३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आकाशमा बादल हेरी टोलाइरहने आमाको स्मृति

‘बुबाको निधनपछि आमामा डिप्रेसनका लक्षणहरू देखिन थालेका थिए । बुबा बित्दा हामीलाई नराम्रो झट्का लागेजस्तो भयो, आमाले हामीलाई सम्हाल्नुभयो । हामी त बिस्तारै सामान्य भयौं, तर आमाले आफैंलाई सम्हाल्न सक्नुभएन ।’

काठमाडौँ — निकोटिनले पहेंलिएका औंलाका यादहरू गाढा भएर आउँछन् आजकल । ती औंलाहरूजस्तै पहेंला थिए उदासीका कहालीलाग्दा आमाका दिनहरू । बितिगएका ती दिनको कल्पनामा राजेश हमाल देख्छन्, एउटा तस्बिर, दुई औंलाका कापमा च्यापिएको ५५५ चुरोट अनि अकासिँदो एक मुस्लो धूवाँ । 

आकाशमा बादल हेरी टोलाइरहने आमाको स्मृति

आमाका मसिना औंलाहरू र चुरोटबाट उडेको धूवाँसँगै राजेशको स्मृतिमा अर्को तस्बिर आउँछ– बादलतिर हेर्दै टोलाइरहेकी आमाको उदास अनुहार । ‘अन्तिम दिनहरूमा आमाको जीवन असाध्यै पीडादायी थियो, मन स्थिर थिएन,’ राजेश सम्झनाको डायरी पल्टाउँछन्, ‘बुबाको निधनपछि आमामा डिप्रेसनका लक्षणहरू देखिन थालेका थिए । बुबा बित्दा हामीलाई नराम्रो झट्का लागेजस्तो भयो, आमाले हामीलाई सम्हाल्नुभयो । हामी त बिस्तारै सामान्य भयौं, तर आमाले आफैंलाई सम्हाल्न सक्नुभएन ।’ श्रीमान् (चूडाबहादुर हमाल) को निधनपछि राजेशकी आमा (रेनु केसी हमाल) को तेज हराउन थालेको थियो । श्रीमान्ले पठाएका पुराना चिठी र डायरीहरू पढिरहनु, बेलाबेला बर्बरी आँसु झार्नु अनि झ्यालबाहिर आकाश हेरेर टोल्हाउनु उनको दैनिकी बनेको थियो । ‘जीवनमा उज्यालो रङ पनि छ’ भन्ने चटक्कै बिर्सेकी थिइन् उनले । सधैं सारीमा चिटिक्क सजिएर हिँड्नुपर्ने उनको पहिरनमा बिल्कुलै रहर मरेको थियो । चुरोट पिउने बानी त पहिल्यैदेखि थियो, तर पति–वियोगपछि सेवन अत्यधिक बढ्यो ‘चेन स्मोकर’ कै तहमा । उनको छातीमा गम्भीर समस्या देखियो । र, चार दिनको अस्पताल बसाइपछि उनले देह बिसाइन्, ६५ वर्षको उमेरमा २०५८, असोजमा । त्यो समय राजेश ‘सन्तानको माया’ फिल्मको सुटिङमा थिए, गोरखामा । हरेक दिन बिरामी आमाको स्वास्थ्यको खबर लिन्थे फोनमा । ‘तर, एक दिन आमाले शुद्धि हराएजसरी बोल्दा खंग्रङ भएँ,’ राजेश सम्झिन्छन् ।

