सिक्स प्याक एब्स

अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ ।
हेमन्त श्रेष्ठ

काठमाडौँ — व्यायाम गर्नेहरूमाझ एउटा भनाइ छ– ‘सबैसँग ‘सिक्स प्याक एब्स’ हुन्छ । तर शरीरमा भएको बोसो भरिएर नदेखिने हुन्छ, यो देखाउन इच्छाशक्ति हुनेले शारीरिक अभ्यासका साथै व्यायाम गर्न जरुरी छ ।’

इतिहासको कालखण्डमा दुई व्यक्तिका बीचमा लडिने कुस्ती जसलाई ‘मल्ल युद्ध’ का नामले पनि चिनिन्छ । त्यसका लागि प्रतिस्पर्धीबीचमा बलिष्ठ र खाइलाग्दो शरीर बनाउने चलन रहेको पाइएको छ । समयक्रममा यो परिमार्जन हुँदै आयो । आधुनिक युगमा सुगठित शरीरका साथै पेटमा ‘सिक्स प्याक एब्स’ निकाल्न तम्सिने युवा पुस्ता प्रशस्त भेटिन थालेका छन् । हलिउड फिल्म उद्योगमा एक जमानाका चर्चित टर्मिनेटर फिल्म सिरिजका अभिनेता आर्नोल्ड स्वार्जनेगर र रेम्बो सिरिजका सिल्भेस्टर स्टालिनका फ्यानहरू तिनको जस्तो आकर्षक शरीर बनाउन लालायित हुन्थे । पछि यस्तो मोह भारतीय फिल्म उद्योग बलिउड हुँदै नेपालकै कलिउडमा समेत भित्रियो । बलिउडमा त पछिल्लो पुस्ताका अधिकांश कलाकारले सिक्स प्याक एब्सको ‘ट्रेन्ड’ नै बसाए ।


नेपालमा राणा कालको जगजगीका बेला पनि सहिद धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यक्तिगत व्यायाम प्रशिक्षक रहेको बताइन्छ । धर्मभक्तको जति पनि तस्बिरहरू
देख्ने गरेका छौं, तिनमा देखिएको उनको सुगठित शरीर यसको ऐतिहासिक प्रमाण हुन सक्छ । उनको स्मृतिमा हरेक वर्ष शारीरिक सुगठन प्रतियोगिता धर्मश्री हुने गरेको छ ।


सुगठित शरीर बनाउन लालायित हुने अहिलेका पुस्ता सम्भव भएसम्म समय व्यवस्थापन गरेर जिमखाना धाउने गर्छन् । अचेल पेचिलो सवाल उठ्ने गरेको छ– जिमखाना धाउँदैमा आफूले भनेजस्तो शरीर कहाँ बन्छ ? विगत ११ वर्षदेखि ललितपुरको ताल्छीखेलस्थित रेज फिटनेसमा व्यायाम सिकाउँदै आएका काजीमान मगरातीका अनुसार नियमित शारीरिक व्यायामसँगै खानपान र त्यसबेला अपनाइने जीवनशैलीले समेत प्रभाव पार्छ । देखासिकी भन्दा पनि नियमित रूपमा व्यायाम गरी स्वस्थ खानपानका साथै अनुशासित जीवनशैलीले शारीरिक क्षमतामा प्रभाव पार्ने उनको ठम्याइ छ ।


‘अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ । त्यसका लागि उचित खानपानसँगै नियमित कसरत जरुरी छ,’ मगरातीले भने ।

