कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्करे भीरमा महको सिकार

जेठ–असार मह काढ्ने सिजन हो, त्यसैले निम्रुङखोलाका ९ वटा पहरोमा भीरमौरीको मह काढ्न सारा गाउँले यति बेला जुटेका छन्
हरिराम उप्रेती

गोरखा — छङ्गाछुर भीरमा डोरीको सहायताले झुन्डिरहेका छोरा सूर्यबहादुर गुरुङलाई अक्करमा रहेको मौरीको गोलासम्म पुर्‍याउन डम्बरबहादुर निम्रुङखोला किनारमा बसेर चिच्याइरहेका थिए । जब सूर्यबहादुरले आफूलाई सन्तुलनमा राख्दै भीरमौरीको मह काढ्न थाले, डम्बरले हल्का सन्तोषको श्वास फेरे ।

अक्करे भीरमा महको सिकार

छोरा सूर्यसँग भीरको कप्चेरामा पुगी मह काढ्ने कला सिक्न नाति धनराज पनि निम्रुङखोला भीरमा डोरीबाट बनाइएको भर्‍याङमा अडिएर बसेका थिए ।

डम्बरले पनि बुबा कुम्सिङबाट मह काढ्ने कला सिकेका हुन् । भीरमौरीका लागि प्रख्यात निम्रुङखोलामा मह सिकारका लागि डम्बरको ७ पुस्ताले ख्याति कमाएको छ यहाँ । धार्चे गाउँपालिका–३ उहियास्थित खोर्लाका ७७ वर्षीय डम्बर यस क्षेत्रमा ‘मह सिकारका राजा’ (हनी हन्टिङ किङ) का रूपमा परिचित छन् । उनले जीवनको ५० वर्ष निम्रुङखोला भीर–भीरमा छाङ मारेर मह काढे । जुनसुकै अक्करको मौरी गोलासम्म पुग्ने डम्बर अहिले भने मह काढ्ने कला छोरानातिलाई सिकाइरहेका छन् । बुढ्यौली लागे पनि डम्बरको मह सिकारको जोसमा कुनै कमी छैन ।

‘भीरमा पुगिसकेपछि सानो तरिका भुलियो भने पनि अप्ठ्यारोमा परिन्छ,’ उनले भने, ‘तल बसेर जानेका कुरा भनिदिए मात्र पनि भीरमा झुन्डिनेले दुरुस्त गरिहाल्छन् ।’ मह काढ्न जानुपूर्व ‘मह सिकारी’ र ‘सहयोगी’ डम्बरका कुरा नसुनी पहरो चढ्दैनन् । ‘भीरमा झुन्डिने छोरा हो, नाति पनि यही कला सिक्न भीरमै छ,’ उनी भन्छन् ।

डम्बर आफ्नो सीप छोरानातिले सिकेकोमा फुरुंग छन् । ‘छोराले पहिल्यै जानिसके पनि नातिले यो वर्षबाट सिक्दै छ,’ उनले थपे । सूर्य भीरमौरीको मह काढ्ने मुख्य भूमिकामा पुगेको एक दशक भइसकेको छ । खच्चड व्यवसाय अँगाल्दै आएका सूर्य यतिखेर फुर्सद निकालेर सयौं मिटर अग्ला पहरोमा झुन्डिएर मह सिकार गर्न व्यस्त छन् । उनका कला हेर्न खोर्ला, सिङ्ला, उहियाबाट स्थानीय निम्रुङखोला पुग्छन् ।

डोरी टाँगेर बनाएको भर्‍याङमा दुई खुट्टा दुईतिर अड्याएर सूर्यबहादुरले मह सिकार गर्छन् । ज्यान नढलोस् भनेर डोरीको भर्‍याङमा बाँधिएको नाम्लोमा अडिन्छन् । ‘यो काम जोसुकैले गर्न सक्दैन, गाह्रो हुन्छ,’ उनले भने, ‘ब्यालेन्स मिलाउन नसके ज्यान दुख्छ, मौरीले टोके बिरामी परिन्छ ।’

