ध्यानमग्न तन्नेरी- फिचर - कान्तिपुर समाचार

ध्यानमग्न तन्नेरी

ध्यानले मानिसलाई कुलतबाट बाहिर निस्कन मात्र होइन, जीवनमा खुसी हुन र सफलता पछ्याउन पनि महत्त्वपूर्ण भूमिका निर्बाह गरेको युवाहरूको अनुभव
मधु शाही

काठमाडौँ — हातमा स्मार्ट फोन लिएर पब्जी खेलेरै दिनरात बिताउँथे, गुल्मीका सुमन भण्डारी । उनको साथी भनेकै मोबाइल थियो । पब्जीबिनाको दिन उनी सोच्न पनि सक्दैन थिए । दिनरात मोबाइलमा झुन्डिने सुमनलाई थाहा थियो, आफू डिजिटल लतमा फस्दै छु भन्ने । बानी हटाउन भने सकेका थिएनन् । कोरोनाको महामारीसँगै सुमनको जीवनले रूप फेर्‍यो । 

लकडाउनमा दिनभरि मोबाइल र पब्जी हेर्ने गर्दा उनको दैनिकी ध्वस्त थियो । त्यही लकडाउनमा उनले आफूले आफैंलाई डिजिटल कुलतबाट मुक्त हुने उपायको खोजी गर्न थाले । युट्युबमा सर्च गर्न थाले । अनि, उपायका रूपमा ध्यान र योगा सिक्ने उत्तम तरिका थाहा पाए । सुरुका केही दिन उनलाई मोबाइल टाढा राखेर आँखा चिम्लेर केहीबेर एकै ठाउँमा बस्न पनि निकै गाह्रो भयो । तर, प्रयास गर्न भने छाडेनन् । ‘एक मिनेटदेखि ध्यान बस्ने समय थप्दै गएँ,’ उनले आफ्नो अनुभव सुनाए, ‘बानी बस्दै गएपछि सहज हुँदै गयो ।’ अहिले उनी घण्टौं ध्यान गरेर एकै ठाउँमा स्थिर भएर बस्न सक्छन् । १९ वर्षे सुमन अब मोबाइलको लतमा छैनन् । ध्यान विधि अपनाएरै पब्जीबाट अलग भएको उनी बताउँछन् ।

उनको पढाइप्रति रुचि र ध्यान पनि बढ्दै गएको छ । सीए क्याप टूमा अध्ययनरत भण्डारीको जीवनशैली पहिलेको भन्दा शान्त र सकारात्मक भएको छ । ‘ध्यान अपनाएर पब्जीको लतबाट बँचें,’ उनी भन्छन्, ‘मेडिटेसन गर्न थालेपछि एकाग्रता पैदा भएको छ । नयाँ जीवन पाएको महसुस गरेको छु ।’

उनकै साथी अनुपम काफ्लेसमेत ध्यानप्रेमी हुन् । उनी कलेजको पढाइदेखि अलिकता फुर्सद निकालेर भए पनि प्राकृतिक दृश्यमा रमाउन रुचाउँछन् । विपश्यनामा जानु र ध्यान मग्न हुनु उनको रोजाइ नै हो । भौतिक संसार उनका लागि गौण छ । जतिसक्दो आफैंमा रमाउने कला ध्यानबाट सिकेको उनको अनुभूति छ ।

‘झनक्क रिसाउने बानी सुधार हुँदै गएको छ,’ उनी भन्छन्, ‘ध्यानले आफूले आफूलाई सम्झाउन बुझाउन सिकाउँछ ।’ दैनिक जीवनमा थुप्रै चुनौती आउँछन् । त्यस्ता चुनौतीसँग जुध्न शान्त मन आवश्यक पर्छ । युवा पुस्तामा बाहिरी दुनियाँको प्रभाव तत्कालै पर्ने भएकाले त्यहीअनुसार रियाक्ट गर्ने गर्छन् । ध्यान र आध्यात्मिक जीवनशैली अपनाउँदा सांसारिक दुनियाँमा सन्तुलन मिलाउन सहज हुने अनुपमको भनाइ छ । ‘सबै इगो डाउन गराउँछ, ध्यानले,’ उनी भन्छन् ।

