कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

'गाउँ आएको बाटो'को ट्रेलर सार्वजनिक

काठमाडौँ — विश्वका प्रमुख महोत्सव टोरोन्टो, बुसान पुगेको फिल्म 'गाउँ आएको बाटो'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राई देखिएका छन् । 

'गाउँ आएको बाटो'को ट्रेलर सार्वजनिक

यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी वजन घटाएका थिए । फिल्ममा अनुबन्धित हुनु अगावै निर्देशक सुब्बाले दयालाई १५ केजी घटाउन लगाएका थिए । तर, २ महिनाको अवधिमा आफूले १२ केजी मात्र घटाउन सफल भएको अभिनेता दयाहाङले ट्रेलर सार्वनजिक कार्यक्रममा सुनाए । निर्देशक सुब्बा दयाले यो फिल्ममा परिपक्व अभिनय गरेको दाबी गर्छन् ।

करिअरकै उत्कृष्ट फिल्म दाबी गर्दै आइरहेका दयाहाङ आफूले वर्षौं अगाडिदेखि 'गाउँ आएको बाटो' बन्ने चर्चा सुनेको तर, त्यसमा कुनै दिन आफूले नै अभिनय गर्न पाउला भन्ने नचिताएको समेत बताउँछन् । उनी विश्व बजार पुगेको यस किसिमको फिल्मलाई घरेलु दर्शकले साथ दिनुपर्ने पनि बताउँछन् । 'विश्व बजारमा उपस्थिति जनाएको यस्तो किसिमको फिल्मको कथ्य शैली ठिक छ भन्नका लागि पनि यो फिल्म घरेलु बजारमा चल्नुपर्छ,' उनले भने ।

'यो फिल्म बन्दैछ, त्यसलाई नवीन सुब्बाले निर्देशन गर्नुहुँदैछ भन्ने कुरा त पहिल्यैदेखि सुनेको । तर यो फिल्ममा म नै देखिन पाउँछु भन्ने त कहिल्यै सोचेको थिएन,'दयाहाङले ट्रेलर सार्वजनिक कार्यक्रममा भने । फिल्ममा दयासँगै जोडी बनेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई यो फिल्ममा अभिनय गर्दा आफूले सिक्न पाएको बताइन् । अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । फिल्ममा सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् ।

फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ । यो फिल्म जेठ २५ देखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?