पुराना टायरबाट फर्नेस तेल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना टायरबाट फर्नेस तेल

घनश्याम गौतम

रूपन्देही — यहाँस्थित एउटा कम्पनीले पुराना टायरहरू प्रशोधन गरी महँगो औद्योगिक तेल ‘फर्नेस’ उत्पादन थालेको छ । देवदह ४ केरवानीस्थित स्पिड इनर्जीजले ठूला उद्योगहरूलाई चाहिने फर्नेस तेल उत्पादन सुरु गरेको हो । तीन जना व्यवसायीले ५ करोड रुपैयाँको लागतमा उक्त कम्पनी स्थापना गरेका हुन् ।

रूपन्देहीको देवदह ४, केरवानीस्थित स्पिड इनर्जी इन्डस्ट्रिजमा टायर प्रशोधन गरी फर्नेस तेल निकालिंदै । तस्बिर : घनश्याम/कान्तिपुर

कम्पनीले हाल दैनिक १० टन टायर प्रशोधन गरी चार हजार लिटर तेल उत्पादन गरिरहेको दाबी गरेको छ । कम्पनीमा अजयमान श्रेष्ठ, श्यामबहादुर पराजुली र भूपालकुमार श्रेष्ठले लगानी गरेका हुन् । कम्पनीले उत्पादन गरेको तेल स्वदेशकै ठूला सिमेन्ट, छड, बिस्कुट, ब्याट्री उद्योगसहित ठूला पाँचतारे होटलमा समेत खपत भइरहेको छ ।


पुराना टायर प्रशोधनबाट ४० प्रतिशत औद्योगिक तेल, २५ प्रतिशत कार्बन ब्ल्याक र ३५ प्रतिशत स्टिल स्क्रयाप उत्पादन हुने कम्पनीका प्रबन्ध सञ्चालक अजयमानले बताए । ‘कबाडीका रूपमा फालिएको टायर पूर्ण रूपले उपयोगी हुन्छ,’ उनले भने, ‘तेल ठूला उद्योगमा, कार्बन कोइलाको विकल्पका रूपमा ब्रिकेट एवं इँटा उत्पादनमा र तार फलाम कम्पनीमा प्रयोग हुन्छ ।’ यो नेपालको पहिलो उद्योग भएको दाबी कम्पनीको छ ।


नेपालका हरेक ठूला उद्योगले अहिले पनि दैनिक १० हजार लिटरसम्म फर्नेस तेल प्रयोग गर्छन् । जुन भारत, सिंगापुर र ताइवानबाट नेपाल भित्र्याउने गरिएको छ । इन्धनका रूपमा अन्य देशबाट भित्रिने यस तेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पर्छ । देवदहमा प्रतिलिटर ५८ रुपैयाँमा उत्पादन भइरहेको प्रबन्ध सञ्चालक अजयमानले बताए ।


प्रशोधनका लागि पहिला टायर मेसिनमा राखिन्छ । सामान्य दाउरा बालेर तातेको मेसिनभित्र टायर पग्लेर ग्यास बन्छ र पानीको समेत वास्पीकरणपछि ग्यास र तापको समायोजनबाट तेल निस्कन्छ । बचेको धूलो कार्बनका रूपमा र तार फलाममा प्रयोग हुने कच्चा पदार्थका रूपमा बाहिर निस्कन्छ ।


टायर प्रशोधनबाट तेल निकाल्दा प्रदूषणसमेत शून्य हुने र त्यससँगै निस्कने अन्य सामग्री पुन: अन्य उद्योगका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले यस्ता उद्योगलाई सरकारले वातावरणमैत्री उद्योगको सूचीमा राखेर सहयोग गर्नुपर्ने कम्पनीका अर्का सञ्चालक श्यामबहादुर पराजुलीले बताए । ‘सरकारले वातावरण संरक्षणका नाममा करोडौं खर्च गर्छ, यस्ता उद्योगलाई सहयोगै गर्दैन,’ उनले भने, ‘उल्टै उद्योगले राज्यलाई कर तिर्नुपर्छ ।’


उद्योगलाई प्रोत्साहित गर्न सके वातावरण संरक्षण मात्र नभई लाखौं विदेशी मुद्रा बिदेसिनबाट रोकिने अर्का भूपालकुमार श्रेष्ठले बताए । यस्ता उद्योगको संरक्षण हुन सके आयातलाई प्रतिस्थापन गरी व्यापार घाटा कम गर्नसमेत सहयोग पुग्ने उद्योगीको दाबी छ । ३ वर्षदेखि उत्पादन गर्दै आएको यो उद्योगले पुराना टायर प्रतिकिलो ११ रुपैयाँमा खरिद गर्ने गरेको छ । उद्योगमा २५ जनाले रोजगारी पाएका छन् ।


यहाँको उद्योगमा उत्पादन भएको तेल पहिलो पटक ०७२ को नाकाबन्दीका बेला बुटवलकै बिस्कुट उद्योगमा परीक्षणका रूपमा प्रयोग भएको थियो । बुटवलका हनी फुडस र सिद्धिविनायक फुडस प्रोडक्टले देवदहको फर्निस तेल प्रयोग गरेर देशभरका बिस्कुट उद्योग बन्द भएका बेला पनि यी दुई उद्योग नियमित सञ्चालन भएका थिए ।


प्रकाशित : पुस ११, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

हामीसित बुद्धिजीवी नभएकै हुन् ?

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘बुद्धिजीवी र शब्दको क्षयीकरण’ लेखले नेपालको बौद्धिक जगतको दशा र दिशा निर्देशित गरेको छ । जनप्रशासनका प्राज्ञहरूको विद्वताले काम नगरेपछि नेपालका संघीय तथा सामान्य प्रशासन मन्त्री कर्मचारी व्यवस्थापन गर्न परामर्शका लागि भारत भ्रमणमा छन् ।

भारतीय मित्रहरूले सधैं सोध्ने गर्छन्– नेपालमा भारत विरोधी भावना किन उत्पन्न हुन्छ ? अब अर्को प्रश्न पनि थपियो, के नेपालका प्राज्ञ र प्रशासनविदहरूले कर्मचारी समायोजन गर्ने मोडल दिन सक्दैनन् र हामीले अरुबाट सिक्नुपर्ने अवस्था आयो ?
– डी.डी. पन्त, पाटन संयुक्त क्याम्पस, ललितपुर

प्रकाशित : पुस ११, २०७५ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×