कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्म र विन्द्या पुरस्कृत

सञ्जय प्रधान

दार्जिलिङ (भारत) — यसै गीतले कवि अगमसिंह गिरीलाई दार्जिलिङ पहाडमा जातीय कविका रूपमा परिचित गरायो ।

नौलाखे तारा उदायो...
नसम्झ आज नेपाली
सन्चोले यहाँ बाँचेको...
उनै कविको ८७ औं जन्मजयन्ती गोर्खाल्यान्ड टेरिटोरियल एडमनिस्ट्रेसन -जीटीए) को सूचना अनि संस्कृति विभागको आयोजनामा शुक्रबार भव्य रूपमा मनाइएको छ । यही अवसर पारी वरिष्ठ संगीतकार कर्म योञ्जन र सुपरिचित आख्यानकार विन्द्या सुब्बालाई अगमसिंह गिरी पुरस्कार प्रदान गरिएको छ । पश्चिम बंगालका पर्यटन मन्त्री कृष्णेन्दुनारायण चौधरी, जीटीए सूचना एवं संस्कृति विभागका प्रभारी सभासद विनय तामाङ र पुरस्कार चयन समितिका अध्यक्ष सभासद् डा. आरबी भुजेलले पुरस्कार हस्तान्तरण गरे । जनही एक-एक लाख रुपैयाँको उक्त पुरस्कार सन् २००६ यता यसैपालि दिइएको हो ।
'अगमसिंह गिरीको नाममा पुरस्कार पाउनु मेरो ठूलो सौभाग्य हो,' कवि अगमसिंहकै समकालीन संगीतकार योञ्जनले पुरस्कार ग्रहणपछि भने, 'यसले आउँदो पिँढीलाई प्रेरणा प्रदान गर्नेछ ।' भारतको साहित्य एकाडेमी पुरस्कारले सम्मानित भइसकेकी आख्यानकार सुब्बाले भनिन्, 'कवि गिरीको जन्म पनि जाडो महिनामा अनि मृत्यु पनि जाडो महिनामा भयो, तर पनि उहाँले हामीलाई न्यानोपन दिनुभएको छ । यो पुरस्कारले सबैलाई प्रेरणा दिन्छ ।' साहित्य एकाडेमी पुरस्कार पाएको उनको उपन्यास 'अथाह' भारतका करिब सात भाषामा अनुवाद भइसकेको छ ।
सन् १९९२ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष एवं तत्कालीन दार्जिलिङ गोर्खा पार्वत्य परिषद् अध्यक्ष सुवास घिसिङले अगमसिंहलाई जातीय कवि घोषणा गरेका थिए । सन् १९९४ मा स्थापित अगमसिंह गिरी पुरस्कार त्यही वर्ष नै 'नौ लाखे तारा उदायो..' का गायक/संगीतकार अम्बर गुरुङलाई प्रदान गरिएको थियो । सन् २००५ सम्म प्रदान गरिँदै आएको उक्त पुरस्कार दार्जिलिङको राजनीति अस्थिर हुन थालेपछि रोकिएको थियो । गत वर्ष अस्तित्वमा आएको जीटीएले यसको फेरि सुरुआत गरेको हो ।
जीटीएको यो पहिलो पुरस्कार समारोहमा सभासद तामाङले आउँदो नेपाली नयाँ वर्षमा वरिष्ठ साहित्याकर इन्द्रबहादुर राईलाई 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिने घोषणा गरे । उनका अनुसार, आउँदो वर्षदेखि लोक संगीत क्षेत्रमा मास्टर मित्रसेन पुरस्कार, चित्रकलाका क्षेत्रमा गोरे डगलस पुरस्कार, शिक्षा क्षेत्रमा पारसमणि प्रधान पुरस्कार, साहित्य क्षेत्रमा शिवकुमार राई पुरस्कार, गायक- गायिकालाई प्रोत्साहनका लागि अरुणा लामा पुरस्कार पनि प्रदान गरिनेछन् ।

 

प्रकाशित : पुस १५, २०७० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?