नैनीताल दुर्घटना : मृत्यु भएका ७ नेपालीको शव नेपाल ल्याइदै

चैत्र २८, २०८०

भवानी भट्ट

Nainital accident: Dead bodies of 7 Nepalis are being brought to Nepal

कञ्चनपुर — भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रको उच्चाकोटमा सोमबार राति जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव बुझ्न आफन्त नैनीताल पुगेका छन् । आफन्तले शव बुझेर बुधबार नेपालस्थित घर ल्याउने तयारी गरेका छन् । 

दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको थियो । जसमा ६ जना बाँकेको बैजनाथ गाउँपालिकाका र १ जना बर्दियाको बाँसगढी नगरपालिका १ बबईका छन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् । 

बैजनाथ गाउँपालिकाका ६ जनाको शव नेपाल ल्याउने तयारी भइरहेको दुर्घटनामा परी मृत्यु भएका बिशराम थारुका छोरा प्रमोदले बताए । ‘सबै शव गाडीमा राखिसक्यौं, अब हिड्ने तयारीमा छौं,’ उनले भने, ‘आफन्त नआएकाहरुको शव पनि हामीले नै लिएर आउदैछौँ,’ नैनीताल जान नसकेकाहरुको शव पनि ल्याइदिन आफन्तले अनुरोध गरेकाले सबैको शव ल्याउन लागेको उनले बताए । उनले बुधबार रातिसम्म शव घरमा पुग्न सकिने बताए । 

मृतक एक जना बाहेक सबै बैजनाथ गाउँपालिका-८ का भएको वडाध्यक्ष भगन थारुले बताए ।  उनका अनुसार कतिपय एउटै टोलका र नातागोताका समेत परेका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ गाउपालिका-८ का विशराम थारु, अन्तराम थारु, रामधिराज थारु, उदयराम थारु, विनोद कुमार थारु, तिलकराम थारु र बर्दियाको बासगढीका गोपाल भनिने टोप बहादुर बस्नेत रहेका छन् । 

टोप बहादुर बर्दियाको बांसगढी नगरपालिका १ ववईका हुन् । बस्नेतको नैनीतालमै अन्तिम संस्कार गर्ने वा घरमै ल्याउने भन्ने विषयमा यकिन नभएको उनका भन्जा सुरज चौलागाँइले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully