२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आमाले सुनाएका कथा फिल्ममा

मीनका सबै सिनेमामा आमाले सुनाएकै–सिकाएकै कथा छन्, आमाहरूकै कथा छन् । मीन भन्छन्– आमाले सिकाएका गुण नै मेरा सिनेमाका विषय हुन् ।
दीपक सापकोटा

काठमाडौँ — आमा र भामवाडाको सम्झनाले मीन भामलाई एक तमासको स्मृति र तन्द्राले छोप्छ । मीन जन्मिएको मुगु–भामवाडा गाउँ उस्तै छ, केवल त्यहाँ फेरिएका छन् ऋतुहरू, ग्रामीण कथा र मान्छेहरू । धेरै युवा गाउँ छाडेर उडिसके, जसरी उनको गाउँमा उडेर आउँथे र जान्थे चराहरू । उनकी आमा, उनका बा र तिनका दौंतरीहरू कहिल्यै नफर्किने यात्रामा गइसके । 

आमाले सुनाएका कथा फिल्ममा

तर शीतलता दिन आँगन छेउमा उभिएको बूढो ओखरको बोट छँदै छ । मीन सोचिबस्छन्– यिनै त हुन् मेरी आमाका जिन्दगी र संघर्षका साक्षी । गाउँबाट पर–परसम्मका ध्यानस्थ नीला डाँडाहरू, आँगनको डिलैमा उभिएको ओखरको बोट अनि किनारमा टोलाइरहेको कविता लेख्दै नदीमा बगाइरहने केटो ! सबै–सबै सम्झिँदा मीन देख्छन्, आफ्नै छाया । मीनले बनाएको एक युवतीको प्रेम यात्राको कथा भन्ने फिल्म ‘बाँसुल्ली’ मा नदीमा कविता लेखेर बगाउने एउटा केटो छ, त्यो उनै हुन् ।

000

मनभित्र उधुम खलबली थियो मीन भामसँग– आमा बाँचेको समयको दृश्य र त्यसको प्रतिविम्ब बुझ्न । त्यसैले आमाको जिन्दगीको कथा खोज्दै आमा निधनको केही समयपछि मीन आफ्नो गाउँ मुगु–भामवाडा पुगे । आमाका दौंतरी र आफन्त भेटे । उनलाई मन थियो– आमा बाँचेका दिनहरूमाथि घोत्लिन । सुन्न मन थियो, आमाको कथा । जस्तो आफ्नी आमाका अवगुणहरू, झगडा, लेनदेन, तीता–अमिला सम्बन्धका कथा ।

‘गाउँ पुगेपछि थाहा पाएँ– मेराबारे खुब गफ दिनु हुँदोरैछ, मेरी आमा,’ मीनले गाउँलेका कुरा सम्झिए, ‘मेरो छोरो त फिल्म बनाउँछ नि भन्नु हुँदोरैछ आफ्ना साथी, आफन्तहरूलाई । म फिल्मकर्मी भएकोमा आमालाई गर्व रहेछ ।’ मीन भामकी आमा रत्नमाया भाम २०७० साल साउनमा महाप्रस्थान गरिन् । आमा बितेपछि थुप्रै ऋतुहरू बितेर गए । तर, मीनभित्र एउटा पश्चाताप छ, त्यो के भने उनले आमालाई आफ्नै फिल्म देखाउन पाएनन् । आमालाई दागबत्ती दिँदा नरोएका उनी आमाका साथीहरूले आमा–कथा सुनाउँदा रोए ।

आमालाई उनले कहिल्यै आफ्नो फिल्म देखाएनन् । किन ? ‘मनमा के धकजस्तो, लाजजस्तो गजधम्म बसेको थियो । आफ्नै गाउँको, आमाले देखेकै कथा के देखाउनुजस्तो पनि सोचें,’ मीन भन्छन् अनि काठमान्डुको एक रातको सम्झनाले एकोहोरो हुन्छन् । बिरामी भई काठमान्डु आएका बेला एक रात रत्नमायाले मीनको हात गहिरो गरी समाएर भनिन्, ‘सुन्, तैंले बनाएको फिल्म मैले हेरें नि, तेरो दाइले देखायो । राम्रो बनाएको रैछस् ।’ उनले मीनको पहिलो फिल्म ‘बाँसुल्ली’ हेरेकी रहिछन् । अहिले पनि मीनलाई लागिरहन्छ– मैले नै आमालाई देखाउनुपर्ने रहेछ त्यो ।

