कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

१० करोडको व्यापार १ करोडमा झरेको छ : अग्रवाल 

काठमाडौँ — वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले व्यापार व्यवसाय कतिसम्म शिथिल अवस्थामा पुगेका छन् भन्नेबारे उदहारण दिँदै पहिले १० करोड रुपैयाँको कारोबार हुनेमा अहले १ करोडमा झरेको बताएका छन् । उनले कारोबारको १० प्रतिशत पनि व्यापार हुने स्थिति नरहेको भनाइ राखे । 

१० करोडको व्यापार १ करोडमा झरेको छ : अग्रवाल 

शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगंजको वाणी’ कार्यक्रमको दोस्रो सत्र 'अर्थतन्त्र उकास्न स्थिर नीति' मा निजी क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै वाणिज्य संघका अध्यक्ष अग्रवालले उद्योगीको आत्मविश्वास गुमेको बताए ।

'उद्योग व्यापार सञ्चालन गर्न आत्मविश्वास चाहिन्छ, अहिले त्यही गुमाएको अवस्था छ,' उनले भने, 'हाम्रा कलकारखाना बन्द हुने अवस्थमा पुगेका छन् । सञ्चालनमा रहेका उद्योग पनि उत्पादन क्षमताको २० देखि २५ प्रतिशतमा सिमित हुनु परेको छ ।'

उद्योग-व्यवसाय नचलेकाले धेरैजनाको रोजगारी गुमेको अग्रवालले बताए । योसँगै, सरकारले प्राप्त गर्ने राजश्वमा पनि कमी आएको उनको भनाइ थियो । बजारमा पूँजी चलायमान नहुने, क्रय क्षमता र माग नबढ्दा बजार संकुचित भएको उनले बताए । उद्योगहरूले बैंकको ब्याज तिर्न नसकेका, २० प्रतिशतमा उद्योग चलाएर सय प्रतिशतको खर्च उठाउनु परेको उनको गुनासो थियो ।

'उद्योग सञ्चालन गरेपछि कर नतिर्ने वा ऋण लिएपछि नतिर्ने भन्न मिल्दैन तर उद्योगीहरू साँच्चै समस्यामा छन् भने सहजिकरण गरिदिनुपर्छ,' उनले भने, 'उद्योग बन्द हुँदैमा समस्या समाधान हुँदैन । उद्योगलाई उकास्नु पर्छ ।'

उनले भन्सारको मूल्याकंन पद्दतीमाथि प्रश्न उठाउँदै त्यो किन हटाउन सकिँदैन भनेर प्रश्न गरेका थिए । 'वास्तविक बिलबिजकमा किन काम गर्न सकिँदैन ? भन्सार मूल्यांकन पुस्तिकाअनुसार बिलबिजक नल्याउँदा ५० प्रतिशत पेनाल्टी लगाउने व्यवस्था छ । यसबाट जोगिन कतिपय व्यवसायीले गलत बिलबिजक पेश गर्ने गरेका छन्,' उनले भने, 'रियल बिजबिजकलाई मान्यता नदिँएर आफ्नै मूल्यांक पद्दती लागू गर्दा यस्तो समस्या आएको हो ।' उनले सरकारी निकायहरूले नै एकअर्कालाई विश्वास नगर्दा उद्योगी-व्यापारीलाई मर्का पर्ने गरेको सुनाए । भन्सारले जाँचपास गरेको सामानमा राजश्व अनुसन्धानले मूल्यांकन गरेर जरिवाना लगाउने गरेको उनले गुनासो गरे ।

त्यस्तै एकीकृत कर प्रणाली नहुँदा दोहोर कर तिर्नुपर्ने मारमा परेको अग्रवालले बताए । तीन तहको सरकारले थरिथरिका कर लागू गर्दा गाह्रो हुने भन्दै उनले एउटै संघीय कर कानुनको आवश्यकता औंल्याए । हरेक महिना निकायपिच्छे नयाँ-नयाँ परिपत्र जारी हुँदा व्यवसाय सञ्चालन जटिल हुने गरेको उनको अनुभव थियो ।

प्रकाशित : चैत्र २४, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?