१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ध्यान कतारतिर

रोयटर्स

मस्को — जर्मनीले भव्य आयोजना गर्‍यो, दक्षिण अफ्रिका अपेक्षाभन्दा माथि उठ्यो र रुसले नकारात्मक भ्रम तोड्यो । विश्वकप आयोजना गर्ने राष्ट्रले लगातार राम्रो प्रतिक्रिया हात पर्ने क्रममा अब सबैको नजर कतारतिर हुनेछ । चार वर्षपछि एसियाली राष्ट्र कतारमा हुने विश्वकप कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको छ । यो पक्का छ कि उक्त प्रतियोगिता पृथक हुनेछ

ध्यान कतारतिर

गल्फको सानो राज्य कतार एकछेउबाट अर्कोछेउसम्म जम्मा १ सय ८० किलोमिटर फैलिएको छ । सरदर २५ लाख जनसंख्या भएको देशमा फुटबलको माहोल पनि व्यापक छैन । अहिलेसम्म विश्वकपमा सहभागिता नजनाएको यस राष्ट्रले जुन–जुलाईमा अत्यधिक गर्मी हुने भएकाले प्रतियोगिता वर्षको अन्त्यतिर सारेको छ ।

तेल खानीले भरिपूर्ण कतारसँग अथाह सम्पत्ति छ । त्यसकै आडमा रहेर फिफाले कतारलाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । यद्यपि यस प्रक्रियमा भ्रष्टाचार भएको आरोप पनि लाग्दै आएको छ । विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र बन्ने कतार ८ नयाँ रंगशाला निर्माणको प्रक्रियामा छ ।

हालसम्म एक रंगशाला बनिसकेको छ भने वर्षको अन्त्यसम्म अन्य दुई तयार हुँदैछन् । बाँकी पाँच रंगशाला भने २०२१ को अन्त्यसम्म तयार भइसक्ने अपेक्षा गरिएको छ । केन्द्रबाट ३५ किलोमिटर आसपास रहने यी सबै रंगशाला नयाँ मेट्रो सेवाले जोडिने छ ।

द्रुत गतिमा भइरहेको निर्माण कार्यमा कामदारहरूको अवैधानिक प्रयोग भइरहेको आरोप पनि कतारले खेप्दै आएको छ । मानव अधिकारवादी संस्थाहरूले पटक–पटक कामदारसम्बन्धी मुद्दा चलाउँदै आएका छन् । ‘हामी आफूले तयार पारेको पथमा अगाडि बढ्न तयार छौं,’ कतार २०२२ को आयोजक समितिका महासचिव हसन अल थवावीले मस्कोमा भने ।

रुसको राजधानीमा सयौंको संख्यामा कतारी अधिकारी उपस्थित थिए । फिफाले कतारमा हुने प्रतियोगिता नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने पक्का गरिसकेको छ । सहभागी राष्ट्रसंख्या ३२ हुने वा ४८ मा बढ्ने पक्ष भने टुंगो लागेको छैन ।


‘यो निर्णय कतार र फिफाको सामूहिक निर्णय हुनेछ । अहिले हामी ४८ राष्ट सहभागी हुन सम्भव छ वा छैन भन्ने अध्ययन गरिरहेका छौं । ३२ राष्ट्रको सहभागिताका लागि भने हामी तयार छौं,’ अल थवावीले भने । प्रतियोगिता समय परिवर्तन हुनाले विश्वभरका ठूला लिगहरूलाई असर पर्ने भएको छ । यसले फिफा र शक्तिशाली युरोपेली क्लबबीच शक्तिसंघर्ष हुने भए पनि कतारले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेको छ ।

‘यो समयमा खेलाडीहरू सिजनको मध्य भागमा हुन्छन् । यसको मतलब उनीहरू उच्च फर्ममा खेलिरहेको अवस्थामा हुनेछन्,’ थवावीले थपे । कतारले विश्वकपका लागि मादक पदार्थलाई लिएर छुट्टै कानुन पनि ल्याउने तयारी गरेको छ । यसका लागि समर्थक जमघट हुने छुट्टै स्थान बनाउने र रमाइलो माहोल सिर्जना गर्ने आयोजकको लक्ष्य छ । ‘हामीले विश्वकप आयोजना गर्ने सुवर्ण अवसर पाएका छौं । यसले विश्व मानचित्रमा आफ्नो परिचय बनाउने मौका दिएको छ । हामीले यसको भरपूर उपयोग गर्नेछौं,’ महासचिव थवावीले टुंग्याए ।

प्रकाशित : असार ३२, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?