000

केही अघि मात्रै मीन समाचारका हेडलाइन बने । २०२४ मा विश्वकै चर्चित बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धा गोल्डेन वेयरमा उनी निर्देशित फिल्म ‘शाम्बाला’ थियो । मीनको ‘बाँसुल्ली’ पनि नेपालबाटै पहिलो पटक भेनिस पुगेको थियो र अर्को फिल्म ‘कालो पोथी’ ले भेनिसमा अवार्ड नै जितेको थियो । यिनै फिल्ममेकरको फिल्मभित्रका करुणा र प्रेम–यात्रामा देखिन्छ– मान्छेका धिमा जिन्दगी, बेचैनी र निराशाका रङ । ‘दुनियाँमा दुःख छ’ भन्दै उनी नेपालको उच्च पहाडी भेगका मान्छेको जीवन र भोगाइमाथि गम्भीर विमर्शमा सामेल छन् ।

बेग्लै ढंगको जिन्दगी र रीतमा बाँचिरहेकी एक हिमाली महिला उकाली–ओरालीहरूमा श्रीमान् खोज्दै छिन् ‘शाम्बाला’ मा । र, द्वन्द्वको समय घोडामा लामो यात्रा गरेर पोथी खोज्न हिँडेका दुई बालक चल्लाहरूले घोरिएकी पोथी देखेपछि आमाको ममताले लछप्पै भिजेर रित्तै फिरेका छन् ‘कालो पोथी’ मा । मीनको फिल्मबाट नेपाली–विदेशी समाज मुग्ध छ । ती कथाले अझै लामो समय समाज तरंगीत भइरहला । स्पष्ट निर्देशकीय शिल्प झल्किने, विलक्षण दृश्य–कथा भन्ने मीनका फिल्मको प्रेरणा हुन्, उनकी आमा ।

000

हुर्कंदै जाँदा मीनले बुझे– ग्राम्य जीवनमा उनकी आमाले बाँचेका बिहान–सम्झाँझ–दिन र गोधूलिहरू असाध्यै कठिन थिए– काम, काम र केवल काममै उनकी आमा–जीवन बित्यो ।

मीनकी आमा रत्नमाया भाम भामवाडाकै एक नामुद एक आम्ची (गाउँकी वैद्य) थिइन् । जडीबुटी कुटेर, धूलो बनाएर, सुकाएर औषधि बनाउँथिन् । ‘आफ्ना छोराछोरी अकालमै नमरुन्’ सोचेर मीनकी आमाले आम्चीको काम सिकेकी थिइन् । उनलाई थाहा थियो– झाडापखाला लागे के जडीबुटी दिने ? पेट पोल्दा के दिने ? पोलेको घाउमा के लगाउने ? काटेको घाउमा के ? कुन फूलको रस बनाउने ? रूखको कुन बोक्राबाट के औषधि बन्छ ?

नानीहरू बिरामी भए औषधि लिन मीनकै आँगनमा झुल्किन्थे गाउँले । रत्नमायाको काम हुन्थ्यो– जंगल जाने, जडीबुटी–फूलपात ल्याउने, त्यसलाई कुटेर घाममा सुकाउने । मीनकै भाषामा ‘गाउँको सुपर हिरो’ थिइन् रत्नमाया । गाउँका आमाहरू उनलाई ‘लोकल डाक्टर’ का रूपमा अथाह सम्मान गर्थे, सीपको बखान गर्थे । भन्थे– आमा हुनु त रत्नमायाजस्तो !

रत्नमायाका ८ सन्तान थिए– ४ छोरा, ४ छोरी । तिनलाई उनले तन्मयसाथ हुर्काइन् । गर्व गर्ने उनको एउटै विषय हुन्थ्यो– मेरा आठै सन्तानमा कसैको पनि शरीरमा कुनै खत छैन । खासमा गाउँका आमाहरू खेतीपातीमै मस्त हुन्थे । तिनका बच्चाहरू लडेर चोटपटक लाग्नु, आगोले पोल्नु, छतबाट खस्नु सामान्य घटना हुन्थ्यो । नानीहरू जोगाउनु नै ठूलो हुन्थ्यो । झाडापखाला, औलोले नानीहरू सानैमा स्वर्गको बाटो लाग्थे । ‘५, ६ सन्तान त मरिहाल्छन् नि सोचेर आमाले ८ सन्तान जन्माउनुभयो,’ मीन भन्छन् ।

मीनको फिल्म ‘शाम्बाला’ मा पनि केही आम्ची आमाबाट प्रेरित, आमामै समर्पित दृश्य छन् । ‘त्यो ज्ञान नसकियोस्, मौलिकता नमासियोस् भनेर मैले थोरै जानेको आमाको वैद्यको ज्ञान दिदीहरूलाई पनि सिकाएको छु, जोगाउनुपर्छ भनेको छु,’ मीन भन्छन् । मीनका सबै सिनेमामा आमाले सुनाएकै–सिकाएकै

कथा छन्, आमाहरूकै कथा छन् । भन्छन्, ‘आमाले सिकाएका गुण नै मेरा सिनेमाका विषय हुन् ।’

000

मीन सूर्यास्तसँगै नदी–किनारमा घोत्लेर, कल्पना–लोकतिर विचरण गर्दै कविता लेखिरहन्थे । आँगनका आरु, स्याउ र ओखरमा फैलेको सन्ध्याको लालिमा हेर्दै उनकी आमा मांगल गाउँथिन् । रात गाढा हुँदै जाँदा आमाले गाउने मांगलको ‘ह...’ झन् टड्कारो सुनिँदै जान्थ्यो । मुगुमा मांगल गाइन्छ, छोरा–छोरी जन्मिँदा वा दुलही भित्र्याउँदा वा जन्ती जाँदा वा मृत्यु संस्कारमा । भामवाडामा मीनकी आमा पनि मांगल गाउँथिन् । रत्नमायाले पूरै रात मांगलका मन्त्र जपेको त्यो समय मीनको स्मृतिमा ताजै छ । ‘लामाहरूले मन्त्र पाठ गरेजस्तो सुनिन्थ्यो मांगल । आमाले वाचन गरेको मांगल रकर्ड गर्न पाइनँ, त्यो थकथकी छँदै छ,’ मीन भन्छन् ।

आमाको सुर, गाउँको नोस्टाल्जिया मीनले फिल्ममा कसरी प्रयोग गरेका छन् भने उनको फिल्म ‘बाँसुल्ली’ मा बिहे गरेर युवती पराई–घर भित्रिँदा त्यहाँ मांगल–मन्त्र गाइएको छ– हह्ह्ह् ! आफ्नो दोस्रो फिचर फिल्म ‘कालो पोथी’ मा पनि मांगल प्रयोग गरेका छन् मीनले– एक बच्चाको सेकेन्ड ड्रिम्स सिक्वेन्समा । ‘म मेरा फिल्ममा आमाको स्मृति त्यसरी प्रयोग गर्छु । त्यसैले मेरा फिल्मका दृश्यमै सही आमा बाँचिरहेजस्तो लाग्छ,’ बौद्धको शेचेन गुम्बामा बिहानी घामतिर हेर्दै शान्त भावमा बोलिरहेका मीनका यी शब्द मन्त्रझैं सुनिए ।

000

मीनका बुबा जंगबहादुर भाम मुगुका पहिलो एसएलसी पास हुन् । मुगुको नेपाल टेलिकमको कार्यालय प्रमुख थिए उनी । उनी राष्ट्रिय समाचार समितिमा पनि काम गर्थे । ‘रेडियो नेपाल’, ‘गोरखापत्र’ वा ‘नेपाल टेलिभिजन’, जहाँ समाचार पठाउनुपरे पनि उनै पठाउँथे । मुगुका पहिलो फोटोग्राफर पनि उनै थिए, त्यो भेगको पहिलो फोटो स्टुडियो उनैले खोलेका थिए । जंगबहादुरले नै खोलेका हुन्– मुगुमा पहिलो हाइभिजन हल । घरमै गाउँलेलाई फिल्म देखाउँथे । माओवादी द्वन्द्वपछि त्यो हाइभिजन हल बन्द भयो ।

जंगबहादुर मुगु–गमगढीमै थिए । अचानक उनको सरुवा भयो, जुम्लामा । मुगुबाट २०४८ सालको चुनाव जितेका एक सांसदले उनलाई ‘चुनावमा पूर्वाग्रह राखेको र समयमै सूचना नपुर्‍याएको’ आरोपमा २४ घण्टामै सरुवा गराए । जंगबहादुरको जुम्ला सरुवापछि मीन आमासँग अत्यधिक नजिकिए । र, थाहा पाए– असलमा आमाको दुःख के रहेछ ?

मीनकी आमासँग सन्तानको पढाइमाथि ठूला सपना थिए । भनिरहन्थिन्– छोराछोरीले कम्तीमा डिग्रीचाहिँ पढ्नैपर्छ । त्यसमाथि बुबा भन्थे– मास्टर्स पास नगर्ने छोरालाई अंशै दिन्न ।

बिहे गर्दा रत्नमायाको उमेर थियो– १३ वर्ष, जंगबहादुरचाहिँ १४ वर्ष थिए । त्यो जंगबहादुरको ९ औं बिहे थियो ! उनी सानैदेखि कति उपद्रवी भने महिना, दुई महिनामा बिहे गरिहाल्ने ! अर्काको दुलही पनि ल्याउने अनि छोडिदिने, जाँडरक्सी खाने र तत्सुहाउँदो बदमासी पनि गर्ने ! सबै श्रीमती आ–आफ्नै बाटो हिँडेपछि रत्नमायासँग उनको मन अडियो । उनीसँग बिहे गरेपछि जंगबहादुरले सिकार खेल्न छाडे, केटीहरूको पछि लाग्न छाडे, पूरै शाकाहारी भए । कतिसम्म भने रक्सी खाएको मान्छेलाई छेउमै पर्न नदिने स्वभावका भए । रत्नमायाको माया उनका लागि रत्न साबित भयो ।

रत्नमायाको स्वभाव, लवाइ–खवाइ, रवाफ कुलीन थियो भन्छन् मीन । पाल्पाली ढाका, मोटो तिलहरीमा हुन्थिन् सधैं । वन समिति, विद्यालय समितिको नेता उनै । मीनको मामाघरपट्टिका बाजे तेजबहादुर भाम पञ्चायतकालका राप्रपा सांसद थिए भने कांग्रेस पृष्ठभूमिका मीनका बुबा जंगबहादुरको खलक गाउँकै मुखिया । राजनीतिका कारण उनकी आमाले कहिल्यै दाजुभाइसँग तिहार मनाउन पाइनन् । ‘तर, आमा थिइन्– घरको स्याल वनको बाघ । घरको दुःख अर्कै थियो । बुबा नभएको घरमा सधैं तनावै हुन्थ्यो,’ मीन भन्छन् ।

रत्नमायालाई धेरै अन्न नउब्जेला भन्ने चिन्ता सधैं थियो । त्यसैले छोराछोरीलाई खेतीपातीमा लगाइन्– भोकमरीसँग जुध्नु नपरोस् सोचेर । ‘धुमधाम पानी परे पनि हामी घुम ओढेरै खेतबारीमा जानुपर्थ्यो तर गाउँका अरूहरू आगो तापेर घर बस्थे,’ मीन भन्छन् ।

एक पटक कोही जान्ने सुन्नेले रत्नमायालाई भनिदियो– मीनको दाजुले बाआमा खान्छ र जोगीसँग मीत लगाए ग्रहदशा मेटिन्छ । अनि मीनबारे भनियो– यसले कि ९ वटी बिहे गर्छ कि संन्यासी हुन्छ र घर छाड्छ, ग्रहदशा शान्त गर्न कठपुतलीसँग बिहे गराइदेऊ । रत्नमायाले पण्डित खोजिन्, सिञ्जाका एक पुरोहितसँग छोराको मीत लगाइदिइन् । त्यसै बेला जोखाना हेर्दा उनलाई पण्डितले भनिदिए– ७० नलाग्दै जुनै बेला पनि तिम्रो अकाल मृत्यु हुन सक्छ । त्यसपछि निकै चिन्तामा परिन् रत्नमाया– म त मरिहाल्छु, छोराछोरीलाई कसले हेर्ला ? यिनको पढाइ कस्तो होला ?

पण्डितले आमालाई ‘अकाल मृत्युको योग छ’ भनेदेखि मीनले सपनामा सधैं मृत्यु देख्न थाले । त्यो सधैं दोहोरिइरहने सपना बन्यो । ‘ती पण्डितले मलाई सानैमा बुझाए कि मान्छे त मर्नैपर्छ । त्यसपछि हो– मैले जीवन बुझ्न थालें, आमाको परिवर्तन भएको जीवनशैलीले,’ मीन भन्छन् । गाउँमा हल्ला थियो– रिटायर्ड नभएसम्म जंगबहादुर जुम्लाबाट भामवाडा फर्किंदैनन् । त्यो चिन्तापछि ‘घरको आर्थिक स्थिति सुधार्न’ उनी भोलिपल्टै साउनको बर्खे झरीमा ओखर बेच्न बजार गइन् । तन्मयतासाथ पैसा जोगाउन थालिन्, ‘मिहिनेत गर्नुपर्छ, सन्तानका लागि पैसा जोगाउनुपर्छ’ सोचेर । ‘पण्डितको त्यो घोषणापछि कुन बेला आमा मरेर जान्छिन् भन्ने चिन्ताले म सधैं उहाँको पछि लाग्थें । मेरो सिनेमामा उबेलाको आमाको मनस्थितिको ठूलो महत्त्व छ,’ मीन भन्छन् ।

000

एसएलसीपछि २०५६ सालमा भागेर काठमाडौं आए मीन । घरमा चिठी पठाए, ‘मेरो चिन्ता नगर्नू, पढिरहेको छु ।’ उनी सरस्वती क्याम्पस भर्ना भए, पोलिटिकल साइन्स पढे । त्यसै बेला राष्ट्रिय नाचघरमा अभिनय सिके । पछि अस्कर कलेजमा भर्ना भए, फिल्म पढ्न । त्यसै बेला बनाए– ‘बाँसुल्ली’ । आमाले भनिन्– घर फर्केर आ । घर पुगेपछि रोएर भनेकी थिइन्– जे मन लाग्छ गर्, तर घरको सम्पर्कमा बस् । तर, मीन त फेरि भागे । फेरि आमाले रुँदै भनिन्– कति सताउँछस् !

अहिले मीनलाई लाग्छ– आमालाई धेरै सताएछु कि !

मीन काठमान्डुमै संघर्षरत छँदा आमा अचानक बिरामी भएर जँचाउन काठमान्डु आइन् । उपचारपछि आमालाई छोड्न एयरपोर्ट गए मीन । मीनको चुरोट खाने बानी थियो, आमालाई वेटिङ रुममै छोडेर चुरोट खान निस्के । फर्किंदा आमा जहाजमा पसिसकेकी थिइन् । मीन झस्किए– आमालाई अन्तिममा जाऊ है भन्न पनि पाइनँ । कस्ता रहर हुन् मेरा ?

काठमान्डुबाट नेपालगन्ज पुगिन् । रत्नमायाले आफ्नै पैसाले नेपालगन्जमा पनि घर बनाएकी थिइन् ।

एक सातापछि भामवाडा जान भनेर नेपालगन्ज विमानस्थल नपुग्दै उनी सडक दुर्घटनामा परिन् । जेठी छोरीपट्टिको नातिले हाँकिरहेको मोटरसाइकललाई बसले ठक्कर दियो । नातिको तत्काल मृत्यु भयो, उनी सख्त घाइते भइन् । उनलाई लखनऊको अस्पताल लगियो । उपचारका लागि काठमान्डु ल्याउन कुनै पनि एयरलाइन्सले मानेन । मीन र उनका दाजुले आमा उपचारमा ४७ दिन बिताए लखनऊको अस्पतालमा ।

रत्नमाया डिस्चार्ज भइन् । नेपालगन्ज ल्याइयो– एम्बुलेन्समा । उनलाई नाति बितेको खबर थिएन, त्यसबीचमा उनकी फुपू बितेको पनि भनिएन । तर, बाटोमा उनी अत्यासलाग्दो गरी बर्बराइरहिन्– मलाई नाति र फुपूले बोलाइरहेका छन् । ‘मलाई बेस्सरी च्याप्नुभयो । झ्याल बन्द गर् भन्नुभयो । त्यो हपक्क गर्मीमा पनि सलले ढाकिदे भन्नुभयो,’ मीन स्मृतिमा पस्छन्, ‘आमा बोलिरहनुभयो– मलाई फुपूले तानिन्, झ्याल बन्द गर्, तिनले झ्यालबाट बोलाइरहेका छन् ।’

घर पुगेपछि उनले खाना खाइन् । सबैलाई बर्बराउँदै के–के सुझाव दिइन् । मीनलाई भनिन्, ‘तैंले अंश नलिएस् । अंशबारे दाइभाइसँग केही नभनेस्, यो घर भाइलाई दिएस्, तँ खुब पैसा पाउँछस् । पैसा कमाइस् भने स्कुलमा सहयोग गर्नू, पुरानो मठमन्दिर भत्के बनाउनू ।’ त्यसपछि रत्नमायाले सधैंलाई आँखा चिम्लिइन्, नेपालगन्जको अस्पतालमा डाक्टरले मृत्यु घोषणा गरे ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

आमाको निधनपछि मीन निकै रात निदाएनन् । आत्माको अस्तित्वका सपना दोहोरिइरहे । त्यो दृश्य यस्तो हुन्थ्यो– कतै आमा र उनी वार्ता गरिरहेका हुन्थे, बाजाबारे बहस गरिरहेको हुन्थे । कोही चर्को आवाजमा बाजा बजाउँदै शवको पछिपछि हिँडिरहेको हुन्थ्यो । मीन भन्थे– बाजा किन बजाएको ? बाजाले त मृत शरीरलाई तनाव दिन्छ, आत्माले शरीर छोडेको छैन, त्यसैले आत्मालाई शान्तसँग जान दिनुपर्छ । तर, आमा भन्थिन्– यो बजाउनु ठीक हो ।

मीनको गाउँमा शव जलाउन घाट पुर्‍याउँदा बाजा बजाउँदै लैजाने चलन छ । मीनको सम्झनामा उनले ‘शाम्बाला’ बनाउँदा कोभिडका दिनहरूमा सपनामा निकै आइन् आमा र ‘शाम्बाला’ को कथा भताभुंग बनाइदिइन् । सपनामा एकदमै बहस गर्थिन्– यो तैंले लेखिरहेको कथा मिल्दैन । त्यसपछि विपनामा मीन कथै परिवर्तन गर्थे । मीन भन्छन्, ‘सपनामा बाआमा झगडा गर्दै आउँथे र मीठो पाठ सिकाएर जान्थे । साम्बाला आमासँगका मेरा अनेक जिज्ञासाका चाङ मेटाउने फिल्म हो ।’

000

सम्झनास्वरूप अब मीनसँग आमाका गरगहना र २०७५ माघमा बितेका बुबाका प्रोजेक्टर, क्यासेट छन् । गाउँमै प्रौढ शिक्षा पढेपछि रत्नमायाले ‘रामायण’, ‘महाभारत’ पनि पढिन् । श्लोक पढेका दिन मीनका मस्तिष्कमा आउजाउ गरिरहन्छन् । बेलाबेला मीन सोच्छन्– म को हुँ ? आफैंलाई उत्तर दिन्छन्– मेरी आमाको सिर्जना हुँ । भन्छन्, ‘आमा र मेरो सम्बन्ध एक युगको होइन, युगौंयुगको छ ।’

प्रकाशित : वैशाख ४, २०८१ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?