कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्टिबायोटिक र कडा औषधिको जोखिम

‘सामान्य खालको औषधि प्रयोग गरेर निको हुने संक्रमणका लागि कडा खालका एन्टिमाइक्रोबियल्स प्रयोग गर्ने क्रम बढेको छ, जुन निकै जोखिमपूर्ण हो’
स्वरुप आचार्य

काठमाडौँ — स्वास्थ्य चिकित्सा क्षेत्रमा प्रतिष्ठित ‘द लानसेट’ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार औषधि प्रतिरोधी संक्रमणका कारण हरेक वर्ष विश्वभर करिब ५० लाख मानिसको ज्यान जाने गरेको छ ।

एन्टिबायोटिक र कडा औषधिको जोखिम

यो प्रतिवेदनलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत आत्मसात् गर्दै यसविरुद्ध अहिले नै उचित कदम नचाले भयावह रूप लिने ठहर गरेको छ ।

‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ (एएमआर) विश्वमा अर्को ठूलो महामारी बन्ने विषयलाई कसैले पनि नकार्न सक्दैन । यो स्वास्थ्य क्षेत्रमा काम गरिरहेका सबै निकाय र व्यक्तिले मानेको तथ्य हो । एन्टिमाइक्रोबियल रेसिस्टेन्स भन्नाले कुनै पनि प्रकारको एन्टिबायोटिक्स, एन्टिभाइरस, एन्टिफंगल तथा एन्टिप्यारासाइटिक औषधिले समयको विकाससँगै जीवाणुहरूले त्यसविरुद्ध प्रतिरोधी क्षमता बनाउनु हो । जसले गर्दा जीवाणुका कारण हुने संक्रमणलाई नियन्त्रण गर्न कठिन हुन्छ, बिरामीको ज्यानै जाने खतरा रहन्छ ।

डब्लूएचओले नै आधुनिक युगमा स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा एएमआर देखापर्ने बताइरहँदा नेपाल पनि त्यसबाट अछुतो छैन । नेपालजस्तो विश्वका धेरै अल्पविकसित देशलाई एएमआर आगामी दिनमा ठूलो चुनौती हुने देखेरै यसको रोकथाम र नियन्त्रणका लागि डब्लूएचओलगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न प्रयत्न गरिरहेका छन् ।

एएमआर प्राकृतिक विकासको एक अभिन्न अंग भए पनि यसलाई बृहत् बनाउन मानवकै देन छ । डब्लूएचओका अनुसार यसले भयावह रूप लिनुको सबैभन्दा ठूलो कारक मानव, पशु र बोटबिरुवामा अनियन्त्रित रूपमा अत्यधिक एन्टिमाइक्रोबियल (कीटनाशक) को प्रयोग, विभिन्न खोपको अपर्याप्तता, सफा पानीको अभाव, व्यक्तिगत तथा सामुदायिक सरसफाइको कमी, संक्रमण नियन्त्रण गर्ने कमजोर प्रणाली तथा फोहोर व्यवस्थापनको अभाव हो ।

एएमआरसँग सम्बन्धित समस्या सम्बोधन गर्न एक पक्षको मात्रै नभएर बहुपक्षको समन्वय आवश्यक पर्छ । डब्लूएचओले पनि यसका लागि खाद्य एवं कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठनलगायत विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरेर कार्यक्रमहरू तय गरेको छ । लानसेटमा २०१९ मा प्रकाशित प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रमा प्रतिएक लाख औसतमा ७७ जनाको एएमआरसँग सम्बन्धित कारण र करिब २२ जनाको एन्टिमाक्रोबियल रेसिस्टेन्सकै कारण ज्यान जाने गरेको छ ।

काठमाडौंको बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत सघन उपचार विशेषज्ञ डा. प्रदिप तिवारीका अनुसार नेपालमा पनि पछिल्लो समय एएमआरका कारण गम्भीर भएर अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या बढिरहेको छ । नेपालमा एएमआरकै कारण के कति बिरामी जटिल अवस्थामा पुग्छन् वा मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक नभए पनि यथोचित अध्ययन गरिएको खण्डमा त्यो उल्लेख्य हुने उनको तर्क छ । ‘नेपालमा एएमआरका कारण वार्षिक कति पीडित हुन्छन् वा मृत्यु नै हुन्छ भन्ने औपचारिक तथ्यांक मैले कतै भेटेको छैन,’ उनले भने, ‘यदि त्यस्तो अध्ययन गर्ने हो भने सो संख्या उल्लेख्य हुन्छ भन्नेमा म विश्वस्त छु ।’

