनले अभिनय गरेकी छन् ।


यसअघि उनले अभिनय गरेका हिन्दी फिल्म पनि रोचक छन् । बदलापुर, पार्चड, फोबिया र माझी : द माउन्टेन म्यान । राधिकाको विशेषता के मानिन्छ भने उनी सुन्दरी र बोल्ड भईकन पनि हिरोइनलाई ‘शो पिस’ बनाउने खालका फिल्म खेल्दिनन् । राम्रोसँग लेखिएका परम्परागतभन्दा भिन्न किसिमका भूमिका उनको रोजाइमा पर्ने गरेका छन् । यसको उदाहरणका लागि उनले अभिनय गरेका छोटा फिल्म हेरे पनि पुग्छ । अहिल्या, द्याट डे आफ्टर एभ्री डे युट्युबमा पाइन्छन् । अहिल्या रहस्यमयी छ भने द्याट डे... महिला हिंसाको विषयमा छ ।

राधिकाले हिन्दीका अलावा बंगाली, मराठी, तमिल, तेलगु, मलयालम र अंग्रेजी भाषाका फिल्ममा अभिनय गरेकी छन् । महाराष्ट्रको पुनेको मराठी परिवारकी भए पनि राधिका तमिलनाडुमा जन्मिएकी हुन् । उनले बंगाली भाषाको फिल्मबाट करिअर सुरु गरिन् । त्यसअघि उनी नाटकमा थिइन् । उनकै एक नाटकको अभिनय देखेर अभिनेता राहुल बोसले उनलाई आफ्नो बंगाली फिल्मका निर्देशकलाई सिफारिस गरेका थिए ।


राधिकाको व्यक्तिगत जीवन पनि अरूको भन्दा अलि भिन्न छ । उनका पिता न्युरो सर्जन हुन् भने आमा पनि डाक्टर नै । उनले आफ्नै मातापिता र उनीहरूका साथीले सुरु गरेको फरकखाले स्कुलमा शिक्षा लिइन् । थोरै विद्यार्थी भएको यो स्कुलमा पढाउने तरिका अलि बेग्लै भएको उनले अन्तर्वार्ताहरूमा बताएकी छन् । ‘हामीलाई अरूका अगाडि आफू कसरी प्रस्तुत हुने, धेरै मानिसका अगाडि आफ्ना कमी कमजोरी देखाउन कसरी लाज नमान्ने भन्ने कुरा सिकाइन्थ्यो,’ उनले भनेकी छन् । यस किसिमको पढाइले आफ्नो व्यक्तित्व निर्माणमा योगदान गरेको उनको भनाइ छ ।


उच्च शिक्षामा अर्थशास्त्र र गणित पढेकी राधिकाले सन् २०१२ मा बेलायती संगीतकार बेनेडिक्ट टेलरसँग विवाह गरिन् । आठ वर्षसम्म कत्थक नृत्यको प्रशिक्षण लिएकी राधिकाले एक वर्ष लन्डनमा कन्टेम्पोररी डान्सको पनि अध्ययन गरेकी छन् । ठूलो पर्दाको सफलताका साथै फरक खालका विषयवस्तुलाई दर्शकसामु ल्याउन देखाएको हिम्मतका कारण राधिकालाई कतिपयले ‘लेडी अनुराग कश्यप’ पनि भन्ने गरेका छन् । जे भए पनि परम्परागत हिरोइनको ‘ग्ल्यामरस गुडिया’ को छविलाई तोड्दै राधिका बलिउडमा चम्किइरहेकी छन् ।

–एजेन्सीहरुबाट

प्रकाशित : मंसिर ७, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?