एभरेस्ट म्याराथन दौड्दै अन्जु

कान्तिपुर संवाददाता

लन्डन — लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देलले च्यारिटीका लागि एभरेस्ट म्याराथन दौड्ने भएकी छन् । सुदूरपश्चिमको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको कोषमा सहयोग गर्ने उद्देश्यसाथ उनले मे अन्त्यमा नेपालमा हुने एभरेस्ट म्याराथनमा भाग लिन लागेकी हुन् ।

एभरेस्ट म्याराथन मे २९ तारिखमा बेसक्याम्पदेखि नाम्चेबजार हुँदै लुक्लामा अन्त्य हुनेछ । उनी यतिखेर प्रशिक्षण र चन्दा संकलनमा व्यस्त छन् ।

‘खेलकुदले हाम्रो स्वास्थ्यमा खेल्ने अहम् भूमिकाका साथै प्रचारप्रसार र सीमान्तकृत एवं गरिबीको चपेटामा परेर हातमुख जोड्न र शिक्षादीक्षा ग्रहण गर्नबाट वञ्चित वादी समुदायका वालबालिकाको सहयोगका लागि च्यारिटी रन गर्ने अठोट राखेकी हुँ,’ धाविका अन्जुले भनिन् ।

हिक्मत वादी र उनकी श्रीमतीले सुर्खेतमा विभिन्न क्षेत्रबाट वादी समुदायका एक सय किशोरकिशोरीलाई होस्टेलमा राखेर पालनपोषण गरिरहेका छन् । तर, उनको आर्थिक अवस्था दयनीय रहेको खबर ‘हेर्ने कथा’ बाट थाहा पाएपछि अन्जुले सहयोग जुटाउने अठोट लिएकी हुन् ।

उनले इच्छुकलाई ‘गो फण्डमी’ मार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् । चितवनको भरतपुर ४ पोख्रेली टोल लंकु घर भई हाल लन्डन बस्ने अन्जुले व्यस्तता बावजुद हालसम्म सातपल्ट म्याराथन दौडिसकेकी छन् ।

‘म सम्पूर्ण महिलामा आह्वान गर्न चाहन्छु कि हरेक हप्ता कुनै न कुनै शारीरिक व्यायाममा आबद्ध हुनुहोस् यसले हाम्रो स्वास्थ्यमा सुधार र व्यक्तिगत तन्दुरुस्तीमा निकै ठूलो भूमिका खेल्छ,’ उनले भनिन्, ‘समय आफूले मिलाउने हो । हामी महिला भए पनि गर्न नसकिने केही छैन । अठोट गर्नुस् र आफ्नो प्रगतिको बाटोमा दृढ भएर अघि बढ्नुस्, सबैमा मेरो शुभकामना छ ।’

उनले पुरुषलाई पनि आ–आफ्ना दिदीबहिनी, आमा, भाउजु र बुहारी अनि श्रीमतीलाई केही गर्ने हौसला दिन आग्रह गरिन् । ‘समाज परिवर्तन हरेक व्यक्तिको जिम्मेवारी हो । यो सचेत र स्वस्थ नागरिकले मात्र गर्न सक्छ जुन आजको सबैभन्दा ठूलो आवश्यकता हो,’ उनी भन्छिन् ।

बेलायतको च्यारिटी संस्था नेप्लिज ब्रिटिस कम्युनिटी यूके कार्यसमितिमा आबद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लन्डनस्थित नेपाल रन यूकेको सदस्य भएर अरूलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन् ।

सन् २०१८ नोभेम्बरदेखि दौड्न सुरु गरेकी उनले ५ हजार, १० हजार र केही हाफ म्याराथनपछि सन् २०२० बाट म्याराथन सुरु गरेकी हुन् । सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन् । अब सिकागो र टोकियो बाँकी छ ।

अन्जुको पहिलो म्याराथन सहभागिता लन्डन म्याराथन २०२० थियो, जुन कोभिड महामारीका कारण ‘भर्चुअल’ गरिएको थियो । उनले लन्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लन्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लन्डन म्याराथन २०२३ मा समेत सहभागिता जनाएकी थिइन् ।

प्रकाशित : जेष्ठ १, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

गोरखामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

कान्तिपुर संवाददाता

गोरखा — गण्डकी गाउँपालिका–६ घौचुरमा आइतबार राति भएको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते बनेकी गण्डकी गाउँपालिका–६ की ७८ वर्षीय किरमाया आलेको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट घौचुरतर्फ आउँदै गरेको बा ०१–०२५ च. ६२०४ नम्बरको जिप सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा घौचुरका ७७ वर्षीय कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीय गंगामाया थापा घाइते भएका छन् । घाइतेहरुको चितवनस्थित मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको लामिछानेले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १, २०८० १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×