३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

इंग्ल्यान्डको यो सुरुआत हो : केन

एएफपी

सेन्ट पिटर्सबर्ग — इंग्ल्यान्ड कप्तान ह्यारी केनले युवा इंग्लिस टोली विश्वकप सेमिफाइनलमा पुगे पनि आउने दिनमा त्यसलाई आधार मानेर सुधार गर्नुपर्ने बताएका छन् । शनिबार तेस्रो स्थानको खेलमा बेल्जियमसँग पराजित भएपछि केनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

इंग्ल्यान्डको यो सुरुआत हो : केन

गारेथ साउथगेटको टोलीले २८ वर्षमा पहिलोपल्ट अन्तिम ४ मा स्थान बनाए पनि समग्रमा विश्वकपका सातमध्ये ३ खेलमा हार बेहोर्‍यो । तीमध्ये दुई पराजय बेल्जियमविरुद्ध थियो । ‘हामीले उत्कृष्ट टोलीविरुद्धको अन्तरलाई यस प्रतियोगितामा कम गरेका छौं । तर आज र यसअघिका केही खेलले हामीले सुधार गर्ने ठाउँ अझै बाँकी रहेको प्रस्ट देखाएको छ,’ उनले भने, ‘मैले सुरुदेखि हामी सिक्दैछौं भन्दै आएको थिएँ । हामी नियमित सुधार गर्दै प्रदर्शनमा निखार ल्याउन चाहन्छौं ।’

‘हामी अब अर्को सेमिफाइनल खेल्न २० वर्ष प्रतीक्षा गर्ने पक्षमा छैनौं । अब यो स्तरमा बसेर प्रदर्शन सुधार गर्ने हाम्रो सोच छ । यसका लागि केही समय लाग्ने भए पनि हामी तयार छौं,’ केनले थपे । इंग्ल्यान्डको अन्तिम तीन खेलमा गोल गर्न असफल रहे पनि केन सर्वाधिक गोलकर्ता सूचीमा शीर्षस्थानमा छन् ।

कोलम्बिया, पानामा र टयुनिसियाविरुद्ध ६ गोल गर्दै उनले गोल्डेन बुट पक्का गरेका छन् । ‘पछिल्ला केही खेलमा गोल गर्न नसक्दा दुखी छु,’ टोटेनहम हट्स्परका फरवार्ड केनले भने, ‘कहिले सबै प्रयास सफल हुन्छन् त कहिले आउँदैन । तर गोल्डेन बुट जित्नु भनेको गर्व गर्न लायक सफलता हो ।’

प्रकाशित : असार ३२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?