उनको अनुभवमा नेपालमा इकोलाई, क्लेबसेला, एसिनिटोब्याक्टर, स्युडोमोनस जस्ता ब्याक्टेरिया तथा केही फंगसमा एएमआर देखिएको छ । जसका कारण ती जीवाणुबाट संक्रमित हुँदा उपचारमा जटिलता सिर्जना भएको छ । ‘विशेष गरेर एएमआर संक्रमण देखिएका व्यक्तिको उपचार जटिल हुन्छ । उनीहरूलाई सामान्य औषधिले काम गर्दैन र कडा प्रकारका औषधि चलाउनुपर्दा अन्य समस्या पनि देखिन्छन्,’ उनले भने ।

उनका अनुसार नेपालमा गरिएका विभिन्न अध्ययनले धेरै मानिसले एन्टिमाइक्रोबियल्स औषधि सजिलै फार्मेसीबाट किनेर खाने गरेका छन् । त्यसरी आवश्यकता नै नभएको औषधि प्रयोग गर्दा सूक्ष्म जीवाणुहरूलाई प्रतिरोधी क्षमता विकास गर्न मद्दत पुग्ने गर्छ । ‘धेरै प्रयोग गरे उक्त औषधिले काम गर्दैन भन्ने सर्वसाधारणमा भ्रम छ । त्यस्तो होइन । प्रतिरोधक क्षमता भएको जीवाणु विभिन्न वातावरणबाट मानिसमा प्रवेश गर्ने हो र त्यस्तो जीवाणुविरुद्ध औषधि प्रभावकारी नहुने हो,’ उनले भने, ‘अहिले केही त्यस्ता जीवाणु पनि फेला परेका छन्, जसलाई हालसम्म पत्ता लागेका कुनै पनि औषधिले कामै गर्दैन, त्यसलाई प्यान ड्रग रेसिस्टेन्ट माइक्रोबियल्स भनिन्छ ।’

डा. तिवारीका अनुसार हाल सामान्य वातावरणभन्दा अस्पताल बसाइका क्रममा हुने संक्रमणको उपचार जटिल हुँदै गएको देखिन्छ । ‘लामो समय अस्पताल बस्दा संक्रमणमा एएमआर बढी देखिने गरेको छ,’ उनले भने, ‘त्यसो भन्दैमा बाहिरी वातावरणमा संक्रमण नै हुँदैन भन्ने होइन ।’ अस्पतालमा संक्रमण नियन्त्रणका उपाय प्रभावकारी रूपमा पालना नगर्दा संक्रामक जीवाणुले प्रतिरोधी क्षमता विकास गर्दै वृद्धि हुने राम्रो वातावरण प्राप्त गर्छन् । जसका कारण बाहिरी वातावरणभन्दा अस्पतालजन्य संक्रमण झन् जटिल हुन सक्छन् ।

नेपाल मेडिसिटी अस्पतालका सघन उपचार विशेषज्ञ डा. किशोर खनालका अनुसार नेपाल दक्षिण एसियामा सम्भवतः भारत र बंगलादेशपछि एएमआरको समस्या धेरै देखिएको देशमध्येमा पर्छ । ‘एन्टिमाइक्रोबियल्सको जथाभावी प्रयोगले यो समस्या बढेको हो । सामान्य खालको औषधि प्रयोग गरेर निको हुने संक्रमणका लागि कडा खालका एन्टिमाइक्रोबियल्स प्रयोग गर्ने क्रम बढेको देखिन्छ,’ उनले भने, ‘अहिले हामीसँग जति एन्टिमाक्रोबियल्सको विकल्प छ त्यो नै कम जस्तो देखिन थालेको छ । यो निकै गम्भीर समस्या हो ।’

मान्छेमा मात्रै नभएर पशुपक्षीमा पनि जथाभावी एन्टिमाइक्रोबियल्स छिरिसकेको छ । ‘खास गरेर कुखुरामा निकै कडा खालका एन्टिमाइक्रोबियल्स प्रयोग हुने गरेको देखिन्छ । जुन हामी आईसीयूमा भर्ना भएका बिरामीको उपचारका लागि प्रयोग गर्छौं । त्यसको प्रभाव कालान्तरमा मानिसमा नै पर्ने हो,’ उनले भने, ‘एएमआर जीवाणुको संक्रमण भएर आईसीयू आइपुग्ने बिरामीको उपचार लामो र जटिल हुने गरेको छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको अनुभवमा पनि नेपालमा धेरै मानिसको मृत्यु एएमआरका कारण हुने गरेको छ । यद्यपि त्यसको यकिन तथ्यांक भने उपलब्ध छैन । ‘अरू क्षेत्र छाडेर अस्पतालकै कुरा गर्ने हो भने संक्रमण रोकथामको उचित उपाय अवलम्बन भएको पाइँदैन,’ उनी भन्छन्, ‘मतलब कस्तो अवस्थामा केका आधारमा एन्टिमाइक्रोबियल्स प्रयोग गर्ने भन्ने धेरैलाई थाहा छैन, थाहा हुनेले पनि खासै वास्ता गरेको देखिँदैन ।’ एएमआर नियन्त्रण गर्न यसमा सरोकार रहेका सबै पक्षको समन्वयमा बृहत् काम गर्ने बेला भइसकेको उनको भनाइ छ ।

‘चिकित्सक वा अस्पताललाई मात्रै दोष दिएर पन्छिने अवस्था छैन । भेटेरिनरीतर्फ पनि एन्टिमाइक्रोबियल्सको जथाभावी प्रयोग छ,’ उनले भने, ‘त्यो पनि एउटा प्रमुख कारक हो, जसलाई सम्बोधन गर्नैपर्छ ।’ कोभिड–१९ महामारीका बेला नेपालमा एन्टिमाइक्रोबियल्सको जथाभावी प्रयोग गरिएका थुप्रै उदाहरण देखिएको डा. सुवेदी बताउँछन् । ‘कोभिडका बिरामीले त्यतिबेला जथाभावी एन्टिबायोटिक्स खाए । जुन अधिकांश अवस्थामा आवश्यक नै थिएन । त्यसले गर्दा धेरैलाई पछि अप्ठेरो पनि पर्‍यो,’ उनले भने, ‘हामीकहाँ एएमआर देखिएका जीवाणुविरुद्ध प्रयोग गर्न औषधिकै पनि अभाव छ । विदेशमा ती औषधि उपलब्ध भए पनि यहाँ पुरानै औषधिको भर गरेर उपचार गर्नुपर्ने बाध्यता छ ।’

केही समय अगाडि नेपालमा समेत गरिएको एक अध्ययनमा यहाँ एन्टिबायोटिक प्रतिरोधी टाइफाइड गराउने ब्याक्टेरिया भेटिएको थियो । द लानसेट माइक्रोबमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार टाइफाइड संक्रमणको कारक मानिएको सालमोनेला इन्ट्रिका सेरोभार टाइफिमुरियम (एस टाइफी) मा औषधि प्रतिरोधात्मक स्ट्रेन देखापरेको र त्यो दक्षिण एसियाका देशबाट अन्य देशमा पनि विस्तार भएको छ ।

अनुसन्धानकर्ताले नेपाल, बंगलादेश, पाकिस्तान र घानाबाट २०१६ देखि २०२१ सम्म तथ्यांक संकलन गरी अध्ययन गरेका थिए । नेपालमा उनीहरूले काठमाडौं मेडिकल कलेज तथा धुलिखेल अस्पतालसँगको सहकार्यमा अध्ययन गरेका थिए । एस टाइफीले गरेको संक्रमणलाई नियन्त्रण गर्न एन्टिभाइरल औषधि उपलब्ध भए पनि ब्याक्टेरियामा प्रतिरोधी क्षमता विकास भएका कारण त्यस्ता औषधिको प्रभाव तुलनात्मक रूपले कम हुँदै जाने डर हुन्छ । हाल प्रतिरोधी एस टाइफीको विस्तार धेरै ठूलो नदेखिए पनि अध्ययनको दायरा फराकिलो हुँदै जाँदा यसको दरमा पनि वृद्धि हुने देखिन्छ ।

प्रकाशित : पुस २७, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?