बम काण्डले फेरिएकी अरियाना

सजना बराल

काठमाडौँ — गायिका अरियाना ग्रान्डीका लागि सन् २०१८ सर्वाधिक खराब वर्ष रहन पुग्यो ।

बिलबोर्ड अवार्डमा ‘विमेन अफ द इयर’ उपाधि ग्रहण गर्दा उनी स्वयंले यो कुरा स्विकारेकी थिइन् । म्यान्चेस्टर कन्सर्टमा आक्रमण भएपछि उनले केही समय संगीतबाट ब्रेक लिइन् । त्यसपछि उनको ब्वाइफ्रेन्ड म्याक मिलरसँगको दुईवर्षे सम्बन्ध टुट्यो । लगत्तै मिलरको निधन भयो ।


पछिल्लो समय अरियानालाई गीत चोरीका आरोप लागिरहेका छन् । यसको शृंखला प्रिन्सेस नोकियाले सुरु गरेकी थिइन् । उनले आफ्नो गीत ‘माइन...’ का शब्द र फ्लो अरियानाले ‘सेभेन रिङ्ग्स...’ मा हुबहु गाएको भन्दै सामाजिक सञ्जालमा रोइलो काढिन् । र्‍यापर सोल्जा ब्वाई र टु चेन्जले पनि गायिकाको पछिल्लो सिंगल ट्रयाक शुद्ध सिर्जना नभएको बताएका छन् । तिनले आफ्ना गीतका कतिपय शब्द अरियानाका गीतमा समेत भएको दाबी गर्दै आएका छन् ।


यी सबैका बाबजुद सन् २०१८ उनका लागि व्यावसायिक रूपमा खास रह्यो । उनले आफ्नो चौथो एल्बम ‘स्विट्नर’ बाट ‘बेस्ट पप भोकल’ विधामा यसपालिको ग्रामी अवार्ड जित्ने अनुमान गरिएको छ । ‘थ्यांक्यु, नेक्स्ट...’ जस्ता सिंगल ट्रयाकले अनलाइन संगीत बजारमा रेकर्ड तोड्दै आएका छन् । आगामी मार्चमा उनी विश्व भ्रमणमा निस्किँदै छिन् । इंग्ल्यान्डको म्यानचेस्टर सहरमा विशेष प्रस्तुति दिने तय भएको छ । यही ठाउँमा सन् २०१७ मा उनको कार्यक्रमपश्चात् बम पड्काइएको थियो जसमा २२ जनाको ज्यान जाँदा गायिका भावविह्वल बनिन् । उनलाई मानसिक अस्वस्थतासमेत भयो ।

व्यक्तिगत र व्यावसायिक जीवनका उथलपुथल र मार्मिक घटनाले अरियानालाई कमजोर भने बनाएनन् । बरु उनी सशक्त र दयालु हुँदै आएको संगीत समीक्षकहरू बताउँछन् । उनले ‘वान लभ म्यानचेस्टर कन्सर्ट’ मार्फत उठेको १ करोड ७० लाख पाउन्ड पीडित र तिनका परिवारलाई दिएकी छन् । आफू पोस्ट–ट्रमाटिक स्ट्ेरस डिस्अर्डर (मानसिक समस्या) सँग जुधिरहेका बेलासमेत उनले पीडितको सहयोगार्थ कन्सर्ट गरिन् । फ्लोरिडा स्कुलमा भएको गोली काण्डमा बाँचेकालाई भेट्न गइन् ।


उनले अश्वेत जातिको पक्षमा आफूलाई उभ्याएकी छन् । अमेरिकामा जारी लैंगिक समानताको लडाइँमा उनी सहभागी छन् । ‘सबैजना मेरो विचारसँग सहमत छैनन् होला तर म आफ्नो गीत गाउन छोड्दिनँ,’ उनले भनेकी छन्, ‘म अरू मान्छेको मतलब गर्ने खालको मान्छे बन्न चाहन्छु । मेरो सम्पन्नता अरूको शिक्षामा खर्च गर्नेछु ।’ सांगीतिक रूपमा पनि उनी उज्यालोतर्फ मोडिएको द गार्जियल पत्रिकाले उल्लेख गरेको छ ।




