कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झोलाले झारिदियो आँसु

शिव शर्मा

कास्की — 'अझै पनि आँसु ओभाउन पाएको छैन,' 'झोला' हेरेपछि आयोजित अन्तरक्रियामा एकल महिला समूह पश्चिमाञ्चलकी अध्यक्ष दुर्गा न्यौपानेले आँसु पुछ्दै भनिन्, 'यो फिल्म हेरुन्जेल पटकपटक मेरा आँखा भिजिरहे ।'


मानवअधिकारका लागि एकल महिला समूह जिल्ला अध्यक्ष प्रमिला तझ्याले सती प्रथाबारे पढे/सुनेको भए पनि फिल्ममा त्यस्ता दृश्य हेर्दा मन कटक्क खाएको सुनाइन् । 'सती प्रथा अहिलेसम्म कायम भएको भए म आज यसरी जीवित रहिरहने थिइनँ,' उनी पनि गला अवरुद्ध पार्दै बोलिन्, 'जीवितै रहेको भए पनि यो फिल्ममा जस्तै ढुंगाले कुटेर मार्ने थिए ।'
उनीजस्तै थुप्रै एकल महिलाहरू र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल पोखराले गरेको 'झोला' को विशेष प्रदर्शनी हेर्न बुधबार विन्ध्यावासिनी चलचित्र मन्दिर पुगेका थिए । विभिन्न क्षेत्रमा कार्यरत महिला अगुवा, साहित्यकार, कलाकार तथा सर्वसाधारण पनि उत्तिकै थिए । फिल्म हेरेर बाहिर निस्केका अधिकांशका आँखा चिसिएका थिए ।
'यो फिल्मको चर्चा सुनेर वर्षौंपछि सिनेमा हल छिरें,' वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) ले भने, 'सती प्रथामा आधारित यो फिल्मले गम्भीरतापूर्वक महिला हिंसाको चित्रण गरेको रहेछ ।'
'झोला' का निर्देशक यादव भट्टराई, अभिनेता तथा निर्माता राज तिमिल्सना लगायत दर्शकहरूको प्रतिक्रिया बुझ्न हलभित्र थिए । सय वर्षअघिको अमानवीय प्रथा, जनजीवन र संस्कृतिलाई केही हदसम्म जीवन्त बनाउन 'झोला' निर्देशन गरेको उल्लेख गर्दै उनले थपे, 'सती प्रथा अन्त्य भए पनि महिलामाथि हुने हिंसाको रूप बाँकी छ भन्ने विषय यो फिल्मले बोकेको छ । यसलाई हामीले महिला हिंसाविरुद्धको एउटा दस्तावेजको रूपमा पनि लिएका छौं ।'
सोसाइटीका अध्यक्ष गणेश पौडेलले अक्षयकोष स्थापनामा सहयोग पुगोस् भनी 'झोला' को विशेष प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रकाशित : पुस ११, २०७० ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?