झ्यालमा टोलाई बसेकी आमाको पीडादायी जिन्दगी देखेर राजेश आँतिन्थे । उनको तर्कनामा केही प्रश्न आउँथे/जान्थे– मेरी आमा बाँचिरहेको यो समय एक सामान्य प्रक्रिया मात्रै हो वा मृत्युको प्रतीक्षा ? आमाको जीवनसँगको यो संघर्ष केका लागि ? जीवनकै लागि हो वा मृत्युका लागि ? आमालाई किन दिन प्रिय छैन र रात बढी प्रिय छ ? किन आमासँग जीवनप्रति कुनै सकारात्मक भावना छैन ? आमाको अनुहारमा पहिलेजस्तै हाँसो किन फुल्दैन ? आमाको जीवन किन यति निरस छ ? रेनुको प्रस्थानपछि राजेशले सोचे– आमाले यो पीडाको भयानक सागरबाट मुक्ति पाइन् । तर, राजेशको मस्तिष्कमा केवल आमाले पिइरहेको चुरोटको धमिलो धूवाँको सम्झना मात्रै छैन, आमाका शारदीय समय पनि छन् ।

३६ वर्षअघि ‘युगदेखि युगसम्म’ देखि फिल्म यात्रा थालेका राजेश यी चार दशक रिलमा नायक बनेर खुब प्रख्यात भए । उनको अभिनय–मेनुमाथि विमर्श भइरहेकै छ सधैं, पक्ष–विपक्षमा । जे होस् निश्चित कालखण्डमा नेपाली सिनेमा दर्शकलाई उनका फिल्मले मन्त्रमुग्ध पारेकै हो । मान्छेहरू जिन्दगीको परिभाषा दिन जान्दछन्, तर जिन्दगी जिउन जान्दैनन् । राजेशलाई थाहा छैन उनकी आमाको परिभाषामा जिन्दगी के थियो । तर, उनी सोचिबस्छन्– उनकी आमाले आफ्नै चाहनामा सुन्दर र पूरापूर जिन्दगी बाँचिन् । राजेश यसो पछाडि फर्केर हेर्छन्– आमा हिँडेको बाटो, बडो प्रेमले सम्झना गर्छन् त्यो लामो यात्रा र उनका पाइलाका डोबहरूको ।

राजेशका बुबा चूडाबहादुर राजदूत थिए । धेरैजस्तो समय नेपाल बाहिरै बित्थ्यो, परिवार पनि सँगै लान्थे । जुन देश पुगे पनि आमा रेनुको पूरै ध्यान छोराछोरीको खानपान र शिक्षादीक्षामै केन्द्रित हुन्थ्यो । कडा मिजासका चूडाबहादुर अनुशासनमा विशेष जोड दिन्थे । बिगार गर्दा गाली त आमा पनि गर्थिन्, तर बुबाजत्ति होइन । केही सामान चाहिए बुबालाई भन्न सक्दैनथे राजेश, आमाको काखमा लुटपुटिन्थे । ‘आमाको हृदय उसै पनि कोमल हुन्छ त्यसैमाथि बच्चाहरूप्रति झनै कोमल भइदिँदो रहेछ, र हामी त्यही कोमलताको फाइदा उठाउन हर्दम तत्पर रहन्छौं,’ राजेश भन्छन्, ‘आमासँग अतिरिक्त ममतायुक्त सम्बन्ध भएकाले म अत्याधिक नजिक थिएँ । त्यसैले आमालाई धेरै नै मिस गरिरहेको हुन्छु ।’ रेनु तानसेनमा जन्मेकी थिइन्, राजेश पनि तानसेनकै मिसन अस्पतालमा र बुबा पनि तानसेनकै । उनीहरूबीच प्रेमविवाह भएको थियो । रेनु उतिबेलै प्रगतिशील विचारधाराकी थिइन्, उबेलाका कम्युनिस्ट नेता (पछि दरबार पसेका) केशजंग रायमाझीकी भान्जी । केशरजंगले भान्जीलाई लखनऊ लगेर पढाएका थिए । चूडाबहादुरचाहिँ बनारस पढ्थे । नेपाल आउँदा–जाँदा भेटेपछि प्रेम सुरु भएको थियो उनीहरूको । रेनु कडा अनुशासन भएको लखनऊ मुस्लिम कलेज पढ्थिन् । कलेजमा भर्ना हुँदै कसको नामबाट चिठी आउँछ, उसको नाम लेख्नुपर्थ्यो, त्योबाहेक अन्यको चिठी आए केरकार हुन्थ्यो, नातागोताको नाम मात्रै मान्य हुन्थ्यो ।