सुमनले जस्तै, मोबाइलको लत व्यवस्थापन गर्न सिन्धुपाल्चोककी अलिशा बोहराले ध्यान विधि अपनाइन् । गाउँमा हुँदासम्म मोबाइल थिएन । पढाइ र परिवारसँग समय बित्यो । उनी काठमाडौं सहर उच्च शिक्षा पढ्न आएपछि हातमा मोबाइल पर्‍यो । सुरुमा चलाउन रमाइलो लाग्दै गयो । रमाइलो कतिबेला लत भयो उनलाई पत्तै भएन । मोबाइलमा इन्टरनेटको प्रयोगले राम्रा नराम्रा दुवै सूचना सुन्दै गर्दा अलिशा एकोहोरो जस्तै भइन् । पढ्न मन नलाग्ने भयो । उनी भन्छिन्, ‘पछि अति भयो भने विपश्यना जान थाले ।’ अचेल उनी मोबाइलमा भन्दा प्रकृतिको काखमा रमाउँछिन् । सहरतिरको होहल्ला छोडेर जंगल धाउँछिन् । चराचुरुंगीको आवाजमा लोभिन्छिन् । ‘प्रकृतिमा रमाउनु पनि एक प्रकारको ध्यानशैली हो,’ उनी थप्छिन्, ‘एकान्तप्रेमी हुनुको मजा नै बेग्लै छ ।’

भाँडा माझ्नु, भात पकाउनु, घरको सानोसानो काम गर्नुपर्दा मनोज बोहोराको दिमाग बिथोलिन्थ्यो । सिन्धुपाल्चोक घर भएका २८ वर्षीय मनोज २०वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । एक्लै बस्न थालेपछि त उनलाई आफूले खाना नपकाई सुखै भएन । रिसैरिसमा भाडा माझ्ने र भात पकाउने गर्थे । आक्रोश र आवेगले भरिएको युवा जोस थियो । उनी यो जोसलाई सकारात्मकतामा ढाल्न चाहल्थे । आठ वर्षअघिदेखि ध्यान सुरु गरेका उनी बिस्तारै ओशोबाट प्रभावित भए । ओशोको पुस्तक ‘करेज’, र ‘अवेरनेस’ पढेसँगै उनको अध्यात्मप्रतिको रुचि बढ्न थाल्यो । ध्यानी जीवन अपनाउन थालेपछि उनी सरल र हलुका भएका छन् । आइपर्ने हरेक परिस्थितिमा सहज रूपमा समाधान निकाल्न सक्ने भएका छन् । ‘खुसीमा नहौसिने, दुःखमा नआत्तिने भएको छु,’ उनी भन्छन्, ‘ध्यानले नै यस्तो स्थिर हुन सिकाएको हो ।’

बोहोराका विचारमा आँखा चिम्लेर एकै ठाउँमा बस्नु मात्रै ध्यान होइन । यसका थुप्रै आयाम छन् । उनले प्रायः छनोट गर्ने ध्यान विधि भनेको उन्मुक्त भाव पोख्ने कला पर्छ । कहिलेकाहीं कसैका सामु पोख्न नसकिने अनुभूति हुन्छ । ती भावनालाई आँसु, हाँसो वा चिच्याहटका माध्यमबाट बाहिर निकाल्न रुचाउँछन् उनी । यसले विचारको उकुसमुकुस शान्त पर्छ । मनोजले उकुसमुकसलाई ठेगान लगाउन धेरै पटक बन्द कोठामा एक्लै रोएका छन्, हाँसेका छन्, कराएका छन् । ‘क्याथरसिस’ नाम दिइएको यो ध्यानशैलीमा आफू रमाउने उनी बताउँछन् । उनी थप्छन्, ‘दिनभरिमा कमसेकम वन आवर मेडिटेसनलाई छुट्याएकै हुन्छु ।’

काठमाडौंको सिफलकी २४ वर्षीया दीपशिखा आचार्य आफूलाई विचारशून्य बनाउन चाहन्छिन् । यो अवस्थामा आउन ध्यान जरुरी छ । कुनै समय उनको दिमागमा थुप्रै कुरा सलबलाउँथे । राम्रा न राम्रा । जे विषयमा पनि बढी सोच्ने बानी थियो । धेरै सोच्दा मानसिक रूपले कमजोर महसुस हुन्थ्यो उनलाई । विचारको प्रभाव थम्थमाउन उनले ध्यान गर्न थालिन् । ‘जिवोरेस’ ध्यान र कहिलेकाहीं वातावरण अनुकूल पाउँदा ‘साइलेन्ट सिटिङ’ (मौन बस्ने) विधि अपनाउँछिन् उनी । आचार्यका अनुसार ध्यान वा योगको भाषामा ‘इनर साइलेन्ट क्रिएटिभिटीको मदर’ का रूपमा बुझिन्छ ।

