गायनमा जमेका महेश 

पछिल्लो समय आफूलाई चलेका गायकका रूपमा उभ्याउन सफल भएका छन् महेश काफ्ले । सिन्धुलीको दुधौलीका २७ वर्षीय काफ्ले स्टेजमा गीत गाउनुका साथै जीवनका कुरा गर्छन् । सकारात्मक सोचका उपाय र तनावबिना जिउने कलाबारे सन्देश छर्छन् । 

वैशाख ४, २०८१

सन्जु पौडेल

Mahesh who is stuck in singing

लुम्बिनी — गायन क्षेत्रमा क्रियाशील जोकोहीका लागि निकै पवित्र स्थान हो, स्टेज । तर त्यही स्टेज चढ्ने अधिकांश गायक/गायिकाको ध्यान भने दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्नु मात्रै रहन्छ । तर यस मामिलामा अन्य गायकभन्दा केही भिन्न छन् महेश काफ्ले । 

सिन्धुलीको दुधौली नगरपालिकाका २७ वर्षीय महेश स्टेजमा गीतसँगै जीवनका कुरा गर्छन् । सकारात्मक सोचका उपाय र तनावबिना जिउने कलाबारे सन्देश छर्छन् । यसो गर्दा आफूलाई ऊर्जा मिल्ने गरेको महेशको भनाइ छ । ‘हरेक दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुपर्छ’ उनी भन्छन् । 

त्यसो त महेश सानैदेखि सांगीतिक माहोलमा हुर्किए । बुवा भोजराज काफ्ले लोकगायक हुन् । महेश र उनका दाइ दिनेशलाई कलिलै उमेरदेखि बुवाले गीत सिकाउने र गाउन लगाउँथे । दाइ दिनेश काफ्लेले पनि बाल्यकालमै गाएको ‘आमा रातो साडी चुरा पोते’ बोलको गीतले निकै चर्चा बटुलेको थियो । दाइले गाएर हिट भएपछि महेशलाई पनि गाउने रहर जाग्यो । १२ वर्ष छँदा महेशले रेडियो नेपालमा स्वर परीक्षा दिए । त्यतिबेला नाम चलेका ठूला कलाकारलाई देखेका महेश भन्छन्, ‘उहाँहरूका गीत प्रत्यक्ष सुन्न पाउँदा मैले आफूलाई निकै भाग्यमानी ठानें ।’ २०६४ मा स्वर परीक्षा उत्तीर्ण भएपछि भने सांगीतिक दुनियाँमा अघि बढ्न उनलाई निकै सहज भयो । त्यसअघि पनि बाल कार्यक्रममा गीत गाउन उनी बुवासँग रेडियो नेपाल भने गइरहन्थे । 

०६२ पछि काठमाडौं पसेका महेश कोटेश्वरको सरस्वती माविमा कक्षा ६ मा भर्ना भए र त्यहीँबाट एसएलसी दिए । काठमाडौंमै बसेर क्याम्पस तहको अध्ययन सकाए । ‘सानिमा मार्देउ बरु बगाइदेउ पानीमा’ बोलको पहिलो गीत रेकर्ड गराए । गीतमा अभिनयसमेत गरेका महेशलाई क्यामेरा फेस गर्नसमेत सहज भयो त्यसपछि । पहिलो गीत गाएपछि उनी एकाएक हिट भएका रहेछन् । थाहा भने दसैं मनाउन घर गएपछि भयो । गीतले उनलाई बजार, पसल, रेडियो स्टेसनसम्म परिचित बनाएको थियो । मैले त बसमा चढ्दा, मान्छेले चिनेर बोलाउँदा बल्ल थाहा पाएँ,’ उनले भने, ‘गीत चल्ने कुरा, परिचित हुने कुरा भन्दा पनि गायन क्षेत्रमा अघि बढ्ने प्रयास थियो त्यो ।’ उक्त गीत युट्युबमा एक करोड ८० लाख पटक हेरिएको छ । महेशका लागि त्यो गीत भने उनका बुवाले लेखिदिएका थिए । तर त्यसपछि भने उनले आफैंले गीत लेखेर गाउन थाले । त्यसयता उनले धेरै गीत रेकर्ड गराए । केही चले, केही भने औसत देखिए । 

Mahesh who is stuck in singing

हुर्कंदै गर्दा स्वरमा परिवर्तन भयो । बुवाआमाले कक्षा १० सम्म राम्ररी अध्ययन गर्नुपर्ने बताएकाले उनले केही समय गीत गाउन रोके । क्याम्पस पढेर कक्षा १२ सक्दासम्म उनले गाएनन् । फेरि गाउने रहर थियो, तर उनी विश्वस्त थिएनन् । पढाइपछिको समयमा के गर्ने भन्ने प्रश्नको उत्तर पत्रकारिता रोजेर पाए । इमेज च्यानलमा महेशले खेल पत्रकारका रूपमा काम गरे । ‘म खेल रुचाउने, फलो गर्ने, यही बिटमा काम गर्छु भनेर लागें,’ उनले भने, ‘टिक्न सकिएन, गीत र गायनले तान्दै लग्यो, म त गायक नै बन्ने निधोमा पुगें ।’ 

लोक फ्युजनमा आफैंले लेख्ने, संगीत भर्ने, साथीलाई सुनाउने गर्दै मौका खोजिरहेका महेशले २०७५ सालमा युवावस्थाको पहिलो गीत गाए, नाच फिरिरी । गीतमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले अभिनय गरे । गीतले बालगायक महेशलाई युवा गायकका रूपमा फड्को मार्न सहजै सघाएको उनले बताए । आफ्नै शब्द रहेको गीतले राम्रो परिचय बनाइदिएपछि महेश लेख्न र संगीत भर्न हौसिँदै अघि बढे ।

 त्यसयता उनले गाएका ‘च्याँप्छु सिरानी’, ‘लजावती झार’, ‘तातो गोली’, ‘चाइना जापान’ लगायतका गीत दर्शक श्रोताले औधी रुचाए । ‘नाच फिरिरी’ मा आफूभन्दा धेरै अग्रज मेलिना राईसँग गाउन पाउँदा निकै खुसी लागेको बताउँछन् उनी । ‘बच्चा बेलादेखि कलाकार, स्टेज, अन्तर्वार्ता, भिजुवल सबै देख्न, काम गर्न पाएको मलाई यस कुराले बेग्लै आनन्द दिन्थ्यो, अहिले पनि सम्झनामा रमाइलो याद लाग्छ,’ उनले भने । महेश साथी सर्कलमा हँसाउने, रमाउने, गीत गाउने गर्छन् । त्यो सर्कलबाहेक उनलाई कामका सिलसिलामा शान्त बसेर 

गीत रच्न, संगीत सिर्जना गर्न, गाएर सुनाउन आफ्नो जीवनको प्राकृतिक पाटो जस्तो लाग्छ । महेश भन्छन्, ‘प्रकृतिले मलाई गीत नै गाउने बनाएको रहेछ, मैले अन्यत्र नधाएर ठीकै गरें, यो स्थानसम्म आउन पाउनु, चिनिनु र थप गर्छु भन्ने प्रेरणा मिल्नु अहोभाग्य हो ।’ 

बुवाबाट सिकेका उनी अहिले पनि बिहानमा घरमै रियाज गर्छन् । बुवाले उनको स्वर, गायनको बेलाबेलामा परीक्षा लिइरहेका हुन्छन् । मैले बुवालाई धेरै पटक अडिसन दिएको छु, हाँस्दै उनले भने, घरमै गुरु भएपछि सिकाइ र गराइ दुवै निखारियो । गीत गाउने सिलसिलामा अस्ट्रेलिया, थाइल्यान्ड, फिलिपिन्स पुगेका उनलाई त्यहाँका नेपालीले आफ्ना गीत सुन्दै देश सम्झिएको देख्दा भावुक बन्ने गरेको बताए । ‘नेपाली कलाकार पुग्दा, नेपालीले नेपाल नै ठीक, नेपाली संगीत नै बेस भन्ने प्रतिक्रिया दिँदा आफ्नो मनभित्र देशप्रेमको भावना ओतप्रोत हुने उनले बताए । म त्यो क्षणमा आफूलाई गाह्रो गरी सम्हाल्छु,’ उनले भने, ‘बाध्यताले विदेशिएका नेपाली नेपालमै रमाउने दिन आइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ 

महेशले गायनबाहेक मोडलिङलाई पनि बिस्तारै अघि बढाउन थालेका छन् । उनलाई हिरो बन्ने रहर सानैदेखिकै थियो । अहिले पनि उनी बेला छ, पछि हुन सकिन्छ भन्ने आभासमै रहेको बताउँछन् । मौका मिलेमा, पात्र जुरेमा त्यो काम गर्नसमेत पछि नपर्ने उनले बताए । एकपछि अर्को हिट गति गाइरहेका महेशले सांगीतिक यात्रामा रमाइलोसँगै चुनौती पनि उत्तिकै रहेको बताए । 

अबका दिनमा आफूले दर्शक श्रोताले चाहेजस्ता गीत गाउन सकिएला कि नसकिएला, कस्तो गीत, रचना ल्याउने भन्ने विषयमा धेरै घोत्लिने, अध्ययन गर्न खोज्ने, अग्रजसँग सोध्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेरो मनभित्र मैले बाहिर देखेका कति कुरा प्रश्न वा जिज्ञासाका रूपमा रहन्छन्, तिनै भावनालाई, तिनै विचारलाई म अबका दिनमा गीतका माध्यमबाट ल्याउन चाहन्छु ।’ त्यस्ता विषयले मात्र दर्शक, श्रोतासँगको कनेक्सनलाई जीवित राख्न सक्ने अवस्था आएको उनको बुझाइ छ । ‘मानिस कुनै पनि नकारात्मक कुराको भुमरीबाट निस्कन गीत सुनेर रमाउँछ,’ उनले भने, ‘त्यसका लागि गायक, रचनाकारले कस्ता गीत रचना गर्ने भन्ने विषय अबको चुनौती हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully