कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

मध्यरात जब निस्किए नरसिंह

ललितपुर — पाटनको कृष्ण मन्दिरको डबली । पाँच कुनामा ठुल्ठूला चिराग बलिरहेका छन् । कोही चिरागमा तेल थप्दै छन्, कोही पोङ्गा, खीं, ता: र झयाली बजाउँदै छन् । चारैतिरबाट ठेलमठेल हजारौंको भीडबीच भने नरसिंह अवतारको व्यग्र प्रतीक्षा भइरहेको छ ।

मध्यरात जब निस्किए नरसिंह

बिस्तारै भीडको स्वर चर्को बन्दै गयो । अधिकांशले सुसेली मार्दै सिद्धिनरसिंहको दरबारतिर हेरे । तैपनि दरबारको ढोका खुलेन । अघिल्तिर डबलीमा भने हिरण्यकश्यपु आफ्ना छोरा प्रल्हादप्रति क्रूद्ध बन्दै छ । जतिपटक भने पनि प्रल्हादले विष्णुको पुकार गर्न छोडेका छैनन् । हिरण्यकश्यपु झन् क्रूर बन्दै छ । भीडले फेरि नरसिंह पुकार्न थाल्छ । तर, दरबारको ढोका अझै खुल्दैन ।


बुधबार मध्यराति साढे १२ बजे जब सिद्धिनरसिंह मल्लको सुनौलो ढोका खुल्छ, मुकुन्डोधारी नरसिंह निस्किन्छन् र सीधै डबलीतिर दौडिन्छन् । मानिस नरसिंहलाई छुन तँछाडमछाड गर्न थाल्छन् । कोही सेल्फी स्टिक तेस्याउँछन् भीडमै । केही बेरमै डबलीमा हिरण्यकश्यपु र नरसिंहबीच घमासान युद्ध चल्छ । परम्परागत बाजाको तालमा खुट्टा र हातको लय मिलाउँदै झन्डै आधा घण्टा घम्साघम्सी चलेपछि हिरण्यकश्यपु पराजित हुन्छ ।


बुधबार मध्यरात ललितपुरस्थित पाटन डबलीको रौनक किन पनि भिन्न थियो भने यहाँ तान्त्रिक विधिमा आधारित कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण मानिने ‘नृसिंह (नरसिंह) अवतार’ नाच प्रस्तुत भइरहेको थियो । कात्तिक शुक्ल त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहिआएको झन्डै चार शताब्दी पुरानो नरसिंह अवतारलाई थुप्रैले रहस्यमय मान्दै आएका छन् ।


जस्तो कि, नाचको क्रममा विष्णुको अवतार नरसिंहले हिरण्यकश्यपुलाई छुँदा कलाकार साँच्चिकै बेहोस हुन्छन् । बेहोस हुनेबित्तिकै उनलाई सहयोगीहरूले उठाएर सुरक्षित स्थानमा लान्छन् । मंगलबजारमा रहेको मंगल धाराबाट पानी ल्याएर छम्केपछि मात्रै उनको होस खुल्छ । यसपटक पनि यस्तै भयो ।


हिरण्यकश्यपु बनेका किरण चित्रकार मंगहिटीबाट पानी ल्याएर नखुवाइन्जेल अचेतै रहे । उता, हिरण्यकश्यपुको अत्याचारबाट क्रुद्ध नरसिंह (कृतज्ञधर राजोपाध्याय) को रिस शान्त पार्न भने तलेजु मन्दिरका पुजारी सञ्जय शर्माले पूजा गर्नुपर्‍यो । यत्तिले मात्र नभई नरसिंहको अघिल्तिर अप्सरा नृत्यसमेत देखाउनुपर्‍यो ।


राजा सिद्धिनरसिंहले विसं १६९७ मा कृष्णमन्दिर बनाएर विधिवत् यो नाच सुरु गरेयता यो परम्परा जारी छ । संस्कृतिज्ञाता एवं वडाध्यक्ष निर्मलरत्न शाक्यका अनुसार तान्त्रिक विधि जगाएर नाचिने यो नाच कुनै समय एक महिनासम्म नाचिन्थ्यो, अहिले १२ दिनमा सीमित हुन पुगेको छ । नाच्ने कलाकार पनि पाउन मुस्किल बन्दै गइरहेको छ । दुई दशकदेखि कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार नै हिरण्यकश्यपुका रूपमा नाच्दै आएका छन् ।


चित्रकारका अनुसार यो नाच ‘दुष्ट हार्ने र सत्य जित्ने’ उत्सव पनि हो । विष्णु पुराणमा आधारित कात्तिक नाचको यो सबैभन्दा महत्त्वपूर्ण भाग हो । यसअघि दुई दिन बा:थ नाच (लोकनाटक), ५ दिन उषाहरण, जलशयणअन्तर्गत मधुकैटभ वध, बराह अवतार देखाइन्छ । नरसिंह अवतारपछि भने वस्त्रहरण र दधि लीला प्रस्तुत गरिन्छ । कात्तिक २६ मा सुरु यस वर्षको कात्तिक नाच भने शुक्रबार ‘दधि लीला’ देखाएपछि समापन हुने कात्तिक नाच समापन समितिले जनाएको छ ।


सिद्धिनरसिंह मल्लले देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर नाच प्रचलनमा ल्याएकोले ‘कात्तिक नाच’ भनिएको शाक्यले बताए । सुरुमा कृष्ण लीलामा आधारित यो नाच बराह र नरसिंह नाचसमेत मिसाएर प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिनसम्म नाचिन्थ्यो ।


पछि सिद्धिनरसिंहकै छोरा श्रीनिवास मल्लको समय (विसं. १७३०) मा सात दिन थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू पनि समावेश गरिए । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवनर’ लगायतका शास्त्रीय नाच थपेर एक महिनासम्म नाच्ने परम्परा बसालेको समितिका अध्यक्ष चित्रकारले जनाए ।


चित्रकारअनुसार विसं २००६ सम्म निरन्तर चलेको यो नाच २००७ को क्रान्तिको बेला रोकियो । त्यसपछि २००८ देखि २०३७ सम्म हरेक वर्ष दुई दिन मात्र नाच्न थालियो । २०७१ देखि भने १२ दिन नाचिँदै आएको छ ।


‘हाम्रो मुलुककै यो सबैभन्दा ठूलो नाट्य उत्सव हो,’ ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले भनिन्, ‘संसारकै लागि यो नाच रहस्यमय छ । यसलाई पर्यटनसँग पनि जोडेर लैजाने हाम्रो

योजना छ ।’

प्रकाशित : मंसिर ७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x