केही काम सुरु गर्नुअघि केही मिनेट शान्त भएर बस्नु उचित हुन्छ । त्यसले कामको परिणाम सोचेभन्दा क्रिएटिभ तरिकाले गर्न सकिने उनको अनुभव छ । ध्यान र अध्यात्ममा लाग्नु भनेको भौतिक संसारबाट बाहिरिने संकेत भनी आलोचना हुने गरेको पनि सुनेकी छन् उनले । यद्यपि उनी यी विचारको प्रभावमा भने छैनन् । ‘आफ्नो कर्म छाडेर ध्यान रोज्ने होइन, ध्यानपूर्वक सबै कर्म गर्नु ध्यान हो,’ उनी भन्छिन्, ‘खाँदा, सुत्दा, उठ्दा र कार्यालयको काम गर्दासमेत होस सम्हाल्न सिकेकी छु ।’

कलंकी घर भएकी ३२ वर्षीया सुधा सुवेदीको प्रोफेसन ‘लाइफ कोच’ हो । जुनसुकै फिल्डको प्रोफेसन अपनाउने व्यक्तिको व्यक्तित्व निखार्न उनी सघाउँछिन् । प्रशिक्षणका क्रममा आफ्ना क्लाइन्टलाई योगा र ध्यान अनिवार्य बनाएकी छन् उनले । जीवन सन्तुलन राख्न सकिएन भने सबै दिनचर्या अस्तव्यस्त हुन्छ भन्ने उनको बुझाइ छ । ‘त्यसैले दैनिकीमा ध्यान अपनाउन जरुरी छ,’ उनी भन्छिन्, ‘आफूले आफूलाई चिन्नु ठूलो उपलब्धि हो, जुन ध्यानबाट मात्र सम्भव छ ।’

तस्बिरहरू : केशव थापा/कान्तिपुर

सुवेदीले आफूलाई ‘भिजुअलाइजेसन मेडिटेसन टेक्निक’ मन पर्ने बताइन् । सधैं कृतज्ञ भाव राख्ने, सकारात्मक सोच्ने र प्रफुल्लित हुने स्वभाव छ, उनको । यो गुण सजिलै आएको होइन । यसका लागि ध्यान साधनामा नै मग्न हुनुपर्ने बताउँछिन् उनी । १७ वर्षको उमेरदेखि योगा तथा ध्यान अनुसरण गरेकी उनले ध्यानले कुनै पनि कुलतबाट जोगाउने बताउँछिन् । ‘जीवनमा खुसी हुनु ठूलो कुरा हो, त्यसका लागि पनि त ध्यान आवश्यक छ,’ उनले भनिन् ।

प्रकाशित : माघ २६, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

पुलको पर्खाइमा मेलम्चीदेखि हेलम्बुसम्म

न पुनर्निर्माणका योजना आए न त विस्थापितले नयाँ ओत बनाउन घडेरी पाए, बाढीले पुरिएका घर खोतलेर पुरानै बासमा फर्किंदै
तीन दर्जन हाराहारी बजार र बस्तीका लागि खोला वारपार गर्न पुलको योजना अघि बढेन, स्थानीय तहसँग बजेट छैन, प्रदेश टालटुले योजना अघि सार्छ, संघले वास्तै गरेन
ऋषिराम पौड्याल

हेलम्बु, सिन्धुपाल्चोक — हिमाली भेग हेलम्बुको भेमाथाङदेखि मेलम्ची पुल बजार आसपासबाट बगाएको गाडी हिँड्ने र झोलुंगे पुलको जगका फलामे रडहरू देखिएका छन् । हेलम्बुको अम्बाथानस्थित मेलम्ची आयोजनाको हेडवर्क्स (मुहान क्षेत्रको संरचना) ढुंगा, माटो र बालुवाले पुरेको १० मिटर गेग्रान पन्छाउन हम्मे परेको छ । मेलम्ची आयोजनाले राखेको बेलिब्रिजको नामोनिसान छैन । 

  • भेमाथाङदेखि नाकोते, अम्बाथान, किउल, गणेश बगर, चनौटे, ग्याल्थुम, तारामाराङ हुँदै मुख्य बजार मेलम्चीसम्म करिब ४० किलोमिटरको दूरीमा आसपासका बजार र बस्तीका घर खण्डहर अवस्थामा देखिन्छन् । घरबारविहीन भएका हेलम्बु र मेलम्चीका पीडित झन्डै चार सय परिवारको पुनर्वासको व्यवस्था हुन सकेको छैन । बगर बनेको हजारौं रोपनी जमिनमा ठूला चट्टान र बालुवाको थुप्रो छ । खाद्यान्नको उर्वर भूमिका रूपमा चिनिने फाँटहरू मरुभूमि जस्तै देखिन्छ । खोलामा केही डोजर र एक्स्काभेटर कुदिरहेको देखिन्छ । नदी किनारमा ग्याबिन वाल लगाउँदै गरेको देखिन्छ ।
  • यी डेढ वर्षअघि बाढीपहिरोले क्षति गरेको पछिल्लो अवस्थाको प्रतिनिधि उदाहरण हुन् । ०७८ असारमा हिमाली स्थान भेमाथाङबाट बगेको पहिरोले ठूलो धनजनको क्षति गरेको थियो । उक्त क्षेत्रमा जनजीवन सामान्य बन्दै छ तर पुनर्निर्माण र व्यवस्थापनको ठोस योजना बन्न सकेको छैन । भत्केका संरचनाका भग्नावशेषहरू लथालिंग छ भने बाढीले ढालेका घरहरू जस्ताको तस्तै देखिन्छन् । उक्त बाढीमा हेलम्बुका ५ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता भएका थिए ।

मृत्यु भएका र हराइरहेकाहरू मेलम्ची आयोजनाका कामदार कर्मचारी ८ जनामध्ये २ नेपालीसहित ५ जना विदेशीको अवस्था अझै अज्ञात छ । दुई जना चिनियाँ र एक जना भारतीय मृत फेला परेका थिए । बस्तीमा बाढीले पुर्‍याएको क्षतिको विवरण लामो छ । तर, पुनर्निर्माणको ठोस योजना छैन । कतिपय बस्तीमा ढलेका घर जस्ताको तस्तै छ भने बगाएको पक्की पुल निर्माण सुरु नै भएको छैन । हेलम्बुका १ सय ५० र मेलम्चीमा २ सय ४४ परिवार बाढीबाट प्रभावित लाभाग्राही सूचीमा छन् । खोला तरेर आउजाउ गर्न सधैंको सास्ती छ ।

अकल्पनीय क्षतिको वर्ष दिन बित्यो । भौतिक संरचनाको निर्माणको अवस्था भने अझै दयनीय छ । मेलम्ची नगरपालिका नजिकै खोलामा ग्याबिन जाली लगाइरहेको देखिन्छ । तर, नगरपालिकालाई कुन निकायबाट कति रकम र कस्तो योजना प्राप्त भएको छ आधिकारिक जानकारी छैन । सबैले आआफ्नै ढंगले काम गरेकाले सरोकारवाला निकायबीच समन्वय छैन ।

कहाँ बनाउने घर ?

प्रभावित लाभग्राहीमध्ये हेलम्बुका बासिन्दामा कतिपयको एक टुक्रा पनि जमिन छैन । सबै बाढीले बगाएपछि पीडित परिवारले घर बनाउन घडेरी पाएका छैनन् । हेलम्बु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईका अनुसार घडेरी नभएपछि कतिपय परिवारले काठमाडौंमा जाने अनुमति माग्ने गरेका छन् । संघ, प्रदेश र स्थानीय तहले घर बनाउन प्रदान गर्ने पाँच लाख बुझेर काठमाडौं जाने गरेको उनले बताए । ‘घर बनाउने घडेरी सबै बाढीले बगाएको छ,’ भट्टराईले भने, ‘घर बनाउने जग्गा पाएनौं भन्ने गुनासो आउने गरेको छ ।’

मेलम्ची खोलाको तिम्बुस्थित बाढीले बगाएको पक्की पुलको दुवैतिरको बाँकी भाग ।तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

हेलम्बुको तिम्बु, किउल, गणेशबगर, चनौटेलगायतका मेलम्ची खोला किनारका बासिन्दा घरबारविहीन छन् । उनीहरूले पुनः ओत उभ्याउने ठाउँ पाएका छैनन् । मेलम्ची नगरपालिकाका २ सय ४४ परिवार पीडितको सूचीमा छन् । सरकारबाट सहयोग नभएपछि उनीहरूमध्ये कतिपयले बाढीले पुरेकै घरलाई पुनः मर्मत गरेका छन् । स्थानीय सरकारले खोलाको किनारमा घर नबनाउन सुझाव दिए पनि अन्यत्र घडेरी नभएकाले पहिलेकै ठाउँ रोज्न बाध्य भएका हुन् । मेलम्चीमा बाढीले पुरेका घरबाट बालुवा पन्छाएर बस्न थालिएको छ । मेलम्ची नगरप्रमुख आइतमान तामाङ पुरानै घडेरीमा बस्न थालेकालाई रोक्न विकल्प नभएको बताए । रोकेर विकल्प दिन नसकेपछि पुरिएका घर सफा गर्न र खोलाबाट जोगाउने संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गरेको उनले सुनाए ।

आइपुगेन छुट्याएको बजेट

बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रका लागि संघीय सरकारले बजेटमा ठगेको छ । निर्णय हुन्छ, घोषणा पनि हुन्छ तर बजेट निकासा भएर जिल्ला पुग्दैन । अघिल्लो आर्थिक वर्षको फागुनमा मन्त्रिपरिषद्ले छुट्याएको २५ करोड बजेटका आधारमा टेन्डर आह्वान गरेर सडकमा रिटेनिङ वाल लगाउन सुरु गरिएको थियो । तर, करिब ८ करोड मात्र बजेट प्राप्त भएपछि काम रोक्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

चरिकोट सडक डिभिजनका प्रमुख अर्जुन सुवालले ठेकेदारले गरेको कामको भुक्तानी दिने पैसा उपलब्ध नभएपछि काम रोक्नुपर्ने अवस्था आएको हो । ‘सडक विभागले अर्थ मन्त्रालयलाई मन्त्रिपरिषद्बाट निर्णय भएअनुसारको बजेट माग गरिरहेको छ तर निकासा भइसकेको छैन,’ उनले भने । सडकको रिटेनिङ र ग्याबिन वाल लगाउने योजना छ । बजेट अभावमा कामले निरन्तरता पाउन सकेको छैन । मेलम्चीबाट खानेपानी मुहान अम्बाथानसम्मको झन्डै २४ किमि क्षेत्रमा पुल तथा सडक ठाउँ–ठाउँमा बिग्रेको छ । हेलम्बुको तिपेनीदेखि अम्बाथानसम्मको सडक सबै बगरमा परिणत भएको छ । अहिले बगरलाई सडक बनाएर यातायात सञ्चालन गरिएको छ । वर्षात् लागेपछि उक्त बगरमा खोला हिँड्ने स्थानीय बताउँछन् । उक्त सडक बन्द भएपछि मेलम्ची मुहान र स्थानीय बस्तीमा जान सकिँदैन ।

पक्की पुल बगाएपछि तिम्बुस्थित मेलम्ची खोलामा स्थानीयले बनाएको बाँसको अस्थायी पुल । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

बाढीले हेलम्बु–मेलम्ची खण्डअन्तर्गत मेलम्ची पुलबजार, खाल्डे, तिपेनी, तिम्बुलगायत स्थानका पक्की पुल बगाएको थियो । मेलम्ची आयोजनाको मुख्य प्रवेश माग मेलम्ची–हेलम्बु सडकको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गए पनि सरकारी चासो नदेखिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । ‘बाढीपहिरोका बेला जसरी आश्वासन बाँड्ने काम भयो त्यसको कार्यान्वयन भएन,’ उनले भने । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार पाँचवटा पक्की पुल बनाउनुपर्छ ।

तीमध्ये तिपेनीमा बेलिब्रिज राखिसकिएको छ । तर अन्य पुलहरू बनाउन सुरु भएको छैन । मेलम्ची बजारको खोलामा बेलिब्रिज राख्न गरेको टेन्डर प्रक्रिया अघि बढेको छैन । पहिलो टेन्डरमा निर्माण व्यवसायीले भाग नै नलिएकाले प्रक्रिया अघि नबढेको महानिर्देशक थापाले बताए । ‘पुनः टेन्डर आह्वान गर्छौं । मेलम्चीमा बेलिब्रिज नै बनाउने हो, पक्की पुल बन्न केही समय कुर्नुपर्छ,’ उनले भने ।

