कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुको अस्पताल !

काठमाडौं — घाइते र रोगी वन्यजन्तुको उपचारका लागि नेपालमा पहिलोपल्ट 'वन्यजन्तु अस्पताल' बन्ने भएको छ । अमेरिकाको 'डेन्भर जु'को सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले चितवनको सौराहामा वन्यजन्तु अस्पताल निर्माण गर्ने भएको हो ।


वन्यजन्तु अस्पताल नहुँदा घाइते तथा दुर्लभ वन्यजन्तुको उपचार हुन सकेको छैन । सदर चिडियाखाना र जैविक विविधता संरक्षण केन्द्र, सौराहा र चितवन निकुञ्जमा वन्यजन्तुको उपचार गर्न सक्ने सीमित विशेषज्ञहरू भने छन् ।
अस्पताल बनाउन लाग्ने करिब डेढ करोड रुपैयाँ डेन्भर जुले सहयोग गर्ने सहमति भएको छ । नेपाल भ्रमणमा आएका डेन्भर जुका पदाधिकारी र कोष पदाधिकारीबीच यसै साता अस्पताल बनाउनेसम्बन्धी सहमति भएको हो ।
'वन्यजन्तु अस्पताल निर्माणमा सहयोग गर्ने मोटामोटी सहमति भएको छ,' कोषका सदस्यसचिव गोविन्द गजुरेलले कान्तिपुरसित भने, 'डेढ करोड लाग्ने प्रारम्भिक अनुमान छ ।' अस्पताल निर्माणार्थ लाग्ने लागत सहयोग सम्बन्धमा छिट्टै कोष र डेन्भर जुबीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । जुका उपाध्यक्ष बे्रन अउकोनलगायतको टोलीले यसै साता कोषका सदस्यसचिव गजुरेललगायतका पदाधिकारीसँग छलफल गरेको थियो ।
कोषले नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकल ई. मालिनोस्की, अमेरिकाको 'ह्युमेनिक सोसाइटी इन्टरनेसनल'का अध्यक्ष एन्डि्रयु रोवान र अन्तर्राष्ट्रिय सल्लाहकार तथा कोषका पूर्वपदाधिकारी हेमन्द मिश्रलगायतसँग पनि सहयोगबारे छलफल गरेको थियो ।
यसैबीच, विगतमा कोषलाई आर्थिक सहयोग जुटाउन सक्रिय भूमिका खेलका कोषका अमेरिका, युके, प|mान्स, डेनमार्क र जापान च्याप्टरसँग सम्बन्ध विस्तार गर्न पहल सुरु गरेको छ । 'विदेशमा रहेका विभिन्न सहयोगी च्याप्टरसँग टुटेको सम्बन्धलाई फेरि गाँस्ने र सहयोग जुटाउने पहल थालेको छु' गजुरेलले भने, 'निष्क्रिय रहेका कोषका विदेशी कार्यसमिति सदस्यहरूसँग पनि छलफल सुरु भएको छ ।'
तत्कालीन 'महेन्द्र प्रकृति संरक्षण कोष' छँदा संयुक्त राज्य अमेरिका, बेलायत, जापान र डेनमार्क च्याप्टरले कोषका कार्यक्रम सञ्चालनार्थ निकै आर्थिक सहयोग जुटाउने गरेका थिए । तर पछि विस्तारै सहयोग घट्न थालेको थियो । 'स्रोत जुटाउन विगतमा सहयोग गर्ने निकायसँग सम्बन्ध विस्तार गर्न सकिए नयाँ कार्यक्रम सञ्चालनमा सहयोग पुग्नेछ,' उनले भने ।


प्रकाशित : पुस १२, २०७० ००:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?