सुगठित शरीरलाई देखाउने प्रतिस्र्धाका रूपमा बडीबिल्डिङ च्याम्पियनसिप नियमित भइरहेका छन् । राष्ट्रिय नाचघरमा दुईदिने तेस्रो मिस्टर काठमान्डु बडीबिल्डिङ तथा लेडिज फिटनेस च्याम्पियनसिप शनिबार सम्पन्न भयो । यसमा २१ वर्षसम्मकाले जुनियरको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यस्ता प्रतियोगिताले युवा पुस्ताको ध्यान आकृष्ट पार्ने गरेको छ । यसपालि मिस्टर काठमाडौंमा विसन गुरुङ र लेडिज फिटनेसमा शोभा मानन्धरले बाजी मारे । जुनियरमा किशोर कार्कीले सफलता हात पारे । मिस्टर काठमाडौंमा ७४, लेडिज फिटनेसमा ५ र जुनियरमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगिता तयारीका लागि मिहिनेत त छँदै छ, त्यसका लागि समेत धेरै रकम खर्च हुने गरेको प्रतियोगितामा सहभागीहरूले बताए । बडीबिल्डिङ खेलकुदमा पनि खासै प्राथमिकतामा पर्दैन । त्यसैले बडीबिल्डिङलाई राज्यले पनि उपेक्षा गरेको बताइन्छ । यसमा लगानी गर्न सके युवा पुस्ता स्वस्थ हुनेसँगै उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता पनि दिलाउन सक्छन् ।

twitter : @sthemanta

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

कम्ब्याट त्यागेर फिल्म

बेलायती सेनामा ‘बेस्ट सोल्जर’ अवार्ड जितेकै वर्ष जागिर छाडेर स्वदेश फर्किएका मिलन चाम्स यतिबेला नेपाली फिल्म निर्देशनमा व्यस्त छन् ।
सुशील पौडेल

काठमाडौँ — मिलन चाम्लिङ उर्फ चाम्सले १२–१३ वर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए । उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी (बेलायती सेना) बन्न पुगेका थिए । ‘मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे । मलाई त्यता रुचि नै थिएन ।

बच्चैदेखि भाग्दै, लुक्दै नेपाली, हिन्दी फिल्म यति धेरै हेरें कि मलाई पनि फिल्म निर्माण गर्ने रहर भयो,’ उनले भने ।


फेब्रुअरी १९९८ मा लन्डनबाट चाम्सको फौजी जीवन सुरु भयो । धन्न, आर्मीतर्फ पनि प्रशासनिक विभागमा भएकाले मिलनलाई कम्ब्याटमा बन्दुक भिरेर भने हिँड्नुपरेन । तैपनि घर र फिल्मको यादले खुब सताउँथ्यो । ‘साथीहरू मलाई ५ प्रतिशत मात्रै आर्मी र बाँकी सबै मनोरञ्जनले भरिएको छ भनेर जिस्काउँथे,’ त्यस बेला भर्खर १७ वर्ष पार गरेका मिलनले रोएरै पश्चाताप गर्नुमा भन्दा आर्मी जीवनलाई अवसरमा बदल्ने सोचेको बताए, ‘त्यसपछि फिल्म इडिटिङदेखि मेकिङसम्म पढ्न थालें ।’


उनले आफ्नै बलबुताले फाटफुट म्युजिक भिडियो निर्देशन पनि गर्न थाले । भिडियोमा राम्रै जमिरहेका बेला सन् २००५ मा उनले पहिलोपटक सर्ट फिल्म ‘पश्चाताप’ बनाए । यसबाट उनले पश्चाताप गर्नुपरेन । बरु १५ वर्षपछि आर्मी छोडेर पूर्णकालीन फिल्म निर्देशक बन्न त्यसले भर्‍याङको काम गर्‍यो । उनले बेस्ट सोल्जरको मेडल जितेकै वर्ष मन चंगा पारेर ब्रिटिस आर्मी छोडेका थिए ।


सन् २०१२ मा नेपाल फर्केर मिलनले पहिलो फिल्म बनाए, ‘हँसिया’ । आफू मात्रै नयाँ थिएनन्, छायांकार, सम्पादक, द्वन्द्व निर्देशकदेखि अधिकांश नयाँ लिएर एक्सन फिल्म बनाए । फिल्म खासै चलेन तर त्यसपछि मिलन भने खुबै चले । कारण, पहिलो फिल्ममै उनले आफूमा प्रचुर सम्भावना रहेको देखाइदिए ।


‘तर त्यो बेला ममा भयंकर घमण्ड थियो । म जत्तिको जान्ने कोही पनि छैनझैं गर्थें । द्वन्द्व निर्देशकलाई पनि सिकाइदिन्थें । अहिले सम्झिँदा लाज लाग्छ,’ मार्शल आर्ट्स पनि खेलेका मिलनले आफू घमण्डी भएर नै त्यो फिल्म कमजोर बनेको निष्कर्ष निकाल्दै भने, ‘मैले एक्सनका नाममा इमोसनलाई छोडेको रहेछु ।’


त्यसपछि आफ्नो सहज र रुचिको जानरा एक्सनबाट हटेर बनाएको लभस्टोरी फिल्म ‘वीरविक्रम’ हिट भएपछि भने मिलनको फिल्मप्रतिको बुझाइ फेरियो । भन्छन्, ‘आम मानिसको जीवनको भोगाइभित्र छिर्न सक्नुपर्ने रहेछ । जब दर्शकले फिल्मलाई आफूसँग रिलेट गर्छ तब मन पराइने रहेछ ।’ त्यसपछि ‘लिलिबिली’ हुँदै पछिल्लो फिल्म ‘बोबी’ बाट मिलनले सफलता हात पारे । त्यसो त बीचका उनका दुई फिल्म ‘ब्लाइन्ड रक्स’ र ‘ह्याप्पी डेज’ आशातीत सफल भएनन् । तैपनि मिलनको निर्देशकीय क्रेज घटेन । यतिबेला उनले अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ र त्यस लगत्तै ‘वीरविक्रम २’ बनाउँदै छन् ।


पाँच वर्षभित्र ६ फिल्म रिलिज गरिसकेका मिलन यतिबेला छिटो फिल्म तयार पार्नेमा दरिएका छन् । उनी यसो हुनुमा आफूमा भएको सम्पादन र छायांकनको ज्ञान रहेको टिप्पणी गर्छन् । ‘म सम्पादकको दृष्टिकोणले फिल्म खिच्ने भएकाले अनावश्यक सट हुँदैनन् । जसले गर्दा सुटिङ पनि छिटो सकिन्छ,’ मिलन यतिबेला दुई नेपाली प्रोजेक्टसँगै एक विदेशी प्रोजेक्टको तयारीमा पनि छन् । उनी झन्डै पाँच वर्षदेखि नै गृहकार्य भइरहेको फिल्म ‘गोर्खा प्रोटेक्टर’ लाई सन् २०२० को अन्त्यसम्म रिलिज गर्ने गरी फ्लोरमा जाने तयारी कस्दैछन् ।
एकाध नेपाली कलाकारबाहेक सबै विदेशी कलाकार रहने गोर्खा प्रोटेक्टरमा गोर्खाली, गौतम बुद्ध र सगरमाथालाई समावेश गरिने उनले बताए । ‘यो फिल्म रिलिजपछि नेपालमा पर्यटक बढ्नेछन् । गोर्खालीको इमानदारिता र बहादुरितालाई मुख्य गरी जोडिन्छ । क्वीन एलिजावेथदेखि सगरमाथा शिखरसम्म यसको कथा जोडिएको छ,’ विदेशी लेखकसँग मिलेर स्क्रिप्ट तयारी गरिरहेका मिलनले झन्डै २२ करोड रुपैयाँको बजेटमा फिल्म तयार पारिने जनाए ।


मिलन त्यस्तो उत्कृष्ट फिल्म बनाउँदैनन् तर भाग्यमानी छन् । उनका फिल्म चल्छन् पनि । प्राय: टिममा नयाँ व्यक्ति लिएर काम गर्न रुचाउने मिलनलाई अचेल स्टारको आडमा चलेको आरोप पनि लाग्छ । ‘हँसिया’ मा उनले राजेश हमालको कपाल कटाएको विषयलाई क्यास गराएका थिए भने ‘लिलिबिली’ सम्म आइपुग्दा उनको फिल्म चलाउने हतियार प्रदीप खड्का बनेका थिए । तर उनी यसमा सहमत छैनन् ।


‘कलाकारकै कारणले मात्रै फिल्म हिट हुँदैन । हो, स्टारडमका हिसाबले सुरुआती व्यापार गर्छ तर त्यसपछि चल्न फिल्म नै राम्रो हुनुपर्छ,’ उनले पनि आफ्नाबारे हुने गरेका टीकाटिप्पणी सुन्ने गरेका छन् । थप्छन्, ‘मेरोबारेमा त्यति राम्रो प्रतिक्रिया पाइँदैन । ‘बोबी’ कै विषयमा पनि मैले ३० लाख रुपैयाँको टिकट काटेको भन्ने हल्ला रहेछ । त्यसो भए के त्यो आँसु पनि मैले नै किनेको रहेछु ?’


मिलनलाई राम्रोसँग थाहा छ, फिल्मले व्यापार गर्नुपर्छ । निर्माताको लगानी सुरक्षित भएमात्र उद्योगका अरू पनि सुरक्षित हुन्छन् भन्ने उनको मान्यता छ । फेरि बच्चैदेखि फिल्मको व्यापार थालेका उनले त्यसलाई लन्डनमा रहँदा पनि निरन्तरता दिए । ‘सम्भवत: बेलायतमा नेपाली फिल्म चलाउने म नै पहिलो होला,’ मिलनले ठोकुवा नै गर्न नसके पनि नेपाली फिल्म चलाउन घरघरमा पुगेर टिकट बेचेको संघर्ष ताजै छ । उनै मिलन अचेल आफ्ना फिल्मको विदेशमा रेड कार्पेट प्रिमियरमा कुदिरहेका हुन्छन् । सिंगापुर, लन्डन वा नर्वेमा त्यसको सुरुवात पनि गरिसके ।


केही न केही नयाँ गर्न रुचाउने स्वभावका मिलन ‘ब्याचलर बन्टी’ लाई चार देशमा छायांकन गर्ने सुरसारमा छन् भने ‘वीरविक्रम २’ मा भारतकै कोरियोग्राफर, टेक्निसियन राखेर २०० क्राउडमा भारतमै गीत खिच्दैछन् । ‘बलिउडले काम कसरी गर्दोरहेछ भनेर मलाई सिक्नु छ । आखिर टेक्नोलोजीमा त लगभग सबै बराबरी नै भइसक्यो । हाम्रो कमजोरी कहाँ छ भन्ने फरक हेर्न पनि यो प्रयोग गर्न लागेको हुँ,’ उनले भने ।


बेनिशा हमाल नायिका


उहाँ (मिलन चाम्लिङ) एकदमै मिहिनेती र वचनको पक्का गर्ने स्वभावको मान्छे हुनुहुन्छ । उहाँसँग मेसिन जसरी काम गर्न सक्ने खुबी छ । एकै वर्ष ३–४ वटा फिल्म गरिदिनु हुन्छ जुन कुरा हामीले सोच्न पनि सक्दैनौं । त्यति धेरै जाँगर कहाँबाट आउँछ होला ?


उहाँले काम गरेको देख्दा हामीलाई नै जाँगर चल्छ । फेरि कहिल्यै कामको दबाब महसुस गर्नुहुन्न । अरू त अरू बेला, बिरामी हुँदासमेत जोस घटेको देखिन्न । निर्देशकका रूपमा उहाँ कलाकारलाई स्वतन्त्रता दिने भएकाले इनपुट दिन पाइन्छ । कलाकारका कुरा सुन्ने र एकदमै आदर गर्ने स्वभावको डाउन टु अर्थ लाग्छ । यति हुँदाहुँदै पनि उहाँले ३–४ फिल्मको सट्टा एउटै फिल्मलाई समय दिएर बनाएमा एउटै चीज झनै राम्रो बनाउन सक्नुहुन्थ्यो होला भन्ने सुझाव दिन चाहन्छु ।

मिलनका निर्देशन
फिल्म : हँसिया
सन् २०१४
व्यापार : सफल

फिल्म : वीरविक्रम
सन् २०१६
व्यापार : ब्लकबस्टर्स हिट

फिल्म : ब्लाइन्ड रक्स
सन् २०१८
व्यापार : असफल

फिल्म : ह्याप्पी डेज
सन् २०१८
व्यापार : असफल

फिल्म : लिलिबिली
सन् २०१८
व्यापार : सफल

फिल्म : बोबी
सन् २०१८
व्यापार : सफल

sushilpaudel2@gmail.com

प्रकाशित : भाद्र २२, २०७५ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×