नृत्य निर्देशनमा मुम्बई र नेपालमा आफ्नो शालीन छवि बनाएका वसन्तजंग रायमाझी थिए, रेनुका मामाको छोरा । त्यसैले उनकै नामबाट चिठी आउने भनिएको थियो कलेजमा । र, चूडाबहादुर त्यही नामबाट प्रेमपत्र लेख्थे । ती चिठी पछिसम्मै सम्हालेर राखेकी थिइन् रेनुले । श्रीमान् बितेपछि रोगले च्यापेर अस्पताल भर्ना हुँदा उनको सिरानीमुनि तिनै चिठी थिए । चूडाबहादुरले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । रेनुको आईए पढ्दापढ्दै बिहे भएको थियो । बिहे हुँदा रेनु २०, चूडाबहादुर २२ वर्षका थिए । प्रेमविवाहको चलन थिएन, त्यसैले जमिनदार पृष्ठभूमिकी रेनुकी आमालाई त्यो स्वीकार्य हुने कुरै थिएन । राणाकालमै सुब्बा थिए, रेनुका बुबा । २८ वर्षकै छँदा आमाले पति वियोग खेपिन् । परिवारमै एक्ली छोरी रेनु, आमासँग जिद्दी गरेरै बिहे गरिन् ।

चूडाबहादुर र रेनु बिहेपछि पाल्पा बस्थे । पाल्पाको स्कुलमा हेडमास्टरबाट काम सुरु गरेका चूडाबहादुर राजेश जन्मिएसँगै परराष्ट्र मन्त्रालयमा जागिरे भए । राजेश १० महिनाको छँदा परिवार काठमाडौं सर्‍यो । त्यसपछिको राजेशको बाल्यकाल काठमाडौं र ज्यादातर विदेशमै बित्यो । काठमाडौं खिचापोखरीको छोटो समयको त्यो बाल्यकाल कुनै दरबारजस्तो घरमा बितेको सम्झन्छन् उनी । उच्च पदको कर्मचारी भएकाले उनका बुबाको साथ–संगत काठमाडौंका उच्च घराना र राणाहरूसँग थियो । खिचापोखरी बस्न थालेको केही समयमै चुडाबहादुरले कपुरधारामा घर बनाए । राजेश दुई बर्षको छँदा उनको परिवार आफ्नै घरमा सरेको थियो । २०४९ असोजमा पाकिस्तानका लागि नेपाली राजदूत नियुक्त भएका थिए चूडाबहादुर । पाकिस्तानको राजधानी इस्लामाबादमा राष्ट्रपति गुलाम इसाक खानसमक्ष पदको प्रमाणपत्र प्रस्तुत गरेर निवास फर्कंदा उनको गाडीमै हृदयाघात भई निधन भएको थियो, ५६ वर्षको उमेरमा । बुबाको मृत्युको सम्झनाले राजेश अक्सर एकतमासले घोरिन्छन् ।


‘युगदेखि युगसम्म’ मा अफर आउँदा भारत चण्डीगढमा पढिरहेका थिए राजेश । उनले फिल्म रोजे, तर त्यो रोजाइमा बुबा–आमा निकै दुःखी थिए । दुवैको इच्छाविपरीत थियो, राजेशको रोजाइ । ‘त्यसैले उहाँहरूको कुनै किसिमको पनि साथ–सहयोग हुने सम्भावना थिएन । उहाँहरूलाई लाग्थ्यो, फिल्ममा कुनै करियर छैन, कुनै भविष्य छैन । उहाँहरूको बुझाइमा यो क्षेत्र सौख वा नाच्ने गाउने पेसा मात्रै थियो, जसले मान्छेको समयको बर्बादी गर्छ,’ राजेश भन्छन् । फिल्म उद्योग बनेको थिएन, त्यसैले यसमा कलाकारले आफ्नो भविष्य देख्न सक्दैनथ्यो । अवस्था कस्तो थियो भने पहिलो फिल्मपछि दोस्रो कहिले खेलिन्छ ठेगान थिएन । राजेश केवल आफ्नै जिद्दीमा फिल्ममा आए– केही कौतुहलता, रोमाञ्चकता, उत्साह, उत्तेजना, थोरै डरको भारी बोकेर ।

त्यसपछि बुबासँग उनको बोलचालै बन्द भयो । आमालाई पनि फिल्म क्षेत्र मनपरेको थिएन, तर राजेशमाथि उनको प्रेम र स्नेहमा भने कमी आएन । उनले आफ्नो कर्तव्य छोडिनन् । कतिसम्म भने राजेश बाहिरको खाना मन पराउँदैनन् भन्ने थाहा पाएकी आमा हरदिन सुटिङमा जानुअघि छोराका लागि खाना प्याक गरिदिन्थिन् । ‘कामबाट खुसी नभए पनि मेरो ख्याल उसैगरी राख्नुहुन्थ्यो, आमाले आफ्नो धर्म छाड्नुभएन तर फिल्म वा मैले गरिरहेको कामबारे चासो पनि राख्नुभएन,’ राजेश पुराना दिनतिर पस्छन् । त्यसपछि राजेशलाई बुबा र आमाबारे एउटा अनुभूति बोध भयो– बुबा आफूले भनेजस्तो नहुँदा सम्बन्धप्रति उदासीन हुँदा रैछन्, आमाचाहिँ छोराछोरीको कामप्रति उदासीन भए पनि आफ्नो कर्तव्य र मातृत्व निरन्तर राख्दिरै’छिन् । अहिले सम्झँदा उनलाई लाग्छ, बुबाआमाको चासो उनकै भविष्यबारे थियो ।

‘बुबाले सोध्नुभएको थियो पटकपटक– फिल्ममा लागेर के गर्छस् ? नेपालमा पर्याप्त फिल्म नै बन्दैनन्, तेरो करियर कसरी बन्छ ?,’ राजेश भन्छन्, ‘तर, मैले फिल्म नै गर्छु भनेर जिद्दी गरिरहेपछि बुबा जे गर्छस् गर् भनेर रिसाउनुभयो । त्यसपछि उहाँले मसँग कहिल्यै केही पनि कुरै गर्नुभएन ।’ बोलचाल नभइरहेकै बेला चौथो फिल्मको सुटिङ दौरान राजेशले बुबा गुमाए । त्यसरी अन्तिम समयमा बुबासँग ‘कटअफ’ भएको पीडाको खत सधैंभरि उनको छातीमै छ ।

राजेशका दिदीहरूले डाक्टरी पढिरहेका थिए, छोरो जिन्दगीको लिकबाहिर हिँडेकोमा चिन्तित थियो पूरै परिवार । उनका तीनै जना दिदीबहिनी (रेखा, रुपा, रिता) डाक्टरी पेसामा छन् । ‘दिदीहरूले पनि मेरो कामबारे कुनै चासो व्यक्त गरेनन् । यति धेरै मानिस मेरा प्रशंसक हुँदा मेरै परिवारका सदस्यले मलाई कलाकारको रूपमा चिनेनन्,’ राजेश भन्छन् । तर, श्रीमान् बितेको दुई वर्षपछि पहिलोपटक आमाले राजेशको फिल्म ‘देउता’ हेरिन्– रसियन कल्चर सेन्टरको प्रिमियर शोमा । त्यसपछि भने उनी आफ्ना साथीहरूसँग हल पुग्न थालिन्, नायक छोरोको फिल्म हेर्न । फिल्मप्रति आमाको बुझाइ कसरी फेरियो ? राजेश भन्छन्, ‘उहाँहरू चलचित्रप्रति नै नकारात्मक हुनुहुन्थेन, मात्रै मेरो करियरलाई लिएर चिन्तित हुनुहुन्थ्यो । जब नेपाली चलचित्र क्षेत्रले उद्योगको रूप लिँदै गयो, मैले दिनकै १८ घण्टासम्म गरेको मिहिनेत देख्नुभयो आमाले, त्यसपछि उहाँलाई लाग्यो– छोरा ठीकै लाइनमा छ ।’ राजेशको फिल्ममाथि आमाको एउटै गुनासो हुन्थ्यो– द्वन्द्व दृश्यमा कति धेरै रगत ? राजेशको जिन्दगीमाथि पनि उनको एउटै गुनासो थियो– तँ विवाह कहिले गर्छस् ? तर, आमाको जीवनकालमा उनले विवाह गरेनन् ।


अधिकांश मान्छेझैं राजेशलाई पनि प्रिय छ– ‘आमा’ शब्द । आमा रेनुले पाँच सन्तान जन्माइन्– पहिले जन्मिए जुम्ल्याहा रेखा र रिता । त्यसपछि राजेश, रुपा र राकेश । बाल्यकालमा राजेश आमासँग कति नजिक थिए भने उनलाई कुनै बेला पनि छाड्दैनथे । ‘मैले पछिसम्मै आमालाई पछ्याइरहेँ,’ राजेश भन्छन् । आमाले साथै नलगे रुन्थे, भुइँमा खुट्टा बजार्थे, सारीको फुर्को समाइरहन्थे । रेनु कहिलेकाहीँ उनलाई छलेर पनि हिँड्थिन् । एक दिन त्यस्तै भयो । आमा र उनका साथीहरू विशेष कामले बाहिर निस्कँदै थिए, राजेश पहिल्यै तयार भएर मूलढोकामा उभिएका थिए । तर, उनलाई छलेर उनीहरू घर पछाडिको ढोकाबाट निस्किए । ‘आमाले मलाई छलेर हिँड्दा एकदमै रिक्त अनुभव भयो,’ राजेश सम्झन्छन् । त्यसपछि उनले क्रोधको आगोमा दराजको सिसामा हिर्काए । हातमा घाउ लाग्यो । त्यसैको खत अहिले उनको स्मृतिपट बनेको छ ।

राजेश खानेकुरामा औधि सौखिन थिए । आमाले ‘राजु’ भनेर बोलाउँदा उनको जवाफ हुन्थ्यो– के खान ? रेनु बजार जाँदा राजेश प्रायः सँगै जान्थे ।

आमा रेनु भन्थिन् राजेशलाई– तँ सानोमा ‘बदमास’ थिइस् । तर, त्यसलाई उनी ‘बदमासी’ होइन ‘चकचके स्वभावको’ भन्न रुचाउँछन् । अभिभावक र शिक्षकसँग सधैं ‘लभ एन्ड हेट’ को सम्बन्ध रह्यो– राजेशको । चार वर्षको छँदा राजेश बुबाआमासँगै दिल्लीमा थिए, नेपाली राजदूतावासमा । एक दिन राजेशले टेबलको छेउमा एउटा नोट पट्याएर राखेको देखे । कति रुपैयाँको नोट भन्ने थाहा थिएन, तर उनलाई ‘पैसा हो’ भन्ने थाहा भयो । ‘आइसक्रिम खान’ उनले त्यो पैसा बोकेर स्कुल गए । त्योबेला उनी केजीमा पढ्थे । कक्षामा खुल्दुली भइरह्यो र बाथरुम गए, पैसा त सधैं देखेभन्दा ठूलो र फरक थियो । सोचे– यो आफूले चलाउने पैसा होइन, पट्याएर गोजीमै राखे । घर पुगेपछि थाहा भयो, त्यो पैसा आमा रेनुको महिनाभरको घरखर्च थियो– सय रुपैयाँको नोट । पैसा हराएपछि ठूलै हल्लाखल्ला भएछ । कसैले नदेख्नेगरि राजेशले पैसा सुटुक्क जहाँ थियो, त्यहीँ राखिदिए । रेनुले सोधिन्– तैंले लगेको थिइस् ? उनले अक्मकाउँदै ‘होइन’ भने । उनलाई आमाले झापड हानिन् । पछि लागिरह्यो– बेकार पैसा चोरेछु । यस्ता ‘बदमासी’ अरू पनि छन् ।

सेन्ट जेभियर्समा कक्षा ८ मा पढ्थे राजेश । नवलपुरको मावलीमा दुई महिना बस्दा ट्र्याक्टर चलाउन सिकेका थिए । सन् १९६० को आसपास त्यतिबेला काठमाडौंमा औंलामा गन्न सकिने मानिससँग मात्रै गाडी हुन्थ्यो, राजेशको घरमा थियो । बुबालाई परराष्ट्र मन्त्रालयको गाडीले ल्याउँथ्यो/पुर्‍याउँथ्यो, आफ्नो गाडी घरमै रहन्थ्यो । एक दिन राजेशले गाडीको साँचो लुकाए । र, बुबा अफिस गएपछि आमासँग बिन्ती गरे– म गाडी चलाउँछु । कपुरधाराबाट एक लेनको बाटोमा गाडी त निकाले, तर खेतमा ट्र्याक्टर चलाएजस्तो सजिलो थिएन सहरमा गाडी चलाउनु । अफिस गएका पिता पाँच बजेसम्म फर्किंदैनन् भन्नेमा राजेश ढुक्क थिए, तर त्यस दिन कामविशेषले छिट्टै घर फर्किएछन् र बाटोमै जम्काभेट भयो । बुबा देखेर सात्तो उडेका राजेशले गाडी ब्याक गर्न खोजे, तर सकेनन् । बुबाकै ड्राइभरले ब्याक गरिदिए । बुबाले उनी र आमा दुवैलाई खुब गाली गरे । राजेशलाई त्यस दिन बुबाले थप्पड हानेको याद अझै छ ।

