भद्रपुरमा आजदेखि रात्रि उडान- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भद्रपुरमा आजदेखि रात्रि उडान

सुरज कुँवर

काठमाडौँ — पूर्वका चार जिल्लाको प्रवेशद्धार मानिने झापाको भद्रपुर विमानस्थलमा बुधबारदेखि रात्रि उडान सुरु भएको छ । यसअघि लो–भिजिविलिटी र सूर्यास्तपछि उडान हुँदैन्थ्यो । उक्त विमानस्थलमा एरिया नेभिगेशन भनिने आरएनएभी प्रविधि जडान भएकाले अब रात्रि उडान र लो–भिजिविलिटीमा पनि उडान सम्भव हुने भएको हो । 


भद्रपुर विमानस्थल प्रमुख पूर्ण चुडालका अनुसार, बुधबार बुद्ध एयरको विमानले यस प्रविधि सहायताबाट जहाज उडान र अवतरण गरेको थियो । यसअघि विमानलाई ५ हजार मिटरको भिजिविलिटी आवश्यक पर्थ्यो । अब २२ सय मिटर भिजिविलिटी भए पुग्ने भएको छ,’ विमानस्थल प्रमुख चुडालले कान्तिपुरसँग भने । भद्रपुरमा आरएनएभी प्रविधि र लाइट सिस्टम जडानमा नागरिक उड्डयन प्राधिकरणले ११ करोड खर्च गरेको जनाएको छ । रात्रिकालीन उडान उद्घाटन भने भोलि (बिहीबार) प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ ।


भद्रपुरसँगै रात्रि उडान हुने विमानस्थलको संख्या ६ पुगेको छ । आरएनएभी प्रविधि जडान भएपछि धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, विराटनगरमा रात्रि तथा लो–भिजिविलिटीमा पनि उडान हुँदै आएको थियो । यो सूचीमा अब भद्रपुर पनि थपिएको छ । जनकपुरमा यो प्रविधि जडान गर्ने कार्य हुँदै छ । केही महिनामा सञ्चालनमा ल्याइने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । अहिले एरिया नेभिगेशन भनिने आरएनएभी प्रविधि जडान नभएकाले तराईका भरतपुर, राजविराज तथा सुर्खेतमा रात्रिकालीन उडान सुविधा छैन । त्यस्तै पहाडी र हिमाली विमानस्थलमा पनि रात्रिकालीन उडान सेवा छैन ।


यसैबीच बुद्ध एयरले बुधबार साँझ भद्रपुरमा रात्रिकालीन सफलतापूर्वक परीक्षण उडान सम्पन्न भएको जनाएको छ । उक्त कम्पनीको काठमाडौंबाट विराटनगर गएको एटीआर ७२ विमानले परीक्षण उडान गरेको थियो । उक्त विमान भद्रपुरमा परीक्षण उडान सकेर विराटनगर पुगी काठमाडौं फर्केको छ । परीक्षण उडानमा बुद्ध एयरका वरिष्ठ क्याप्टेनहरु रञ्जनकुमार शर्मा र प्रमोद थापालगायत प्राधिकरणका कर्मचारी थिए ।

भारतको सिलगुढी, दार्जिलिङलगायत बंगलादेशलाई पनि जोड्दै आएको यो विमानस्थलमा दैनिक काठमाडौं–भद्रपुर–काठमाडौं १४ वटा उडान हुन्छन् । चुडालले अब भद्रपुरबाट पोखरा, नेपालगन्ज र भैरहवामा पनि सीधा उडान सञ्चालनको तयारी भइरहेको बताए ।

प्रकाशित : माघ १६, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

छाया मन्त्री बन्नै होडबाजी

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो ।  

पार्टीभित्र र बाहिरसमेत प्रतिपक्ष भूमिका कमजोर भएको भन्दै आलोचना बढेपछि कांग्रेसले मन्त्रालयगत रूपमा सरकारको निगरानी बढाउन छाया सरकार बनाउने निर्णय लिएको थियो ।

तर सांसदहरूले वास्तविक सरकार गठनकै जस्तो इच्छाएको मन्त्रालय पाउन ‘भनसुन’ गर्न थालेका छन् । प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले छाया सरकार गठनको गृहकार्य गरिरहेका छन् ।

नेता खाँडले छाया सरकार नभनी संसदीय समितिमा रहेका सांसदलाई समितिअन्तर्गतका मन्त्रालय निगरानी गर्ने गरी जिम्मेवारी दिइने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय हेर्न २२ वटा समिति बनाउने तयारी छ । यसका लागि इच्छाएको मन्त्रालय हेर्ने गरी सांसदको नाम मागिएको थियो ।

गृह, अर्थ, भौतिक पूर्वाधार, परराष्ट्र, शिक्षा, संघीय मामिला, ऊर्जा मन्त्रालयमा सबैभन्दा बढी आकांक्षी छन् । कांग्रेसका ६३ सांसदमा संसदीय दलका नेतासहित ३० जनाले भने इच्छा देखाएका छैनन् ।

सांसद दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, देवप्रसाद तिमिल्सिना, जीप छिरिङ लामा, देवेन्द्रराज कँडेल, पार्वती डीसी चौधरी, मीना सुब्बा, महेन्द्रकुमारी लिम्बूले गृहसहितका मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । विकल्पमा उनीहरूले भौतिक पूर्वाधार, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, अर्थ, खानेपानी, कानुन मन्त्रालय रोजेका छन् ।

अतहर कमाल मुसलमानले कुनै मन्त्रालय नरोजी समितिअनुसार सबैलाई पठाउँदा राम्रो हुने सुझाव लेखेका छन् । अभिषेकप्रताप शाह, उमा रेग्मी, प्रकाश रसाइली स्नेही, विनोदकुमार चौधरीले परराष्ट्र मन्त्रालय रोजेका छन् । चौधरीको पहिलो प्राथमिकता भने अर्थ मन्त्रालय छ ।

सांसद उमेश श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमध्ये एक पाउनुपर्ने माग गरेका छन् । कर्मा घलेले उद्योग वाणिज्य आपूर्ति, स्वास्थ्य, चित्रलेखा यादवले शिक्षा, विज्ञान तथा प्रविधि, तेजुलाल चौधरीले शिक्षा, संघीय मामिला, खेलकुद, नमिताकुमारी चौधरीले शिक्षा तथा स्वास्थ्य मन्त्रालय रोजेका छन् ।

सांसद प्रमोदकुमार यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपन्छी मन्त्रालयमध्ये एक पाउनुपर्ने माग गरेका छन् । भीमसेन दास प्रधानले शिक्षा, स्वास्थ्य र रक्षामध्ये एक, मीनबहादुर विश्वकर्माले उद्योग वाणिज्य आपूर्ति, भौतिक पूर्वाधार र कृषि रोजेका छन् ।

मीनाक्षी झाले सहरी विकास, भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्य, राजेन्द्रकुमार केसीले युवा तथा खेलकुद, खानेपानी, पर्यटन रोजेका छन् । विमला नेपाली, लालकाजी गुरुङ, रंगमति शाही, रामबहादुर विष्टले पनि भौतिक पूर्वाधार मन्त्रालय रोजेका छन् ।

लक्ष्मी परियारले सहरी विकास, सीतादेवी यादवले कृषि तथा पशुपन्छी, सुजाता परियारले संघीय मामिला तथा सामान्य प्रशासन, सत्यनारायण शर्मा खनालले जलस्रोत तथा ऊर्जा, सर्वआरा खानम हलुवाइनीले सहरी विकास मन्त्रालयलाई प्राथमिकतामा राखेका छन् ।

प्रकाशित : माघ १६, २०७५ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×