छाउपडी मुक्त गाउँ

राजबहादुर शाही

सोबा (मुगु) — रोवा गाविसको सोबा गाउँलाई जिल्लाकै पहिलो छाउपडी मुक्त गाउँ घोषणा गरिएको छ । १ सय १५ घरधुरी भएको उक्त गाउँकी ३४ वर्षीय असौजी बुढाले कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथाको अन्त्य घोषणा भएपछि औधी खुसी लागेको बताइन् ।

'छाउपडी हुदा ओढार, गाई गोरु र भेडी गोठमा बस्नुपर्दा महिलाहरूलाई निक्कै सास्ती हुने गरेको थियो,' उनले भनिन्, 'यो प्रथाबाट बल्ल मुक्त भयौं । महिनावारी भएका बेला तातो घर भित्रै सुत्न पाइने भयो ।'
पहिला छुई (महिनावारी) हुँदा चिसो ओढार र अँध्यारो गोठमा बसेर दिन बित्ने गरेकोमा अब त्यसो नहुने आशा ६१ वर्षीया नानी बुढाले ब्यक्त गरिन् । 'अहिलेका छोरी-चेली भाग्यमानी रहेछन् । छुई प्रथा हटाए,' उनले भनिन् ।नेरा निमाविको मैदानमा आयोजित छाउपडी प्रथा मुक्त घोषणा सभामा सोबा गाउँका १२ वर्षीया बालिकादेखि ७१ वर्षका वृद्धा सहभागी थिए । सरकारले छाउपडी प्रथा उन्मुलन निर्देशिका ०६४ जारी गरे पनि कार्यान्वयन नभएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष विष्णुमाया भामले बताइन् । 'अब महिला मुक्तिको निम्ति छाउपडीविरुद्धको अभियान सञ्चालन गर्नुपर्छ,' उनले भनिन् ।
घोषणासभामा सहभागी महिलाले छाउपडी प्रथाविरुद्धको खुसियालीमा देउडा गीत गाएर रमाइलो मनाए । कसैले पुरानो चाँचरी, मागल, झोडा र चम्मा नाच देखाए । कलिला बालिकाले सडक नाटक देखाएका थिए । धामीझाँक्रीले छोरी-बुहारी जो पनि महिनावारी भएमा घर भित्रै बसाल्ने, खानामा फरक व्यवहार नगर्ने, सरसफाइ गर्न लगाउने लगायतका प्रतिबद्धता जनाएका छन् ।
'म ठूलो गुरु देवताको धामी हुँ । म नै छाउपडी प्रथाविरुद्धको निगरानी समितिमा पदाधिकारी बसेको छु,' धर्मदत्त बुढाले भने, 'अब जसले छुई महिलालाई घर बाहिर राख्छन् । उसैलाई १ हजार रुपैयाँ जरिवाना गरिन्छ ।'
छाउपडी प्रथाविरुद्ध पहिचानका निम्ति सोबा गाउँको अधिकांश घरधुरीमा पहिलो आकारको झन्डा राखिएको छ । अब सोबा गाउँमा जाने महिलाले महिनावारी हुँदा घरभित्र बस्न पाउने छन् । सोबागाउँबासीको माग अनुसार नमुनाका रूपमा छाउपडी प्रथा मुक्त गाउँ घोषणा गरेको र केही महिनापछि सिङ्गो गाविसलाई नै छाउपडी मुक्त घोषणा गरिने संस्थाका अध्यक्ष मीनबहादुर रावलले बताए । हिमाली ग्रामिण युवा समाज विकास केन्द्रको पहलमा मुक्त घोषणा भएको हो ।


 

प्रकाशित : पुस १३, २०७० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?