धनराज भारतीय सेनामा कार्यरत छन् । मह सिकारको समयमा उनी कोलकाताबाट छुट्टी मिलाएर एक साताअघि गाउँ फर्किएका हुन् । बुबा सूर्य र हजुरबुबा डम्बरले जस्तै मह काढ्ने कला सिक्न धनराज यतिखेर निम्रुङखोला किनारमा तल्लीन छन् ।

‘छुट्टी मिलाएर पुर्खाको सीप सिकिहालौं भनेर आएको,’ २१ वर्षीय धनराजले भने, ‘मह सिकारका लागि बल र बुद्धि दुवै चाहिन्छ, डोरीमा कसरी अडिने, मह कसरी काढ्ने भन्ने सिक्दै छु ।’ उनले भारतीय सेनामा पनि ‘माउन्टेन कोर्स’ गरेका छन् । ‘घरमा बाबुबाजेको मह सिकारको कुरा सुन्न पाउँथें, पहाडमा डोरीबाट चढ्ने/उक्लने माउन्टेन कोर्स पनि गरें,’ उनले भने, ‘यो सबै चासोको कुरा हो, इच्छा भए जति दुःख भए पनि आनन्द आउँछ ।’

मह सिकारमा डम्बरबहादुरलाई साढे ४ दशकसम्म साथ दिएका स्थानीय सुनबहादुर गुरुङ उमेरले ७० लागे । मह सिकार हेर्न निम्रुङखोला पुगेका सुनबहादुर पछिल्लो पुस्ताको सक्रियता देखेर उत्साहित छन् । ‘म २५ वर्षको उमेरदेखि मह सिकारीको सहयोगी बनें, अहिले बूढो भएँ, बल पनि घट्यो,’ उनले भने, ‘अरूले मह सिकार गरेको हेर्दा अझै पनि भीर चढुँचढुँ लाग्छ ।’

परापूर्वदेखि भीरमौरीको मह काढ्ने चलन रहेको धार्चे गाउँपालिकाका उहिया, खोर्ला, लाप्राक, हुल्चोकलगायत गाउँमा यसपालिको सिजन सुरु भएको छ । मंगलबारबाट धार्चे–३ को निम्रुङखोला भीरमा मह सिकार सुरु भएको छ । ‘यो मह काढ्ने सिजन हो, जेठ र असारमा माहुरी बाहिर ननिस्की मह खाँदै बस्छ,’ डम्बरले थपे, ‘मौरीको गोलामा झोल छ कि छैन हेरेपछि जुन दिन काढे पनि हुन्छ ।’

यो वर्ष मह काढ्नुभन्दा एक सातादेखि स्थानीयको व्यस्तता बढ्यो । निगालोको चोयाबाट डोरी तयार गरेर खोर्ला गाउँवासीले १ सय २० वटा काठको डन्डी राखेर भर्‍याङ बनाए । मह काढ्न काठको पन्यूँ तयार पारे । मौरी लठ्याउन धूवाँ बनाउने झुम्रोको पोको (ब्लेम) तयार पारे । गाउँ भेलापछि मह सिकार गर्ने दिन यकिन गर्दै सोमबार कटुवालले मह काढ्न जानेबारे गाउँभरि सूचना गरे ।

मंगलबार निम्रुङखोलामा खोर्ला गाउँका प्रत्येक घरका स्थानीय जम्मा भइसकेका थिए । मह सिकारी तयारी अवस्थामा बसे । अप्पावर्गले प्रकृति पूजाका निम्ति ठूलो तीन वटा तोर्म र सानो ३७ वटा तोर्म राखेर पूजा गरे । एक पोम रक्सी चढाए । धूप बालेसँगै निम्रुङखोलामा मह सिकार सुरु भएको छ ।

‘यो पूजा गरेन भने लट्ठा चुँडिने, यहाँ आएका मान्छे दुःख बिमार हुन्छ भन्ने स्थानीय मान्यता छ,’ खोर्लाका डिलबहादुर गुरुङ भन्छन्, ‘देवीदेवता, सिमेभुमेलाई पूजा गरेर दुःखकष्ट नपरोस् भनेर कामना गर्छौं, यो प्रकृति पूजा हो ।’ निम्रुङखोला समुद्री सतहबाट २२ सय मिटर उचाइमा छ । यहाँका ९ वटा पहरोमा भीरमौरीका गोला छन् । ‘मह काढ्दै उकालो लाग्दा जेठ अन्तिम साता हुन्छ,’ डिलबहादुरले भने । मह काढ्ने युवालाई सघाउन झिसमिसे उज्यालोदेखि नै गाउँले दिनभर निम्रुङखोला आसपास रहन्छन् । सामूहिक रूपमा मह काढ्न खटिएका युवा डोरी समात्ने, डोकोलगायत आवश्यक सामग्री डोरीमा झुन्डाएर पुग्न दिने, मह ओसार्ने, निम्रुङखोलामा फड्के हाल्ने काममा खटिएका छन् ।

मह सिकारीलाई पालो दिन बसेका पृतमान गुरुङ भीरमौरीको मह काढ्ने सिजनलाई गाउँलेले उत्सवका रूपमा लिने बताए । ‘यहाँ मह काढ्न आउनेको आ–आफ्नै भूमिका हुन्छ, सिकारीलाई सहायता दिनेको पनि ठूलो जिम्मेवारी हुन्छ,’ उनले भने, ‘अब भीरमौरीको मह काढ्न आधुनिक विधि पनि अपनाउनुपर्छ ।’

निम्रुङखोलामा यतिखेर उहिया र खोर्लाका स्थानीय मौरी भगाउन सुकेको र हरियो स्याउला पोलेर धूवाँ उडाउने, सिकारीले झारेको चाकाबाट मह निकाल्ने काममा व्यस्त छन् । अक्करमा रहेको मौरीको गोलामा डोरीमा झुन्डिएका सिकारीले धूवाँ लगाएर मौरी भगाएर मह निकाल्ने गरिन्छ । अग्ला पहरोमा ज्यानको बाजी राखेर तुरलुंग झुन्डिएर मह काढ्न सिकारी तल्लीन छन् ।

मह काढिसकेपछि दामासाही रूपमा भाग लगाउने चलन रहेको खोर्ला गाउँकी हिममाया गुरुङ बताउँछिन् । ‘यो मह औषधिका रूपमा पनि प्रयोग हुन्छ,’ उनले भनिन्, ‘घरको एक जना आउनैपर्छ भन्ने चलन छ, मह सिकारको बेला इच्छाअनुसार हामी आउन छुटाउँदैनौं ।’ मह जम्मा भएपछि भाग लगाउँदा सिकारी र सहायकले अन्यको भन्दा केही बढी पाउँछन् । यसरी जम्मा भएको मह गाउँमा परम्परागत रूपमा औषधिका लागि प्रयोग गर्ने गरिएको खोर्लाका डिलबहादुर गुरुङले बताए । पेटको रोगीले भीरमौरीको मह प्रयोग गर्छन् ।

‘वर्षमा एकचोटि गोरुलाई भीरमौरीको मह खुवाउने प्रचलन छ, यो मह खुवाउँदा गोरु बलियो हुने, मोटाउने र गर्धनको भाग बलियो हुन्छ, यसो हुँदा हलो तान्न सक्छ, गाईगोरु निरोगी हुन्छन्,’ उनले भने, ‘पछिल्लो समय खच्चडलाई पनि भीरमौरीको मह खुवाउँछन् ।’ यसको अलावा व्यक्तिगत प्रयोजन र कोसेलीका रूपमा पनि पठाउने गरेका छन् ।

भीरमौरीको महले विभिन्न रोगव्याधि निको हुने स्थानीय बताउँछन् । धार्चे क्षेत्रको भीरमौरीको मह काढ्ने प्रचलनसँग पर्यटन भित्र्याउन प्रयत्न भइरहेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् । ‘यो पुस्तौंदेखि चलेको चलन हो, सिकारीले एकदमै जोखिम मोलेर मह काढेको देख्न सक्छौं, यो जोखिमलाई कम गर्न कसरी सकिन्छ भन्ने सोचिरहेका छौं,’ उनले भनिन्, ‘मह सिकारसँग जोडेर पर्यटक भित्र्याउने र चिनारीका रूपमा विकास गर्नेतर्फ पनि सोचिरहेका छौं ।’

प्रकाशित : जेष्ठ ५, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?