खाडीमा भन्दा चौंरी पालनमा आम्दानी

उच्च पहाडी क्षेत्रमा चौंरी पालन व्यवसायले राम्रो प्रतिफल दिन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू यसतर्फ आकर्षित भइरहेका छन्  

वैशाख ३, २०८१

लक्ष्मी गौतम

Income from breeding than in the bay

पाँचथर — यहाँको फालेलुङ–४ का फिपराज राईले विदेशमा दिन–रात नभनेर काम गर्दा चार वर्षमा चार लाख रुपैयाँ कमाएर फर्किए । सोही नगद लगानी गरेर यहाँ चौंरी पालन गर्दा एक वर्षमै त्यति रकम जम्मा गरेको उनले बताए ।

‘कतारमा मासिक ३० हजार रुपैयाँ तलब थियो । खर्च कटाएर बल्लतल्ल वर्षको एक लाख बच्थ्यो,’ उनले भने, ‘चार वर्षमा चार लाख जम्मा गरेर स्वदेश फर्किएँ । त्यही पैसा लगानी गरेर चौंरी किनेपछि फर्केर विदेश जान मन लागेन ।’

 २०७८ सालमा विदेशबाट फर्केर २० वटा चौंरी किनेर व्यवसाय सुरु गरेका उनले एक वर्षमै ४ लाख रुपैयाँ कमाइ भएपछि पछाडि फर्केर हेर्नु नपरेको सुनाए । ‘कतारमा चार वर्ष बसेर पसिना बगाएको अरूकै लागि रहेछ जस्तो लाग्न थालेको छ,’ उनले भने, ‘आफ्नै भूमिमा परिवारसँग बसेर काम गर्दा बेग्लै आनन्द मिलेको छ । पैसा पनि राम्रै कमाइरहेको छु ।’ उनले किनेका चौंरीको घिउ, छुर्पी, चीज र दूध बिक्री गर्दा खर्च कटाएर चार लाख बचेको हो । ‘अब चौंरीको संख्या बढाएर थप आम्दानी गर्ने तयारी गर्दै छु,’ उनले भने ।

Income from breeding than in the bayकतार र बहराइनमा गरी १२ वर्ष रोजगारी गरेर फर्केका फालेलुङ–४ का अजय केरुङले गत माघमा १२ चौंरी किनेर व्यवसाय सुरु गरेका छन् । चौंरी पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बुझेर यसमा लगानी गरेको उनले बताए । ‘अहिले त पैसासँगै खुसी पनि मिलेको छ,’ उनले भने, ‘गाउँपाखामा चौंरी डुलाउँदै पैसा फलाइरहेको छु ।’ मलेसियाको रोजगारीपश्चात् घर फर्केका सन्दीप राई र सन्तकुमार लिम्बूले पनि फालेलुङमै चौंरी पालन व्यवसाय सुरु गरिरहेका छन् । 

उच्च पहाडी क्षेत्रमा पर्ने फालौट, चारराते, सन्दकपुर, नेपालटार, चोयावन र चिवा भन्ज्याङ क्षेत्रमा मोटरबाटो पुगेपछि घिउ, छुर्पी, चीज निर्यात, दाना र खाद्य वस्तु आयात तथा औषधि उपचारको सुविधा सहज भएकाले चौंरी पालन व्यवसायमा युवा आकर्षण बढेको अजयले सुनाए ।

‘धेरै साथीले विदेशबाट फर्केर सहर बजारमा घरघडेरी जोडे, गाडी–घोडा किने,’ उनले भने, ‘उनीहरू ऐस–आराममै रमाएका होलान् । तर, यहाँका केही युवा भने चिसो ठाउँमा चौंरी पालेर परिवारका सदस्यसँगै दूधभात खानुलाई आलिसान महलको फ्रिजमा राखिएका कृत्रिम खानेकुराभन्दा ज्यादा स्वादिलो ठान्छन् ।’ युवाहरू पुस्तैनी व्यवसायमा फर्किंदा आनन्दको महसुस गरिरहेको पनि उनले सुनाए ।

