चम्किए राजकुमार

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको मुम्बईमा आयोजित ६३ औं फिल्मफेयर अवाड्र्समा ‘हिन्दी मिडियम’ सर्वोत्कृष्ट फिल्म बन्दा ‘न्युटन’ ले क्रिटिक्स अवार्डको उत्कृष्ट फिल्मको उपाधि चुमेको छ । इरफान खान र विद्या बालनले पपुलर क्याटेगोरीतर्फको उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जिते भने राजकुमार रावलाई ‘ट्रयाप्ड’ फिल्मले उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड दिलायो । ‘सिक्रेट सुपरस्टार’ की जायरा वसिमले पनि उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड हात पारिन् ।

अभिनेता राजकुमारले उत्कृष्ट अभिनेताका साथमा ‘बरेली की बर्फी’ का लागि सहअभिनेतामा समेत गरी दोहोरो सफलता पाए । सहअभिनेत्रीको अवार्ड भने ‘सिक्रेट सुपरस्टार’ बाटै मेहर विजले जितिन् । ‘बरेली की बर्फी’ ले अश्विनी अय्यर तिवारीलाई समेत उत्कृष्ट निर्देशकको अवार्ड दिलायो । डेब्यु निर्देशनका लागि अभिनेत्री कोंकोणा सेन शर्माले ‘अ डेथ इन द गन्ज’ का लागि ट्रफी जितिन् । बेस्ट प्लेब्याक सिंगरमा अरिजित सिंहले ‘रोके ना रुके नैना...’ र मेघना मिश्रले‘नच दी फिरा....’ का लागि अवार्ड हात पारे ।

यसपालिको अवार्ड पहिलेको भन्दा खास रहेको प्रतिक्रिया आइरहेको छ । यसमा सुपरस्टारका चर्चित फिल्म वा बक्स अफिसमा करोडौं कमाउने फिल्मभन्दा विषयगत र क्राफ्टका हिसाबले योग्य वा सुन्दर फिल्मलाई अवार्ड दिइएको बताइन्छ । चर्चा कमाएका फिल्मले त अवार्ड नै पाएनन् ।
सन् १९५० र ६० को दशककी चर्चित अभिनेत्री माला सिन्हा र म्युजिक मास्टर कम्पोजर बप्पी लहिरीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । मालाले नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् ।
करिब पाँच घण्टा चलेको कार्यक्रममा अक्षय कुमार,रणवीर कपुर, शाहरूख खानलगायत सेलेब्रिटीले प्रस्तुति दिएका थिए ।
एजेन्सी

प्रकाशित : माघ ८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

नीता बनिन् ‘हुर्रे’ आइटम गर्ल

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘हुर्रे’ को दोस्रो गीत आइतबार सार्वजनिक गरिएको छ, जसमा नायिका नीता ढुंगाना आइटम गर्लका रूपमा देखिएकी छन् । ‘मलाई फिल्मको नामले नै सुरुमै आकर्षित गरेको थियो । त्यसैले पनि आइटम डान्स गर्न सहमत भएकी हुँ,’ उनले कार्यक्रममा भनिन् ।

हत्तपत्त आइटम डान्सका लागि नायिकाहरू तयार नहुने भए पनि नीताले भने कार्यक्रममा समेत ‘पशुपति...’ बोलको उक्त गीतमा फिल्मकै कलाकारहरू राजाराम पौडयाल, अनुपविक्रम शाही र अंकित खड्कासँगै ठुम्का पनि लगाइन् । यम थापाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी र विजय बरालको पनि अभिनय रहेको छ ।

‘पशुपति...’ बोलको गीतलाई सविन एकतारे र कालीप्रसादबाँस्कोटाले लेखेका हुन् भने संगीत पनि कालीप्रसादकै रहेको छ । गाउन चाहिँ झुमा लिम्बू र कालीप्रसादले गाएका हुन् । कोरियोग्राफी विक्रम स्वाँरको हो ।

‘यो गीत सुट गर्दा केही दु:ख भएको थियो तर अहिले हेर्दा दु:ख सबै भुलें । गीतमा मैले पशुपतिवरपर पाइने पात्रलाई चित्रण गर्दै दिइएको निर्देशनलाई न्याय गर्ने कोसिस गरेकी छु,’ आइटम गर्ल बनेकी नीताले भनिन् । कोरियोग्राफर स्वाँरले नीतालाई पशुपति क्षेत्रको फ्लेभर दिने गरी आउटडोर सुट गरेर नयाँ प्रयोग समेतगर्न खोजेका छन् ।

निर्देशक थापाकै लेखन रहेको डार्क कमेडी जानराको ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले निर्माण गरेका हुन् । मुख्य तीन पात्रको भोगाइमा आधारित रहेर ‘हुर्रे’ बनाइएको हो ।

प्रकाशित : माघ ८, २०७४ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्