कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बिदा लिँदै छु’

द गार्डियन

बार्सिलोना — ‘निकै भावुक क्षण,’ उनी अहिले सम्झन्छन् । आन्द्रेस इनिस्टा अन्तिमपल्ट युरोपको सबैभन्दा ठूलो रंगशालाको मध्यभागमा एक्लै बसे । त्यहाँ कोही थिएन, उनी बाहेक । उनी त्यस मैदानको घाँससँगको सामीप्य फेरि एकपल्ट अनुभव गर्न चाहन्छन् ।

‘बिदा लिँदै छु’

‘यो रंगशालाको सबथोक राम्रो । यहाँको मैदान र मबीच आत्मीय सम्बन्ध छ,’ निकै भावुक बनेका इनिस्टा भन्छन् बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पबारे ।

इनिस्टाले २२ वर्ष बार्सिलोनामा बिताए । त्यसमध्ये १६ वर्ष पहिलो रोजाइको टिममा । उनले बार्सिलोनाबाट त बिदा मागिसके, अब पालो स्पेनी टिमबाट पनि बिदा लिने समय आएको छ । पुराना दिन सम्झँदा उनी साँच्चै भावुक हुन्छन् । त्यो दिन पनि थियो, जति बेला उनी बार्सिलोनाका लागि एल्बासेटबाट गएका थिए । अब त्यो दिन पनि आउँदै छ, जति बेला उनले स्पेनी टिमबाट पनि बिदा लिनुपर्नेछ ।

‘मैले स्विकार गरिसकेको छु, मेरो खेलजीवनको अन्त्य आउँदै छ भनेर,’ इनिस्टा भन्छन् । अब उनीसामु नयाँ चुनौती छ जापान । त्यसका लागि पर्खिबसेको छ । त्यसभन्दा अगाडि उनीसामु छ रुस । अहिले उनी ३४ वर्षका भए । उनकै नाममा छ, स्पेनी फुटबल इतिहासका सर्वाधिक महत्त्वको गोल । सन् २०१० को विश्वकप फाइनलमा गरेको गोल । अब यिनै खेलाडीको माथिल्लो दर्जाको फुटबलमा खेल्नु केही दिनमात्र बाँकी छ ।

‘यो मेरो अन्तिम विश्वकप हुनेछ,’ इनिस्टाले भन्छन् । पछिल्ला केही दिन उनले स्पेनको लास राजोसमा बिताए । केही समयमै उनी रुसी भूमिमा हुनेछन् । स्पेनी टिमको यस अभ्यास मैदानमा उनी लगातार आइरहेको पनि १२ वर्ष भइसकेको छ । त्यहाँ अब फेरि उनी फर्केर आउने छैनन्, कम्तीमा खेलाडीका रूपमा । ‘अबको विश्वकप चौथो हुनेछ मेरो लागि । अन्तिम विश्वकप हुनेछ मेरा लागि । त्यसैले म यो प्रतियोगितामा रम्न चाहन्छु ।’

उनी यस्तो पनि भन्छन्, ‘सायद यो विश्वकप मेरा लागि अन्तिम नभए पनि हुन्थ्यो । न त म स्पेनका लागि अन्तिमपल्ट खेल्न चाहन्छु ।’ उनी सत्यताबाट पनि टाढा हुन पनि चाहन्नन् । भन्छन्, ‘मेरा लागि फुटबल र बिदाइ सँगसँगै आउँदै छ यहाँ । म किन बिदा लिँदैछु भने अब मेरो शरीरले अझै खेल भन्न छाडेको छ । यति धेरै वर्ष खेलेपछि म थाकिसकेको पनि छु । फुटबल खेल्न सजिलो पनि छैन मानसिक र शारीरिक दुवै अर्थमा ।’


खासमा उनी आफ्नो खेलजीवन उत्कर्ष रहँदै त्यसलाई टुंग्याउन चाहन्छन् । उनी चाहन्नन्, आफू पनि जिनेदिन जिदानको स्थितिमै पुगोस् भनेर । सन् २००६ मा जिदानले रियल म्याड्रिड छाडे, त्यति नै बेला उनले फ्रान्सलाई नकआउट चरण पनि पुर्‍याउन सकेनन् । भलै फ्रान्स डिफेन्डिङ च्याम्पियन थियो । त्यसैले इनिस्टाको मनमा अझै योजना छ सक्दो उत्कृष्ट खेल्ने । उनी कमजोर स्थितिमा विश्वकपको मैदान छोड्न चाहन्नन् ।

‘मलाई विश्वास छ, यस्तो हुने छैन । म बार्सिलोनामा छैन, तर त्यसको अर्थ म अब नै कमजोर भयो भन्ने पनि होइन । जति बेला विश्वकप खेल्दै छु, त्यति बेला मेरो मनमा यसै प्रतियोगितामा राम्रो गर्ने मात्र उद्देश्य हुनेछ । साँच्चै म फेरि विश्वकप जित्न चाहन्छु ।’ सबैलाई के पनि थाहा छ भने फुटबलमा भन्नु र गर्नुमा धेरै फरक छ । पछिल्लो विश्वकपमा स्पेनको खराब प्रदर्शन उनले कसरी भुल्न सक्छन् र ?

उनी भन्छन्, ‘यसपल्ट स्पेन लयमा भने छ । हामी उपाधिका लागि लड्न सक्षम छौं । पोर्चुगलले दुई वर्षअघि युरो जित्दा कसैले पनि यो टिमलाई उपाधि दाबेदार मानेको थिएन । फुटबलमा यस्तो हुन्छ ।’ जे हुन्छ, आउने एक महिनामा हुनेछ । त्यसपछि के नि त ? उनको उत्तर छ, ‘मेरोमा अझै फुटबल बाँकी छ । फुटबल खेल्दा म निकै खुसी हुन्छु । म ४० वर्ष हुँदासम्म पनि खेल्न चाहन्छु तर मलाई थाहा छैन, त्यति बेला के हुने हो ।’

उनी अन्त्यमा भन्न चाहन्छन्, ‘फुटबल नै मेरा लागि जीवन हो । मैले चार वर्षको उमेरदेखि फुटबल खेल्न थालेको हुँ, मेरो गाउँमा बुवासँग । मैले जति समय फुटबलमा बिताएँ, ती सबै सम्झनालायक रहे । अझ मैले ते स्वप्निल समय पनि बिताउन पाएँ फुटबलमा । जति बेला साँच्चै फुटबल छाड्ने छु, त्यो मेरालागि सर्वथा नयाँ अनुभव हुनेछ । फुटबल मेरो जीवन हो भने म यसलाई निरन्तरता भने दिन चाहन्छु, फरक भूमिकामै सही ।’

- सिड लो, बार्सिलोना
– द गार्डियन

प्रकाशित : जेष्ठ २७, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?