कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

र्‍याफ्टिङ गराउने रिसोर्ट मालिक

धादिङका उद्धव कँडेल एक दशकयता त्रिशूली नदीकेन्द्रित पर्यटन व्यवसायमा सक्रिय छन् । त्रिशूली नदी वारिपारि दुई रिसोर्ट सञ्चालन गर्ने उद्धव आफू भने पर्यटकलाई र्‍याफ्टिङ गराउनमै खटिरहेका देखिन्छन् ।

काठमाडौँ — जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्‍याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई नजिकबाट नियालेका छन् । तर त्यही दुःख, पीडा र गहिरो अनुभवले भने आज उनलाई सफल उद्यमीका रूपमा उभ्याएको छ । 

र्‍याफ्टिङ गराउने रिसोर्ट मालिक

धादिङ बेनीघाट बाहुनटारका उद्धव विद्यालयका कक्षाकोठामा कहिल्यै ‘उत्कृष्ट’ भनिएनन् । खासमा भएनन् पनि । शिक्षकका नजरमा उनी ‘अटेर विद्यार्थी’ थिए । ‘हाम्रो टोली नै थियो । कसैले भनेको पनि नमान्ने,’ उद्धवले स्कुले जीवन सम्झिए, ‘पढाइभन्दा बढी खोलामा पौडी खेल्ने ध्यान हुन्थ्यो । कैयौं पटक स्कुले झोला झाडीमा फालेर दिनभर पौडी खेलेर बिताएको अनुभव छ ।’

नेपालमा कक्षा १२ सम्मको अध्ययन सकेपछि उनी होटल म्यानेजमेन्टमा हाइयर डिप्लोमा पढ्न ग्रिस पुगे । त्यतिबेला उनले विदेशी भूमिमा खर्चको जोहो गर्न गाडी धोए । विभिन्न फ्याक्ट्रीमा श्रमिक भएर काम गरेको र बेकरीमा ब्रेड पोलेको अनुभव सँगालेका छन् । डोरीमा झुन्डिएर गगनचुम्बी घरका सिसा सफा गरेका दैनिकी ताजै छन् । ‘यी र यस्तै संघर्षले मलाई निरन्तर कर्ममा लाग्न प्रेरित गरेको हो,’ उद्धव भन्छन् ।

पढाइपछि २०१३ मा नेपाल फर्किए उद्धव । त्यसपछि बाल्यकालको सम्झनाले त्रिशूली नदी किनारमा भविष्य खोज्न लागे । रिभर गाइडको लाइसेन्स निकाले र एउटा डुंगा किनेर र्‍याफ्टिङ कम्पनी सुरु गरे । र्‍याफ्टिङ व्यवसाय सुरु गरेदेखि आजसम्म आइपुग्दा पानीसँग निकै पौंठेजोरी खेलेका छन् उद्धवले । सानो छँदा रमाइलोका लागि पानीमै दिन बिताउने उनी दशकयता भने पानीसँग जोडिएको व्यवसायमा तल्लीन छन् ।

एक दशकको अवधिमा उद्धवले आफ्नो व्यवसाय विस्तार पनि गरेका छन् । त्रिशूली किनारमा उनका दुई रिसोर्ट छन् । पृथ्वी राजमार्गपट्टि त्रिशूली रिभर साइड रिसोर्ट र पारिपट्टि त्रिशूली भिल्ला । तर यहाँसम्म आइपुग्नका लागि उद्धवले निकै पापड बेलेका छन् । दिनरात नभनीकन खटिएका छन् । ‘अहिले देखिने यी कुनै पनि संरचना एउटै योजनामा बनेका होइनन्,’ उनी भन्छन्, ‘नदी किनारमा पछिल्लो एक दशकमा उभिएका यी प्रत्येक संरचनाको छुट्टै कहानी छ ।’

खासमा र्‍याफ्टिङमार्फत व्यवसायको जग बसालेका हुन् उद्धवले । ‘त्यतिबेला र्‍याफ्टिङ गर्ने नेपालीको संख्या नगण्य थियो । व्यवसाय विदेशी पर्यटकमा निर्भर थियो । र, विदेशी पर्यटक ल्याउन हामी जस्ताका लागि सजिलो थिएन,’ उद्धवले विगत सम्झिए, ‘ग्राहक खोज्दै काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलका ट्राभल एजेन्सीकहाँ जानुपर्थ्यो । एउटा पर्यटक ल्याउन ठूलो कसरत गर्नुपर्थ्यो ।’ त्यसको केही वर्षपछि भने र्‍याफ्टिङ गर्ने आन्तरिक पर्यटकको संख्या बढेको उद्धव बताउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मार्केटिङ गर्न पनि सजिलो भयो । ‘माउथ पब्लिसिटी’ ले आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गयो,’ उद्धवले भने, ‘त्यसपछि व्यवसाय धान्न विदेशीमा मात्र भर पर्नु परेन ।’

र्‍याफ्टिङ व्यवसाय राम्रो हुन थालेपछि उनले डुंगा थपे । एकबाट दुई, तीन गर्दै अहिले १२ वटा डुंगा छन् । त्रिशूलीमा उनको कम्पनीबाट र्‍याफ्टिङमा रमाउने पर्यटकको संख्या सबैभन्दा ठूलो छ । उनको रिभरसाइट स्पा एन्ड रिट्रिट प्रालिले वार्षिक करिब पाँच हजार पर्यटकलाई र्‍याफ्टिङको स्वाद चखाउँदै आएको छ । र्‍याफ्टिङ व्यवसाय सोचेअनुसार चलेपछि उनले त्रिशूली किनारमा टेन्टमार्फत पर्यटकलाई सेवा दिन थाले । पर्यटक बढ्दै गएपछि कटेजको सुविधा थपे उनले ।

‘र्‍याफ्टिङका लागि आउनेले नदी किनारमा रात बिताउन थालेपछि रिसोर्ट, स्वीमिङ, डिजे र लाइभ म्युजिकसँगै सफारी टेन्ट थपेको हुँ,’ उद्धवले भने, ‘परिवारसहित आउनेको संख्या बढेपछि भिल्ला बनाउनुपर्छ भन्ने सोच पलाएको हो ।’ त्रिशूलीवारिको रिसोर्टमा २ सय ५० र पारिपट्टिको भिल्लामा ५७ जनाको क्षमता रहेको उद्धवले बताए ।

उद्धवका अनुसार भूकम्प र कोभिडयता भने व्यवसायमा केही सुस्तता आयो । तर ती घटनाले आफूलाई केही सिकाएको बताउँछन् उनी । ‘व्यवसाय गर्न पैसा भएर मात्रै नपुग्ने रहेछ, बलियो इच्छाशक्ति, सबैको साथ, सकारात्मक ऊर्जा मुख्य तत्त्व रहेछन्,’ उनी भन्छन्, ‘परिवारदेखि व्यावसायिक साझेदारसम्मको साथ मात्रै होइन आफूमा उक्त व्यवसायप्रतिको गहिरो ज्ञान भएन भने व्यवसायको धरातल कमजोर बन्ने रहेछ ।’

त्यसैले त कोभिडकालमै पनि नयाँ काम गरें । ‘राजमार्ग छेउको त्रिशूली रिसोर्टबाट पारिको त्रिशूली भिल्ला पुग्न जिपलाइन बनाएँ,’ उनले भने, ‘त्यहाँबाट फर्कन स्काई साइक्लिङ सुरु गरेँ ।’ भिल्ला निर्माणमा मात्रै १० करोड रुपैयाँभन्दा बढी लगानी गरेको उनको भनाइ छ । ‘नदीपारि भिल्ला बनाउन सबै सामान मानिसले बोकेरै लगेकाले ढुवानीमा मात्रै करिब दुई करोड खर्च भएको छ । जसका कारण निर्माण सम्पन्न गर्न पनि सोचेभन्दा बढी समय लाग्यो,’ उनले भने ।

व्यवसायको आकार बढेसँगै परिवारमा कामको बाँडफाँट गरेका छन् उद्धवले । आफू काठमाडौंमा रहेर मार्केटिङ र पब्लिक रिलेसनको काम गर्छन् भने श्रीमतीलाई फाइनान्सको जिम्मा दिएका छन् । व्यवसायको व्यवस्थापन जिम्मा बुबाको काँधमा छ । उद्धवको सक्रियता यतिमा मात्रै सीमित छैन । आफ्नो धरातल भुलेका छैनन् उनले । पाहुनाको संख्या बढी हुने शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन उनी आफैं काममा खटिन्छन् । खाना सर्भदेखि प्लेट उठाउँछन् ।


शनिबार र आइतबार दिनभर पर्यटकलाई डुंगा चढाएर आफैं र्‍याफ्टिङका लागि नदीभित्र पस्छन् । अन्य नदीमा भन्दा त्रिशूलीमा र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्न सहज भएको उद्धवको भनाइ छ । ‘यो पोखरा, काठमाडौं र चितवन जस्ता सहरदेखि नजिक छ,’ उनले भने, ‘सुरक्षाको दृष्टिले पनि त्रिशूलीमा र्‍याफ्टिङ गर्न खासै जोखिम पनि छैन ।’ उद्धव आफैं पनि आफ्नो व्यवसायबारे गहिरो ज्ञान राख्नेमा पर्छन् । उनलाई र्‍याफ्टिङ गाइडका रूपमा नदीको गति र उतारचढावसँगै डुंगा चलाउने प्राविधिक ज्ञान छ ।

पर्यटकका रुचि र आवश्यकतालाई सम्बोधन गर्न जानेका छन् । भान्सामा सम्भव भएसम्म स्थानीय उत्पादन प्रयोग गरिरहेका छन् । अनि, कम्पनीमा अधिकांश स्थानीयले रोजगारी पाएका छन् । हाल उनको कम्पनीमा ६० जनाभन्दा बढीले काम गर्छन् । पछिल्लो समय रात बिताउने पर्यटकको थप मनोरञ्जनका लागि स्थानीय चेपाङ, मगर र गुरुङ समुदायका कला र नृत्य देखाउने योजना पनि बनाइरहेको उद्धवले बताए ।

उमेरले भर्खरै ३५ टेकेका उद्धवको अधिकांश समय यतिबेला व्यवसाय विस्तारमै व्यतीत छ । तर उनी यो आफ्नो व्यस्त सक्रियतालाई केही समयपछि सुस्त बनाउन चाहन्छन् । र, त्यसको कारण हो, समाज सेवा । ‘अहिले बैंकको ऋण पनि तिर्नु छ । तर केही वर्षपछि भने आफूलाई समाज सेवामा केन्द्रित गर्ने योजना छ’ उनले भने । यद्यपि समाज सेवाका नाममा राजनीति नगर्नेमा उनी प्रस्ट छन् । ‘केही साथीहरूले राजनीतिमा आउनुपर्छ भन्छन् । तर राजनीति मेरा लागि होइन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘व्यवसाय गर्ने शैली र सोचले राजनीति गर्न सकिन्न भन्ने मलाई राम्रोसँग थाहा छ ।’

प्रकाशित : वैशाख ५, २०८१ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?