कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमबाप्पे र ग्रिजमनको लय

राजु घिसिङ

मस्को — उपाधि होडमा बलियो मानिएको फ्रान्सले मारियो मान्जुकिचको आत्मघाती गोलसँगै फाइनलमा सुरुआती १९ औं मिनेटमै अग्रता लिएको थियो । क्रोएसियाका मार्सेलो ब्रोजोभिचले एन्टोइन ग्रिजमनलाई फाउल गरेपछि फ्रान्सले फ्रिकिक पाएको हो ।

एमबाप्पे र ग्रिजमनको लय

त्यसमा ग्रिजमनले प्रहार गरेको बल क्लियर गर्ने प्रयासमा मान्जुकिचले गरेको हेडरमा बल आफ्नै पोस्टमा छिरेको थियो । विश्वकप फाइनलमा आत्मघाती गोल गर्ने उनी पहिलो खेलाडी हुन् ।

स्टार खेलाडीको साथ पाएको फ्रान्सले सुरुआती अग्रता लियो तर स्तरअनुसारको खेल भने पस्कन सकेन । त्यसैले उसको अग्रता धेरै टिकेन । इभान पेरिसिचले २८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा पुर्‍याए । उनले डोमागोज भिदाको पासमा दायाँ खुट्टाले तानेको बललाई बायाँ खुट्टाले लोभलाग्दो गोलमा परिणत गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।

पूर्वी युरोपको सानो देशले आक्रामक खेलिरहेको बेला भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा फ्रान्सले फेरि अग्रता लियो । ग्रिजमनले प्रहार गरेको कर्नर किकमा पेरिसिचले हातले बल छोएपछि फ्रान्सेली खेलाडीले अर्जेन्टिनी रेफ्री नेस्टर पिटानालाई भिडियोको सहारा लिन चर्को दबाब दिएका थिए ।

अन्तत: भिडियो हेर्न पुगेपछि पिटानाले पेनाल्टी दिए । ग्रिजमनले क्रोएसियाली गोलकिपर डानियल सुबासिचले डाइभ गरेको अर्कोतर्फ बललाई सहजै पोस्टको दिशा दिएर फ्रान्सलाई २–१ ले अघि बढाए । यो उनको विश्वकपमा चौथो गोल हो ।

फेरि पछाडि परेको दुई मिनेट नबित्दै क्रोएसियाले बराबरी गर्ने अवसर पाएको थियो तर पेनाल्टी क्षेत्रमा प्राप्त मौकामा एन्टे रेबिचले बल प्रहार गर्न सकेनन् र बल डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफमा क्रोएसिया हाबी रह्यो । मिडफिल्डमा रियल म्याड्रिडका लुका मोड्रिच फेरि प्रभावशाली देखिए । एक समय लात्को डालिचको टिम बल पोसेसनमा पनि ६१–३९ ले अगािड रह्यो तर उसले गोल भने गर्न सकेन ।

दोस्रो हाफमा पनि क्रोएसियाले आक्रामक सुरुआत गर्‍यो । एन्टे रेबिचले पहिलो बार च्याप्दै ४८ औं मिनेटमा प्रहार गरेको बलमा फ्रान्सेली कप्तान ह्युगो लोरिसले पञ्च गर्दै लोभलाग्दो बचाउ गरे । यो विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका १९ वर्षीय फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले ५२ औं मिनेटमा प्रहार गरेको बलमा गोलकिपर सुबासिचले आकर्षक बचाउ गर्दै क्रोएसियाको खेलमा फर्कने आशा जीवितै राखेका थिए ।

नकआउट चरणका हरेक खेलमा सुधार गरिरहेका मिडफिल्डर पाउल पोग्बालाई ५९ औं मिनेटमा क्रोएसियाले रोक्न सकेन । ग्रिजमनको पासमा पोग्बाले प्रहारलाई डिफेन्सले रोके । त्यसैमा प्राप्त रिबाउन्डमा पेनाल्टी क्षेत्र नजिकबाट पोग्बाले गोलमा परिणत गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

नयाँ पेलेको रूपमा उदाएका एमबाप्पे फेरि एकपल्ट चम्किए । रुसमा चौथो गोल गर्ने क्रममा उनले लुकास हर्नान्डेजको आकर्षक पासमा पेनाल्टी क्षेत्रबाहिरबाटै ६५ औं मिनेटमा गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।

दोस्रोपल्ट दुई गोलले पछाडि परेर पनि क्रोएसियाले संघर्ष जारी राख्यो । फ्रान्सेली कप्तान लोरिसको गल्तीमा मौका पनि पायो । उनले आफ्नै पेनाल्टी क्षेत्रमा छक्याउन खोज्दा पाएको मौकामा मान्जुकिचले यो विश्वकपमा व्यक्तिगत तेस्रो गोल गर्दै ६९ औं मिनेटमा अन्तर घटाएका थिए । इभान राकिटिचले ७८ औं मिनेटमा प्रहार गरेको बल भने फ्रान्सेली खेलाडीमा डिफ्लेक्ट हुँदै पोस्ट नजिकबाट बाहिरिएको थियो ।


विश्वकपको गोल्डेनबल विजेता क्रोएसियाका लुका मोड्रिच र उत्कृष्ट युवा खेलाडी फ्रान्सका केलियन एमबाप्पे । यस विश्वकपको गोल्डेनबुट इंग्ल्यान्डका ह्यारी केन र गोल्डेन ग्लोभ्स बेल्जियमका थियाबाउट कोर्टियसले पाएका थिए । तस्बिर : रोयटर्स

विश्वकप फाइनलका नतिजा

प्रकाशित : असार ३२, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?