सधैं आश्वासन नै आश्वासन

बाढीपहिरो गएको बेला आकाशमा हेलिकोप्टर उढाउनेको प्रतिस्पर्धा नै चल्ने गर्छ । प्रधानमन्त्रीदेखि सांसद र नेताहरू घटनास्थल पुगेकै हुन्छन् । राहत प्याकेजदेखि पुनर्वाससम्मका योजना सुनाउने गरिन्छ । यो चलन मुलुकभर एक प्रकारको संस्कृतिकै रूपमा स्थापित भएको छ । ०७८ असारको बाढीपहिरोले क्षति भएको हेलम्बु–मेलम्ची र पाँचपोखरीमा उद्धार र पुनःस्थापनामा कमी नहुने घोषणा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै गरेका थिए ।

बाढीले बगर बनाएको आफ्नो जमिन हेरिरहेका हेलम्बुको किउलका किसान ।तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

बाढीको २६ दिनमा घटनास्थल पुगेर पुनर्निर्माणमा कुनै कमी हुन नदिने आश्वास दिएका थिए । वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल, तत्कालीन सहरी विकास र स्वास्थ्य तथा जनसंख्यामन्त्री हेलिकोप्टरमै घटनास्थल पुगेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनका गृहमन्त्री बालकृष्ण खाँणले पनि घटनास्थल पुगेर पुनर्निर्माण र पुनर्वासको ग्यारेन्टी गरेका थिए ।

सबैजसो दलका नेता घटनास्थल आएर आश्वासन मात्रै बाँडेको गुनासो स्थानीयको छ । मेलम्चीका नगरप्रमुख आइतमान तामाङ संघ र प्रदेश सरकारले बाढीपहिरो पीडितका पक्षमा योजना र बजेट व्यवस्थापन नगरेको बताउँछन् । ‘प्रदेशबाट साना सडक र ग्याबिन वालको सानो–सानो काम भइरहेको छ । संघले के गरेको छ थाहा छैन,’ उनले भने । बजेट विनियोजन गर्ने आवश्वास दिए पनि काम नभएको गुनासो उनको छ ।

ह्युमपाइप राख्दै झिक्दै

बाढीपहिरोले धेरैवटा पुल बगायो, बाटो बगायो । वर्ष बित्यो पुनर्निर्माण भएको छैन । सदरमुकाम चौतारालगायत ६ स्थानीय तहका बासिन्दाले आउजाउमा खोला तर्नै पर्छ तर पुल छैनन् । खोलामा बहाव कम हुँदा ह्युमपाइप राखेर आउजाउको व्यवस्था गरिन्छ । वर्षामा त्यो बगेर जान्छ । केही ठाउँ अस्थायी काम भएका छन् तर स्थानीय तहसँग प्रदेश र संघका योजनाको तालमेल छैन ।

मेलम्ची पुल बजारको पक्की पुल बगाउँदा इन्द्रावती खोलाबाट आउजाउ बन्द छ । हिउँदमा खोलामा ह्युमपाइप राखेर अस्थायी व्यवस्था गरे पनि सामान्य वर्षा हुनासाथ बगाउने गर्छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल हिउँदमा ह्युमपाइप राख्ने र वर्षात्मा झिक्ने कामका लागि मात्र बर्सेनि झन्डै करोड खर्च हुने गरेको बताउँछन् ।

प्रदेश सरकारले आफ्नो खर्चमा बाढीपहिरो क्षेत्रमा ग्याबिन वाल र रिटेनिङ वाल लगाइरहेको छ । टेन्डरमार्फत गरेको कामको बारेमा स्थानीय तहलाई भने जानकारी छैन । ‘कुनै समस्या पर्‍यो भने काम गरिरहेका निर्माण व्यवसायी सम्पर्क आउने गरे पनि सरकारी निकायबाट आधिकारिक जानकारी नगरपालिकालाई दिइएको छैन,’ अधिकृत धितालले भने, ‘नगरपालिकाले ठूलो बजेट खर्च गर्न नसक्ने भएकाले वर्षात्मा बस्ती जोगाउने काममा मात्र केन्द्रित छ । पुल बनेन भने अब वर्षात्मा ह्युमपाइप झिक्नुपर्छ ।’

प्रकाशित : माघ २६, २०७९ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×