फालेलुङ चौंरी पालन कृषक सञ्जालका अध्यक्ष थर्कमान गुरुङका अनुसार दशकअघिसम्म मानव बस्तीभन्दा टाढा चौंरी पाल्नु आफैंमा चुनौतीपूर्ण थियो । ‘चौंरी गोठसम्म सरकारी नजर पुग्दैनथ्यो, खाना, दाना र नाना बोकेरै गुजारा चलाउनुपर्थ्यो,’ उनले भने, ‘मानिस वा चौपाया बिरामी हुँदा उपचार गराउने अवस्था थिएन, अहिले गोठ–गोठमा गाडी आइपुगे, चौंरी पालक युवालाई सहयोग गर्न स्थानीय सरकार गोठसम्मै आइपुग्छ ।’ अहिले यहाँका युवाहरू विदेशबाट फर्केर सहर–बजारमा घरघडेरी जोड्नभन्दा गोठ किनेर चौंरी पाल्नेको संख्या थपिँदै गएको उनले सुनाए । 

फालेलुङ गाउँपालिकाले चौंरीको संरक्षणसँगै दूधजन्य वस्तुको प्रवर्द्धनका लागि २०७३ सालदेखि प्रत्येक नयाँ वर्षमा चौंरी पर्यटन महोत्सवको आयोजना गर्दै आएको छ । सँगसँगै पशु प्राविधिक खटाएर सरुवा र प्राणघातक रोगविरुद्ध खोप लगाउने, बिमा गराउने, प्रदेश र संघीय सरकारसँगै गैरसरकारी क्षेत्रसँग सहकार्य गर्दै चौंरी पालन व्यवसायलाई सहज बनाउन सहजीकरण गर्ने काम पनि गरिरहेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । स्थानीय सरकारले चौंरी संरक्षण र प्रवर्द्धनमा निरन्तर सात वर्षदेखि गरिरहेको लगानीले अहिले प्रतिफल दिन थालेको उनले सुनाए । 

Income from breeding than in the bayयहाँका खर्क र गोठसम्म मोटरबाटो पुगेपछि चौंरीको घिउ, छुर्पी, चीज र दूध बजारसम्म लैजान सजिलो भएको छ । नस्ल सुधारका लागि भुटानबाट याक ल्याएर किसानलाई वितरण गर्न थालिएको छ । ‘चौंरीको अध्ययन गर्न देशविदेशबाट शोधकर्ता आइपुग्न थालेका छन्, चौंरी महोत्सव हुँदा भारत र भुटानबाट पर्यटक आइपुग्छन्,’ पालिका अध्यक्ष थाम्सुहाङले भने, ‘पशु पालनबाट स्थानीयको अर्थोपार्जनसँगै सिङ्गो पालिका समृद्धितर्फ उन्मुख हुँदै छ ।’ 

अगुवा चौंरी पालक किसान चन्द्रलाल नेपाल सरकारी, गैरसरकारी र निजी क्षेत्रले समन्वय गरेर चौंरी प्रवर्द्धन गर्न थालिएपछि युवाको आकर्षण बढेको बताउँछन् । ‘२०७४ सालसम्म फालेलुङमा १८ वटा मात्रै गोठ थिए, अहिले गोठ संख्या बढेर ३२ पुगेको छ,’ उनले भने, ‘जिल्लामा याक र चौंरीको संख्या ७ सयबाट बढेर १ हजार ५० पुगिसकेको छ ।’ 

हिमालको पर्यायका रूपमा चिनिने चौंरी नेपाल, भुटान र तिब्बतसहित विश्वका ७ मुलुकमा मात्रै पाइन्छ । संघीय कृषि, सहकारी तथा पशुपक्षी मन्त्रालयको तथ्यांकअनुसार नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, ओखलढुंगा र सोलुखुम्बुसहितका उच्च पहाडी र हिमाली जिल्लामा चौंरी पालन गरिन्छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully