घरविहीनको बिचल्ली- फिचर - कान्तिपुर समाचार

घरविहीनको बिचल्ली

भरत जर्घामगर

लहान — दलित परिवारलाई सुरक्षित बसोबासका लागि जनता आवास कार्यक्रमअन्तर्गत सात महिनाअघि सरकारले सुरु गरेको घर निर्माण अलपत्र छ । दलित परिवार घरविहीनको अवस्थामा छ ।

कठ्यांगि्रंदो जाडामा त्रिपाल र फुसको झुपडीमुनि बस्न बाध्य छन्, उनीहरू । सिरहा पडरिया र औरहीका दलित परिवार घरविहीन अवस्थामा रहेका हुन् ।  
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले पडरियामा ५० र औरहीमा ५० घर निर्माण थालेको थियो । एक महिनामै निर्माण भइसक्नुपर्ने भनिए पनि सात महिना बितिसक्दा पनि घर नबन्दा उनीहरू निराश छन् ।
'झुपडी नै भए पनि सबै परिवारलाई बस्न, सुत्न पुग्ने पर्याप्त ठाउँ थियो, त्यो पनि भत्काइदियो,' पडरिया ९ सदाय टोलकी ठकनी सदाय मुसहरले भनिन्, 'महिना दिनमै घर बनाइदिन्छौं भनेपछि पक्की घरमा बस्न पाइने भयौं भनेर खुसीले घर भत्कायौं तर सात महिना बितिसक्दा पनि तयार भएन ।'
सात महिनामा डेढ फिट मात्र इँटाको गारो बनाएर छोडिदिएपछि त्यही ठाउँमा झुपडी बनाएर ठकनीको सात जनाको परिवार बसिरहेको छ । 'दुई छोरा, दुई छोरी, सासूसहित हामी दम्पती झुपडीमा कोचिएर बस्न बाध्य छौं,' उनले गुनासो पोखिन्, 'वषर्ामा समेत बिजोग भोग्यौं, जाडामा समेत बिजोग भोगिरहेका छौं ।' वरिपरि खुला भएको झुपडीमा बस्दै आएका उनीहरूले जाडामा बालबच्चालाई जोगाउन मुस्किल भएको सुनाए । अधिकांश सुकुम्बासी रहेका उनीहरू दैनिक ज्याला मजदुरी गरी गुजारा गर्छन् । अधिकांश परिवारको बसोबासका लागि पाँच धुर मात्र जग्गा छ ।
ठकनी मात्र होइन, सदाय मुसहर टोलका १३ घरपरिवारले अहिले यही नियति भोगिरहनुपरेको छ । कसैले त्रिपाल टाँगेर रात गुजारिरहेका छन् भने कोही झुपडीमै कोचिएर रात काट्न बाध्य छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले जनता आवास कार्यक्रमअन्तर्गत स्थानीय निर्माण समितिमार्फत इँटा, सिमेन्ट, काठ र बाँस प्रयोग गरी दुई कोठा र बरन्डामा भान्सा गरी असारदेखि दलित घर निर्माण सुरु गरिएको थियो ।
तर, रकम अभाव भएको भन्दै बीचैमा काम रोकेको दलित मुसहर समुदायको आरोप छ । त्यतिखेर एउटा घर १ लाख ३९ हजार २ सय ८० रुपैयाँ लागतमा निर्माण इस्टिमेट गरिएको थियो । 'घरसँगै १० हजार रुपैयाँमा शौचालयसमेत निर्माण गर्ने योजना थियो,' स्थानीय निर्माण समितिका पवनीदेवीले भनिन्, 'तर काम रोकेका बारेमा जानकारी पाइनँ, पैसा सकिएको छ भनेको मात्र आफूले थाहा पाएको छु ।'
जनता आवास कार्यक्रमअन्तर्गत चमार, मुसहर, पासमान, डोम, खत्वे, तत्मा, धोबी, कामी, दमाईं, सार्कीलगायतका दलित र गैरदलितमध्ये विपन्न मुस्लिमलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०६६/६७ देखि सिरहा, सप्तरी र कपिलवस्तुमा तीन हजार दलित परिवारलाई घर निर्माण गर्न सुरु गरेको थियो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर प्रदीपकुमार सिंहले असार महिनाभरिमा घर निर्माण गरिसक्नुपर्ने भए पनि बीचमा आर्थिक समस्याका कारण निर्माण कार्य रोकिए पनि सुचारु गरिने बताए ।  
 
 
 

प्रकाशित : पुस १३, २०७० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

अभिभावकले छाडेपछि बिचल्ली

कान्तिपुर संवाददाता

रुकुम — बाबु जेलमा र आमा अर्को विवाह गरेपछि खोलागाउँका चार बालबालिका अलपत्र परेका छन् ।उनीहरू माग्दै गुजारा गरिरहेका छन् ।

बाबु जेलमा र आमा अर्को विवाह गरेपछि खोलागाउँका चार बालबालिका अलपत्र परेका छन् ।
उनीहरू माग्दै गुजारा गरिरहेका छन् । खोलागाउँ-९ मानकोटका प्रेम परियार तीन वर्षदेखि जेलमा छन् । उनी जेल परेको एक वर्ष नबित्दै पत्नीले अर्कैसँग विवाह गरेपछि बालबालिकाहरू बिचल्लीमा परेका हुन् । आमाबाबु नभएपछि १२ वर्षका मनोज, १० वर्षकी रुपा, ८ वर्षका दीपक र ६ वर्षका रवि परियार बिचल्लीमा छन् । बालबालिकाहरूले दैनिक माग्दै गुजारा निर्वाह गरिरहेको आफन्त गणेश परियारले बताए । 'गाउँघरमा माग्दै गुजारा गरिरहेका छन्,' उनले भने, 'जाडामा बालबालिकाहरूको बिचल्ली भएको छ ।' उनीहरूका बाबु प्रेम कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा सजाय भोगिरहेका छन् ।
चारैजना बालबालिका पढाइबाट वञ्चित भएका छन् । मागेरै गुजारा चलाउने उनीहरूले राम्ररी खानसमेत नपाएको परियारले बताए । स्वास्थ्य समस्या आउँदा गाउँलेहरूले चन्दा संकलन गरी उपचार गर्ने गरेका छन् । उनीहरू बस्दै आएको घर वषर्ातको समयमा भत्किएपछि नजिकका विद्यालय तथा सार्वजनिक स्थानमा सुत्ने गरेका छन् । 'कहिलेकाहीं आफन्तको घरमा सुत्छन्, कहिल्यै भने बाहिरै सुत्ने गरेका छन्,' उनले भने, 'उनीहरूको पालनपोषण तथा पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो ।'

प्रकाशित : पुस १३, २०७० १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×