कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेवरेटविरुद्ध अन्डरडग

राजु घिसिङ

मस्को — विश्वकप फुटबलको नतिजा केलाउने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिम हो । उसले आइतबार तेस्रोपल्ट विश्वकप फाइनल खेल्दै छ, जुन दुई दशकयता ब्राजिल र जर्मनीको भन्दा पनि राम्रो तथ्यांक हो ।

फेवरेटविरुद्ध अन्डरडग

क्रोएसियाविरुद्ध लुजनिकी रंगशालामा हुने यसपालिको फाइनलमा फ्रान्स उपाधिका लागि ‘फेवरेट’ टिम पनि हो ।

समूह चरणको अन्तिम खेलमा डेनमार्कविरुद्ध गोलरहित बराबरीमा टुंगिएको प्रदर्शनलाई हेर्ने हो भने फ्रान्सका लागि फाइनल पुग्नु पनि ठूलै उपलब्धि हो । तर, चुनौती बेहोर्न नचाहेको त्यस खेलपछि फ्रान्सले गति लियो । उसले अन्तिम १६ मा यो विश्वकपको रोमाञ्चक खेल बनेको लियोनल मेसीको टिम अर्जेन्टिनाविरुद्ध ४–३ को जित निकाल्यो । त्यसपछि उरुग्वे र सेमिफाइनलमा बेल्जियमलाई हराएर फ्रान्स दोस्रोपल्ट विश्वविजेता बन्ने होडमा उभिएको हो ।

फ्रान्सेली टिम एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, एनगोलो कान्टे, पाउल पोग्बा, राफेल भारानलगायत स्टार खेलाडीले भरिएको छ । उनीहरूले उपाधि होडमा अघि बढ्दै जाँदा लय समातेका छन् । त्यसैले डिडियर डेसच्याम्प खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्ने संघारमा छन् । उनी ब्राजिललाई हराएर घरेलु मैदानमा फ्रान्स (१९९८) मा च्याम्पियन हुँदा कप्तान थिए ।

‘राम्रो महसुस गरिरहेको छु । हामी ढुक्क छौं । हामी आफैंलाई चर्को दबाबमा राख्न चाहँदैनौं,’ फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले भने, ‘एउटा सामान्य खेलका रूपमा लिने सोच बनाएका छौं । मैदानमा सबै अस्त्र प्रयोग गर्न चाहन्छौं । हामीलाई धेरै अवसर हुनेछैन । त्यसैले जब मौका पाउँछ तब उपयोग गर्नैपर्ने हुन्छ ।’

यिनै ग्रिजमन र अर्जेन्टिनाविरुद्ध दुई गोल गरेपछि नयाँ पेलेका रूपमा लिइएका १९ वर्षीय एमवाप्पे अग्रपंक्तिमा फ्रान्सको हतियार हुन् । उनीहरूसगै ओलिभिएर जिरुड पनि खेलिरहेका छन् । ग्रिजमन र एमबाप्पेले ३–३ गोल गर्दासम्म जिरुडले गोलको खाता खोल्न सकेका छैनन् । तर, ग्रिजमन र एमबाप्पेको गति नै अर्जेन्टिना, उरुग्वे र बेल्जियमका डिफेन्सलाई छिचोल्न पर्याप्त रहेको थियो । त्यसैले फ्रान्सको आक्रमण रोक्न डेजान लोभरेन र डोमागोज भिदालाई गाह्रो पर्नसक्छ ।

विश्वकपको २१ औं संस्करणको उपाधि होडको प्रतिस्पर्धामा मिडफिल्डको प्रदर्शन निर्णायक बन्ने देखिएको छ । फ्रान्सेली टिममा एनगोलो कान्टे र पाउल पोग्बा छाइरहेका छन् भने पहिलोपल्ट फाइनल पुगेको क्रोएसियाली टिम लुका मोड्रिच र इभान राकिटिचको पासमा अघि बढिरहेको छ । कप्तान मोड्रिच गोल्डेन बलका मुख्य दाबेदार हुन् । कान्टे फ्रान्सेली टिमका मुख्य खेलाडी । मोड्रिचले फाइनलमा फरवार्डका लागि अवसर सिर्जना गर्न पहिला कान्टेको चुनौती पार गर्नुपर्ने हुन्छ ।

‘हामीलाई फाइनल पुग्छ भनेर कसैले पनि अपेक्षा गरेका थिएनन् तर हामी रोकिन चाहँदैनौं,’ क्रोएसियाली कप्तान मोड्रिचले भने, ‘ट्रफी हात पार्न हामी उत्कृष्ट खेल पस्कनेछौं । यो फरक खालको अवसर हो । यो विश्वकपको उपाधिका लागि म मेरो करिअरमा जितेका सबै ट्रफी साट्न चाहन्छु । हामी फ्रान्सविरुद्ध भिड्न
तयार छौं ।’

‘फ्रान्सले १९९८ मा उपाधि जित्यो, हामीले बधाई दियौं । यसपालि हामी त्यस्तै गर्न चाहन्छौं,’ फाइनलअघि मोड्रिचले भने, ‘फ्रान्सेली टिमलाई सम्मान गर्छौं तर यो नयाँ खेल हो । हामी उपाधि जित्न चाहन्छौं, विश्वकप ट्रफीलाई क्रोएसिया पुर्‍याउन चाहन्छौं ।’ विपक्षी टिमबारे उनले भने, ‘फ्रान्स गहन टिम हो । यो टिममा हरेक पोजिसनमा उत्कृष्ट खेलाडीहरू छन् । त्यसैले गाह्रो हुने हामीलई राम्रोसँग जानकारी छ । क्षमताले भ्याएसम्म उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं । सपना पूरा गर्नका लागि संघर्ष गर्नेछौं ।’

स्पेनी महारथी रियल म्याड्रिडमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका मोड्रिचले क्लबका आफ्नै सहकर्मी राफेल भारानलाई फ्रान्सेली जर्सीमा सामना गर्दै छन् । क्रोएसियाली मिडफिल्डर माटेयो कोभासिच पनि रियलकै खेलाडी हुन् । यी तीनै खेलाडीले च्याम्पियन्स लिगको उपाधि यात्रामा उत्कृष्ट प्रदर्शन गरेका थिए । एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमन (फ्रान्स) र डिफेन्डर सिमे भारसाल्को (क्रोएसिया) पनि फाइनलमा आमनेसामने हँुदै छन् । फ्रान्सेली डिफेन्डर सामुइल उम्टिटी र क्रोएसियाका मिडफिल्डर इभान राकिटिच पनि लुजनिकीमा भिड्दै छन् । युभेन्ट्सका मिडफिल्डर ब्लेस मतैइडी ( फ्रान्स) र फरवार्ड मारियो मान्जुकिच (क्रोएसिया) पनि प्रतिस्पर्धीको रूपमा मैदानमा ओर्लिदैछन् ।

क्रोएसियाली टिममा अनुभवी खेलाडीको योजना छ । र, उनीहरूले एक टिमको रूपमा उत्कृष्ट खेल पस्किरहेको छ । त्यसैले सन् १९५८ यता हरेक २० वर्षमा नयाँ च्याम्पियन निस्कनेक्रमलाई क्रोएसियाले निरन्तरता पनि दिनसक्छ ।पेनाल्टीमा चार प्रहार रोकेका क्रोएसियाका डानियल सुबासिच र फ्रान्सका कप्तान ह्युगो लोरिसबीच गोलपोस्ट जोगाउने आफ्नै प्रतिस्पर्धा हुँदै छ । यी दुई यो विश्वकपकै उत्कृष्ट गोलकिपरका रूपमा देखिएका छन् ।

दुवैको सफलता ७१.७ प्रतिशत रहेको छ । समग्र टिमका रूपमा हेर्ने हो भने फ्रान्स बलियो छ तर बलियो टिम सधैं च्याम्पियन भएको इतिहास छैन । र, अनुभवी, प्रतिभावान खेलाडीको संयोजन रहेको ज्वाट्को डालिचको टिम क्रोएसिया कहिल्यै हार नमान्ने लडाकु टिम हो । उसले नकआउटका तीनै खेलमा पछाडि परेको स्थिति उल्टाएर दुई घण्टाको प्रतिस्पर्धापछि जित हात पारेको थियो । तैपनि खेलाडीले थकान महसुस गरेका छैनन् । र, उनीहरू एउटा अन्तिम खेलमा पनि सफलताका लागि संघर्ष गर्न तयार छन् ।

प्रकाशित : असार ३१, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?