यस वर्ष धान उत्पादन बढ्यो

सुरज कुँवर

काठमाडौ — अर्थतन्त्रमा करिब ७ प्रतिशत योगदान दिने मुख्य अन्नबाली धानको उत्पादन गत वर्षको दाँजोमा १२ प्रतिशत बढेको छ । गत वर्ष ४५ लाख टन फलेको धान यस पटक समयमै भएको सक्रिय मनसुन र कृषि प्रविधिलगायत कारण ५० लाख ४७ हजार टन फलेको छ ।


कृषि विकास मन्त्रालय मातहतको कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखाले शुक्रबार मुख्य चारथरी बर्खे बालीको प्रारम्भिक प्रक्षेपण सार्वजनिक गर्दै यस वर्ष ५ लाख ४२ हजार टन बढी धान फलेको बताएको हो । विश्लेषकहरूका अनुसार धानमा भएको उक्त वृद्धिले अर्थतन्त्रलाई शून्य दशमलव ५ प्रतिशत विन्दुले बढाउने छ । 'समग्र अर्थतन्त्रमा शून्य दशमलव ८५ प्रतिशतसम्म सकारात्मक प्रभाव पार्नेछ,' अर्थविद् केशव आचार्यले भने । औसत बजार मूल्यअनुसार यो १ खर्ब ९ अर्ब ३६ करोड मूल्य बराबरको उत्पादन हो ।
महाशाखाका उपसचिव हेमराज रेग्मीका अनुसार प्रतिक्विन्टल धानको औसत बजार मूल्य २१ सय ६७ रुपैयाँ मान्ने हो भने यस वर्ष देशभर उत्पादन भएको धान १ खर्ब ९ अर्ब ३६ करोड मूल्य बराबर हो । गत वर्षको दाँजोमा चालू वर्षको धान उत्पादन १२ प्रतिशत बढी भए पनि त्यसअघिको वर्षको दाँजोमा २५ हजार २ सय टन कम फलेको हो । त्यस वर्ष ५० लाख ७२ हजार टन धान फलेको थियो । यस वर्ष धान उत्पादन बढ्नुको मुख्य कारण मनसुन भनिएको छ । 'यसपालिको धान उत्पादन राम्रो हो, वृद्धि हुनुमा कृषिमा प्रविधिको प्रयोग बढ्दै जानु, सक्रिय मनसुनलगायत हुन्,' महाशाखा प्रमुख सहसचिव विजयकुमार मल्लिकले भने । महाशाखाका अनुसार नेपालका मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा धान रोपिन्छ । यस वर्ष मुलुकभरका ५० जिल्लामा धान उत्पादन बढेको छ भने १५ जिल्लामा गत वर्षकै हाराहारी धान उत्पादन भएको महाशाखाले जनाएको छ । 'चिनियाँ हाइबि्रड धान डिवाइ-६९ मा देखा परेको घाँटी मरुवा रोगबाट प्रभावित काभ्रे र भक्तपुरको धान उत्पादन घटेको छैन, गत वर्षकै हाराहारीमा छ,' उपसचिव रेग्मीले भने ।
काभ्रे र भक्तपुरको १ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको धान घाँटी मरुवा (नेक ब्लास्ट) रोगबाट प्रभावित भएपछि त्यहाँका पीडित किसानलाई मन्त्रालयले २ करोड ७ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । त्यसैगरी खडेरीबाट तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका केही कृषक परिवार र क्षेत्रमा पनि असर देखिएको र १० वटा जिल्लामा उत्पादन घटेको छ । यस वर्ष धान लगाइएको क्षेत्रफल १४ लाख ८६ हजार हेक्टर थियो । यो गत वर्षको दाँजोमा चार दशमलव ७ प्रतिशत बढी हो ।
गत वर्ष खडेरीका कारण १४ लाख २० हजार हेक्टरमा मात्रै धान रोपिएको थियो । यस वर्ष प्राकृतिक प्रकोपहरू सुख्खा, पहिरो, बाढी, हुरीबतास, असिना, डुबानबाट प्रभावित किसानहरूलाई २ करोड १७ लाख क्षतिपूर्ति बाँडिएको थियो । यस वर्ष कृषि सामग्री कम्पनीले रसायनिक र जैविकसमेत गरी देशभर १ लाख ८० हजार टन मल बिक्री गरेको थियो । यो अघिल्लो वर्षको दाँजोमा ३६ हजार टन बढी बिक्री थियो ।  
उत्पादनको दाँजोमा धानपछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन गत वर्षको दाँजोमा १० प्रतिशतले वृद्धि भई २२ लाख ८३ हजार टन पुगेको छ । गत वर्ष २० लाख ७८ हजार टन मकै उत्पादन भएको थियो ।
प्रारम्भिक अनुमानअनुसार यस वर्ष देशभर मकै लगाइएको क्षेत्रफल पनि ६ प्रतिशतले वृद्धि भई ५४ हजार हेक्टर पुगेको छ । महाशाखाले उन्नत बीउ र सक्रिय मनसुनलाई नै उत्पादन बढाउने कारण भनेको छ ।
मुख्य बालीकै सूचीमा पर्ने कोदोको उत्पादन साढे २ प्रतिशतले घटेको छ । यस वर्ष कोदोको उत्पादन ३ लाख ४ हजार टन मात्रै पुगेको छ । कोदो बालीमा उन्नत बीउ, मल, प्रविधिको प्रयोग गर्ने चलन नभएकाले उत्पादकत्व वृद्धि हुन नसकेको भनिएको छ ।
केही हिमाली क्षेत्रको मुख्य खाद्यान्न बालीका रूपमा रहेको फापरको उत्पादन १० हजार ३ सय टन पुग्ने अनुमान छ । क्षेत्रफलका हिसाबले गत वर्षको दाँजोमा २ प्रतिशतले कमी आई १० हजार ५ सय हेक्टरमा लगाइएको थियो । मन्त्रालयले फापरलाई दुई वर्षदेखि राष्ट्रिय तथ्यांकमा समेट्दै आएको छ ।
मन्त्रालयले मातहतका जिल्ला कार्यालयबाट संकलन गर्ने साप्ताहिक बालीनालीको स्थिति, बाली कटानी, क्षेत्रगत निरीक्षण र प्राविधिक समितिहरूको रायसुझावका आधारमा प्रमुख बालीहरूको उत्पादन, क्षेत्रफल र उत्पादकत्व प्रक्षेपण गर्छ ।



 

प्रकाशित : पुस १३, २०७० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?