कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कार्यस्थलमै वार्षिक ३५ लाखलाई आँखासम्बन्धी चोट

कान्तिपुर संवाददाता

काठमाडौँ — शरीरको संवेदनशील अ‌ग हाे, आँखा । यसको समस्यासँगै जीवनयापन गर्नेको संख्या संसारमा धेरै छ । वार्षिकरूपमा अनुमानित ३५ लाख जनालाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखासम्बन्धी चोट लाग्ने गरेको विभिन्न अध्ययनले देखाएकाे छ ।

कार्यस्थलमै वार्षिक ३५ लाखलाई आँखासम्बन्धी चोट

विश्व स्वास्थ्य संगठन, आईएपीबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख मानिसहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेको अध्ययनले देखाउँछ ।

विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा अस्पतालले मंगलबार आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा चिकित्सकहरुले आँखाको सुरक्षाका विषयमा जीवन शैलीमा सुधारसँगै सतर्कताको सुझाव दिएका छन् । बाल आँखारोग विशेषज्ञ डा सिर्जना अधिकारीले नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको बताइन् । उनका अनुसार कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृतिअनुसार जोखिम मूल्यांकन समय-समयमा गर्ने हो भने यसबाट हुने असरलाई न्युनीकरण गर्न सकिन्छ ।

त्यस्तै, समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशतभन्दा कम रहेको उनले बताइन् ।रोजगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न, उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टिसम्बन्धी समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक रहेको उनले औंल्याइन् ।

र्‍यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (र्‍याब सर्भे २०२०) को पछिल्लो अनुसन्धानका अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्यामा २० प्रतिशतको दृष्टि कमजोर छ ।

दृष्टिविहीन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानीमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पुरुषको तुलनामा महिलाहरुमा दृष्टिविहीनता बढी छ । नेपालमा अपांगता भएकाहरुमा दृष्टिगत अपांगता एक मुख्य समस्या छ ।

दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमी हुने सम्भावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ ।डा अधिकारी भन्छिन्, ‘५जना अन्धोपना भएका बालबालिकाहरुमध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । बच्चाहरुमा स्क्रिन टाइम घटाउन आवश्यक छ।’

आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउने र आँखा धेरै नै सुक्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्न चिकित्सकहरुको सल्लाह छ । त्यसैगरी आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्ने, आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुनपर्ने डा अधिकारीको भनाइ छ ।

आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्ने, सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडि मर्मतस्थल, मोटरसाइकल / गाडी चलाउँदा, ट्राफिक प्रहरीहरु ड्युटीमा रहँदा, आदि) मा काम गर्नेले सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्ने, आँखा स्वास्थ्यको जाँच गर्न र दृष्टिसम्बन्धी कुनै पनि समस्या लागेमा नजिकैको अस्पतालमा जाने चिकित्कसहरुको सल्लाह छ ।

तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले दृष्टि दिवसको अवसरमा अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गर्ने जनाइन् । उनले भनिन् ‘दृष्टिको समस्या न्युनीकरण गर्न गाउँ गाउँमा शिक्षकहरुलाई तालिम दिएर आँखा स्वास्थ्य सम्बन्धी सचेतना जगाउनुपर्छ ।’

प्रत्येक वर्ष अक्टोबर १२ का दिन मनाइने विश्व दृष्टि दिवसको यस वर्षको नारा 'कार्यस्थलमा आँखालाई माया गरौँ' भन्ने रहेको छ ।

प्रकाशित : आश्विन २३, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?