‘ब्ल्याक प्यान्थर’ लाई साग अवार्ड

काठमाडौँ — यति बेला हलिउडमा अवार्डको मौसम सुरु भइसकेको छ । ओस्कार अवार्डको मनोनयन सार्वजनिकसँगै यसले माहोल तताएको छ । खासगरी यति बेला फिल्म अवार्डहरू प्राय: ओस्कारको नतिजामा प्रभावित पार्ने गरी हुने गर्छन् । आइतबार साँझ आयोजित २५ औं स्क्रिन एक्टर्स गिल्ड (साग) अवाड्र्समा ‘ब्ल्याक प्यान्थर’ ले बाजी मारेको छ ।

‘ब्ल्याक प्यान्थर’ लाई साग अवार्ड

कलाकारहरूको बेजोड अभिनयका लागि उक्त अवार्ड दिइएको बताइएको छ । निर्देशक रायन कुग्लरको उक्त सुपरहिरोमा आधारित फिल्म ओस्कारमा समेत उत्कृष्ट फिल्मसहित अन्य महत्त्वपूर्ण विधामा मनोनयनमा परेको छ, जहाँ ‘ब्ल्याक प्यान्थर’ को भिडन्त ‘रोमा’ र ‘द फेभरेट’ जस्ता बढी विधामा मनोनयनमा रहेका फिल्मसँग हुनेछ ।


सागमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश: रामी मलेक र ग्लेन क्लोजले जिते । ‘बोहेमन र्‍याप्सोडी’ मा मुख्य गायकको भूमिकामा रहेका मलेक उत्कृष्ट अभिनेताका लागि ओस्कारमा पनि छानिएका छन् भने ७१ वर्षीया क्लोज फिल्म ‘द वाइफ’ का लागि पुरस्कृत भएकी हुन् । सोही फिल्मका लागि उनले यसअघि गोल्डेन ग्लोब र क्रिटिक्स च्वाइसको अवार्ड पनि जितिसकेकी छन् ।


अप्रत्याशित अवार्ड भने सह अभिनेत्रीको अवार्डले दिलायो । हरर थ्रिलर जानराको फिल्म ‘अ क्वाइट प्लेस’ बाट एमिली ब्लन्टले उक्त अवार्ड जितेकी थिइन् । उनलाई सागमा ‘मेरी पोपिन्स रिटन्र्स’ का लागि अभिनेत्रीको विधामा समेत राखिएको थियो । जुन अवार्ड उनले क्लोजका लागि गुमाउनुपर्‍यो ।


एमिली भने ओस्कारको कुनै पनि विधामा मनोनयनमा परेकी छैनन् । साग अवार्ड जितेपछि एमिलीले फिल्मका निर्देशक तथा आफ्ना पतिलाई धन्यवाद व्यक्त गरेकी थिइन् । सहअभिनेताका लागि भने अपेक्षाकृत रूपमा नै ‘ग्रीन बुक’ बाट महर्साला अलीले जिते । दुई वर्षअघि उनले नै ‘मुनलाइट’ बाट उत्कृष्ट अभिनेताको ओस्कार हात पारेका थिए ।

प्रकाशित : माघ १५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?