‘स्विट्नर’ एल्बममा सकारात्मकताको सन्देश रहेको पत्रिकाको विश्लेषण छ । ‘थ्यांक्यु नेक्स्ट...’ मा उनले आफ्नो पूर्वप्रेमीसँगको सम्बन्धले सिकाएको पाठ अभिव्यक्त गरेकी छन् । हरेक अन्तर्वार्ता र अन्य कार्यक्रममा उनको बाल कलाकारवाला छवि उल्टिएर वयस्य बनेको देखिन थालेको छ । ‘हालसम्मको जिन्दगीको आधा भाग उनी सो–बिजनेसमै रहिन्,’ गार्जियन लेख्छ, ‘पछिल्ला १८ महिनामा उनको सार्वजनिक छवि फेरिएको छ ।’


उनी सन् २०१४ देखि मिडियामा छाउन थालेकी थिइन् । त्यो बेला उनीबारे गसिप सुरु हुन थालेको थियो । यिनले निकलोडियन टेलिभिजनमा कार्यक्रम गर्दा आफूलाई स्क्रिनमा राम्री देखाउन अनेक हत्कन्डा अपनाउँछिन् भन्ने हल्ला चलेको थियो । उनी गायनमा आएपछि उनको भोकल रेन्जलाई मराय क्यारीसँग दाँजियो । ‘ठूलो स्वर भएकी सानी केटी’ भन्दै उनलाई जिस्काउने गरियो । सन् २०१५ मा उनले ‘म अमेरिकी र अमेरिकालाई घृणा गर्छु’ भनेको भिडियो लिक भएपछि केहीले उनको विरोध गरे ।


पुराना दिनको कुरा गर्दा अरियाना अचेल विनम्र भएर माफी माग्ने गर्छिन् । बाल्यकालको मुख्र्याइँ भन्दै उनले आफ्नो त्यो अभिव्यक्तिलाई माफ गरिदिन आग्रह गर्दै आएकी छन् । सन् २०१७ को बम काण्डले उनी विक्षिप्त त बनिन् तर यसैले उनलाई विश्वविख्यात बनाइदियो । टेलर स्विफ्ट र डेमी लोभाटोजस्ता पप–स्टारको छायाबाट उनी अलग भइन् । घटनामा उनकी आमा दर्शकदीर्घातर्फ थिइन् । सबै भागाभाग गरिरहेका बेला आमा भने छोरी खोज्न स्टेजतर्फ लागेकी थिइन् ।


त्यो साँझ अरियानाले जे अभिव्यक्ति दिइन् त्यो ट्वीटरको इतिहासमा सबैभन्दा बढी लाइक पाएको ट्वीट थियो । उनले लेखेकी थिइन्, ‘टुटेकी छु । मेरो हृदयदेखि नै माफी माग्छु । मसँग थप शब्दै छैनन् ।’ त्यही आतंकवादी हमलाले अरियानालाई जिम्मेवार र गम्भीर बनाएको संगीत समीक्षकहरूको टिप्पणी छ । आफू लडेकै ठाउँबाट उठ्ने हिम्मत देखाउनु उनको साहस भएको तिनले बताएका छन् । ‘कुनै पनि पप–स्टारले यसअघि आतंकवादी हमलालाई आफ्नो जीवनको कोसेढुंगा बनाएका थिएनन् होला,’ न्युयोर्क टाइम्सका समीक्षक जोन परेलेस लेख्छन्, ‘बम काण्डलाई लिएर अरियानाले जस्तो प्रतिक्रिया देखाइन्, त्यसले उनलाई गम्भीर कलाकारको संज्ञा दिलायो ।’

sazna07@gmail.com

प्रकाशित : माघ ११, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

गाउँका डाक्टर्नी

‘गाउँमा सबैले दु:ख गरेर पढेकी छोरी डाक्टर भई भन्दै बधाई दिनुहुन्छ,’ इन्द्रमाया भन्छिन्, ‘गाउँ–ठाउँमै उपचारबाट वञ्चित समुदायको सेवा गर्न मन छ ।’
विमल खतिवडा

काठमाडौँ — चेपाङ समुदायमा खाद्यान्न, शिक्षा र स्वास्थ्य सुविधाको अभाव भएको बारम्बार सुनिन्छ ।

केही चेपाङ युवतीको अवस्था भने फरक छ । उनीहरु जसोतसो नर्सिङ पढ्दैछन् । कोही काम गर्दैछन्, कोही कामको खोजीमा छन् । अभावलाई जितेर सपना पूरा गरेका चेपाङ युवतीको अनुभव :

चितवन, मकवानपुर, धादिङ र गोरखाको पाखा पहरोमा चेपाङ (प्रजा) समुदायको बसोबास छ । यो समुदायको जनसंख्या ६८ हजार आसपास छ । उनीहरूको बस्ती नजिक विद्यालय छैनन् । कहीँ स्वास्थ्यचौकी छ तर उपचार गर्ने व्यक्ति भेटिँदैनन् ।

विद्यालय तहको पढाइ सक्नेलाई उच्च शिक्षा आर्जनमा आर्थिक अवस्था बाधक बन्छ । केही चेपाङ युवतीहरूको कथा भने फरक छ । उनीहरू जसोतसो स्टाफ नर्स पढ्न सफल भएका छन् । कोही पढ्दै छन् । कोही पढेर सेवा गर्न सुरु गरिसके । कोही अवसरको पर्खाइमा छन् । जागिरे भएपछि घर पुग्नेहरूलाई परिवार, आफन्त र छिमेकीले ‘डाक्टर्नी’ भएको भन्दै बधाई दिने गर्छन् ।

चितवनको इच्छाकामना गाउँपालिका १ स्थित हात्तीवाङकी शर्मिलाले ०६५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । उच्च शिक्षा अध्ययनमा भने निकै सकस झेल्नुपर्‍यो । गाउँमा रोजेको विषय पढ्ने कलेज थिएन । परिवारले सहरमा राखेर पढाउन सक्ने अवस्था थिएन । सपना नर्स बन्ने थियो । अरूकै आर्थिक सहयोगमा सीएमए पढिन् ।

सीएमए पास गरे पनि नर्स बन्ने चाहना मरिसकेको थिएन । सीटीईभीटीबाट छात्रवृत्ति कोटामा नाम निकालेर सेती महाकाली नर्सिङ कलेज महेन्द्रनगर पुगिन् । अहिले गाउँमा बसेर बिरामीको सेवा गरिरहेकी छन् । ‘गाउँमा स्टाफ नर्सको दरबन्दी छैन,’ उनी भन्छिन्, ‘सीएमएका रूपमा स्वास्थ्यचौकीमा काम गरिरहेको छु ।’ २३ वर्षीया शर्मिलाको चाहना सरकारी सेवामा नाम लिकालेर गाउँमै काम गर्ने छ ।

धादिङकी २१ वर्षीया इन्द्रमाया चेपाङ सानै छँदा बुबा रामबहादुरलाई गुमाइन् । मजदुरीका लागि कालिकोट पुगेका उनका बुबा ०५८ सालमा कोटबाडा विमानस्थलमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गयो ।

पीडादायी कथा/व्यथा भोगेकी उनलाई साँझ/बिहान छाक जुटाउने समस्या थियो । ६४ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरे पनि उच्च शिक्षा अध्ययनमा समस्या थपियो । दु:ख गरेर गाउँमै कक्षा ११ मा पढ्दै गर्दा नर्स पढ्न सीटीईभीटीमार्फत छात्रवृत्तिमा नाम निकालिन् । पढ्नका लागि विराटनगरस्थित विराट हेल्थ कलेज पुगिन् । ‘गाउँमा सबैले दु:ख गरेर पढेकी छोरी डाक्टर भई भन्दै बधाई दिनु हुन्छ,’ उनी भन्छिन्, ‘सोच गाउँ ठाउँमै उपचारबाट वञ्चित समुदायको सेवा गर्न मन छ ।’ अहिले जागिरको पर्खाइमा रहेको उनले सुनाइन् ।

उनकै साथी मीना चेपाङले पनि पढ्न निकै दु:ख गरिन् । २३ वर्षीया मीनाले गाउँकै शंखादेवी माविबाट एसएलसी पास गरिन् । छात्रवृत्तिमा नाम निकालेपछि नर्सिङ पढ्न सजिलो भएको उनले सुनाइन् । उनका दुई दाजुमध्ये जेठो दाइ कुम्लेले मजदुरी गर्न इन्द्रमायाका बुबासँगै कालिकोटमा जाँदा ज्यान गुमाए । उनका दाजु र बहिनीले पढेनन् । पढाइ पूरा गरे पनि उनी बेरोजगार छिन् ।

चितवनकै २२ वर्षीया ज्ञानु चेपाङको घर विकटमा छ । परिवारको संख्या ठूलो छ । उनलाई नर्स पढ्न खैरहनी माविका पूर्वप्रअ घनश्याम प्रधानले सहयोग गरे । उनले ज्ञानुलाई नर्स बनाउन सहयोग जुटाउँदै हिँडे । ‘घनश्याम सरले सहयोग नगर्नुभएको भए सायद आज नर्स बन्ने थिइनँ होला,’ उनी भन्छिन्, ‘उहाँकै अभिभावकत्वमा सपना पूरा गर्न सकें ।’ उनले श्री मेडिकल कलेज भरतपुरबाट नर्स पास गरिन् । अहिले श्री मेडिकलमै बीएन दोस्रो वर्षमा पढिरहेकी छन् । अध्ययन सकेपछि उनको कलेज पढाउने सोच छ ।
उनका दुई आमा हुन् । बुबा बितेको ७ वर्ष भयो । उनकी आमा जेठी हुन् । ३ दाजु र ४ दिदीबहिनी छन् । कान्छी आमाका १ छोरी र २ छोरा छन् । परिवारका सबै पढिरहेको उनले सुनाइन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ५ की २५ वर्षीया गीता चेपाङले वीरगन्जको हिमालय इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स कलेजमा नर्सिङ पढिन् । चितवन मेडिकल कलेजमा काम गर्छिन् । उनले सुरुमा शिक्षा संकायमा गाउँमा प्लस टु र मकवानपुर बहुमुखी क्याम्पसबाट ब्याचलर सकिन् । यो बेलासम्म नर्सिङ पढ्ने चाहना मरिसकेको थिएन । सीटीईभीटीमार्फत छात्रवृत्तिमा नाम निकालिन् ।

‘चाहनाअनुसारको विषय पढ्न वीरगन्ज पुगें,’ उनी भन्छिन्, ‘तीन वर्षमा पढाइ सकेर अहिले जागिर सुरु गरें ।’ अन्यत्र जस्तै उनको गाउँमा पनि स्वास्थ्य उपचारमा सास्ती खेप्नुपर्ने बाध्यता छ । जहाँ बोकाएर सुत्केरी गराउन स्वास्थ्यचौकी लग्नुपर्ने बाध्यता छ ।

धादिङ लैताककी सरिता चेपाङले ०७२ सालमा ७४ प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण गरिन् । नर्सिङ पढ्ने चाहना भए पनि पुग्ने धन थिएन । पाखोबारीको अन्नले जेनतेन ८ महिना खान पुग्छ । त्यसपछि अनिकालको सामना गर्नुको विकल्प छैन । बुबा शेरबहादुर र आमा सोमी कृषिको काम गर्छन् । ४ दिदीबहिनीमध्येकी सरिता माइली हुन् ।

उनकी दिदी भीममायाले ०६७ सालको एसएलसीमा विद्यालयमै सबैभन्दा धेरै ६४ प्रतिशत अंक ल्याइन् । परिवारले खर्च नहुँदा राम्रोसँग पढाउन सकेनन् । प्लस टु पढ्दै गर्दा बिहे गरिन् । २ बहिनी र १ भाइ गाउँमै पढ्छन् । उनले सहयोगी मार्फत सपना पूरा गर्न पाइन् । हामीले नगरे कसले गर्ने ? संस्थाले उनलाई पढाउने जिम्मा लियो । सहयोगका लागि पहल गर्‍यो । सीटीईभीटीमार्फत छात्रवृत्तिका लागि परीक्षा दिइन् ।

नाम निकालेर भरतपुर अस्पतालको नर्सिङ कलेजमा भर्ना भइन् । अहिले चितवन मेडिकल कलेजमा नर्सका रूपमा काम गर्छिन् । होस्टलदेखि पोसाकसम्मको खर्च चितवन समाज भिक्टोरियाले उपलब्ध गरायो । ‘सबैको साथ र सहयोगले सपना पूरा भएको छ,’ सरिता भन्छिन्, ‘विस्तारै गाउँमै गएर सेवा गर्ने सोच बनाएको छु ।’

यता गोरखाको सहिद लखन थापा गाउँपालिकास्थित ताकलुङकी भगवती चेपाङले हिमालय इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स कलेज वीरगन्जबाट नर्सिङको पढाइ सकिन् । अहिले आएल्ट्सको कक्षा लिइरहेकी छन् । ‘जागिरका लागि निकै प्रयास गरें, भएन,’ उनी भन्छिन्, ‘जागिर नपाएपछि भरतपुरमा बसेर आईईएलटीएसको कक्षा लिइरहेको छु ।’ उनलाई स्टाफ नर्स पास गरेपछि गाउँमा सबैले ‘डाक्टर्नी’ भन्दै बोलाउँछन् । गाउँमै आएर सेवा गर्न सुल्झाउँछन् । ‘सबैले गाउँकी चेली डाक्टर्नी भइन् भन्दै बधाई दिनुहुन्छ,’ उनी भन्छिन्, ‘यस्तो भन्दा राम्रै विषय लिएर पढेछु जस्तो लाग्छ ।’
bimalnews@gmail.com

प्रकाशित : माघ ११, २०७५ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×