कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युटयुब ट्रेन्डिङ: फिल्म हावी

काठमाडौँ — युट्युब ट्रेन्डमा आइतबार गज्जबै भयो । टप फाइभमध्ये चार नेपाली फिल्म परे । पाँचौं स्थानमा पनि फिल्म नै थियो तर हिन्दी भाषामा अनुवाद गरिएको तेलुगु फिल्म ‘हार्ट अट्याक टु’ ।

युटयुब ट्रेन्डिङ: फिल्म हावी

चारमध्ये ‘कारखाना,’ ‘पुरानो डुंगा,’ ‘पर्व’ र ‘रानी’ क्रमश: पहिलोदेखि चौथो नम्बरमा रहे । यिनमा पनि अघिल्ला तीन फिल्म शुक्रबार र शनिबार मात्रै युट्युबमा अपलोड गरिएका थिए ।


बुुढासुब्बा डिजिटल, हाइलाइट्स नेपाल र सुवास इन्टरटेन्मेन्टले नयाँ वर्षको अवसरमा फिल्म युट्युबमा राखेका थिए । पहिलो नम्बरमा रहेको ‘कारखाना’ मा आइतबार दिउँसोसम्म ७ लाख ४८ हजारभन्दा बढी भ्युज थियो । २ हजार प्रतिक्रियामध्ये आधाउधीमा ‘नयाँ वर्षको शुभकामना’ लेखिएका छन् ।


‘म त भर्खरै पुरानो डुंगा हेरेर आएको,’ केशव केसी लेख्छन्, ‘अब कारखाना हेर्न लागियो, सबैलाई २०७५ को शुभकामना छ है ।’


महिलाहरू सन्तान उत्पादन गर्ने कारखाना होइनन् भन्ने सन्देश दिइएको उक्त फिल्मलाई कतिले राम्रो भनेका छन् भने केहीलाई झुर लागेछ । गम्भीर विषयको फितलो प्रस्तुति भन्दै कतिपय युट्युब दर्शक निराश बनेका छन् । ‘फिल्म बनाउन नि कति अल्छी गरेका हौ ?’ रविन श्रेष्ठको प्रतिक्रिया, ‘न साउन्ड राम्ररी सम्पादन गरिएको छ, न सिन राम्ररी खिचिएको छ । दिउँसोलाई राति भनेर देखाइएको छ, बसपार्क के हो त्यस्तो ? मेहनत गर्नुपर्‍यो ।’ फिल्ममा वर्षा सिवाकोटी, सुशील पौडेल, नवीन लम्साल लगायतको अभिनय छ ।
ट्रेन्डिङको दोस्रो नम्बरमा परेको ‘पुरानो डुंगा’ मा १० लाख २६ हजार भ्युज रहँदा २५ सयभन्दा बढी फिडब्याक आएका थिए । अधिकांशले फिल्मको प्रशंसा गरेका छन् । मेनुका प्रधान, दयाहाङ राई र माओत्से गुरुङको काम मन परेको भन्दै तिनलाई बधाई र धन्यवाद दिनेहरू कमेन्ट खण्डमा प्रशस्त भेटिए । ‘नेचुरल मुभी विद नेचुरल क्यारेक्टर’ (स्वाभाविक अभिनयसहितको राम्रो फिल्म) भन्दै हिरो कुमार नामक युट्युब युजरले सामाजिक कथामा बनेको फिल्म मन परेको आशयमा कमेन्ट लेखेका छन् ।


‘म मेनुको ठूलो फ्यान भएँ’, राज राना लेख्छन्, ‘नाइस वर्क मनु ।’ विकास आचार्यले साधारण विषयमा वास्तविक कथा देखाइएको बताएका छन् । ‘पुरानो डुंगा टिमलाई धन्यवाद र नयाँ डुंगाको सुटिङ सुरु गर्नुस् भन्न चाहन्छु,’ उनको आग्रह । लाक्पा डिकी, ओम घर्ती मगर लगायतले फिल्मको अन्त्यमा चित्त बुझाएका छैनन् । अस्वाभाविक ढंगले सकिएको पो हो कि भन्ने जिज्ञासा राखेका छन् ।


तेस्रो स्थानमा रहेको ‘पर्व’ फिल्ममा पनि नव वर्षको शुभकामना दिनेहरूले कमेन्ट सेक्सन भरेका छन् । यसमा ३ लाख भ्युज र ६ सय प्लस प्रतिक्रिया आएका थिए । ‘नयाँ वर्ष सुरु गर्ने गतिलो तरिका,’ विशाल मगरले लेखेका छन्, ‘वन्डरफुल मुभी । थ्यांक्यु सो मच ।’ सुमन परियारले चाहिँ थ्रिलर जानराको फिल्म बनाएकोमा बधाई दिएका छन् भने कविता लामाले फिल्म हेरेर केही नयाँ कुरा जान्न पाएको प्रतिक्रिया दिएकी छन् । पुकार अधिकारी लेख्छन्, ‘सबले नयाँ वर्षको अवसरमा मुभी अपलोड गरेर तनाव दिए, यहाँ हामीलाई पढ्ने वातावरण नै छैन ।’


‘पर्व’ मा नम्रता श्रेष्ठ, कोसिस क्षत्री, माला लिम्बू लगायतको अभिनय देख्न सकिन्छ ।


ट्ेरन्डिङको चौथो नम्बरमा रहेको ‘रानी’ फिल्म सातादिनअघि नै अपलोड गरिएको थियो । पछिल्ला केही दिनदेखि यो लगातार ट्ेरन्डिङको टप फाइभभित्र छ । यसमा झन्डै १४ लाख भ्युज देखिन्छ भने १८ सय प्रतिक्रिया जम्मा भएका छन् । मलिना जोशी, अनुपविक्रम शाही, मनीषसुन्दर श्रेष्ठ, सरुक ताम्राकार लगायतले अभिनय गरेका छन् ।


त्रिकोणात्मक प्रेम कहानीमा आधारित फिल्मका हिरो र भिलेन ह्यान्डसम भए पनि हिरोइन चित्तबुझ्दो नभएको सुमन मगरको गुनासो छ । ‘साह्रै तोर्पे हिरोइन,’ उनी लेख्छन्, ‘लास्टै झुर एक्टिङ ।’ स्याडोज नामक युट्युब युजरलाई भने यो बेस्ट फिल्म लागेछ । हेरेर मजा आएको उल्लेख गरेका छन् । विश्व पाण्डेले फिल्म हेर्नुभन्दा अगाडि नै कमेन्ट गर्नेलाई आफूतिर हाजिर हुन अनुरोध गरेका छन् । सुदीप पौडेले जिन्दगीमा यतिसम्मको नराम्रो फिल्म नहरेको बताएका छन् । उनी लेख्छन्, ‘बकवास ।’


आइतबार दिउँसोसम्मका पाँच
१. कारखाना
२. पुरानो डुंगा
३. पर्व
४. रानी
५. हार्ट अट्याक

प्रकाशित : वैशाख ३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?