कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आमिर खानलाई तीन साता

यज्ञश

काठमाडौ — बलिउडको एउटा ठूलो फिल्मले नेपालबाट करोडभन्दा बढी आम्दानी गरेर लैजान्छ भन्ने धेरैलाई थाहा छ । तर, कुनै ठूलो बजेटको हिन्दी फिल्म आउँदा नेपाली फिल्मको रिलिज नै रोकिन्छ भन्ने तपाईंलाई थाहा छ ?

नेपाली फिल्म उद्योगमा यही दृश्य देखिएको छ । रेलको बाटो काट्ने गाडीलाई रेल आउने बेला रातो झन्डा देखाएर रोकिएझैं आमिर खान अभिनित फिल्म 'धुम-३' को रिलिजले नेपाली फिल्मलाई तीन हप्तासम्मका लागि रातो झन्डा देखाएको छ ।
पुस ५ गते शुक्रबार रिलिज भएको 'धुम-३' सँग कुनै नेपाली फिल्म रिलिज भएनन् । अब आउने दुई साता पनि कुनै नेपाली फिल्म रिलिज हुँदै छैनन् । 'यो दुई हप्ता नेपाली फिल्म छैन, एकैचोटि पुस २६ मा चारवटा फिल्म रिलिज हुँदैछन्,' फिल्म वितरक सुनिल मानन्धरले भने ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि निर्माताहरू यो बेला फिल्म रिलिज गर्न हिच्किचाएको बताए । तर, यसको कारण ठूलो हिन्दी फिल्म मात्र नभई पुसको जाडो भएको उनको भनाइ छ । वितरक मानन्धर र निर्माता राई दुवैले ठूलो फिल्मले गर्दा निर्मातामा 'फियर साइको' बढेको भए पनि यो मात्र कारण नभएको दाबी गरे । 'अघिल्लो वर्ष पनि पुसमा धेरै फिल्म रिलिज भएका थिएनन्,' मानन्धरले भने । राई भने संविधान नभएर देश संक्रमणमा चलेजस्तै फिल्म उद्योग पनि संक्रमणमा चलेका बेला भएकाले हल्ला बढी भएको बताउँछन् । 'स्वदेशी फिल्मविरुद्ध बढी हल्ला हुने गरेको छ, अहिले पनि निर्माता डराएको भनेर हल्ला गरियो,' उनले भने । फिल्म नीति बनिसकेर लागू भएपछि फिल्मको प्रदर्शन व्यवस्थित हुने उनले बताए । फिल्म नीतिको मस्यौदामा विदेशी फिल्मको प्रदर्शनलाई कोटा तोकेर व्यवस्थित गर्ने भनिएको छ ।
नेपाली फिल्महरूले धेरै उत्साहप्रद व्यवसाय गर्न नसकिरहेका बेला आएको ठूलो बजेट र गतिलो प्रचार भएको यो फिल्मले वितरक र प्रदर्शकलाई सजिलै आकषिर्त गर्‍यो । भारतीय टेलिभिजनको प्रत्यक्ष प्रभाव रहेका नेपाली बजारमा यो फिल्म आमिर खानको स्टारडम र अघिल्ला 'धुम' फिल्महरूले पाएको सफलताका कारण पनि धेरै पैसा कमाउने फिल्म थियो । यस्तो फिल्मसँग आपmनो फिल्म जुधाउन निर्माता तयार नहुनु र नेपाली फिल्मलाई कम प्राथमिकता दिएर यसलाई हलले बढी 'सो' दिनु व्यापारिक फाइदाका हिसाबले स्वाभाविक लाग्छ ।
यसअघि पनि मल्टिप्लेक्सहरूले ठूलो बजेटको हिन्दी फिल्म आउँदा नेपाली फिल्महरूलाई 'सो' नदिएको र चाँडै उतार्ने गरेको गुनासो सुनिने गरेको थियो । 'धुम-३' ले नेपालमा एकसाथ धेरै हलमा प्रदर्शन हुने फिल्मको रेकर्ड पनि बनाएको छ ।
यसको निर्माण कम्पनी यशराज फिल्मस्लाई ३ करोड २० लाख एड्भान्स कमिसन बुझाएर नेपालको वितरण अधिकार लिएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरज पौडेलले देशभरका १ सय २० हलमा यो फिल्म चलेको बताए ।
नेपालका फिल्म हलमा डिजिटल प्रदर्शन सुरु भएपछि फिल्मको प्रदर्शनमा परिवर्तन आएको हो । नयाँ-नयाँ खुलेका मल्टिप्लेक्सहरूले दिने सुविधाका कारण दर्शक आकषिर्त भएपछि महँगो टिकटमा फिल्म देखाउने यी हलप्रति निर्माता/वितरक पनि तानिएका छन् ।
डिजिटल प्रविधिबाट बनेका प्रायः नेपाली फिल्म यस्तै हलमा चल्छन् । पछिल्ला वर्षहरूमा असीदेखि नब्बे प्रतिशत जति फिल्म डिजिटल प्रविधिमा बन्न थालेका छन् । यसरी मल्टिप्लेक्स र डिजिटल प्रदर्शन व्यवस्था भएका हलमा नेपाली फिल्म र हिन्दी फिल्मको सीधै द्वन्द्व छ । हिन्दी फिल्मको एकसाथ यति ठूलो प्रदर्शनले नेपाली फिल्मको बजारलाई हिन्दी फिल्मले थप धक्का दिने देखिएको छ । राजधानीका गोपीकृष्ण र क्यूएफएक्सले सुरुआती केही दिनमा 'धुम-३' को टिकट मूल्य अरू फिल्मको भन्दा बढी राखेका थिए ।
बुधबार राजधानीका तीन ठूला मल्टिप्लेक्स फिल्म हल क्यूएफएक्स, बिग मुभिज र एफक्युबका जम्मा ४४ मध्ये ४३ 'सो' 'धुम-३' चलेको थियो । क्यूएफएक्सअन्तर्गतको सिभिल मलमा एक 'सो' हलिउड एनिमेसन फिल्म 'प|mोजन' चलेको थियो । यो शुक्रबार बलिउडमा पनि ठूलो फिल्म रिलिज हुँदै छैन ।
'हाम्रो चलाउने फिल्मको पाइपलाइनमा अहिलेलाई नेपाली फिल्म छैन,' क्यूएफएक्सका सीईओ रोशन अडिगाले भने । फिल्म बनाएका निर्माता 'डेट' लिन नआएको र आफूहरूको निर्माणको कुनै फिल्म तयार नभएको उनले बताए । 'धुम-३' आउनुअघि चलेको नेपाली फिल्म 'लोफर'ले सोचेजस्तो व्यापार गर्न सकेको थिएन ।
जाडोका कारण फिल्म नचल्ने ठानिए पनि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा हिन्दी फिल्मको भने व्यापार बढ्ने वितरक मानन्धर बताउँछन् । 'तर, नेपाली फिल्मका निर्माताहरू यो बिदा छाडेर माघे संक्रान्तिको बिदा ताकेर बसेका न्,' उनले भने ।
माघे संक्रान्तिलाई मध्यनजर गर्दै '६ एकान ६', 'बितेका पल', 'योद्धा' र 'पराई' पुस २६ गते रिलिज हुँदैछन् ।


 

प्रकाशित : पुस ११, २०७० ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?