कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मयूर नाच जोगाउँदै युवा

विप्लव महर्जन

सल्यान — गाउँका सबै युवा खाडी भासिएपछि बाग्चौर नगरपालिका–९ लिउरेबारी सल्यानका रुद्रबहादुर ओली पनि बिदेसिने सोचमा थिए । भर्खर कक्षा १२ को अध्ययन सकेका उनी खाडी मुलुक जानकै लागि राहदानी बनाउन खलंगा पुगे । त्यसक्रममा उनले बाटोमा केही युवाले मयूर नाच नाचिरहेको देखे । विभिन्न अवसरमा त्यसरी नाचेबापत उनीहरूले राम्रै पैसा पनि पाउँथे । त्यही देखेपछि उनले बिदेसिने सोच त्यागेर मयूर नाच सिक्न थाले । 

मयूर नाच जोगाउँदै युवा

नाच सिक्दै र ठाउँठाउँमा नाच्दै जाँदा उनको प्रदर्शन उत्कृष्ट ठहरियो । करिब एक दशकदेखि मयूर नाचमा लागेका उनी अहिले मयूर नाच समूहको नाइके हुन् । पछिल्लो समय भने उनले मयूर नाच टोलीको समन्वय गर्नुका साथै सिक्न चाहनेलाई समेत सिकाउँदै पनि आएका छन् । लिउरेबारीकै ४७ वर्षीय प्रेमबहादुर खड्काले मयूर नाच नाच्न थालेको दुई दशक नाघ्यो । माओवादी द्वन्द्वका बेला सामूहिक नाचमा प्रतिबन्ध लगाइएपछि उनले करिब एक दशक नाच्न पाएनन् ।

२०६३ मा गणतन्त्र स्थापनापछि पुनः नाच्न थालेका उनी निकै सक्रिय छन् । पछिल्लो समय त उनले युवाहरूलाई मयूर नाचतर्फ आकर्षित गर्ने गरेका छन् । हुन त सल्यानका बाग्चौर नगरपालिका र छत्रेश्वरी तथा कुमाख गाउँपालिकामा विगतदेखि नै मयूर नाच नाच्ने गरिन्थ्यो । विगतमा भने पाको उमेर समूहकाले नाच नाच्ने गरेका थिए । तर माओवादी द्वन्द्वपछि बूढापाकाले नाच्न छाडेपछि नाच नै संकटमा परेको थियो ।


पूजाआजा, व्रतबन्ध, विवाह तथा विभिन्न सार्वजनिक कार्यक्रममा नाचिने नाच लोप हुने जोखिम बढेपछि भने बाग्चौर, छत्रेश्वरी र कुमाखका युवा सक्रिय भएका हुन् । संस्कृतिको जगेर्ना पनि हुने र ठाउँठाउँमा गएर प्रदर्शन गरेबापत राम्रो आम्दानी हुने भएपछि नाच देखाउन सक्रिय बनको ओली बताउँछन् । जसका कारण मयूर नाच अहिले पुरानै लयमा फर्किएको छ । विगतमा एक/दुई स्थानमा मात्र सीमित मयूर नाचमा अहिले जिल्लाका धेरै स्थानमा देख्न पाइएको छ ।

करिब डेढ दशकदेखि मयूर नाचमा सक्रिय २३ वर्षीय हर्कबहादुर ओली आफ्नै गाउँघरमा मात्र नभई जिल्लाका विभिन्न स्थान र जिल्लाबाहिर गएर पनि नाच्न थालेको बताउँछन् । उनका अनुसार नाचका लागि चाहिने मयूरको प्वाख जिल्लामा नपाइएपछि रुकुमको सिम्रुतुबाट किनेर ल्याएको उनले बताए । १५ जनाको टोलीका लागि आवश्यक सामग्री तयार पार्दा तीन लाख खर्च भएको उनले बताए । ‘पुर्खाले नाच्न थालेको नाचलाई ओझेलमा पर्न दिनु हुँदैन,’ उनी भन्छन्, ‘नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर स्कुले विद्यार्थीलाई पनि सिकाउने गरिएको छ ।’ युवाकै सक्रियताका कारण मयूर नाच बन्गाडी टप्पा र सोरठी जस्तै जिल्लाको पहिचान बन्न पुगेको छ । तर नाच संरक्षणका लागि सम्बन्धित निकायले भने चासो नदेखाएको ओलीको गुनासो छ ।


प्रकाशित : जेष्ठ १२, २०८१ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?