राजेश आफूले अभिनय गरेका प्रत्येक फिल्ममा आमाको चरित्रमा खेल्ने सबैमा ‘आफ्नै आमाको झल्को देख्थें’ भन्छन् । ‘त्यही भावनाले मलाई अभिनयमा सहयोग गरेको छ । आमाको भूमिका निभाउने सबै कलाकारमा आफ्नो आमाको छाया देखें । मेरा फिल्ममा सबैभन्दा धेरैपटक आमाको भूमिका गर्ने शुभद्रा अधिकारीमा म आफ्नी आमाको अनुहार देख्थें । उहाँ पनि उसैगरी मेरी आमाझैं औंलामा च्यापेर अत्यधिक चुरोट पिउनुहुन्थ्यो ।’ आमा सम्झँदा सधैं दुईवटा चित्र राजेशको आँखामा आउँछन्– पहिरनले चिटिक्क परेको आमाको सुन्दर छवि अनि जीवनको अन्तिम समयमा मृत्युसँग लडिरहेकी डिप्रेसनग्रस्त पहेंलिएकी आमा । ‘चेनस्मोकर भएपछि उहाँका औंलाहरू पहेंला भएका थिए । चुरोट नखान निकै सम्झाउँदा पनि उहाँले हामीलाई सुन्नुभएन, अनि उहाँलाई डिप्रेसन भएको पनि हामीलाई थाहै भएन,’ राजेश भन्छन् । राजेशका अनुसार, उनले आमा र बुबा नसम्झेको कुनै दिनै छैन । उनको घरको भित्तामा आफ्नो नायकत्व देखिने कुनै तस्बिर छैन । त्यहाँ छ– आमाबुबाको तस्बिर । उनको विचारमा नेपाली आमाहरूसँग त्याग र संघर्षका कथा धेरै छन्, सन्तानप्रतिको स्नेह धेरै छ, तर गुनासो छैन, प्रेम मात्रै छ, गुनासो नगरीकन जीवन घिसारिरहेका छन् आमाहरूले । ‘नेपाली चलचित्रले पनि आमाका यिनै विम्बहरूलाई नै प्रतिविम्बित गरिरहेको छ । संघर्ष, बलिदान सन्तानको प्रेमका खातिर मरिमेट्ने आमाहरूलाई चित्रण गरिरहेको छ । आम आमाहरूको चरित्र त्यस्तै नै छ,’ राजेश भन्छन् । उनकी आमा सधैं भन्थिन् रे– समयमै खाना खानु, जीवनशैलीप्रति ख्याल राख्नु, असहायप्रति करुणा भाव राख्नु । राजेशकी हजुरआमा कट्टर धार्मिक थिइन्, तर आमा उति थिइनन्– चाडबाड मान्थिन्, मन्दिर जान्थिन् । आमाको त्यो स्वभाव आफूमा पनि छ भन्छन् राजेश । ‘व्यक्तिसँग मनमुटाव नै भए पनि आफ्नो कर्तव्य निभाउनुपर्छ भन्ने आदर्श मैले आमाबाट सिकेको छु,’ राजेश भन्छन् । राजेशको बुझाइमा त्यसबेलाको आधुनिक र फेसेनेबल महिला थिइन् उनकी आमा । आमा त्यसबेला फेसनमा रहेको ५५५ चुरोट पिउँथिन्, तर रक्सी कहिल्यै पिइनन् । बुबा बेलाबेला पार्टीहरूमा रक्सी पिउँथे । बुबा चुरोट नपिउने, आमा रक्सी नपिउने । उनी खानेकुरा असाध्यै ध्यान दिएर छनोट गर्थिन् । मासुको सौखिन, तर सफासुग्घरमा साह्रै ध्यान दिन्थिन् । राजेश भन्छन्, ‘ममा पनि आमाको गुण धेरै छ । तर, बुबाको बानी भने त्यसको ठीक विपरीत थियो । उहाँ जहाँ जे पनि खानुहुन्थ्यो । उहाँको राम्रो गुण थियो– मन्त्रालयमा मन्त्रीदेखि चालकसम्म सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो । बुबाको बानीलाई मैले पनि अनुकरण गर्ने प्रयास गरेको छु ।’ राजेशको सपनामा आमाको अन्तिम क्षण बारम्बार दोहोरिन्छ, आमाले अन्तिम सास फेरिरहेको त्यो क्षण । उनलाई बेलाबेला लाग्छ रे, मैले आमाको जति हेरचाह गर्नुपर्थ्यो सायद गर्न सकिन कि ? जति समय दिनुपर्थ्यो उहाँलाई, त्यति दिन सकिनँ कि ?

कहिलेकाहीँ आमा–स्मृतिमा डुबिरहँदा उनी यतै–कतै आफैंसँगै छिन् भन्ने आभास भइरहन्छ राजेशलाई । त्यसैले घरमा एक्लै बसिरहनु कहिलेकाहीँ आमा–प्रतीक्षामा संघार कुर्नुझैं लाग्छ उनलाई । र, उनी आमाको नाममा साँझ बालेको बत्तीमा तेल थप्न छाड्दैनन्, आमा–स्मृतिमा मग्न हुन छाड्दैनन् । भन्छन्, ‘तिनै सम्झना त हुन्, जीवनका सहारा ।’

राजेशले देखेका छन् आफ्नी आमाको उदासी, दुःख, पीडा, खुसी, सुख, हाँसो, रुवाइ, आँसुका रङहरू । एकान्तमा आमा कल्पना गर्दा राजेश सधैं एउटै निष्कर्षमा पुग्छन्– आमा कोमल विम्ब हो, सन्तानको असीमित रहर र अगणित सपनाको खातिर आफैँ खिइँदै जाने, जो हुन्छिन्– शान्त, शुभ्र र स्निग्ध ।

प्रकाशित : चैत्र १३, २०८० १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?